जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण
गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १
संयोजक
नेपालीकविता डट कमको लागि
विक्रम सुब्बा
विक्रम सुब्बा
(१) आन्दोलनको आगो
राजाको शासनमा
मानिसका मुखका पखेटा काटिए
सम्वेदना र भावना मुक्त भएर उड्न नहुने भयो
दु:ख सुखका कुरा चौतारीतिर सुनाउँनु मनाही भयो
मनका कुरा बोल्दा राजाको कानुनका कान ठाडा भए
तर मानिस भित्रका आवेगले ज्वालामुखीको सिम्फोनी रचे
र टायरहरूका चितामा जनताले दन्दनी आगो दन्काएको देख्दा
लग्थ्यो, दन्किँदो चितामा निरिह श्रीपेचलाई पोलिसकेकाछन्
राजाको शासनमा पँधेरा जाने बाटोलाई
हिँड्न निषेधित क्षेत्र भनि तोक लाग्यो
मानौँ बेसरम राजा त्यहाँ नाङ्गै नुहाईरहेको होस्
तर खुट्टाहरूले त जानेकै हिँडनु मात्र हो
हिँड्न निषेध भनेको बाटो हिँड्न झन मज्जा लाग्छ
र त मज्जा मान्दै जनताका महान पाइतालाहरू
निषेधित क्षेत्रको छाती टेक्दै बढेको देख्दा
लग्थ्यो, राजाको छाती कुल्चँदै जनताका पयरहरू
राजा बिनाको नयाँ नेपालतिर लम्कि सकेकाछन्
राजाको शासनमा
चुली चुचुरीमा घाम नलाग्दै शहरमा कर्फ्यु लाग्यो
विहानै लाग्यो, दिनभरि लाग्यो, रातभरि लाग्यो
उपत्यका र मोफसलमा लाग्यो
चोक-चोक र गल्ली-गल्लीमा लाग्यो
राजाको शासनमा घर-घरलाई कर्फ्युले जेल बनायो
हो, युगौँदेखि स्वाँठ राजाहरु कर्फ्यु लगाउँदै आएकाछन्
तर जनता कर्फ्युसँगै दरवारको ख्मबाहरू भत्काउँदै आएकाछन्
यसपल्ट फेरि दशैतिरबाट उर्लिएका जनताले
कर्फ्युको करङ तोडेर अघि बढेको देख्दा
लग्थ्यो, राजतन्त्रको हातखुट्टा र गर्धन तोडेर
जनता जनगणतन्त्र नेपालतिर बढी सकेकाछन् ।
(२) पीलो
निधारमै पीलो रहेसम्म
पीपैपीपले अनुहार लत्पतिने रहेछ
देख्दैछु म –
काठमाण्डौ, मुलुकको अनुहारमा बसेकोछ
र दरवार
सयौँ वर्ष देखि निधारमै पीलो भएर बसेकोछ ।
(३) नाटक
राजा र कलाकार दुवै नाटक खेल्छन्
राजाले जिन्दगीभर भद्रताको भूमिका खेल्नु पर्छ
कलाकारले – कहिले असल ‘राजा’को
कहिले ‘हत्यारो’ जंगबहादुरको…
कहिले सत्र धार्नी ‘नाक-कान’ काट्ने महाराजाको, र
कहिले ‘सन्काहा’ राजा क्यालीगुलाको भूमिका खेल्छ ।
जब नाटकको कथामा ‘सन्काहा’ राजा हुन्छ
मंचमा निर्दोस मानिसको बेहाल-गाथा हुन्छ
असंख्य विधवा र टुहुराहरूको गीत रुन्छ
जमानाले मानिसका रगतले अनुहार धुन्छ
अति भएपछि जब ‘लन्जाइनस’को तरवार उठ्छ
तब ‘क्यालीगुला’को गर्धन छ्वाम्मै छिन्छ
गर्धनबाट छिनाईसकेपछि राजाकै टउको पनि
नयाँ युगले खेल्ने भकुण्डो बन्छ
अनि बिस्तारै नाटकको पर्दा खस्छ
त्यसपछि मलामीहरूको लस्करबाट
जर्नेल-समालोचकले नाटकलाई –
‘दुखान्त नाटक’ नभने के भनोस्?’
(४) दिन आइसकेको छ
झ्यालहरू खोल शान्ति, ढोका उघारेर पर्दाहरू उठाऊ
उज्यालो जुलुसले उज्याला हातमा बोकेका
उज्याला झण्डाहरूलाई पस्न देऊ
लोकल हिटलरका कनसन्ट्रेशन क्याम्प ध्वस्त पार्ने
लोकतन्त्रका उज्याला नाराहरूलाई कोठामा पस्न देऊ
लडाइँका कथा पढिए धेरै युद्धका सिनेमा हेरिए
इन्क्लाबी कविता-गीत धेरै गाइए कोठाभित्र
विशुद्ध गायकहरूका मसाल-स्वर सडकमा सामेल छन्
कथाकारहरुले कथालाई गम्भीर मोड दिएर
खलनायकको गुरुयोजनालाई तिरिमिरि झ्याइँ देकाएका छन्
आन्दोलनको डढेलोले लपेट्दैछ दरबारका जारहरुलाई
कोठा भित्रभित्रै धेरै प्रेम रचियो
रोदीघरदेखि चौतारािसम्म जताततै पिरती खेलियो
हाल आएर गल्ली गल्लीमा देश-प्रेम छताछुल्ल भएको छ
देश प्रेमीहरू मुलुकमाराहरुका छातिमा
फाइलन खेलको निर्णायक प्रहार गरिरहेछन्
ककफाइटमा समेत दुबै पक्षले जित्ने नियम हुँदैन
यो त महान जनआन्दोलन हो
र आन्दोलित जनता हारेको सिठी कहिल्यै बजेको छैन
राम, बुद्ध र ईशूलाई पुज्ने जनताले
मानिसलाई उखेलेर फाल्न पनि जानिसकेका छन्
उखेलेर फालेपछि देउता पनि ढुंगा मात्र हुन्छ ।
फिक्रि नगर शान्ति,
हद्द भए अजै केही ज्यान जाला
तर लोकतन्त्रका सेनाहरुको लस्कर बहुत लामो छ
चिहान भन्दा पनि कालो शासनको आकाशमा
‘आतङ्क’को सेटलाइट छाडेर आँखा छल्ने दिन गए
बन्दुकको वैशाखी टेकेर मुलुक
नयाव सताब्दीको दौडमा सामेल हुन सक्दैन
मुलुक सल्काएर चिलिम तान्ने डिक्टेटरहरू
भटाभट ढल्दैछन् दुनियामा
जो बाँकिछन् तिनको पनि दिन आइसकेको छ ।
(५) गणतन्त्रको खेती
भन्दिनु है Û पारिजात दिदीलाई भन्दिनु
दिदीले छोडेर गएको मुलुकमा
सम्बिधानका पन्ना–पन्नामा फलेका
गुलिया, चिप्ला र धारिला अक्षरहरू
भोक मार्ने मकै–भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।
भन्दिनु है Û पारिजात दिदीलाई भन्दिनु
आन्दोलनको हलोमा जुलुसका नाराहरु नारेर
गल्ली–गल्ली, सडक र चोक जोत्दै जाँदैछन्
फालि अडकाउँने दरबारका जग समेत जोत्दै जाँदैछन्
सातसमुद्र पारी र छिमेकक फिरङ्गी-मोडलका
ग्र्याण्डडिजाइन र रोडम्याप जोत्दै जाँदैछन्
जोतेको सियो र खनेको चपरीमा
आफ्नै रगतका वीउ हाल्दै जाँदैछन्
यो महान खन्–जोतबाट कोही आतङ्कित छन्
र एम्बेसीहरूका गोप्य प्राविधिक सहयोगमा
बचाउका काला बङ्कर तैयार गरिरहेछन्
तर गणतन्त्रको खेती गर्नेहरू
बङ्करहरू पनि जोत्दै–जोत्दै जाँदैछन्
भन्दिनु है Û पारिजात दिदीलाई भन्दिनु…
सम्बिधानका पन्ना–पन्नामा फलेका
गुलिया, चिप्ला र धारिला अक्षरहरू
भोक मार्ने मकै–भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती
अनिल पौड्याल (काठमाण्डौ)
हामिले सुँगुर नपाल्दा के हुन्छ ?
खोरमा सहिसलामत राखेर
चारो भर्नु पर्ने/खुवाउनु पर्ने
खोर भत्काएर उसैले
उल्टै हामीलाई रुउनु पर्ने
वाँदरको पुच्छर लौरो न हतियार
स्वदेशको पिलो विदेशको मतियार
बरु टुकुचामा
खोर सहितै फाल्दा के हुन्छ ?
हामीले सुँगुर नपाल्दा के हुन्छ ?
कहिले चारो खान्न भनेर
कहिले खोरभित्र जान्न भनेर
उसले उल्टै घुर्क्याउँनु पर्ने
तिमी बराहको अवतार हौ
जाऊ/कटखाउ र सुत भन्दै
हामीले साँझविहान फुर्क्याउनु पर्ने
जसको मुल्य छैन
उसैलाई पाल्नु पर्ने
उल्टै निरीह बनेर
आफ्नै मन पगाल्नु पर्ने
सडक ढाकेर बनाएको
त्यसको खोर फाल्दा के हुन्छ
हामीले सुँगुर नपाल्दा के हुन्छ ?
अमर तुम्याहाङ (ताप्लेजुङ, हाल: भक्तपुर)
एक जुगमा आउने ‘एक विहानी‘
एक जुगमा आउने ‘एक विहानी’
सुनामी भएर
अँध्याराका उपाशकहरूलाई निल्दै आयो
दासताका साङ्लो भिराउनेहरूलाई
धुलो चटाउँदै आयो
एक जुगमा आउने ‘एक दिन’
आवाजहीनहरूको आवाज भएर आयो
दविएकाहरूको शक्ति भएर आयो
विश्वासका चौताराहरूमा माला लिएर
स्वागतमा लाम लागौँ
उठ्न बाँकी सबै जागौँ ।
एक जुगमा आउने ‘एक दिन’
आशाको आँधी भएर आयो
उज्यालो झल्झलाकार भएर छायो
जनजनलाई छोएर यसले व्यूँझायो
एक जुगमा आउने स्वर्णिम विहानी आयो
सृजनाका सडक किनारामा
वसन्तका माला लिएर
स्वागतमा लाम लागौँ ।
उठ्न बाँकी सबै जागौँ ।
अब पनि सुत्नेहरूलाई
समयले चिहानमा हाल्नेछ
अब पनि फुट्नेहरूलाई
इतिहासले फोसिलमा ढाल्नेछ
कोला-कोला ! सबै उठौँ !
नयाँ विहानीको स्वागतमा !!
सबै लाम लागौँ !
अशेष मल्ल
राजन् तिमी हारिसक्यौ
राजन्
के तिमीलाई थाहा छ
तिम्रा महलका भित्ताहरू
चर्किसकेका छन्
र तिमी
केवल बन्दुकका पर्खालभित्र
बन्दुकका रक्षा कवचमा
एक्लो, एक्लो र एक्लो
निस्सासिएका छौ
पर्खालबाहिर
निहत्था आवाजहरू
तिम्राविरुद्ध
हावाकै बेगमा व्याप्त भइसके
गाउँ, बस्ती र सहरभरि
सलह सलह भएर
तिमीसँग केवल बन्दुक, बन्दुक र बन्दुक छन्
बन्दुककै घेराभित्र बन्दुककै सिरानी हालेर
कतिन्जेल शक्ति उन्माद बाँचिरहन्छौ
सुरक्षा कवचबिना
एक पल सास फेर्नु असम्भव छ तिम्रा लागि
बन्दुक छ र तिमी छौ
शक्ती उन्माद छ
निहत्था आवाजको भीडमा
तिम्रो उन्माद पराजित भइसके
सायद तिमीलाई थाहा छैन
तिमी हारिसक्यौ
संगीनका पर्खालहरूकै विजय हुने बए
स्द्दाम, हिटलर र कंशहरू
इतिहासभरि पराजय भोगेर
अक्षरहरूमा किन गन्हाउँथे
राजन्!
ईश्वरमणि अधिकारी (पोखरा)
खोपीका देवताहरू
खोपी छाड्नु हुन्न
खोपीका देवताहरू
सडक झर्नु हुन्न
चोक-चोकमा ठिङ्ग उभिएर
पूजा माग्न हुन्न देवताहरूले
सडक-सडकमा ठिङ्ग उभिएर
आरती खोज्न हुन्न देवताहरूले
मलाई खोपीका देवताहरूले
खोपी छाडेको मन पर्दैन
मलाई खोपीका देवताहरूले
पूजा मागेको पनि मन पर्दैन ।
देवता प्रतेकको मनमा हुन्छ
देवता प्रत्यकको तनमा हुन्छ
मन-मनमा देवता भएपछि
किन राख्छन् कुन्नी खोपीमा देवताहरू
र पनि
खोपीका देवताहरु
देवताकै प्रतिविम्बहरू हुन् भन्छन्
मलाई देवताको प्रतिबिम्बसम्म मन पर्छ
जो पूज माग्दैन
आरती खोज्दैन
नैवेद्य पनि रोज्दैन
पुजा पाएर पनि खुसि हुँदैन
पुजा नपाएर बेखुसी पनि हुँदैन
पूजा खोज्ने देवताहरू
देवता हुनै सक्दैनन्
नैवेद्य रोज्ने देवताहरू
देवता हुनै सक्दैनन्
जव/जव देवताहरू
निर्धक्क/निर्लज्जसित
पूजा खोज्न निस्कन्छन्
आसन डग्मगाउँछ – देवताहरूको
देवता रहन्नन् – देवताहरू
आस्था कमजोर हुन्छ – भक्तहरूको
भक्त रहन्नन् – भक्तहरू
र
भक्तहरू नै स्वयम
नास्तिक बन्छन्
खोपीका देवताहरू
खोपी छाड्नु हुन्न
खोपीका देवताहरू सडक झर्नु हुन्न ।
एस . खनाल (हाल: टेक्सास अमेरिका)
मेरि आमा हाँस्नेछिन
उ, हेर यतै आउँदै छ;
त्यो आगो को मुस्लो!
तिव्र वेगका साथ
दन्कँदै छ, फडफडाउँदै छ!
हो, यसपालि त,
यसले अबश्य जलाउँछ,
यो पुरानो निर्लज्ज पर्खाल!
साबधान!!
पानी हाल्ने कोशिस नगर।
यसपालिको आगो,
पानीले नै सल्किएको हो!
जति पानी खन्याउँछौ,
त्यति यो दन्कन्छ!
हेर त उ, यतै आउँदै छ;
गड्गडाउँदो भेल!
चट्टानलाई चिर्दै।
सुकेको खहरे सम्झनेहरु,
लौ हेर।
तिमीले रोक्नै नसक्ने बाढि
उर्लेर आउँदै छ।
साबधान!!
प्रयास नगर यसलाई रोक्ने!
यसपालीको भेल,
तिमीले रोकेर नै बल्झेको हो!
जति रोक्छौ,
त्यति जम्छ र अझ शक्तिवान बन्छ।
अनि फोर्छ यसले तिम्रो बाँध
अघि भन्दा अझ तिव्र बेगले!
लौ हेर, उडेर जाँदैछ
त्यो कालो बादल!
अब अन्धकार धेरै टिक्दैन।
हावा बहेको छ
तर हिजोअस्ति भन्दा विपरित!
बादललाई उडाउँदै छ
पर कतै तिर
अनकन्टार अन्न्तमा!
उ, तारा झिल्मिलाउँदै छन्!
बिस्तारै लाखौँ ताराले,
धरती झलमल पार्नेछन्!
अनि, भोलिको सुर्योदय संगै,
मेरि आमा हाँस्ने छिन!
उन्मुक्त हाँस्ने छिन!
स्वतन्त्र हाँस्नेछिन!
विमल निभा
काठमाडौंलाई घेर
विमल निभा
पूर्वबाट घेर
पश्चिमबाट घेर
उत्तरबाट घेर
दक्ष्ािणबाट घेर
काठमाडौंलाई घेर
—
प्रेमले घेर
साहसले घेर
उमेरले घेर
शान्तिले घेर
काठमाडौंलाई घेर
—
यताबाट घेर
त्यताबाट घेर
उताबाट घेर
जताबाट घेर
काठमाडौंलाई घेर
—
सुसेलीले घेर
गीतले घेर
कविताले घेर
कलाले घेर
काठमाडौंलाई घेर
—
छेउबाट घेर
परबाट घेर
अघिबाट घेर
पछिबाट घेर
काठमाडौंलाई घेर
—
नाराले घेर
जुलुसले घेर
शहादतताले घेर
आन्दोलनले घेर
काठमाडौंलाई घेर
—
एक भएर घेर
अनेक भएर घेर
सँगसँगै भएर घेर
हुल भएर घेर
काठमाडौंलाई घेर
—
रगतले घेर
आँसुले घेर
भोकले घेर
परिश्रमले घेर
काठमाडौंलाई घेर
—
यहाँ आएर घेर
उहाँ गएर घेर
जहाँ गएर घेर
सबै मिलेर घेर
काठमाडौंलाई घेर
—
समयले घेर
विचारले घेर
ज्ञानले घेर
विवेकले घेर
काठमाडौंलाई घेर
—
पयरले घेर
मुठीले घेर
दौडले घेर
हातेमालोले घेर
काठमाडांैलाई घेर
—
इतिहासले घेर
संस्कृतिले घेर
राष्ट्रियताले घेर
जनतन्त्रले घेर
काठमाडौंलाई घेर
—
काठमाडौंलाई नघेरेसम्म
काठमाडौंलाई मुक्त पार्न सकिँदैन ।
किशोर पहाडी
(१) कालो
कालो काल हो –
कालको कुनै टाउको हुँदैन,
चिप्लेकीरा जस्तै
आँखा, कान र मुख हुँदैन ।
बादल जस्तै कुनै निश्चित अनुहार हुँदैन,
कालो काल हो –
कालको कुनै टाउको हुँदैन ।
कालो अन्धकारको
आगमन… आशङ्का
सङ्गीत अब रुन थालेको छ ।
…पवित्र मन्दिरमा रुन्चे सङ्गीत…
परेवाहरू काँप्न थालेका छन् ।
बुट, जुत्ता, बर्दी र टोपी लगाएकाहरू
खबरदार !
तिमीहरू जुर्मुराउन पाउँदैनौ
तिमीहरूको प्रहारले
थुप्रै आमाहरू क्षतविक्षत भएका छन् ।
सल्लाको रुख सुसाएझैँ
कोक्रो हल्लाउँदै आमा आज सुसाउँदैछिन् ।
आमाको कोक्रो रित्याउनु हुँदैन,
अहँ, कालो यहाँ आउनु हुँदैन,
कालो यहाँ आउनु हुँदैन ।
असमय
बन्दैन,
समयलाई ओंठ बनाउन खोजेर
ओँठ बन्दैन;
बन्दैन,
समयलाई आँखा बनाउन खोजेर
आँखा बन्दैन;
बन्दैन,
समयलाई निँधार बनाउन खोजेर
निधार बन्दैन ।
समय कुनै अनुहार होइन
काठको
नरेट करौँतीले समयलाई ।
बन्दैन,
समयलाई काँध बनाउन खोजेर
काँध बन्दैन ।
समय त ज्वाला हो अग्निको-
हिउँदमा कथा भन्दै
ताप्नुपर्छ
मकलमा राखेर,
देख्नुहुन्न समयको सपना
रङ्गविरङ्गी
सिरानीमा राखेर,
पोल्छ त्यसले ।
बन्दैन,
समयलाई इँट बनाउन खोजेर
इँट बन्दैन;
बन्दैन,
समयलाई पर्खाल बनाउन खोजेर
पर्खाल बन्दैन ।
मुक्तक
खोसियो हाम्रो चीज खोसियो, पाउनलाई चटारो भयो
आगो बाल अँध्यारो भयो, कालो कालो अँध्यारो भयो
जसरी पनि हामीले अब तान्नुपर्छ लोकतन्त्रलाई
हाम्रो तेजिलो आवाजले गर्दा, शासकलाई अब गाह्रो भयो ।
चन्द्र गुरुङ (गोरखा हाल: काठमाण्डौ)
(१) निरंकुश बाढी
पहाडतिर बाढीले
असार-साउन लाग्न साथ
मानसिक सन्तुलन गुमाएका लठ्ठकहरु जस्तै
निरंकुश मगज बोकेर
ताकतले मातिदै
आफ्नो लक्ष्यको समुद्रसम्म पुग्न
बाटोमा पर्ने
निर्दोष गाउँ बस्तीहरु बगाउँदै,
निरपराध गाई-बस्तुहरु सोहर्दै र
सोझा-साझा पहाडहरुलाई भत्काउँदै
चारैतिर पहिरो लान्छ ।
तराईमा बाढीले
निर्बल घर-गोठहरु भित्र
नूनिलो आँसुको भेल हुल्दै,
कलिलार् इच्छाहरुलाई अकालै डुबाउँदै र
ज्यान-धन नाश पार्दै
हाम्रा सपनाहरु मास्छन् ।
हामी, जब सम्म
निरंकुश बाढीको बाटोमा
बलियो बाँधझैं उभिन्नौं र
दृढ पहाड बनेर तगारो हाल्दैनौ
निरंकुश बाढीले
हाम्रो जीवनमा
सधैं-सधैं पहिरो लानेछ र
हाम्रा सपनाहरु मास्ने छन् ।
(२) बुढो रुखको हत्या
एक हूल मानिसहरु
आक्रोशित बञ्चरो बोक्दै जंगलमा पसे
अनि बुढो रुखको
भारदार जराहरुलाई काटेर निष्प्राण पारे,
बफादार हाँगाहरुलाई
टुकरा टुकरा नाश गरे
र, चाकर पातहरुलाई
मासेर इतिहासको गर्भमा मिल्काई दिए ।
त्यो बुढो रुख
आफ्नो पाउ मुनि बाँची रहेका
भारदार जराहरुका क्रुर नाँग्राले
माटोबाट खोसेको पानीले आफूलाई पोष्दै थियो,
आफ्नो वरिपरि झुम्मिएका
चिप्ले चाकर पातहरुले
हावासित लुछेको सासले
आफूमा प्राण भर्दै थियो,
आफ्नो सेवामा समर्पित
वफादार हाँगाहरुले लुटेको
पारिलो घामले आफूमा जीवन हाल्दै थियो र
कुनै निरंकुश राजाको महल जस्तै
शानले शीर ढाडो पारी
‘जंगल राज्य’को माँझमा उभिएको थियो ।
त्यो बुढो रुखको शरीर माथि
शान्तिको गीत गाउने परेवाहरुले
सपनाको गुड लगाउन सकेका थिएनन्
उसको ज्यू मुनि
आश्रयबीहिन जीव जन्तुहरुले
झरिमा न्यानो ओत पाएका थिएनन् र
अहंकारको आकाश उचालेको उसको शिरले
आफू मुनि
बुटयानहरु ओइलिएका पनि देखेको थिएन ।
त्यो बुढो रुख त
केवल आफ्नो तुम्बा भर्ने मात्र सोच्दै थियो र
उसले सा-साना बोट बिरुवाहरुको
एक मुठी बाँच्ने अधिकार खोसेको थियो,
घाँसको हरियो जीवनलाई हरेको थियो र
फूलहरुको रंगीन सौन्दयलार्इर्र्मासेको थियो ।
तेस कारण,
एक हूल मानिसहरुले
आक्रोशित बञ्चरो बोक्दै जंगलमा पसेर
त्यो बुढो रुखको हत्या गरी दिए ।
(३) सहिद र पातहरु
जब जब
जन्मभूमिको अङ्ग-प्रत्याङ्गलाई
नोच्नु थाल्छ क्रुर नाँग्राहरुले र
आमाको निर्दोष शरीरमाथि
ताण्डव नृत्य गर्छन् अन्धो पाईतलाहरुले ।
तब तब
असंख्य सपूतहरु
अन्धकारको विरोधमा राँको बनेर बल्दै
आफुलाई समाप्त पार्न तयार रहन्छन् र
आमाको घायल शरीरलाई
आफ्नो रगत दिन पनि पछि पर्दैनन् ।
ज्ास प्रकार
शीशीरको निर्मम अत्याचार र
कठोर क्रूरतासंग जुध्दै
पातहरु मृच्युलाई अंगाल्न पछि पर्दैनन् र
आफ्नो जीवनलाई
माटोमा समाहित गर्न पुग्छन् ।
जब जब
अंधकारको विरुद्घ ल्ाड्दै
मृत्यवरण गरेका सपूतहरु र
शीशीरको अत्याचारको विरुद्घ
आफ्नो ज्यान दिने पातहरु
माटोमा मिल्न जान्छन् ।
तब तब
धर्ती माथि फेरी
यिनको रगतले पोषित भयेर
नयाँ-नयाँ सुन्दर फुललहरु फुल्दाछन्
र यी फुलहरुको सुगन्धले
उमंग फैल्दछ युगको मुटुभरि ।
(४) तिम्रो दरबार र हाम्रा घरहरु
तिमीले
सैन्यबलको बलियो आधार माथि
बखतरबन्द टैंकहरुको पर्खालभित्र
बन्दूक माथि बन्दूक थप्दै
एउटा दरबार खडा गरेको रहेछौ ।
जहाँ, खुल्ला आँगनहरुमा
हतियारधारी सैनिक जवानहरुले मार्चपास्ट गर्छन्
बाग-बगैंचाहरुमा
बम-बारुद मात्र फल्छन् र फुल्छन्
विशाल ढोकाहरुमुनि
आठपहरिया भारदारहरु तैनात छन् र
बुट्टेदार झ्यालहरु हुँदै
मात्र दमन र कर्फ्युको आदेशले ओहोर-दोहोर गर्छ ।
तिम्रो दरबारको
भित्ताहरुमाथि ठूला-ठूला फ्रेमहरुमा
हाम्रा खोस्सिएका मौलिक अधिकारहरु कैद छन्
भुँइभरि चारैतिर
हामीबाट लुटेको ढुकुटीलाई ओछ्छयाएको छौ
र, बैठक कोठाका ठूला-ठूला शोकेसहरुमा
हाम्रो स्वतन्त्रतालाई थुनेको छौ ।
ए राजन, पक्कै पनि
तिमीले आफ्नो दरबारको खामाहरुलाई
समयको प्रचण्ड मार देखि
बर्बाद हुनबाट जोगाउन सक्ने छैनौं,
तिम्रा दुर्गन्धित सपनाहरु चुहिंदै गरेका
ती थोत्रा छानाहरु टाल्न सक्ने छैनौं
र, तिम्रो विश्वासका जर्जर भित्ताहरुमा
दरार पर्नबाट पनि रोक्न सक्ने छैनौं ।
यता हाम्रा घरका खामाहरुमा
हाम्रा गतिशील खुट्टाहरु काँमेका छैनन्
हाम्रा मुटुका कोठाहरुमा
जोश र चेतनाले डेरा बसेका छन्
र, हाम्रो जनआन्दोलन को यो घरलाई
हामीले अझै बढी बलियो बनाउँदै छौं ।
ढुङ्गा र फूलहरु
ढुङ्गा भएर बाँच्न धेरै सजिलो छ
कुनै अन्धो भक्तले
देवता बनाएर पुजा गर्न सक्छ,
ताकतले मातेको कुनै शासकद्वारा
आफ्नो सुरक्षार्थ हतियार बनाएर
निर्दोष माथि नयाँ सामाजिक अभ्यासको प्रहार गर्न सक्छ र
कुनै स्वार्थीले आफ्नो स्वार्थको खुटकिलो उक्लन
बाटो-दोबाटोहरुको बिचोबिच
मूर्ति बनाएर उभ्याई दिन पनि सक्छ ।
ढुङ्गा त डाँडामाथि देउरालीहरुमा
बिना आँखा देवता बनेर मौन बसेको हुन्छ
ऊ, देख्दैन मान्छेले मान्छेलाई मारेको र
अशक्तको छातीमाथि लात्तीहरु बजारिएको
ढुङ्गा त
कुनै अत्याचारीको हातमा हतियार बनेर सजिदिन्छ
उसलाई त रगत पाए पुग्छ
ऊ हेर्दैन रगतको रंग र जात
ढुङ्गा त
चोकहरूमा ठूला-ठूला मूर्ति बनेर उभिदिन्छ
उसलाई मतलब छैन
यदि कसैले त्यो मूर्ति संग
अत्याचारको विरोधमा एक मुठी आन्दोलन खोज्छ,
कुनै दिशा बिहीन जीवनले
एउटा निश्चित दिशा माँग्छ या
शोषित पाईतालाहरुले जुलुसमा एक कदमको साथ चाहन्छ ।
ढुङ्गाको मूर्तिहरु त
बस चुपचाप उभिदिन्छन् र
अन्यौल वर्तमानको मौन साक्षी बनी दिन्छन् ।
ढुङ्गालाई कसैको मतलब छैन
तेस कारण
ढुङ्गा भएर बाँच्न धेरै सजिलो छ ।
तेसको विपरीत एउटा फूल भएर बाँच्न
धेरै-धेरै असजिलो छ ।
फूलले जीवनलाई बुझेको हुन्छ र
जन्म देखि मृत्यु सम्म
जीवनलाई पल-पल बाँचेको हुन्छ ।
जीवनको शुरुवातमा
धर्तिमा नयाँ जीवनको किरण आउन अगावै
स्वागतार्थ फूलको ओंठहरुमा मुस्कान प्रस्फुटित हुन्छ,
जीवनको अन्तमा
जीवनलाई बिदाई गर्न
फूलको आँखाहरुमा शीतको आँसु टल्किन्छ र
जीवनभरि फूल
कहिले हाँसेर
कहिले रोएर बाँची रहेको हुन्छ ।
फूल अर्काको दुखमा आँसु र्झार्छ
अर्काको खुशीमा हर्षे विभोर भई दिन्छ ।
पीडितले चालेको आन्दोलनहरुमा
जुलुश बनेर हिंडी दिन्छ,
कहिले नारा बनेर थर्की दिन्छ र
कहिले भाषण बनेर चर्की दिन्छ ।
फूल कहिले पनि ढुङ्गाझैं चुपचाप बस्दैन ।
सधैं-सधैं
काँडाले भरिएको बाटोहरुमा
फूलको कोमल खुट्टाहरुले
अन्धो वर्तमानको विरोधमा हिंडछन्
मौन उभिएका मूर्तिहरुको घाँटी चुँडाउन
चौकतिर अग्रसर रहन्छन् र
संवेदनहीन देवता अनि
चण्डाल पुजारीहरु लाई नङग्याउन
मन्दिर बनी उभिएका दरबारतिर बढी रहन्छन् ।
तेस कारण
एउटा फूल भएर बाँच्न धेरै धेरै ग्राहो छ ।
चहल सयपत्री (हाल: दोहा कतार )
ए महाराज धृतराष्ट्र, श्रीपेच फुकाल
फेरी पनि सुन
कुरुक्षेत्रको युद्दमा
तिमीले कहिल्यै जितेका छैनौ
कहिल्यै तिमीले जित्नेपनि छैनौ
त्यै भएर म भन्दै छु
ए महाराज धृतराष्ट्र,
श्रीपेच फुकाल
राजा भएर दरबार भित्र बस्नु मात्र त हो
तिमीले केही देख्न सक्दैनौ
तिमी त आखीर अन्धो छौ
केहि बुझ्न सक्दैनौ
तिमी त आखीर अबुझ छौ
केहि अनुभव गर्न सक्दैनौ
तिमी त आखिर
अचेतनामा छौ
सक्छौ भने दृष्टी लगाउ
यतीबेला ,
गाँउ गाँउ जलेको छ
शहर शहर जलेको छ
गल्ली गल्ली जलेको छ
सडक सडक जलेको छ
सत्यको खातीर
पुरै देश जलेको छ ।
देख्न सक्दैनौ भने
सन्जय लाइ सोध
कुरुक्षेत्रमा के भएको छ ?
के हुँदैछ ?
र के हुनेवाला छ ?
फेरी सल्लाह लेउ सन्जय सँग
तिम्रो सन्जयले जे भन्छन त्यही मान
किनकी ,
सत्यबादी सन्जयले पनि भन्नेछन
ए महाराज धृतराष्ट्र,
श्रीपेच फुकाल ।
सयौं छोर भएकोमा गर्व नगर
दुर्योधनको विश्वास नगर
पाण्डव सँग तिम्रो कदापी जीत हुदैन
पाण्डव भनेका सत्य हुन
सत्य भनेका श्रीकृष्ण हुन
श्रीकृष्ण भनेका संसार हुन
तिमी संसारलाइ लत्याउन नखोज
घरभित्र सकुनीलाइ पालेर
सकुनीको तालमा नलाग
कौडामा सँधैभरी युधिष्टीरहरु हार्दैनन्
युधिष्टीर भनेको धर्म हुन
धर्मलाइ नलत्याउ ।
तीमीले देखेका छौ ?
भिष्म पिताम्ह कसरी ढले ?
गुरु द्रोण कसरी शिस्यसँग हारे ?
अनि
दुर्योधनको कुन नियती भयो ?
सुन,
सोच ,
बुझ
आफुलाइ बचाउन चाहन्छौ भने
ए महाराज धृतराष्ट्रं,
श्रीपेच फुकाल
समयले ,
एक पटक पर्खन्छ
दुइ पटक पर्खन्छ
तर
सँधैभरी पर्खदैन
समयले ,
एक पटक साथ दिन्छ
दुइपटक साथ दिन्छ,
तर सँधैभरी साथ दिंदैन
होस गर,
आफु रहनु छ भने
गलहत्याउ
दरबार बाट सकुनिहरुलाई
त्यागीदेउ
पापी दुर्योधन र दुस्सासनलाई
पण्डवले भनेको मान
गान्धारीले भनेको सुन
संजय माथी बिश्वास गर
हैन भने त्यो बेला
तिमीले पछुताउन पनि पाउदैनौ
जुन बेला कुरुक्षेत्रका योद्धाहरुले
तिम्रो दरबार ढलाउने छन
जुन बेला तिम्रो शिरबाट
जर्बजस्ती श्रीपेच खोस्नेछन
त्यै भएर
म फेरी अन्तिम पटक भन्दैछु ।
ए महाराज धृतराष्ट्र,
श्रीपेच फुकाल
श्रीपेच फुकाल
श्रीपेच फुकाल
टंक वनेम (हाल: बेलायत)
चौतारीको दोषी ढुङ्गा
संबेदना र सदभावना
अभाब भए पछि
लोभ लाग्दो घाम र
रहर लाग्दो जून गाउँमै छाडेर
आतङक र अराजकताले
बुर्कुसी मार्दा
गाउँबाट बिस्थापित पाइतलाहरु
शहरको आकाश ओढि रहेछन् ।
हिमाल को घुम्टो भित्र
कोत पर्बको क्लोन “अयिलभ”
बीर्य र डिम्ब घोलिएको भ्रुण
संगिनले पोशिएको तन्नेरि
काइमेरा पहाडको
सुनाखरी सपना देख्दै
बजाइ रहेछ निन्तर
निरोको बाँसुरी धुन ।
नाम मात्रको देशको धुरी ओढने मान्छेहरु
एड्स ग्रस्त पुरुषको सम्भोगले
शिथिल भएकी बृद्ध बेश्या झैँ
अराजकताले डसेको
माटो माथी उभेर
जुठो जीवनको रथ गुडाइ रहेछन् ।
चौतारीको दोषी ढुङ्गामा
दोष भोगाउने मान्छेहरु भने
दाँत नभएको गिजाले
बर्तमान चपाएर
लठुवा गीत गाइ रहेछन्
तर लठुवा गीतमा कहाँ
लोभ लाग्दो घामको माया र
रहर लाग्दो जूनको
शितल छाँया ताप्न सकिन्छ र ?
मात्र-
घाम उदाउँछ अनि निम्छरो
जून अस्ताउँछ
संबेदना र सदभावनाको
कलिलो मुटुमा
दुख्ने किल्ला ठोकेर ।
± ± ±
आउ अबत……..
ए….घामको माया र
जूनको शितल छाँया ताप्ने मान्छेहरु
घाम जून छेक्ने
बादलको छाँती च्यात्न
लोकतन्त्रको चौतारीमा
कबिताको बोट रोपौं
चौतारीको त्यो
दोषी ढुङ्गा उखेलेर ।
जोतारे धाईबा
कसिँगर
जस्तै
बुझक्कड सम्पादकहरुमाझ
धराप-धराप एउटा कविजीवनझैँ
अथवा,चपाचिल्लै कोलमा
तोरीदानाको बेहालझैँ
यतिखेर चौकको यो भद्दा घडी
उभिइरहेछ किन
सडकको छाती कुल्चिएर
घडीभरिको फोहोरमा
करोड सपनाका चालहरु
ती आतुर सुइको गलत समयसँगै
अवरुद्ध दुखिरहेछन्
खिया बनेर जब्बर
साँढे सात बजेको घडीसुइ
टाँसिएर आउँछ आम आँखाभरि
र एउटा वाचाल व्यापारीझैँ
त्रासको खुद्रा वितरण गर्छ
यो फोहोर
यो कसिँगर
घरभित्र कसिँगर नरहे
आमा
सह रहन्न भन्नुहुन्छ
र पूजाकोठाको
लम्बोदर गणेशलाईजस्तै
ढोगिरहनुहुन्छ बारम्बार
कसिँगर
स्वयम् भगुवा जात हो
उडिरहन्छ यता उता
स्वयम् कुचो माग्छ
बढारिएर फ्याँकिनलाई
दिदी !
ढोकाको छेउमा कसिँगर
फेरि थुपारिरहिछ्यौ ?
क्षणमै
फेरि हावा चल्छ
उडाएर ल्याँउछ र र्छछ
घरभरि/कोठाभरि
र बिझाउँछन् हाम्रा
स्वप्निल आखाहरु
सबभन्दा दिदी
आँखाभरि
आँसुको आगो उम्लिन्छ
कसिँगर कसिँगर नै हो
घरभित्र कोठा खुइलिन्छन्
कुनाकुना ओसिन्छन्
धेरै भयो-
कसिँगरले झुप्पाझुप्पा
कुचो हेरिरहेछ
प्यारी !
अब त हाम्रा हातभरि
नसा हुर्किसकेका छन्
मानौँ टिउँटिउँ हाँसका चल्लाझैँ
कसिँगरले कन्टेनरको
सुहाउँदो सिँहासन खोजिरहेछ
अब त कुचोहरु बगे हुन्छ
वर्षा आउला
र कन्टेनरमा लिपेर जान्छ कसिँगर
हूरी रन्किएला
र उडाएर लान्छ कसिँगर
कतै इतिहासको नदीवेगमा
कसिँगरविना अब घर
टिक्टिक् घडीको नियमित लयमा
पर्खिरहेछ एउटा एउटा गौँथलीको
फिरफिर पखेटाहरु
र सपना तैरिने सफा आँखाहरु
हो बाबु !
अब त
ठीक छ ।
टंक वनेम (हाल: बेलायत)
चौतारीको दोषी ढुङ्गा
संबेदना र सदभावना
अभाब भए पछि
लोभ लाग्दो घाम र
रहर लाग्दो जून गाउँमै छाडेर
आतङक र अराजकताले
बुर्कुसी मार्दा
गाउँबाट बिस्थापित पाइतलाहरु
शहरको आकाश ओढि रहेछन् ।
हिमाल को घुम्टो भित्र
कोत पर्बको क्लोन “अयिलभ”
बीर्य र डिम्ब घोलिएको भ्रुण
संगिनले पोशिएको तन्नेरि
काइमेरा पहाडको
सुनाखरी सपना देख्दै
बजाइ रहेछ निन्तर
निरोको बाँसुरी धुन ।
नाम मात्रको देशको धुरी ओढने मान्छेहरु
एड्स ग्रस्त पुरुषको सम्भोगले
शिथिल भएकी बृद्ध बेश्या झैँ
अराजकताले डसेको
माटो माथी उभेर
जुठो जीवनको रथ गुडाइ रहेछन् ।
चौतारीको दोषी ढुङ्गामा
दोष भोगाउने मान्छेहरु भने
दाँत नभएको गिजाले
बर्तमान चपाएर
लठुवा गीत गाइ रहेछन्
तर लठुवा गीतमा कहाँ
लोभ लाग्दो घामको माया र
रहर लाग्दो जूनको
शितल छाँया ताप्न सकिन्छ र ?
मात्र-
घाम उदाउँछ अनि निम्छरो
जून अस्ताउँछ
संबेदना र सदभावनाको
कलिलो मुटुमा
दुख्ने किल्ला ठोकेर ।
± ± ±
आउ अबत……..
ए….घामको माया र
जूनको शितल छाँया ताप्ने मान्छेहरु
घाम जून छेक्ने
बादलको छाँती च्यात्न
लोकतन्त्रको चौतारीमा
कबिताको बोट रोपौं
चौतारीको त्यो
दोषी ढुङ्गा उखेलेर ।
डा. बेन्जु शर्मा
कर्फ्यु
बिहानै सिरानीको शिरमा
कर्फ्युको साइरन
मृत्युको शंखघोष हुँदा
गतिमा गोली लाग्दा
आवाजहरू दगुरिरहेका
तारहरुको घाँटी निमोठिँदा
शब्दहरू शरशय्यामा रोपिएको छ ।
घाँटीमा कर्फ्यु
पाइलामा कर्फ्यु
आँखामा कर्फ्यु
सम्पूर्ण संवादमा कर्फ्यु
कर्फ्यु भाइरसले
निस्लोट ज्वरमा
देशलाई पकाउँदा
कर्फ्युको ठिँगुरोमा
देशलाई ठिँगुराउँदा
अरुलाई ताकेको बन्दुक
उल्टिएर कहिले
आफ्नै छातीमा पड्कन सक्छ
सायद यही समय आएको छ ।
गतिहरू गर्वमा पुरिँदा
पाइलाहरू पातालमा भासिँदा
मात्र दिमाग दरिलो भएर
द्रूत गतिमा दगुरेको छ
टाउकाहरू पृथ्वीसंगै
घुमेका छन्
जति हातले पौठेजोरी खेल
लात्ताले हान
जति मल्लयुद्ध लड
तर टाउकासँग टकरार नगर
विश्वसँगै घुमिरहेको
विचारको संवाहक
एउटा विन्दुमा
सम्पूर्ण सिन्धु अट्ने
द्रुत गतिका दूतहरू
एउटै खल्तीभित्र अड्ने
एक्काइसौँ शताब्दीको
दिमागसँग शत्रुता नमोल ।
अब बाबुले खाएको घिउको
हातमा कुनै सुगन्ध छैन
उहिलेका कुरा
उड्ने रङ्गजस्तै
खुइलिइसके
आजलाई
हिजोको खिया परेको साँचोले
कसरी बन्द गर्छौ ?
यी ताल्चा र साँचोका
सिक्री र साङलाका कुरा
यी दासताले छल्ने कुरा
कर्फ्युको कक्राइले करेट्ने कुरा
उहिले उहिलेका कुरा
लाक्षागृहका कुरा
पासाको खेलले
द्रौपदीलाई निर्वस्त्र पार्ने कुरा
धमिलो पानीमा
माछा मार्ने कुरा
वेश्याले गर्ने
पतिव्रताका कुरा
यो अब नगर
ओठे प्रजातन्त्रका कुरा
तीर्थ श्रेष्ठ (पोखरा)
तानाशाहहरूको सपनामा इन्द्रेणी हुँदैन
तानाशाहहरूको सपनामा इन्द्रेणी हुँदैन
उनीहरू एकै रमग
अर्थात कालो सपना देख्छन्
अभयसमगको अपरिचयको कारण
तानाशाहहरुको सपनाको रंग
भय जस्तै गाढा हुन्छ
आफ्नै प्रतिको अविश्वास जस्तै
विडम्बनापूर्ण हुन्छ
अर्थात तानाशाहरहू
सपनामा भिर तिर
हतास हतास दौडन्छन्
र विहानै बिउँझिएर
पसिनाले लतपत
अंगरक्षकहरूको पल्टन तयार पार्छन्
तानाशाहहरु सपना त देख्छन्
दिनभर आफूले कुल्चेका
मान्छेका स्वप्नहरूले
आफूलाई कुल्चेको सपना देख्छन्
हतासको गीत गाएका
दु:रुह लाग्दा स्वरहरूको बाहुल्यतामा
उनीहरु
सपनाभर आफ्नो स्वरको खोजीमा हुन्छन्
चिने चिनेझैँ लाग्दो
स्वर जब तन्किन खोज्छ
र तन्किन नसकेर भत्कन्छ
तानाशाहहरू त्यतिबेला आफ्नो स्वरसंग
पनि भयभीत हुन्छन् ।
तानाशाहहरूको सपनामा
चराहरूले गित गाउँदैनन्
ऋषिहरू पवित्र ऋचाहरु पाठ गर्दैनन्
आकास धर्तीसंग भलाकुसारी गर्दैन
तारा बुट्टे च्यादर ओढेर
आकाशले धर्तीलाई लोभ्याउँदेन
भय र अपराधमा
कुनै रंग प्रकाशमान हुन सक्दैन
र त तानाशाहहरू सपना देख्छन्
तर त्यहाँ इन्द्रेणी हुँदैन ।
दीपक अर्याल
कसैले छेक्न सक्दैन
तिमीले मान या नमान
तिमीले ठान या नठान
तिम्रो चाहनाले अब केही हुँदैन
तिम्रो इच्छाको कुनै अर्थ छैन
किनभने,
तिम्रो शहरमा आउने मेरो निर्णयलाई
अव कसैले रोक्न सक्दैन,
कसैले छेक्न सक्दैन।
मान्छेहरू भन्छन्,
म धेरै ढिला आउन लागेको छु,
तैपनि उनीहरू खुशी छन्
भन्छन्,
ढिलै भयो तर आउने निर्णय त गर्यो
मलाई थाहा छ
थुप्रै जंघार तर्नु छ,
थुप्रै भङ्गालाहरू पुर्नु छ।
आउने बाटोमा काँडे तार लगाइने छ
बाटोभरि एम्वुसहरू विछ्याइनेछ
खुल्ला नसके,
कुनै बहानामा
मेरो हत्या गर्ने कोशिस गरिने छ
तैपनि मैले आउनै पर्छ
गोली वारूदको गन्धसंगै
नयाँ युगको संखनाद गर्नै पर्छ।
०७ मा हावा चलेको छ
०४६ ले केही पात हल्लाएको छ,
जंगलीराजले रूखनै हल्लाएको छ
तर,
यस्ता साना हल्लाई मेरो रहर हैन
टालेटुले सम्झौता मेरो गन्तव्य हैन
मलाई,
उठ्नै नसक्नेगरी ती रूखहरू ढाल्नुछ
अनि, एक नयाँ इतिहासको निर्माण गर्नुछ।
खै के भन्छ तिम्रो ज्योतिषीलेरु
खै के भन्छ तिम्रो भगवानलेरु
मैले सल्लाह माग्ने ज्योतिषी छैन
न त तिम्रो जस्तो भगवान नै छ,
त्यसैले,
यो निर्णय म आफै गरेको छु,
भगवानको खुशीका लागि पनि म आउनै पर्छ
तिमीलाई र तिम्रो राज्यलाई ढलाउनै पर्छ
तिमीलाई थाहै छ,
जनता मेरा लागि भगवान हुन,
र
म एक क्रान्ति हुँ।
(२) म कातर होइन
आमा, तिमीलाई थाहै छ
मेरो बाजेलाई
—शमशेरको बाजेले मार्यो
मेरो बाबुलाई
यसैको बाबुले मार्यो
र अहिले यो
मलाई मार्न दौडिरहेको छ।
आमा,
किन होरु
यिनीहरूका प्रत्येक पुस्ताले
हामीहरूका प्रत्येक पुस्तालाई
मार्न दौडिरहेका हुन्छन्।
यिनीहरूका हरेक सन्तानहरूले
हामीहरूका सन्तानहरूलाई
लखेटिरहेका हुन्छन्
दुस्ख दिइरहेका हुन्छन्।
आमा।
मैले के पो विगारेको छु ररु
आमा,
मैले के नै पो मागेको छु ररु
म पनि बोल्न पाउँ भनेको न हो
म पनि हाँस्न पाउँ भनेको न हो
हामीलाई पनि शान्ति चाहियो भनेको न हो
के यी सबै उसले मात्र पाउने कुरा होरु
के यो अधिकार उसका सन्तानहरूको मात्र होरु
आमा, तिमीलाई थाहै छ
मेरो बाजेलाई
—-शमशेरको बाजेले मार्यो
मेरो बाबुलाई
यसैको बाबुले मार्यो
र अहिले यो
मलाई मार्न दौडिरहेको छ।
मैले माग्नै नहुने के मागेको छु ररु
मैले बोल्नै नहुने के बोलेको छु ररु
तै पनि यो मेरो पछि गोलि लिएर दौडिरहेको छ
मेरो साथीहरूको हत्या गरिरहेको छ।
खान्दानी पेशाका रूपमा
क्रुर राक्षसी हाँसोमा
आफ्नो असली अनुहार बोकेर
आमा,
म दोधारमा छु
यिनीहरू मान्छे हुन् कि राक्षस हुन्
यिनीहरू मान्छे हुन् कि रक्त-पिपासु हुन्
आमा,
म साँच्चै दोधारमा छु,
के यिनीहरूको खान्दानी पेशा नै मान्छे मार्नु होरु
के यिनीहरू मान्छेको रगत नपिई बाँच्नै सक्दैनन्रु
आमा,
मलाई यिनीहरूका प्रत्येक सन्तानहरूसँग घृणा गर्न मन लागेको छ
यिनीहरूका प्रत्येक सन्तानहरूसँग डराउन मन लागेको छ
प्रत्येक सन्तानहरूसँग टाढा बस्न मन लागेको छ।
होइन,
होइन, होइन
आमा,
म कातर होइन
यिनीहरूसँग मेरो बाजेले पाएको दुखको बदला लिन मन लागेको छ
मेरो बाबुले पाएको पीडा यिनीहरूले पनि पाउनु पर्छ भन्ने लागेको छ
म लखेटिए जस्तै यिनीहरू पनि लखेटिनु पर्छ भन्ने लागेको छ।
देवदास
(१) ए माघमा आँखा फुटेको गोरु ………
असफल भए तिम्रा काँडाका बारहरु
ग्याँसका सिलिण्डरहरु, बन्दुकका गोलीहरु
र घँघारुका लठ्ठीहरु
तिम्रा अथक प्रयसहरुलाई
असफल बनाउँदै
तिम्रा हरेक बाधाहरुलाई
निस्कृय तुल्याउँदै
सयौँ जँघार र भंगालो तर्दै
म शहरमा आएको छु
देख्न सक्छौ कि सक्दैनौ ?
चिन्न सक्छौ कि सक्दैनौ ?
ए माघमा आँखा फुटेको गोरु
लौ हेर, म शहरमा आएको छु ।
म तिम्रो अगाडी उभिएको छु ।
पहिला जे जे ग-यौ सहेरै बसें
तिम्रा ताण्डव नृत्यहरु हेरेरै बसें
तर यसपाली,
आँधी भएर आएको छु, तुफान भएर आएको छु
सुनामी भएर आएको छु ज्वालामुखी भएर आएको छु
सक्दैनन् रोक्नलाई तिम्रा ढालहरुले
सक्दैनन छेक्नलाई तिम्रा पर्खालहरुले
आकाशमा ताक या जमिनमा
छातीमा ताक या टाउकोमा
तिम्रा बन्दुकका नालाहरु त्यती दह्रा छैनन्
जती मेरो विश्वास दरिलो छ ।
तिम्रा फलामका साङला त्यती दह्रा छैनन
जती मेरो रक्त नलिहरु छन ।
यसपाली म चट्टान भएर आएको छु
तिम्रा बन्दुकका गोलीहरुले
चिर्न सक्नेछैन मलाई
कति सम्म सक्छौ लडेर हेर,
देख्न सक्छौ कि सक्दैनौ मलाई ?
ए माघमा आँखा फुटेको गोरु
म तिम्रो शहरमा आएको छु
म तिम्रो अगाडी उभीएको छु ।
देख्नेहरुले मलाइ जहाँतही देख्छन,
जताततै देख्छन ।
कलङ्कीमा हेर या गोंगबुमा
चाबहीलमा हेर या किर्तीपुरमा
ठेचोमा हेर या कोटेश्वरमा
कहिले म रत्नपार्कमा हुन्छु
कहिले चुच्चेपाटीमा,
कहिले कपनमा हुन्छु त कहिले जोरपाटीमा
तिम्रा खिया लागेका आँखाहरुले
देख्न सकेनौ भने खिया सफा गरेर हेर
पावर भएको चस्मा लगाएर हेर
ए माघमा आँखा फुटेको गोरु
म शहरमा आएको छु
म तिम्रो अगाडी उभिएको छु ।
यदी अझै मलाई देखेको छैनै भने
त्यो तर्साउँने खण्डहर बाट निस्केएर हेर
बलीरहेका टाएरहरुमा फुटीरहेका इटा र ढुंगाहरुमा
उडिरहेका अस्रुग्याँसहरुमा बगीरहेको रगतमा
बर्सिरहेका लठ्ठीहरुमा
सडकमा ढलीरहेका निर्दोस मानीसहरुमा
चिच्याइरहेका आइमाइ र केटाकेटीहरुमा
सत्तरी बर्षो बृद्धको बेदनामा
सात बर्षो बालकको बगीरहेको रगतमा
नामर्दहरुले चलाइरहेको गोलीहरुमा
जलीरहेका सहीदका लासहरुमा
म सडक,गल्ली, चोक, अनी आँगनमा छु
हेर एकपटक बाहीर निस्कीएर
ए माघमा आँखा फुटेको गोरु
म शहरमा आएको छु
म तिम्रो अगाडी उभिएको छु ।
पहिला पनि मैले खोजेको थिएँ
तिम्रो यो बुढो रुख ढाल्नलाइ
तर त्यतीखेर हाँगा मात्र भाँचेको थिएँ
पात मात्र उडाएको थिएँ जरा मात्र हल्लाएको थिएँ
तर यसपटक यो रुख ढाल्नेगरी आएको छु
जरा उखल्ने गरी आएको छु
सक्छौ भने रोकी हेर
सक्छौ भने छेकी हेर
यसपाली नयाँवर्षको सुरुवातसँगै
तिम्रो अन्त्य भएर आएको छु
नेपालीहरुको सुरुवात भएर आएको छु ।
बाहीर निस्कीएर हेर अनि चिन मलाई
ए माघमा आँखा फुटेको गोरु
म शहरमा आएको छु
म तिम्रो अगाडी उभिएको छु
(२) भाग तिमी भाग
तिमी एकजना भाग्दा
अढाइकरोडको भलो हुन्छ भने
भाग !
तिमी भाग !
जहाँबाट भाग्छौ भाग
जसरी भाग्छौ भाग
जुनबेला भाग्छौ भाग
पूर्वबाट भाग
पश्चिमबाट भाग
उत्तरबाट भाग
दक्षिणबाट भाग
जुनबेला भाग्छौ भाग
बिहानै भाग
मध्यन्हमा भाग
साँझमा भाग
मध्यरातमा भाग
भो अब ढिला नगर
तिमी एकजना भाग्दा
अढाइकरोड जनता खुसीहुन्छन भने
भाग !
तिमी भाग !
भो नहेर अब साइत
तिमीले बहुत साइत हेर्यौ
साइत निकालेर बहुत काम गर्यौ
पुण्यको कुनै काम भएन तिम्रो साइतमा
जति भए पापमात्र भए
अब नखोज ज्योतीषी
नहेर साइत
चुपचाप भाग !
जुन बार भागेपनि हुन्छ
शुक्रबारनै चाँहिदैन
आइतबार भागेपनि हुन्छ
सोमबार भागेपनि हुन्छ
जती गते भागेपनि हुन्छ
आठ बाह्र बार्नु पर्दैन
जहाँबाट भागेपनि हुन्छ
थानकोटबाट भाग
धुलीखेलबाट भाग
ककनीबाट भाग
भैंसेपाटीबाट भाग
मेचीबाट भाग
महाकालीबाट भाग
तातोपानीबाट भाग
काँकडभित्ताबाट भाग
भो अब अबेला नगर
तिमी एकजना भाग्दा
अढाइकरोडको आँशु पुछिन्छ भने
भाग !
तिमी भाग !
एसपाली कानुनको पनि कुरा नगर
तिमी भाग्नलाई
कुनै कानुनले रोक्दैन
कुनै कानुनले छेक्दैन
कुनै संविधानको धारा तगारो बन्दैन
कसैको अनुमती पनि चाँहिदैन
कतै बैठक पनि बस्नु पर्दैन
भाग्नलाई कुनै बिषेश कला पनि चाँहिदैन
आफ्नै तरिकाले भाग
साँढेले छाती फुलाए जस्तो
छाती फुलाएर भाग
पानीले चुटेको मुसो जस्तो
थर्थरी काम्दै भाग
डराएको कुकुर जस्तो
पुच्छर टांङमुनि हालेर भाग
नुन खाएको कुखुरा जस्तो
टाउको नुंगाएर भाग
जसरी भाग्छौ भाग
पैदल भाग
घोडामा चढेर भाग
कारमा चढेर भाग
हेलिकप्टरमा चढेर भाग
प्लेनमा चढेर भाग
अब साह्रै ढिला हुनलागी सक्यो
त्यसैले अबेला नगर
तिमी एकजना भाग्दा
अढाइकरोडको चाहना पुरा हुन्छ भने
भाग !
तिमी भाग !
अहिलेनै भाग !
धीरेन्द्र प्रेमर्षि
गजल
गल्ली-गल्ली आन्दोलनको हुरी चल्दैछ
बन्दुकसँगै निरोको बाँसुरी चल्दैछ
क्रान्तिगीत जता-ततै घन्किएको बेला
श्रीपेचको आड्मा कुरी-कुरी चल्दैछ
पापको त्यो घैँटो अब भरिसक्यो राजा
कराई-कराई दरबारको धुरी चल्दैछ
एक-दुई कुकुर हड्डी च्यापी भुक्छन् राजतन्त्र
त्यसकै भरमा उनको चुरी-फुरी चल्दैछ
भुसुना र झिङ्गा ठानी जनता अल्झाउन
फेरि नया जाल बुन्न माकुरी चल्दैछ
मुकुट मुनि मोज गर्ने उनको सेना-मेना
शिरसँग बढाउँदै जान दूरी चल्दैछ
राष्ट्रमाथि पुस्तौँदेखि बलात्कार गर्ने
शरीर त गल्यो, तर ‘तुरी’ चल्दैछ
कति उड्ला बाज, जब सारा जनताकै
मनमा शान्ति, हातमा खुकुरी चल्दैछ
नारद बज्राचार्य
आऊ, अभिनन्दन गरौं
सूर्यका टुक्राहरु झरेका हुन्
सडक, गल्ली र चोकहरुमा ?
आऊ, अभिनन्दन गरौं !
पटक पटक चुँडिएको
तिम्रो मेरो सपना
बलियो मालामा गाँस्न आएका हुन्
आऊ, अभिनन्दन गरौं
उज्यालोको भ्रममा
फेरि रातसँग अँगालो मार्लाउ
खवरदारी गर्दै आएका हुन्
आऊ, अभिनन्दन गरौं
बाक्लो कर्फ्र्यूको घेरा तोड्दै
स्वतन्त्रताको निम्ती
प्राण सिंचिन आएका हुन्
आऊ, अभिनन्दन गरौं
सडक, गल्ली र चोकहरुमा
सूर्यका टुक्राहरु
आगोका लप्का ओकल्दै गीत गाइरहेछन्
आऊ, हामी पनि त्यसमा आफ्नो स्वर भरौं ।
(नेपाल भाषाबाट अनुदित)
नारायण ढकाल (काठमाण्डौ)
तानाशाहको डर
सहरको माँझमा उभिएको
तानाशाहको सालिक
जुनसुकै बेला पनि
डराइरहन्छ
उसको सुरक्षार्थ
पूरै सहरमा
लगातार कर्फ्यु लगाइएको छ र
हरदम तैनाथ छन्
बन्दुकधारी सिपाहीहरू
शन्ति सुरक्षा बिग्रन नदिन
त्यता आउँने मानिसलाई मात्र होइन
किरा फट्याङ्ग्रालाई समेत
तत्काल गोली ठोक्ने आदेश दिइएको छ
तैपनि फिटिक्कै
घटेको छैन तानाशाहको डर
म प्रत्येक दिन
केही बेर कर्फ्यु खुलेको मौका पारेर
तरकारी किन्न बजारतिर जान्छु
र सालिकको छेउबाट गुज्रन्छु
देख्छु:
डरको पसिनाले निथ्रुक्क भिजेर
खुइलिँदै गएको
उसको शरीरको फुस्रो रंग
आफ्नो परम प्रताप
उत्तराधिकारी तानाशाहको
शक्तिशाली राज्यमा पनि
किन यसरी डराइरहेको छ ऊ?
के कसैले भित्रभित्रै योजना बनाइरहेको छ
उसलाई भत्काउँन?
अथवा उसले भर्खरै सुराक पाएको छ
हाम्रो समयको
कुनै प्रतिबद्ध मानिस
कुनै समय
चिहानमा गाडेको
विद्रोहको इतिहासलाई
उधिनेर
निषेधाज्ञा जारि गरिएको
रक्तरंजित सडकमा ल्याउँन
भगीरथ प्रयत्न गर्दै छ ?
चोकमा ठड्याइएको
तानाशाहको सालिक
जुनसुकै बेला पनि
डराइरहन्छ
मानौँ अबदेखि
डर र तानाशाह भनेका
नयाँ व्याकरणका
पर्यायवाची शब्द हुन् ।
निमेष निखिल (र्सलाही, हरिभवन, हालः हेटौंडा)
मान्छे बोल्नु पर्दैन अब
दमित आवाजहरूको हुङ्कार
सडक बोलेर हिँडेको छ
नदी बगेर उर्लिएको छ
बतास बहेर र्ससराएको छ
मान्छे बोल्नु पर्दैन अब ।
टाउको बन्दकी राखेर
पाइताला चाट्नेले के देखून्
आवाजको यो सडक
बहाबको यो नदी
के सुनून् आँधीका गर्जनहरू
टाउको नभएका गिँडहरूले ।
ए नदेखेको नाटक गर्नेहरू हो झ्
सक्छौ भने हेर
तिम्रो दम्भको सगरमाथामा
सल्बलाएका हाम्रा पाइतालाहरू
अब त हाम्रा पाइताला पनि बोल्न थालिसके
मान्छे बोल्नु पर्दैन अब ।
अस्ताउँन लागेको बूढो घाम बोकेर
दुलोमा पस्न तम्तयार काला मान्छेहरू
भोलिको नेपाल प्रतिबद्ध छ
तिमीहरूको कालो अनुहार देखाउन
अब यिनै सडकहरू बोल्छन्
तिमीहरूको भयावह भविष्य
यिनै नदीहरू गाउँछन्/बतासहरू सुसेल्छन्
तिमीविरुद्ध मूर्दावादका नाराहरू
मान्छे बोल्नु पर्दैन अब ।
(२) विकराल समय र टाउकोमाथि झुन्डिएको जाँतो
समयको विकरालतामा
म यत्ति भन्न सक्छु-
हाम्रो टाउकोमाथि जाँतो झुन्डिएको छ
हजुर ! कमजोर डोरीले बाँधेर झुन्ड्याइएको जाँतो ।
‘थाहा छैन’
यो जाँतो कसले झुन्ड्याएको हो
यसै भन्छन् मान्छेहरु
तर सबैलाई थाहा छ
जाँतो कसले झुन्ड्याएको हो ।
सुनिन्छ-
डोरी कच्चा छ असाध्यै
जाँतो झुन्ड्रयाउने डोरी आयात गर्ने क्रममा
व्यापक अनियमितता भएको छ
भागबन्डा नमिलेपछि त
कुरो बाहिर आयो
जाँतोको हैन-
डोरीको ।
सडकमा हिँडिरहन्छन् मान्छेहरु
आइमाईहरु/बृद्धहरु/ससाना नानीहरु
हामीले जिज्ञासा राख्यौँ-
यस्तो ठाउँमा किन झुन्ड्याएको होला यो जाँतो –
धेरैले अन्यमनस्कभावले मुन्टो हल्लाए
र केही भन्दै थिए-
‘हामीलाई आफ्नो भन्न रुचाउने एउटा मान्छेले
यो मान्छेको सुरक्षाका लागि झुन्ड्याएको हो ।’
समयको विकरालतामा
म यत्ति भन्न सक्छु-
हाम्रो टाउकोमाथि जाँतो झुन्डिएको छ
हजुर ! कमजोर डोरीले बाँधेर झुन्ड्रयाइएको जाँतो ।
(३) त्यो र्सवश्रेष्ठ कापुरुष
कुख्यात इतिहासको र्सवश्रेष्ठ कापुरुष
निर्लज्ज हाँसिरहन्छ
नरमुण्डमाला लगाएर ।
बहिरो नभएर पनि
कान सुन्दैन कि जस्तो
अन्धो नभएर पनि
आँखा देख्दैन कि जस्तो
मुर्ख नभए पनि
आफैँ पस्ने खाल्डो खन्दैछ ऊ ।
मुट्ठीभर दुर्गन्धित इतिहास बोकेका
घिनलाग्दा अनुहारहरुको फौज पछि लगाएर
यताबाट उता फेरि उताबाट यता
आफ्नै अवसानको खोजीमा भौँतारिएझैँ
भौँतारिइरहन्छ कापुरुष ।
केही पानीआन्द्रेहरुको कवचमा घेरिएर
कहिलेकाहीँ ऊ घिनलाग्दोगरी भुक्छ
किनिएका हातहरु ताली पिट्छन
आफ्नो भाउ अकासिएको बोधमा
कापुरुष जुँगामा ताउ दिन्छ
र गिलास भरिभरि पिउँछ
निर्धा मान्छेका आलो रगत
मैमत्त हुनुको सीमान्तसम्म ।
फेरि अनि फेरि
कुख्यात इतिहासको र्सवश्रेष्ठ कापुरुष
निर्लज्ज हाँसिरहन्छ-
नरमुण्डमाला लगाएर ।
पदम गौतम
(१) चक्रपथमा एक चक्कर
झण्डा बोकेर कुर्लियौं हामी
र, फेरि आइपुग्यौं पुरानै ठाउँमा
हिडिरह्यौं निरन्तर
तर पुगेनौं कहिं पनि, कतै पनि
एउटा वृत्ताकार घेरा बाहिर ।
पूरै वृत्त घुमेपछि
बल्ल थाहा पायौं
हत्याराहरुले खोसेछन्
हाम्रा झण्डा र नाराहरु
जसलाई बनाएथे बाजेहरुले
तिनै हत्याराका विरुद्ध ।
दिनदहाडै वेश्याहरु
कुमारित्वको नारा लगाउँछन्
र, बलात्कृत युवतीहरु
झुण्डाइदिन्छन् तक्माको लस्कर
बलात्कारीको छातीमा ।
जति हिँड्छौं हामीहरु
जति बढ्छौं अगाडि
केवल वृत्तको वरिपरी दौडन्छौं
हामी उहीं छौं, हिजो जस्तै
हामी उस्तै छौं, पर्ुखा जस्तै
झण्डाहरु उही छन्
मुटुजस्तै प्रिय,
नाराहरु उस्तै छन्
लोकगीत जस्तै मीठा
मात्रै फरक देखिन्छ
झण्डा बोक्ने हातहरुमा
हिजो बलात्कृतहरु झण्डा बोक्थे
आज बलात्कारीहरु झण्डा बोक्छन्
धेरै हिंड्यौं हामी
तरर कहिल्यै पुग्न सकेनौं
चक्रपथको घेरा बाहिर ।
(२) शर्मा काकाको कविता
पहाडगञ्जको धुर्मैलो गल्लीभित्र
अँध्यारो उनको जीवनजस्तै
एउटा सानो छिँडीमा
चिया बेचिरहेछन्
शर्मा काका ।
वर्षौंदेखि मध्यरातसम्म
जागा नै हुन्छ पहाडगञ्ज
टुरिष्ट बजार, रेलको ओहोरदोहोर
मध्यरात कटेपछि पनि
पहाडगञ्ज उस्तै जाग्छ
रेलका सिठ्ठीसँगै
सिङ्गै दिल्ली थर्काउँदै
हो, यी दुवै घडीमा
शर्मा काकाले
चिया बेच्न उठ्नुपर्छ
शर्मा काका सुते भने
उनीसँगै उनको रोटी सुत्छ
गाउँमा श्रीमतीको ओठ-तालु सुत्छ
र, छोराका सपनाहरु सुत्छन्
अर्थात् शर्माकाकाहरु सुते भनेँ
मेरा भाइहरु सुत्छन् -देशैभरी
देश ब्युँझाउन शर्मा काकाहरु
आधा पेटमै जागा रहन्छन्- सधैंभरी ।
‘ओ नेपाली ! चाय मिलेगा?’
‘जरुर साब ! बैठो’
शर्माकाका वर्षौंदेखि व्यस्त छन्
काकाहरु जी हजुरमै अभ्यस्त छन् ।
वर्षौंअघि उनले छोडेको देशमा
यति कुर्सी फेरिए
त्यति त उनका धोती पनि फेरिएनन्
तर, शर्मा काका यी केही बुझ्दैनन्
देशमा क-कसले के-के बेचेको खबर
अहँ, उनी पत्याउँदैनन्
न त पत्याउँछन् आफैंले
आफूलाई चियासँग बेचेको
आफ्नो उमेर र सिङ्गो जीवन बेचेको ।
पहाडगञ्जको साँगुरो गल्लीभित्र
भत्किएका उनका सपनाजस्तै
एउटा सानो छिंडीमा
चियासँगै आफैंलाई बेच्छन् शर्माकाका
कसैले देश बेचेको सुन्दा
आफ्नै छाती सुम्सुम्याउँछन्
र, खोक्दै भन्छन्-
‘एउटा साँच्चीकै देश त
यहाँ पनि छ, बाबू ।’
(३) यक्षप्रश्न
यसबेला हामी यस्तो चौबाटोमा छौं
जहाँको समय कसैलाई थाहा छैन
समय स्वयं पनि
समयकाबारे अनभिज्ञ छ
यसबेला समय
स्वयं घण्टाघर खोजिरहेछ
कति बज्यो होला ?
अब उज्यालो हुन्छ कि अँध्यारो ?
अँध्यारो कोठामा घण्टौंदेखि
मातेर लडिरहेको जँड्याहा झैं
समय आफैं अलमलमा छ
कुन शताब्दी ?
कुन दशक ?
कुन महिना ?
कति गते ?
कति बजे ?……
ऊ दिशा नचिनेर
दक्षिणतिर हेरिरहेछ
पूर्व खोज्दै ।
म पनि चौबाटोमा अल्मलिएको छु
र, समय स्वयम्
मसँग प्रश्न गरिरहेछ
यो कुन समय हो, हँ –
(४) समूह पीडा – १
पहिला जलाए जंगल
बारी र रुखका ठुटाहरु
जलाए हाम्रा पुस्तक
खाट, दराज र कपडाहरु
तिनै खरानी खोज्नेहरुले
अनि बोकाएर लगे खरानी
हाम्रै नानीहरुलाई ।
फेरि जलाए सिंगो खेतबाली
गोठ र मेरो सुन्दर घर
हेर्दाहेर्दै विस्तारै
जलाए सिंगै गाऊँ
हामी अशक्तहरु यसबेला
जाडोमा लुगलुग काँप्दै
यो निर्जन गाऊँमा
उभिएका छौं निर्वस्त्र
उफ ! फेरि आउँदैछ यतै
खरानी खोज्नेहरुको लस्कर
अब त यहाँको
माटो समेत बाँकी छैन
हामी के जलाएर खरानी दिऊँ
साँच्ची ! हामीसँग केही बाँकी छैन
यी जीर्ण शरीरहरु बाहेक
के उनीहरुले स्वीकार्लान्
हाम्रो शरीरको खरानी ?
(५) समूह पीडा –२
नाक, कान, गाला…
सबैतिर थिए स-साना घाउहरु
डण्डीफोर, लुतो, घमौरा
अलिअलि दुख्ने, चिलाउने
सामान्य थियो पीडा जीवनमा
कसैले हान्यो खुट्टामा बेस्सरी
बिर्सिएँ सारा साना घाउहरु
थला परेँ
र केवल खुट्टा दुःखिरहृयो
फेरि कसैले काट्यो हात
बिर्सिएँ मैले पूरै शरीर
हातको पीडाले रुन थालेँ
यसैगरी हानियो मेरो
छातीमा, ढाडमा र सारा अंगमा
अनि टाउकोमा…
यतिबेला पूरै शरीरभरी
घाऊ नै घाऊ छन्
तर अन्तिम घाऊ मात्रै
दुःखिरहेको छ
अब कुन अंग हान्ला यसले
कहाँ र कसरी दुख्ला ?
हँ……………………..?
(६) बागमती, अब तँ बग्नुपर्छ
हिजोआज बाग्मती स्थीर छ
तर नदी त सहरको जननी हो
नदी सभ्यताको आरम्भ हो
र, सहर भनेको ।
नदी र सभ्यताको अन्त्य हो ।
हरेक बिहान पण्डाहरुले
शिवलिङ्गमा जल चढाउँदा
बाग्मती उत्तेजित हुन्छ
मख्ख पर्छ र दङ्ग पर्छ
हत्याराहरुले ढोग्दा सधैं
यी कुनै पाखण्डहरु बाग्मतीले बुझ्न सकेन
बाग्मती ! अब तैंले कुरो बुझ्नुपर्छ
अब तँ साँच्ची बग्नुपर्छ ।
यी सारा पुलहरु
तेरो शरीरमा तेर्सिएका
षड्यन्त्र हुन्, केबल षड्यन्त्र
सब पाखण्ड हुन्, पाखण्ड
सब कार्यहरु तेरा विरुद्धमा छन्
कतिन्जेल कर्छस् अझ
अपराधीका लासहरु ?
र लास जलेको उज्यालोमा
मुर्दा डढेको न्यानोमा
कतिन्जेल रमाउँछस् ?
साँच्ची बाग्मती !
तैंले सारा षड्यन्त्र विरुद्ध
कुर्लिन सक्नुपर्छ
अब तैंले बग्नुपर्छ ।
नदी त दिशासमेत फर्ेनसक्ने
हुनुपर्ने हो व्रिद्रोही स्वभावको
तर बाग्मती त लास पर्खिएर बस्छ
अनि लासहरु जलाइँदा
त्यसकै उज्यालोमा आँखा हेर्छ
त्यसकै न्यानोमा आङ सेक्छ
कति भन्ने बाग्मतीलाई
बाग्मती अब तैंले बग्नुपर्छ
साँच्ची ! अब तैंले बग्नुपर्छ ।
(७) एउटा भोलिको कविता
भुइंचालो गएपछि
म त सुरक्षित हुन्छु झुपडीमा
तर तिम्रो विशाल महल ढल्नेछ
र, टक्क अडिनेछ एउटा श्रृंखला ।
हो, निसंकोच रुपमा
हामीहरु सडकमा यतिबेला
एउटा ठूलो भुइंचालो पर्खिदैछौं
जो कहिल्यै आएन यसअघि
जसले भत्काउँछ महल निर्दयतापूर्वक
र, सम्पन्न बनाउनेछ हामीलाई
साँच्चीकै सम्पन्न
हामीसँग हुनेछ यही झुपडी
जसको कतै भत्किने ठाउँ नै छैन
तर तिमीसँग केही हुनेछैन
आफ्नो त्रासद् अतीत बाहेक
हो, हामीसँग केही छैन आफ्नो
त्यसैले हाम्रो केही गुम्ने छैन
हाम्रो सम्पत्ति भन्नु नै
केवल हामी आफैं हौं ।
यी महलहरु अग्ला छन्
हाम्रा पुर्खाका हड्डीमाथि उभिएका
हो, यहीं बसेर तिमी
बुनिरहन्छौ षड्यन्त्रका श्रृंखला
ढल्नेछन् गर्लामगुर्लुम सबै
भरुइंचालो आएपछि
जन्मदैं कात्रो बेरेर जन्मिएको
पुस्तौंपुस्ताको हाम्रो इतिहास
देखेकै छौ हैन,
अग्लो महलमा उभिएर ।
हो पक्कै हो
एकदिन भरुइंचालो जान्छ
त्यसदिन सडकको कुनै भागमा
म रहेपनि/नरहेपनि
ढल्नेछ तिम्रो महल
तर उस्तै रहनेछन्
हाम्रा यी झुपडीहरु ।
(८) म केही गर्दिन तिमीसँग
भो, नाच्दिनँ म अब
तिम्रो गीतहरुमा
जहाँ मेरै चीत्कारका शब्दहरु
संगीतमा मडारिन्छन्
र, मलाई नै जिस्क्याउँछन् ।
साँच्ची ! म नाँच्दिन
यस आँगनमा
मलाई आफ्नै छातिमा उफ्रिएर
जर्बजस्ती निस्फिक्री चिच्याए झैँ लाग्छ
(९) घामसँग –१
हरेक नयाँ बिहानीसँगै
जब म उठ्छु उमंगका साथ
घाम मेरो छेउ आउँछ
र, मसँगै उज्यालो माग्छ
घामः जसले छुन्थ्यो मेरो आस्थालाई
म ऊर्जा सम्भिन्थेँ
र, नतमस्तक बन्थेँ
ऊ तुर्लुङ्ग झुण्डिदै हौस्याउँथ्यो
हो, त्यही घाम अचेल
चीसो बोकेर आउँछ सधैं
अनि न्यानोपन खोज्छ मसँग
उज्यालो माग्छ मसँग
अँध्यारो र चीसोले सेकिएको
म, दिन खोजिरहेको छु
रगतको तातो
आँखाको उज्यालो
मेरो प्रिय घामलाई
साँच्ची ! हरेक नयाँ बिहानीसँगै
जब उठ्छु म उमंगका साथ
घाम आउँछ छेउमा
र, मसँग माग्छ
उज्यालो र तातोपना ।
(१०) घामसँग –२
म फेरि यतिबेला
भूमिगत अँध्यारोको
उद्दण्डता पिइरहेको छु ।
जब हरेक उज्यालोमा
हौसिन्छु म एकाएक
आफ्नै छायाँ मेराविरुद्ध
गिज्याइरहन्छ विद्वषक झैं
उज्यालोसँगै पातलो छायाँ
मेरा विरुद्ध षड्यन्त्र गर्छ
मलाई मन पर्दैन अँध्यारो
म अँध्यारोको विरोधी हुँ
तर, हरेक अँध्यारोमा
म छायाँबाट मुक्त हुन्छु
जसले जिस्कँदा जिस्कँदै
मेरो अस्तित्वलाई चुनौती दिन्छ
म उज्यालो ल्याउँछु
छायाँ जिस्क्याउन थाल्छ मलाई
जब घाम भाग्छ
मेरो आकाशबाट
लुकेको अँध्यारो
बढ्दै जान्छ र मलाई छोप्छ
हो, म फेरि यतिबेला
भूमिगत अँध्यारोको
उद्दण्डता पिइरहेको छु ।
(११) बाँदरको कथा
सायद डार्बिनले झुट बोल्यो
पुस्तौंदेखि यौटा बाँदर
अर्काको बारीलाई
आफ्नो बनाइरहेछ
हाम्रो छाती टेकेर
उत्सव मनाइरहेछ
तर, अहँ ! ऊ मान्छे बन्न सकेन ।
बिहानै उठेर हेर्छु
मुकै फाँडिएको छ बारीमा
उही बाँदरबाट
जो वर्षौंदेखि फाँडिरहेछ
मेरो बारी, सिंगो टोल, पूरै गाउँ…
बाँदरहरु भत्काउँछन्
हाम्रा घरहरु
र बस्छन् अग्लो रुखमाथि
जसलाई घेरिएको छ
अग्ला पर्खालहरुले
हो, म बाँदर खेद्दै जान्छु
रीसले चूर हुँदै
ऊ दौडिंदै रुख चढ्छ
पर्खालले घेरिएको रुख
जहाँ पाले बसेका छन्
विदेशीहरु
अलिकति गुलियो र्छर्दै
अलिकति धम्की थप्दै ।
बाँदरहरु
कहिले आफैं लर्छन्
र काँढामा परेर मर्छन्
कहिले मन्दिर भत्काउँछन्
कहिले गहना लुट्छन्
जाइलाग्छन् निस्फिक्री
आइमाईहरुमाथि
गाउँ चुपचाप बस्छ
बाँदर भनेकोर् इश्वर हो
बस् गाउँ बाँदर पुज्छ ।
युगौंदेखि हामी
पीडित छौं बाँदरदेखि
चिथोरिएका छौं बाँदरदेखि
र, रेविजग्रस्त छन्
हाम्रा मस्तिष्कहरु
म वर्षौंदेखि एक्लै
लडिरहेको छु बाँदरविरुद्ध
मलाई थाहा छ राम्रोसँग
यौटै बाँदर काफी हुन्छ
सिंगो गाउँ बिगार्नलाई ।
(१२) सडक र हामी
यही सडकमा भेटियौं हामी
फेरि उस्तै प्रेमसाथ
जहाँबाट छुट्टएकाथियौँ
र लागेथ्यौं
आ-आफ्ना मन्दिरतिर
प्रेम या घृणा
जार या प्रेमिका
सबै सडकमा भेट हुन्छन्
जब मान्छेले भेट्दैन
टेक्ने थोरै जमीन
ऊ सडकमै आइपुग्छ
सडक यस्तो आस्था केन्द्र हो
जहाँ सबै आउँछन्
र, लाग्छन् आ-आफ्नो बाटो ।
सडक चुपचाप बस्छ
बाहिर बाहिर
तर प्रचूर ऊर्जा बोकेर
उफानमा डुब्ने गर्छ
हो, सडक सहिष्णु छ
जहाँबाट टेक्छ जसले
त्यहींबाट सुरु हुन्छ
र जहाँसम्म पुग्नसक्छ
त्यहीं टुंगिन्छ पनि
उसको यात्रा
सडकै सडक हिंड्दा
जहाँ पनि पुग्न सकिन्छ
टाढा या नजिकै कतै
जहाँ गयो, त्यहीं पुगिन्छ
तर पुग्ने माध्यम सडक नै हो ।
हो, निकै पछि हामी
भेटिएका छौं सडकमा
आ-आफूले टेकेका
धूलोहरु टक्टक्याउँदै ।
बगाउँछ अग्ला रूखहरू
कोतरेर त्यसका गहिरा जरा
लडाउँछ विशाल ढुङ्गा
र, बनाउँछ वालुवाको थुप्रो
हेर्दाहेर्दै सारा गर्छ
एउटा बग्दो खोलाले
घाम निभोस् आकाशमा
बत्ती बलोस् शहरमा
या, उल्टै घुमाइयोस् ग्लोब
चिहानबाट ब्यूँझनेहरूद्वारा
पानी नहिँडी सक्दैन
खोला हिँड्नुमा थाक्दैन ।
हो, शहर नपसेको खोला
निख्खर हुन्छ घामजस्तै
साझा हुन्छ जूनजस्तै
र, गतिवान् हुन्छ हावाजस्तै
ए शहरका मान्छेहरू !
नहेप्नू गाउँको खोलालाई
ऊ मान्छेजस्तै हुन्छ
बगेर नसकिने
मरेर नसकिने
उसले अझ धेरै बग्नु छ
र, बगाउन बाँकी छ अझै
पानीको गति नबुझ्नेहरू ।
(१३) नानीहरूको कविता
आँसुको पोखरी, काँढाको आछ्यान्
पीडाको जङ्गल, भोकको भोजन
चिन्दैनन् केही पनि
फूलका कोमल पत्रझैँ
ओठ देखाएर हाँसिदिन्छन् ।
उनीहरूका टाउका गनेर
उनीहरूका भावना बेचेर
उनीहरूका करङ् टेकेर
कालिदासहरू जन्मन्छन्र्/मर्छन्
खस्रा भ्यागुत्ताहरू चिल्लिन्छन्
छेपाराहरू रङ्ग फेर्छन्
र, बुन्छन् कतिले माकुरे जालीहरू
कालो सुरुङ्मा आस्था पढाइँदा
जब उनीहरू ढोग्छन् घामलाई
आकाश बादलले ढाकिदिन्छ ।
(१४) पुरानो कथा
तानिरहेछन् युगौँदेखि र्सपलाई
निकै गह्रौँ पाटोतिर
उनै पीडितहरू
जो थिचिएका छन्
युगौँदेखि निरन्तर
र, लोभिएका छन् फेरि
अमृत पाइने आश्वासनमा
न्वारानदेखिको बल लगाएर
सिङ्गो पहाडको मदानी खैँचिन ।
युगौँदेखि चलिरहेछ चक्र
लुरा, लङ्गडा र कायरहरू
भागिरहेछन् भूमिपुत्रदेखि
र, फ्याँकिरहेछन् फेरि
समुद्र मन्थनका प्याकेजहरू
जब निस्किन्छ साँच्चिकै अमृत
हात पार्नेछन् तिनै षड्यन्त्रकारीहरूले
र, बग्छन् देउताको वंशज सधैँसधैँ ।
हो युगौँदेखि जारी छ
एउटा खतरनाक खेल
जहाँ लुटेरा र षड्यन्त्रकारीहरू
बनिरहेछन् इश्वरका अवतार
र, मदानी तानिरहेछन्
तिनै कर्मठ भूमिपुत्रहरू ।
यो युगौँ पुरानो कथा हो
यो एउटा अमर कथा हो
यो एउटा चक्र कथा हो ।
(१५) इतिहास
साले इतिहास
हरेकपल्ट जुत्ता फेर्छ
र, टेक्छ जबर्जस्ती
हाम्रा छातीहरूमा
नयाँनयाँ शैलीले ।
हरेक वर्तमानले
छाला माग्छ हामीसँग
सियो माग्छ हामीसँग
र, हाम्रै बारीमा सुकाउँछ
हाम्रो छालाका टुक्राहरू
हाम्रै कारखानामा बनाउँछ
हाम्रै रगत प्यूँदै
र, जुत्ता बनाएर दिन्छ
इतिहासको जिम्मामा हरेकपल्ट
हो, इतिहास फेरि आउँछ
नयाँ जुत्ता बजार्दै
र, टेक्छ फेरि हाम्रै छातीमा ।
(१६) झ्याल र मान्छे
छिर्यो चिसो हावा
जब झ्यालबाट
उसले झ्याल ढप्क्यायो
चिसोलाई रोक्न ।
झ्याल ढप्किएपछि
बाहिरै पर्यो सुगन्ध
जो बहिरहेथ्यो वरिपरि
झ्यालकै भित्तामा चिप्लिँदै
र, थुनियो विचरो घाम
जसले कुदाएथ्यो आफूलाई
मान्छे ब्यूँझाउँदै पर्ूवबाट ।
छिर्दै आयो किरण
र, उज्यालियो अलिअलि
अँध्यारो कोठा
फेरि झ्याल खोल्यो उसले
र, भित्रियो घाम कोठामा
छिर्यो घामसँगै कोठामा
धूलोको मूस्लो
र, ह्वास्ह्वासी गन्हाउने
अमिलो दुर्गन्ध पनि ।
मान्छेहरू धेरैपटक
झ्याल ढप्क्याउँदै/खोल्दै
घरि उज्यालो डाक्छन्
घरि गनधसँगै भाग्छन्
मेरो गाउँमा
थुप्रै वर्षभो ।
पारिजात
आन्दोलन
चुँडालेर बन्धनबाट
आँप, बेल र पीपलको पातहरूका
एउटी विवश बेहुलीको चाहना जस्तो
उम्कन नसक्ने होइन मुक्ति
पर्यावरण नमिलेको माटोमा
फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति
ज्यूँदो मान्छेको मुटु ज्यूँदो मान्छेले
हत्केलामा यसै निचोर्न सक्तैन
एउटाले अर्कोलाई मार्नैपर्छ
यसो गर्नलाई
तथापि होस् गर्नु त्यो मुटु मृतकको मुटु हुनेछ ।
मण्डप भित्र मन्त्रहरूले कति दिन
छलाउन सक्छ मुक्तिलाई
के हो र मन्त्र मुक्तिको निम्ति ?
लात्ते भकुण्डो होइन मुक्ति
भरौटे खेलाडीहरूको छलाउनलाई यता र उति
होस गर्न पर्छ यस्तो सोच्नलाई
मुक्ति साङ्लामा बाँधिइन सक्ने बस्तु होइन
आकाश भरी पहिले बाटै
तैनाथ गरेर छरिता बाजाहरूको जमातमा
उडाउँछन् शान्तिकामी हातहरू सेता परेवाहरूको जोडा
शान्तिका प्रतीकहरू, रक्ताम्य अन्तरिक्ष
होस गर्नु विडम्बना हुनेछ लुम्बिनी र शान्ति क्षेत्र
काँक्रा र फर्सीका बिऊ जस्तो
पट्ट पट्ट फुटेर समयअनुकूल माटो र ऋतुमा
झाँगिदै, लहरिँदै जान्छन् आन्दोलन बनेर
मुक्तिका चाहनाहरू
चुँडालेर कथित बलियो बन्धनबाट
आँप, बेल र पिपलका रंगीचंगी पातहरूको ।
होस गर्न पर्छ यतिखेर
निर्धाका मुटु निचोर्नेहरूले
शक्तिशालीका मुटु निचोर्ने हातहरू यता पनि तयार छन्
एकपछि अर्को लस्कर लागेर
(पग्लेर पनि तिम्रो मुटुबाट कवितासंग्रहबाट)
पुष्प मुनंकःमि
(१) घामले कर्फ्यु भन्दैन
कर्फ्यु भन्नासाथ
गाई, भैसी चुप लाग्यो
अँध्यारोसँगै निस्केको शितले गर्दा
बल्न तयार भएका पातहरू
भइँमै लम्पसार प-यो
हावा पनि कोठामै थिग्रियो
तर त्यहीँ कर्फ्र्यूको समयमा नै
घाम लाग्यो
चिसो पानीलाई तताउँदै
थिग्रिएको हावालाई बाहिर ल्याउँदै
झयाल, खापाको प्वालबाट समेत
भित्र पस्यो
त्यसको आगमनले गर्दा
नाङ्गोहरूले न्यानो पाएको अनुभव ग-यो
हिउँ, जमेको पानी खुसि भयो
जमिनले आफूमा भएको
पानीलाई जगायो
तर भुइँमा लुकेर बस्नेहरू
घामबाट बच्न जमिनभित्र पस्यो
पातहरू आगोको बिउ खोजिरहृयो
घाम चर्कन थालेपछि
तिमीहरू एसीमा पसेपछि
घाम झनै चर्किन थाल्यो ।
(2) रहँदैनन् अब गुरुमाका
परम्पराको नाममा
कर्णालीबासीहरूले गुरुमापालाई पालेकै थियो
उसको नयाँनयाँ डिमाण्डलाई पुरा गरेकै थियो
भ्रमणको नाममा
कहिले ऊ पूर्व लाग्यो
कहिले ऊ पश्चिम लाग्यो
त्यहाँकाहरुले पनि
आफ्नै रगत निकालेर
उसलाई भोजन गराएकै थिए
तर गुरुमापा आफू नपुगेको त्यस्तो ठाउँमा
बाघहरू उतार्दैछ ट्रकबाट ओसार्दै
घाँस खाएर बाँचेका ति मृगका बथानमा
आज फेरि घरघरमा सन्देश पु-याउदैछन्
गुरुमापा टुँडिखेल भित्रै बस्ने
बाघको नियन्त्रणमा मृगहरू बस्ने
तर कर्णालीबासीहरु तयार छैनन्
परम्पराको नाममा गुरुमापाको लागि
घोडेजात्रा चलाई राक्न
अरुलाई प्रवेश निषेध गरिएको त्यो
कम्पाउण्ड जोगाई राख्न
अब अन्त्यष्टी गरिन्छ पशुपतिको सामुन्ने
र गर्न सक्दैनन् कल्याण पशुपति अनि
बाँदरहरूले पनि
र बाध्य हुनेछन् बागमती हस्तु पनि बगाउँन ।
(३) घामले कर्फ्यु भन्दैन
कर्फ्यु भन्नासाथ
गाई, भैसी चुप लाग्यो
अँध्यारोसँगै निस्केको शितले गर्दा
बल्न तयार भएका पातहरू
भइँमै लम्पसार प-यो
हावा पनि कोठामै थिग्रियो
तर त्यहीँ कर्फ्र्यूको समयमा नै
घाम लाग्यो
चिसो पानीलाई तताउँदै
थिग्रिएको हावालाई बाहिर ल्याउँदै
झयाल, खापाको प्वालबाट समेत
भित्र पस्यो
त्यसको आगमनले गर्दा
नाङ्गोहरूले न्यानो पाएको अनुभव ग-यो
हिउँ, जमेको पानी खुसि भयो
जमिनले आफूमा भएको
पानीलाई जगायो
तर भुइँमा लुकेर बस्नेहरू
घामबाट बच्न जमिनभित्र पस्यो
पातहरू आगोको बिउ खोजिरहृयो
घाम चर्कन थालेपछि
तिमीहरू एसीमा पसेपछि
घाम झनै चर्किन थाल्यो ।
पूर्ण इन्फादा (भोजपुर, हाल: काठमाण्डौ नेपाल)
सालिकको इतिहास र निरीह सिपाही
उम्लिरहेको छ – घाम
काँपिरहेको छ – जाडो
निख्खर कालो छ-सडक
यही उपक्रममा उभिएर
रुँगिरहेको छ सालिक – एउटा सिपाही
इतिहास अभिलेखमा
तप्-तप्-तप्
रगत निचोरेर
उभिएको छ-सालिक
त्यही सिपाहीको टाउकोमाथि
झस्किरहन्छ समय
खरानी-खरानी इतिहासका पाइला हेरेर
बीभत्स क्रान्तिका मृत्युहरू सम्झिएर
रोइरहेको निरीह बालकतिर फर्किएर
कुनै कारुणिक र त्रासद
दुःखान्त नाटकको अवसान कथाजस्तो
मौन छ – वर्षौंदेखि
भयभीत यो सालिक
लाग्छ झर्यामझुरुम फुटेको छ- समयको मुटु
र हेरिरहेका छ – लज्जास्पद आँखाले
सशङ्कति समयलाई
समयको नतमस्तक एउटा हुल
आउँछ, हेर्छ र श्रद्धासुमन चढाउँछ
सालिकतिर फर्किएर
बर्र आँसु खसाउँदै
मर्यादापालकको अभिनयमा
समुस्कान हेरिरहन्छ-सिपाही
दुर्नियतिका प्लेकार्डहरू
स्मृतिकङ्क्रिट समयको अर्को कोरस
पुनः आउँछ, हेर्छ र भावोत्तेजक उभिन्छ
उही मर्यादापालको अभिनयमा
वक्रदृष्टि बन्दुक त्यतैतिर फर्काएर
नरसंहारको आलो रगत बगाउँदै
त्यही सालिकको निपुणता दोहोर्याउँछ – निरीह सिपाही ।
(प्रकाशोन्मुख कविता संग्रह अभिलेख अभिशेषबाट)
बासु श्रेष्ठ (हाल: आर्लिङ्गटन, भर्जिनीया)
दीयोको इतिश्री
तेल हालुञ्जेल बल्ने
यो बत्ती
प्रकाश त दिन्छ
आफ्नै मुनी अन्धकार छरेर
त्यस अन्धकारमा
मनपरी तन्त्र चलाउँछ
जगलाई प्रकाश छरेको ज्याला लिँदै
आफ्नै मुनीको अन्धकारमा
आफ्नो बर्चस्व बचाउन
नाना भाँतीका खेल रच्छ
सोझा मानिस विचरा,
उ दीयोमा तेल थप्दै जान्छ
प्रकाश पाउने आशामा
तर जान्दैन उ
प्रकाशको बदलामा
दीयो मुनी
कति अन्याय, अत्याचार, भ्रष्टाचार
छलछाम र कपटलाई निरन्तरता दिई रहेको छ ।
अलिकति प्रकाश पाएको बदलामा
उसले जीवन नै आहुति दिईसकेको छ
अलिकति आँच पाएको बदलामा
उसले आफु नै भन्न बिर्सि सकेको छ
अलिकति राप पाएको बदलामा
आफ्नो अस्तित्व नै बिर्सि सकेको छ ।
तर शायद
अब उसले कुरा बुझ्दै छ
दीयोमा तेल हाल्दा हाल्दा
उ बिस्तारै थाक्दै छ
दीयो मुनीको अन्धकारमा बिस्तारै
नियाल्न सक्षम बन्दै छ
त्यहाँ हुने करतुतहरुको ज्ञान हुँदै छ
अब उ तेल हाल्न सहमत छैन
दीयो निभ्ने त्रासमा पनि छैन
तेल सकिने सन्त्रास पनि छैन
बरु, निभ्न लागेको त्यो दीयोलाई
फू गरेर निभाउने कि
बलुञ्जेल बल्न दिने –
यस दोधारमा अल्झेको छ उ ।
तेल सकिई सक्दा पनि
तुजुक छोडेको छैन
तनक्क तन्किएर
बुढो खोकेर लत्रिए झैं
धिपधिप गर्दै छ, झ्याप्प निभ्छ
फेरी बल्छ,
तर सबैलाई थाहा छ
अन्ततोगोत्वा
यो निभेरै छोड्छ ।
ब्रजेश खनाल (काठमाण्डौ)
कर्फ्यु लाग्छ रे
रातिदेखि नै कर्फ्यु लाग्या छ रे भन्थे
तर खै त
पहाडले धेरैबेर छेक्न सकेन
कालो आकाशलाई च्यातेर
उज्यालोको किरण छलेर
घाम त उदाएरै छोड्यो
कर्फ्युले घामलाई छेक्न नसक्ने रहेछ
रातिदेखि नै कर्फ्यु लाग्या छ रे
ननिक्लनु है भन्थे
तर खै त
चराहरु त चिरबिर चिरबिर गर्दै
झुन्ड झुन्डमा चारो खोज्न उडेरै छोडे
कर्फ्युले भोको पेटलाई रोक्न नसक्ने रहेछ
कर्फ्यु लाग्या छ रे
चुपचाप बस्नु, हल्ला नगर्नु रे भन्थे
तर बिहानी भएको संकेत गर्दै
रात सकियो है
अनि दिन आउँदैछ भनेर
भालेहरू बासेरै छाडे
कर्फ्युले जागरनको आवाजलाई पनि छेक्न
नसक्ने रहेछ ।
भरत बागलुङे (महाराजगंज, काठमाडौं)
(१) बादशाहको नाउँमा
तिमीलाई
संसारको सबैभन्दा
महामूर्ख मान्छे भनियो भने
के तिमी आपत्ती गर्ने छौ ?
सबै दुःखीहरु भन्दा
अथवा
सबै गरीबहरु भन्दा
महान हुनुको अर्थमा
घमण्डको तलाउमा डुबिरहेका छौ तिमी
तिमीलाई
सबै भिखारीहरु भन्दा पनि
कङ्गाल भनियो भने
के तिमी प्रतिवाद गर्ने छौ ?
यतिबेला
म नयाँ कविता लेखिरहेको छु
र कविताको विषय
एउटा दरिद्र चरित्रको मान्छेलाई नै किन नछानुँ ?
म यहि सोचीरहेको छु
मेरो कविताको नायक
इतिहासको खलनायकलाई नै किन नबनाउँ ?
संसारका सबै सुन्दर फूलहरु
निचोरेर उत्पादित सुगन्धित अत्तर सुँघेर
जीवनको कठोर तपस्यालाई लात मारिरहेका
खलनायक महोदय
के यो विषय नितान्त आपत्तीजनक हुनसक्छ ?
आफ्ना तथाकथित
हत्केला फिँजारेर
उज्यालो छरिरहेको सूर्यलाई
तिमी हरेक दिन छेकीरहेका देखिन्छौ
निस्फिक्री डुलिरहेको हावा
र यी विशाल पहाडहरुलाई
तिमी अहम्पूर्वक मुठ्ठीमा अड्याएर
समयसँग जिस्किरहेका भेटिन्छौ
यी कालापत्रे सडकहरु
जस्लाई निर्माण गरेका छन्
हजारौं/लाखौं ज्यामीहरुले
जब तिमी निस्कन्छौ
राजषी अभिमानका बुट पहिरेर
यी सडकहरुमा
तिम्रा अहम्हरु भनीरहेका हुन्छन्
यी सडकहरु तिमीले बनायौ
जस्तो तिमीले अरु थुप्रै बनायौ
-औंलामा गन्न सकिने, पाठशाला
मन्दिर केही पूल कुलेसाहरु)
अरु धेरै तिमीले आफ्ना लागि
विलाशिताका ताता र चिसा
महलहरु बनायौ
र तिमीले इतिहासको लागि
आफ्नै चिहान रहित मृत्यु बनायौ ।
कुनै दिन
म विश्वास गर्छु
नांगिने तिम्रो यो अभिमान
हान्स एर्ण्र्डसनको वादशाह जसरी
र मेरो दुधे छोरोले
देख्ने छ तिमीलाई
सबै भन्दा पछि र पहिले
तिमीलाई अरु सबैले भन्दा पृथक
के तिमीले कहिले काहीँ इतिहास पढ्ने गरेका छौ ?
(२) परिवर्तन
एकाएक देशमा
धेरै कुराहरु उल्टा भईरहेका छन् ।
जस्तोः
तस्करहरुले
संरक्षक बन्ने शौभाग्य प्राप्त गरेका छन्
हत्याराहरुले
जीवनको गीत गाउन थालेका छन्
केही बलात्कारीहरु
सुन्दरी प्रतियोगिताका
जज् र आयोजक बन्न पुगेका छन्
केही खानदानी मूर्ति चोरहरु
दिनरात इश्वरको आराधना गर्दैछन्
र ब्यभिचारीहरु
सरकारी रेडियो र टेलीभिजनमा
सदाचारका ब्याख्या गरिरहेका छन् ।
केही काला ब्यापारीहरु
राता-रात मन्त्रि परिषदमा पुगेका छन्
शब्द चोरहरु राष्ट्रिय कवि भएका छन्
र प्रज्ञाको अर्थ नबुझेकाहरु
प्राज्ञिक ब्यक्तित्वमा बढुवा हुन पुगेका छन् ।
केही मांशहारी जर्साबहरूले
शान्तिको ठेक्कापट्टा हात पारेका छन्
राष्ट्रिय ढुकुटी लुट्नेहरु
भ्रष्टाचार विरोधी अभियानमा
नायक बनेर हिंडीरहेका छन्
राष्ट्र छाडेर पलायन भएकाहरु चाहिं
हिजो-आज
सबै भन्दा ठूला राष्ट्रवादी बनेर उफ्रिरहेका भेटिन्छन्
र परम्पराका पहरेदारहरु
स्वतन्त्रताका राग अलाप्न तँछाड-मछाड गरिरहेका छन् ।
घण्टाघर पनि विलखवन्दमा छ
कुन दिशा तर्फ घुम्नु पर्छ अब उस्ले
मान्छेहरु कसरी सोच्दैछन् ?
यी सब परिवर्तन बारे ।
एकाएक देशमा
धेरै कुराहरु उल्टा भईरहेका छन् ।
(३) लक्ष्य
लड, र आखिरसम्म लड
ढल्ने छैन जवसम्म
बादशाहको अभिमान
तिम्रो पाउमा ।
भीड, र अन्तिमसम्म भीड
सकिने छैन जवसम्म
ब्यभिचारको बन्दुकभित्र
कुरुप गोली
भाँचिने छैन बन्दुकको कुन्दा
र कटवासका आतातायी लाठाहरु
त्रि्रो पहाड शरिर सामू ।
बढ, र त्यहाँसम्म बढ
जहाँ पुग्नु छ तिमीले-बढ
भेटिने छैन जवसम्म
यूद्धको अन्तिम लक्ष्य
तिम्रो इच्छाको दुनियाँ ।
बन, र भविष्यको निमित्त बन
जंगली राज उखेल्न
सक्ने छैनौ जवसम्म
तिमी पहाड बन
र कित तिमी शहिद या मान्छे बन ।
रुपा जोशी
म यहाँ छु
अन्धकार सडकमा
नारा दन्कियो
राँको जुलुसको जोसमा
बलेको टायरको ज्वालाले
वरपरका घरहरूमा
सिन्दूर पोतियो
माथि आकाशमा
बस् केहि तारामात्र चिहाइ रहेका थिए
आकाश तिर तम्सिएको
दरबारको बुर्जाले
प्लिक प्लिक गर्दै
जनतालाई भन्न खोज्दैथ्यो
“म याँ छु”
“म याँ छु!”
महेश प्रसाईँ
मुक्तक
कायरहरू मर्न डराउँछन्
क्रान्तिको इतिहास शहीदको बलिदानबाट शुरु हुन्छ
नामर्दहरू मारिन डराउँछन्
शान्तिकोर् इतिहास तानाशाहको चिहानबाट शुरु हुन्छ ।
मातृका पोखरेल (हाल: काठमाण्डौ)
सेतो दरबार
सेतो दरबार
प्रत्येक रात
हेलम्बूको बैंसलाई बलात्कार गर्छ
काले कामी र गोरे घर्तीको
पसिनाले नुहाउँछ
यो बस्तीमा घाम लाग्ने कुरा
ऊ सुन्नै चाहँदैन
आठ वर्षअघि एक दिन
रातकै समयमा भए पनि
बादलले अलिकति मुख खोल्यो
जूनले आफ्नो अकिति रुप देखायो
हो त्यो दिन,
सेतो दरबारले कर्फ्यूको घोषणा गर्यो ।
त्यो दरबारमा
मान्छेका करङ्गका सारङ्गीहरु
कुनै चार्डपर्वमा/कुनै उत्सवमा
बेसुरसँग बजाइन्छन्
खै ! कतिलाई थाहा छ ?
त्यहाँ मान्छेको रगतको पूजा चल्छ
बालकका ओठहरु
स्वादिष्ट भोजनमा गनिन्छ
अनि त्यो दरबार
आलो रगतको स्वीमिङ्गपुल
सजाएर राखिएका पूर्वजका खप्परहरु
अज्ञात धुम्रकेतु र उलकापिण्डका चित्रहरु
यही हो त्यहाँभित्रको सुन्दरता ।
अदालतका प्रत्येक मिसिलहरुमा
हामीहरु सबैले हेरे हुन्छ
ऊ चेतनासँग मुद्दा लड्छ
जेलघरहरु सर्जिमिनमा साथ दिन्छन्
भुइँचालोको सूचना पाएको म्याद बोकेर
अचेल ऊ वरिपरि निहाल्छ
हाम्रो बस्तीको बीचमा
उसको चलन बेग्लै छ ।
उसको व्यवहार बेग्लै छ ।
मुरारीप्रसाद सिग्देल (गोकर्ण काठमाडौँ )
(1) आगो
आगो त
कलमबाटै लाग्यो
बित्थामा अरूले
सडक कालो पारे ।
सत्ताले
साहित्यलाई
अनुत्पादक ठान्छ
श्रष्टा
सधैँ
अग्रगमनको रेखा खिँच्छ
परम्परा
नियति
स्वान्तसुखायमा
रम्नेर्
र्सजक
आतङ्ककारीभन्दा
कम छैन
शव्द संसार
भाव विम्वमा
एउटा रेखा
खिचेर
सधैँ
ऊ
अँध्यारोबाट उज्यालेा
क्रमशः उज्यालो
हुँदै धप्प निभ्छ
(2) बवण्डर
माथि को छ ?
किन आदेश गर्छ
माथिकोले ?
को हो माथिको ?
कसले पठायो माथि ?
पिटिनु
भुटिनु
दबिनु नै छ भने
किन माथि पठाउने ?
ए माथिको स्वाँठ,
एक पटक तल बसेर हेर
तल कति
डरलाग्दो हुरी छ
आँधी छ, बवण्डर छ
जे छ, तल छ
मन छ भने
तलको स्थिति हेरेर
तिम्रो मन क्वाँ क्वाँ रुन्छ
यादव चापागाईं (बबर महल काठमाण्डौ)
(१) तँलाई पछिका पिंढीले प्राकृतिक इतिहासमा पढ्नेछन्
तँ हिंस्रक भईस्, अव जा
तंलाई पछिका पिंढीले प्राकृतिक इतिहासमा पढ्नेछन्
तेरो वासस्थानको स्तरीय व्यवस्था मिलाईएकै थियो
तेरोलागि यथेष्ट जोहो गरिएकै थियो,
अरुलाई भन्दा कति कति वेसीनै थियो
तेरो विचित्र रुप ढंगको कदर वापत
तेरो निरन्तरको वढ्दो माग पनि सकेसम्म पु-याएकै हो
लाग्छ, तलाई त्यो कम भो
तैँले वुझिनस
कि संरक्षणका पक्षपोषकहरुको विशेष अनुरोधमा तेरो अस्तित्व निर्भर थियो
तैले अन्य जीवको अस्तित्वमा हमला गरिस
तेरो उपद्रो वढदो छ
एकदिन एउटालाई ठोक्छस्, अर्कोदिन अर्कोलाई चिथोर्छस
आफ्नै खोरगोठमा समेत विध्वंस मच्चाई रहन्छस
कति सहुं तेरो मुर्ख हठ
तेरो विशिष्ट आवश्यकता पुरा गर्न संरक्षणवादीहरुले भने
भैले तेरो खाना सुस्वादु वनाउन आफ्नै पिड्यौलाका फाल्सा फाल्सा काटेर पनि दिएं
मेरो मासु त फेरी पलायो, हट्न केही खाटा मात्र के वांकी थियो
एकछिन अघि सुनें, तंलाई त मेरो घ्रि्रोको स्वाद पो चाहियो रे
हरे ….. तेरो वुद्धि कहिल्यै पलाएन
तँलाई आफ्नो जातिभन्दापनि आफु ठूलो भन्ने घमण्ड छ, जातिमोह पनि छैन
आफ्नो रक्षकभन्दापनि महत्वको आफु भन्ने भ्रम छ
वैसमा उन्मत्त ठेट्नाझैं वाहूवलको दम्भ छ
तंलाई आफ्नो वाटो खुला भएर पुगेन,
तं अर्काको वाटो वन्द गर्ने माग गर्छस्
देवताको आशिर्वादले पुगेन, मन्दीर र मूर्ति माथिनै आंखा लगाउछस्
सुनको अण्डाले भएन, कुखुरीमै हमला वोल्छस्
कसरि सहुं तेरा क्षुद्र पराकाष्ठा
अव ज्यादै भो, म एक्लैले थाम्न सक्तिन, अव थाम्ने चाहना पनि ५ैन
मैले आज छाडेपनि, म पछि अरुले तलाई छाड्ने छैनन् …. तेरो वेहोरै छैन
नरभक्षि भएपछि तेरो मृत्यु संरक्षणवादीहरुले पनि रोक्ने छैनन्
तेरो सजीव अस्तित्व अव त मैले चाहेर पनि वचाउन सक्तिन
तंलाई पछिका पिंढीले प्राकृतिक इतिहासमा पढ्नेछन्
(२) मलाई मुलसडकमा हिंड्नु छैन
सडकमा कर्फ्यु छ
मानिसहरुलाई हिड्न मनाही छ …पास चाहिन्छ रे
तर, मैले यो पनि देखें कि सडकमा
कर्फ्युमा पनि कुकुरहरु भने स्वच्छन्द, विना पास हिँडीरहेका छन
सडकमा कर्फ्यु छ
मानिसहरुका अधिकार चेप्र्टाईएको छ
घरघर गई मानिसहरुलाई धम्कयाउने काम भैरहेछ, तर्साइँदै छ
तर, मैले यो पनि देखें कि महलहरुमा मच्छडहरु रजाई गरीरहेछन
आज यहां कर्फ्यु छ
मानिसहरुलाई मुलसडकमा निस्कन वन्देज छ
मानिसहरु जमीनमै हिँडीरह्रेछन्, उनीहरुलाई अन्तै कतै पुग्नु छैन
जमीनमा हिंडन नजान्नेहरु, मुलसडकमा हिंड्दै गरेका देखिन्छन
त्यो मुलसडक, जसलाई पछ्याउंदै जांदा देश वाहिरै पुगिन्छ
रञ्जन कुमार (किर्तीपुर)
झुक्नु पर्छ नारायणहिटी
यौवनका रसहरु चुसेर फूलहरुको
मोटाएको हो नारायणहिटी फर्सीजस्तै
जीवनका उर्जाहरु सोसेर फूलहरुको
मात्तिएको हो नारायणहिटी साँढे जस्तै
नारायणहिटी त्यसै कहाँ ठडिएको हो र ?
पसिनाका भेल बगाएका हुन फूलहरुले
कहाँ त्यसै रंगिएको हो र नार।यणहिटी ?
पौरखको खोलो चलाएका हुन फूलहरुले
नारायणहिटीका प्रत्येक
भित्ता र भित्ताभित्रका इट्टाहरुमा
प्रत्येक द्धार र द्धारमा कुदिँएका बुट्टाहरुमा
फूलहरुले पसिना चुहाएका हुन
सामर्थ्य पोखेका हुन
श्रम छरेका हुन फूलहरुले
धेरै फूलहरु यौवनका रसहरु
साट्दा साट्दै नारायणहिटी सँग
ओइलिएर झरे
धेरै फूलहरु जीवनका उर्जाहरु
पोख्दा पोख्दै
अस्थिपञ्जर भए
चोइटिए
चेपिए नारायणहिटीमा
अझै नपुगेर पौरख र पसिना फूलहरुको
रगत मागिरहेछ नारायणहिटी
तर आन्दोलित छन् फूलहरु
यतिबेला
जीवन उत्षर्ग गरेका
शहीदहरुको इतिहास बोकेर
संगीन थापिरहेछन् फूलहरु
यतिबेला
स्वतन्त्रताको नौलो भूगोल टेक्न
जीवन युद्धमा होमिएका फूलहरु
पछि हट्दैनन्
बरु पछि हट्नु पर्छ नारायणहिटी
झुक्दैनन् फूलहरु
बरु झुक्नुपर्छ नारायणहिटी ।
राकेश कार्की (हाल: क्यानाडा)
गजल: प्रजातन्त्र
दलेर दलिदैनन् अब दलिनु दलिएका जनताहरु
फालेर फालिदैनन् अब फालिनु फालिएका जनताहरु
नझुक्याऊ नलोभाऊ नदेखाऊ झुठैझुठका प्रलोभन
छलेर छलिदैनन् अब छलिनु छलिएका जनताहरु
सन्तानै मारी मानिस फुटाइ भो नखेल फोहरी खेल
खेलेर खेलिदैनन् अब खेलिनु खेलिएका जनताहरु
ताक, पडकाऊ बन्दुक, हिर्काऊ कति हिर्काउछौ
ढालेर ढलिदैनन् अब नढल्ने गरि उठेका जनताहरु
जुर्मुराएर उठिसके अब सबैले एकै मुठ्ठी कसीसके
पेलेर पेलिदैनन् अब पेल्नै नसकिने अग्राठ जनताहरु
लोकतन्त्रको घाम उदाउँछ नछेक अस्रुग्याको बादलले
चालेर चालिदैनन् अब निर्णय गर्न निस्केका जनताहरु
नववर्षसंगसंगै भांचौं पिंजडा उडौं स्वतन्त्र नभमा
जेलेर जेलिदैनन् अब अदम्य शक्ती-पुञ्ज जनताहरु
राजव (हाल: अमेरिका)
(१) लोकतान्त्रिक नेपाल
हे सठ महाराज
तिमीसँग वर्वर योजनाहरू जति छन्
सब सखाप हुँदैछन्
देशका हरेक नागरिकले
आफ्नो आँगनको सीमा तोडिसके
अब तिम्रो दरबारको
हरेक पर्खालमा
वर्षँदैछ करोडौँ पाइतालाको प्रहार
धूलो हुँदैछन्
तिमीले ठड्याएका अवरोधका इँटाहरू
अब एक नयाँ जग बस्दैछ
लोकतन्त्रको
बन्दैछ
नयाँ
स्वतन्त्र
लोकतन्त्र नेपाल
(२) संघारमा
साँझ भैसक्यो
सखारमा निस्केको क्रान्ति
लाखौँ मानिससँगै सडकमै छ
चाहे रात होस्
कठ्याङ्ग्रिँदो विहान होस्
वा दिनको प्रचण्ड घाम होस्
क्रन्ति
नागरिकहरूको नारा, जुलुस, प्रतिरोधसँगै
सडकमै रहनेछ
घर घरबाट निस्किएका मानिसहरूको
घर फर्कने मार्ग
स्वतन्त्रता हो
क्रन्ति त्यसैमा सामेल छ
घर कोही फर्किएका छैनन्
साँझ भै सक्यो
चराहरू गुँड पसिसके
तर मानिसहरू आफ्नू अभियानमा बाहिरै छन्
धेरै रात
धेरै घाम
धेरै सीत
धेरै वर्षा वित्ला
सडकमा क्रन्तिको
यस पटक मानिसहरू
स्वतन्त्रता लिएरै घर फर्कने छन् ।
(३) वर्वता समाप्तीको युद्ध
पहिले ममात्र तातेको थिएँ
अरु चिसो थिए
तर देखेको
कृष्ण यादवलाई पनि तियो
कृष्ण थापालाई पनि तियो
कृष्ण विश्वकर्मालाई पनि तियो
कृष्ण उपाध्यायलाई पनि तियो
कृष्ण चौधरीलाई पनि तियो
कृष्ण भूजेललाई पनि तियो
कृष्ण महतोलाईलाई पनि तियो
कृष्ण तामाङलाई पनि तियो
कृष्ण राईलाई पनि तियो
कृष्ण लिम्बुलाई पनि तियो
कृष्ण श्रेष्ठलाई पनि तियो
कृष्ण डंगोललाई पनि तियो
नदुखेको कुनै कृष्ण बाँकी थिएनन्
तर तातेको ममात्र थिएव
अरु सब कृष्ण चुप थिए
वर्वरताको प्रत्येक पाइला
हरेक कृष्ण सहिरहेका थिए
र ममात्र कराइरहेको थिएँ
तर अब सब कृष्ण राँक्किएका छन्
सबको हातमा छ गान्डिव
सब दासत्वको समाप्तीमा छन्
सब कृष्णहरुको सामुदायिक नेतृत्व छ
यो कुरुक्षेत्रमा
सिर्फ गीतामात्र छैन
वाइवल पनि छ
कुरान पनि छ
यसमा वुद्धका
महावीरका
पैगम्बरका खलक पनि छन्
यसमा
गान्धीका
मार्क्सका
माओका
भोल्टायरका
लेलिनका पथिक पनि छन्
यो वर्वरता समाप्तीको शभ्य युद्ध हो
यो टुंगिनेछ लोकतन्त्रमा
(४) तानाशाह अस्वस्थ छ
समाार छ
तानाशाह अस्वस्थ छ
देशभर
नारा, जुलुस, विरोध
र जनलहरको निरन्तर प्रवाह छ
तर समाचार छ
तानाशाह अस्वस्थ छ
वैद्यहरू दौडधुपमा छन्
तानाशाह अस्वस्थ छ
तानाशाहसँग
शैनिक, पुलिस र भाटहरू मात्र छन्
तानाशाह अस्वस्थ छ
जनता मर्न तयार छन्
तानाशाह अस्वस्थ छ
तानाशाह अस्वस्थ छ
तानाशाहसँग विचार छैन
तानाशाह अस्वस्थ छ
तानाशाहसँग बन्दुक छ, दमन छ, प्रहार छ
विवेक छैन
आफ्नै कर्तूतले
तानाशाह हस्वस्थ छ
लाखौँ नजता सडकमा छन्
व्यापक धर-पकड
गोली-गठ्ठा प्रहार छ
क्रान्ति सफल हुँदैछ
तानाशाह अस्वस्थ छ
समाचार छ
तानाशाह अस्वस्थ छ
वैद्यहरु नाडि छामिरहेछन् ।
राजेन्द्र शलभ (खाठमाण्डौ)
राजाको पनि मन दुख्छ र ?
एक दिन मलाई पनि
राजा बन्न मन लाग्यो
हैकम चलाउन मन लाग्यो
अरुहरुको अनुहारमा
डर र त्रास देख्न मन लाग्यो
बन्दी बनाएर अरुलाई
अट्टहास गर्न मन लाग्यो
मन त लाग्यो
तर राजा कसरी बन्ने…
सोच्दा सोच्दै एउटा जुक्ति फु-यो
राजा नबने पनि
राजा जस्तो काम गर्न सक्ने जुक्ति
मैले एउटा ठूलो पिंजडा बनाएँ
र पाँच जोर चरा किनेर त्यसमा थुनेँ
त्यसै दिन मैले अरुको अनुहारमा
डर र त्रास देखेँ
लठ्ठीले घोच्दै हैकम चलाएँ
अट्टहास पनि गरें ।
एक छिन पछि किन हो कुन्नि
म जोड जोडले रुन थालें
(जाबो कवि कति बेर राजा बन्न सक्थ्यो र?)
खोलेर पिंजडाको ढोका
मैले चराहरुलाई मुक्त आकाश दिएँ
पीडा अलिक कम भयो
र म रुन छाडेर आकाश हेरी रहें
चराहरुको मुक्त आकाश
त्यहीं आकाशबाट एउटा चराले
मलाई प्रश्न ग-यो –
के राजा पनि रुन्छ
र यसरी आकाश हेर्छ ?
रामगोपाल आशुतोष (सुवर्णचोक, सल्लाघारी, भक्तपुर–१७)
(१) आह्वान
मिर्मिरे नहुँदै
भालेले डाक हाल्नेबित्तिकै, निरंकुश रातका विरुद्ध
हामी उठौँ
हाम्रो उठ्ने बेला आएको छ
यो जोश सुक्न नदिन
ताप सेलाउन नदिन, मौका नचुक्दै
हामी जुर्मुराऔँ
हामी जुट्ने बेला आएको छ ।
तिमी-हामी उठ्नुअघि
बारीमा फूलेका सिम्रिक लिएर उठौँ
तिमी-हामी जुट्नुअघि
स्वच्छन्द उड्न सक्ने
गणतान्त्रिक लोकतन्त्रको लक्ष्य लिएर उठौँ
हाम्रो गलामा रहेको मुक्तिको गीत
पुस्तकमा रहेको ऐतिहासिक गाता
हाम्रो आँखाको समावेसिक इन्द्रेणी
प्राकृतिक रङ्गीन रचना
दाफामा गाईने सास्कृतिक धूनहरू, मेलामा गाइने लोकधूनहरू
तीजमा गाइने गीतहरू, हात बजारमा लाइने प्रीतहरू
लोकतन्त्रको विहान हेर्न लालायित जात्रुहरू
टुङ्गनाभरि लोकतन्त्र गाउनेहरू, मादलुभरि गणतन्त्र बजाउनेहरू
धिमेबाजा, भुस्याय्, मुस्याय्, मृदङ्ग, सहनाइभरि इन्द्रेणी नचाउनेहरू
मस्तिष्कभरि
रापिलो सूर्य, वीर इतिहास जन्माउनेहरू गणनायकहरू
लक्ष्य चुम्न हौस्याउने टोली नाइकेहरू
होष्टे…. क…… हैँसे क…… क…. को नारा लिएर
जो जहाँ छन् त्यहीँबाट उठौँ
हाम्रो उठ्ने बेला आएको छ ।
हाम्रो स्वर्ण छाती,
हाम्रो उर्लंदो स्वर, हाम्रो सङ्कल्प
निरंकुशता विरुद्ध लड्ने
हाम्रो जोश, हाम्रो भातृत्व, हाम्रो राष्ट्रियता
उठेपछि
स्वाभिमानका ती सारा कथा लिएर उठौँ
अमर इतिहासका लागि
लोकतन्त्र र स्वतन्त्रताका स्वरहरू लिएर उठौँ
हामी शान्तिका दूत हौँ
युद्ध हाम्रो रगतमा छ
हामीमाथि लादिएका घृणित निरंकुशतन्त्रका विरुद्ध
शंखघोष भइसकेको छ
सुतेकाहरू उठौँ, उठेकाहरू हिँडौँ
र हिँडेकाहरू, दौडौँ
जो, जहाँ, जसरी छन् त्यसरी नै उठौँ
जे, जति छ त्यही लिएर उठौँ
आवाज लिएर, कलम लिएर, हिम्मत लिएर
र थालौँ मुक्ति संघर्ष लोकतन्त्रका पक्षमा
हामी उठे युग उठ्ने छ
लोकतान्त्रिक गणतन्त्रमा
मुस्काउने छ शान्तिको विहानी….
(२) इश्वर र फूलहरू–१०
ऊ फेरि आयो
करियातन्त्रको नयाँ मोडेल लिएर
उसले प्रक्षेपण गर्यो
आउने बित्तिक्कै भ्रमको अर्को खेती
र बन्द गर्न खोज्यो सबैको मुख
कर्ङ्खर्यू लगाएर ज्ञानको आँखीझ्यालमा
कोचेर कर्फ्यु कानको पर्दामा
लादेर निषेधाज्ञा कुमारी गणतान्त्रीक रहरहरूमाथि
करियाका प्रवर्तक ब्यस्त छ
गीताका पाठहरू वर्णन गर्न रावणराजमा
हत्या गरेर गर्भभित्रको बुद्धलाई
बञ्चित गरेर सुसुचित हुने हाम्रो अधिकारबाट
हामीलाई फेरि
प्रजामा सीमित गर्न खोज्यो ।
सबैलाई थाहा छ ऊ को हो ?
जसले हनन गरेको छ
हाम्रो र्सार्वभौमसत्ता र लोकतान्त्रिक गणतन्त्र
ऊ आफूलाईर् इश्वर भन्न रुचाउँछ,
अस्थिरताको मुकुट पहिरेर ढुङ्गाकोर् इश्वर
पाइला पाइलाको चर्चा चलाउँछ आङ्खनो
जब कि
खुन पिएर अर्थहीन बाँचिरहेका छन्
पसिनाले कर तिरेर र्सार्वभौम फूलहरू
ऊ आम हत्यारा हो
ऊ दुस्प्रयास गर्छ मेटेर हार्नेहरूको इतिहास
लेखाएर आङ्खनो कलुशित नाम किताबका हरेक पानाहरूमा
ऊ करियाको प्रवर्तक, पटमुर्खताको अनुपम बुद्ध
उसलाई इतिहासको ज्ञान छैन
यो पनि थाहा छैन उसलाई कि
फूलहरूको वंश नाश हुँदैन
ऊ दुस्साहस गर्छ धकेलेर सभ्यता ढुङ्गे युगमा
अदभुत दुस्वप्न छ उसमा
पिताको जस्तै एकतन्त्रीय जहानीया रात ल्याउने
ऊर् इश्वर हो
करियाहरूको कथितर् इश्वर
फूलहरूको पौरख र वलिदानले निर्मित बगैँचालाई ऊ
बराजुहरूको हुकुमी राज्य भन्छ
निषेधित छन् फूलहरू
आङ्खनै बगैँचामा निर्निमेष, निरवधि फूल्न
युगनायकहरूले अर्जापेको लोकतन्त्रमा
उसको करियातन्त्र
दन्केको क्रान्तिको आगोले जलाउनेछ करियाको बोझ
खवरदार करिया !
पुर्खाको नाम भजेर फूलहरूमाथि ताण्डव नाच्न पाईंदैन
फूलहरू
त्रि्रा शाही ढोके, पाले होइनन्
तयार हुने छैनन् कहिल्यै
गरिदिन वसियत तिम्रै नाममा
बरू तयार हुने छन् फूलहरू धुजाधुजा हुन
तयार हुने छन् आफू फूल हुनुको गौरव
बालेर प्राचीन सभ्यता सडकमा
फाँडेर तिम्रो गौरवशाली करियातन्त्र
तयार छन् फूलहरू तिम्रो शिरमा तिम्रै अस्त्रले प्रहार गर्न
नपत्याए हेर,
सुन चर्का लोकतन्त्रका नाराहरू
गन्न सक्यौ के
इन्द्रेणीझैँ टहटह झुल्किने फूलका ठाडा शिरहरू
भन्न सक्यौ के
किन उठिरहेका छन् तिम्रो विरोधावली गाएर हातहरू
ठम्याउन सक्यौ के
किन अघि लम्किरहेका छन् गणतन्त्रको बाटोमा फूलका पाइलाहरू
जान्न सक्यौ के
किन बढिरहेका छन् तेरो जिर्ण महलतिर इन्द्रेणीका रङ्गहरु
इश्वर तेरो शिर कुल्चिन ????
रामचन्द्र भट्टराई
विना श्रीपेचको राजा
विना श्रीपेचको राजा गाऊँको मुखिया थियो
गाऊँको जिन्दगी साह्रा उसैको करिया थियो
छिन्न भिन्न थियो गाऊँ राजा पुष्ट हुँदै थियो
रैती-रगत खएर रातोपीरो हुँदै थियो
गाऊँका रमणीलाई बलात् सम्भोग गर्दथ्यो
नौली ब्यौली कुनै आए उसैकाँ जानु पर्दथ्यो
आए विकासको पैसा आफ्नै विकास गर्दथ्यो
आए विरोधको सोर झ्यालखान पु-याउँदथ्यो
राणाको राजमा राजा गाऊँको मुखिया थियो
राजाको राजमा राजा प्रधानपञ्चमा थियो
राजाको तन्त्र ढालेर प्रजाको तन्त्र ल्याइयो
खै कुन्नि कसरी फेरि अध्यक्ष पदमा पुग्यो ?
बगाई रक्तको खोलो यहाँ खै के लछारियो ?
सर्पले काँचुली फेरी मान्छेलाई डसी रह्यो !
मान्छेको मन आगो भै निस्क्यो कि कुन्नि के भयो ?
राजा विरुद्ध एक्कासी विद्रोह अग्नि हुर्कियो
आए खै कसरी को-को रातीमा हमला भयो
पड्क्यो बन्दुक छातीमा राजाको जिन्दगी ढल्यो
फाले जङ्गलमा लाश गंगाको घाट त्यै भयो
खाएनन् गिद्ध-कौवाले राजा जंगलमा सड्यो
मैले सोधेँ, “गिद्ध-कौवा ! खाएनौ किन मासु त्यो ?”
दिए जवाफ “खाँदैनौ गरीब-रक्त आँसु त्यो
त्यो भन्दा गोरुको सीनो धेरै-धेरै पवित्र छ”
(कविता संग्रह “आगोका फूलहरू” २०६१ बाट साभार)
लक्ष्मण गाम्नागे (काठमाडौं)
बज्या !
मलाई धन्धुकारीको आरोप लाउँछस् ?
मलाई संहारकारीको दोष लाउँछस् ?
संसारभरि मेरो खिल्ली उडाउँछस् ?
औँलो ठड्याएर मेरो नाकतिर ल्याउँछस् ?
बज्या किस्ने पहाडी !
मेरो नियतै खराब छ भन्छस् ?
सोझो हिँडिराछु, रगतमै शराब छ भन्छस् ?
चारपाटा मुडेर भञ्ज्याङ कटाइदिउँ तँलाई ?
मुन्टो चुँडेर माटो चटाइदिउँ तँलाई ?
बज्या नरहरि अचार्ज !
त्यत्तिकै मलाई खुनी भन्छस् ?
बित्थामा शकुनी भन्छस् ?
एई ! यता फर्केर धारे हात लाउँछस् ?
झन्डा बोकेर मतिर आउँछस् ?
बज्या गगने !
देउताको औतारलाई कंश भन्छस् ?
मलाई जङ्गबहादुरको वंश भन्छस् ?
टुँडिखेलमा लगेर झुन्ड्याइदिउँ तँलाई ?
खुट्टामा बाँधेर उभिन्ड्याइदिउँ तँलाई ?
बज्या शम्भु थापा !
मेरो मुन्टो बाङ्गो छ भन्छस् ?
लुगा लाइराछु नाङ्गो छ भन्छस् ?
मेराविरुद्ध कविता कोर्छस् ?
ताली सोर्छस् ? मेरो चैन चोर्छस् ?
बज्या अर्जुने पराजुली !
एई,
त्यो आकास थर्किने गरी जिन्दावाद भन्छौ ?
यो छाती चर्किने गरी मुर्दावाद भन्छौ ?
शिर ठड्याएर ठाड्ठाडा नारा लाउँछौ ?
मेरै घरतिरको बाटो जुलुस ल्याउँछौ ?
बज्या नन्दकृष्णे, बज्या रुविनेहरू
बज्या खगिन्द्रे, बज्या यज्ञनिधिहरू
बज्या बैरागी, बज्या हरिगोविन्देहरू
बज्या मास्टर, बज्या डाक्टरहरू
बज्या कर्मचारी, बज्या कामदारहरू
बज्या प्राध्यापक, बज्या बुद्धिजीवीहरू
बज्या पत्रकार, बज्या वकिलहरू
बज्या हिमाल, बज्या कान्तिपुरहरू
बज्या विदेसी,बज्या नेपाली नागरिकहरू !
(नोट- कवितामा प्रयोग भएका नामहरू काल्पनिक हुन्- बज्या कवि । कविता कान्तिपुर दैनिक वैशाख १०, ०६३बाट साभार)
शान्ता शर्मा (महेन्द्रनगर, हाल: खाठमाण्डौ)
आवाज थप्दै आऊ
आऊ सबै आऊ
गाउँ गाउँबाट आऊ
सहर सहरबाट आऊ
आवाज लिएर आऊ
मुठी कसेर हात उचाल्दै आऊ
बच्चालाई दूध खुवाइरहेकी आमा
बच्चालाई नै लिएर आऊ
दिदीबहिनी, आमाभाउजू
डाडू, पन्यु, थाल ठटाउँदै आऊ
कुचोले निरंकुशता बढार्दै आऊ
एउटा आवाज लिएर आऊ
खेतबारीमा काम गरिरहेका किसान
माटैसित आऊ
कलकारखानाका मजदुर
कामकै लुगामा आऊ
शिक्षकहरू कक्षाबाटै आऊ
विद्यार्थी आऊ, युवा आऊ
निरंकुशताका विरुद्ध
एउटा आवाज लिएर आऊ
मुठी कसिएका हात उचाल्दै आऊ
घामपानी नभनी आऊ
भोकप्यास नभनी आऊ
इतिहासले पर्खन्न, आऊ
निरंकुशता लघार्न आऊ
लोकतन्त्रका लागि आऊ
आवाजमा आवाज थप्न आऊ
पूजामा बसेकाहरू घण्ट लिएरै आऊ
मस्जिद गइरहेकाहरू नमाज पढदै आऊ
चर्चमा प्रर्थनारतहतू क्रस बोकेर आऊ
निरंकुशताविरुद्ध मुठी कसेर आऊ
आवाजमा आवाज थप्न आऊ
वकिलहरू कालो कोटमा आऊ
पत्रकारहरू कलम बोकेर आऊ
कविहरू कविता भन्दै आऊ
चिकित्सकहरु औषधि बोकेर आऊ
गीत गाएर आऊ, सङ्गीतमा आऊ
निरंकुशतालाई भगाउँने नारा घन्काउँदै आऊ
आवाजमा आवाज थप्दै आऊ
मुठी कसेर हात उचाल्दै आऊ
अबेर नगर, इतिहास बनाउँन आऊ
आजै आऊ, अहिल्यै आऊ
शिव प्रकाश (हरैंचा/मोरङ, हालः बोष्टन/अमेरिका)
अतिको ओखती !
अतिमात्र हैन,
अतिचार भयो
चल्लामाथि चील झम्टिएझैं
जनतामाथि राजाको राज्य सधैं झम्टियो
माग्दा नपाए पछि
अव खोसेर लिन जनलहर उर्लियो
उर्लियो उर्लियो
मेची-महाकली उर्लियो
तराई उर्लियो/पहाड उर्लियो
हिमाल उर्लियो
निस्सासिएको जनताको भावना उर्लियो
अव तानाशाहको शालिकमात्र हैन,
समूल बढारेर लाने भयो
नयाँ बिहानी आउने भयो
नयाँ इतिहास लेखिने भयो
अतिको ओखती
अब बल्ल हुने भयो
शिशिर शर्मा
लोकतन्त्र- जिन्दावाद !
डाक्टर उठे ड्राइभर उठे, पत्रकार र प्राध्यापक उठे
शिक्षक उठे वकिल उठे, विद्यार्थी त पहिल्यै उठे
किसान उठे मजदुर उठे, इन्जिनियर पाइलट उठे
मेची कोसी काली उठे, सबै यसैपालि उठे
मन्डलेलाई गाली उठे, लोकतन्त्रलाई ताली उठे
लेकबेंसी तराई उठे, दाइ उठे भाइ उठे
जनता उठे नेता उठे, एउटै मोर्चा कसी जुटे
सुत्ने उठ देऊ साथ
लोकतन्त्र जिन्दावाद !
कुटो कलम खोसिएछ, बाँच्ने हक सोसिएछ
देश लुटिनु लुटिएछ, नागरिकलाई भुटिएछ
विश्व सारा उठिरा’छ, निरंकुशता झुकिरा’ छ
कमल थापा बर्बराउँछ, सायद दिमाग सड्किरा’ छ
प्रहरीको बन्दुक भुइँमा, आफैँ खसी पड्किरा’ छ
अन्धाधुन्ध गोली हान्छ, सेना पनि बौलायो कि
लाखौँ मान्छे रित्तै आ’छन्, शान्ति अब मौलायो कि !
लगाऔँ नारा उठाऔँ हात
लोकतन्त्र जिन्दावाद !
लोकतन्त्र हो मिल्ने विन्दु/नजिकिने दूरी आयो
जनभेल रोक्न खोज्ने/मन्डले चुरिफुरी आयो
आउनु थियो जनलहर, निकै महिना कुरी आयो
कसले रोक्न सक्छ हेरूँ, लोकतन्त्रको हुरी आयो
रित्ता हुँदै गएपछि, निकै बज्छन् भाँडाहरू
निभ्नेबेला बत्तीजस्तै, बोल्छन् गिरि राणाहरू
एक्लिरा’ छौ मन्डले हो, छोडिहाल खाऔला लात
पिटौँ ताली बजाऔँ हात
लोकतन्त्र जिन्दावाद !
मुठी उठे झन्डा उठे, घाइतेलाई चन्दा उठे
लोकतन्त्र भित्र्याउन, सारा नेपालबन्द उठे
कर्मचारी उठ्नै पर्छ, लोकतन्त्रमा लाग्नैपर्छ
स्वेच्छाचारी सत्ताधारी, देश छोडी भाग्नैपर्छ
सुरक्षाको घेरा तोडी, बढिरा’छन् जुलुसहरू
आन्दोलनलाई साथ दिँदै, ताली दिन्छन् पुलिसहरू
परिवर्तन नै सबको माग हो, कसको मन छुँदैन र ?
आफ्नै मान्छे मरेको छ, कसको आत्मा रुँदैन र ?
देशै उठ्यो मिल्यो साथ
लोकतन्त्र जिन्दावाद !!
(कविता कान्तिपुर दैनिक बैशाख १०, ०६३ बाट साभार)
सागर मणि दाहाल (राजबिराज, हाल: काठमाडौं)
लोकतान्त्रिक नेपाल
रातैदिन तेरा विक्षिप्त लिप्साका भरमा
कर्फ्यु लगा
आँखा र मुटु बन्द भएका
स्वचालित हतियार चला
र सुकाउन खोज् नदिहरु
लुकाउनखोज् जीवनहरु
तर,
ए कालो गोमन
तैंले थाहा पाइस् कि पाइनस्
तेरै डसाइले ढलेकाजीवन
र तीनको रगतबाट
रक्तविज छरिइसकेका छन्
अब तैंले प्वाल पाउने छैनस् लुक्न
तेरा सारा बाटा बन्द गर्ने
ढाल जन्मिइसकेका छन्
अब रातैभरिमा बारुदको तुँवालो लगाए पनि
भाले बास्न थालिसके
सूर्य छेक्न सक्ने छैनस्
अब ग्रेट वाल ठड्याए पनि
सागरहरुमा छाल आइसके
सुनामी रोक्न सक्ने छैनस्
तँ बढारिने अकाट्य छ
लाइफ ज्याकेट खोज्
अब तेरा दन्त्य कथाजस्ता काला इतिहास
युगका सुनौला औंलाले कोर्नेछन्
तेरा झूठ, क्रुरता र दमनका निर्लज्ज शालिक
स्वाभिमानी हत्केलाले तोड्नेछन्
प्रसुति वेदनाले आमा छट्पटाउँदैछिन्
चाँडै जन्मनेछ – शिशु नेपाल
लोकतान्त्रिक नेपाल
जनतान्त्रिक नेपाल
शुभकामना छ ।
सुमन पोखरेल (बुद्धविहार मार्ग, अलका बस्ती, विराटनगर – १५)
(१) ठाडो उभेको आकाश
धर्तीले ठाउँ छोडेर उडिरहेको वेला छ,
आँधीमा टेकी हिँड्नु परेको वेला छ,
आगो बर्सिएर अनवरत,
पानी ओढ्नु परेको वेला छ ।
अन्धवेगले वहेको वतासमा झुन्डिएर
ज्यान जोगाउनु परेको वेला छ
पलपल मृत्युमा चढेर जीवन खोज्नु परेको वेला छ ।
मनहरुबाट कतै उडिभागे कलमहरु,
सङ्गनिहरुको पोखरीमा
औँलो चोपेर लेख्नु परेको वेला छ ।
ठाडो उभिएको आकाशमा ठोक्किनु छ,
सद्दे आफूलाई
भ्रममा छु कि भनेर
भत्किएर बाटाछेउ उँघिरहेका खण्डहरसँग जँचाईमाग्नुपरेको वेला छ ।
आकाश अब त्यो आकाश रहेन,
जुनवेला मनभरि विश्वास बोकेर उड्दथे चराहरु,
एकअर्कालाई देखेर रमाउँथे ताराहरु ।
भररात उज्यालो बोकेर
विहानीलाई सुम्पी जान्थ्यो जून
र जीवनजस्तै मिठा रहर लिएर
ओर्लन्थे धर्तीमा किरणहरु ।
अहिले त,
ठाडो उभिएको आकाशमा ठोक्किएर
क्षितिजदेखि उड्दै आएका मनहरु विक्षिप्त भई झरिरहेको वेला छ,
हाँस्दै दौडिएका रहरहरु टुक्री छरिईरहेको वेला छ,
खेल्दै उफ्रिएका स-साना नानीहरुका विश्वास च्यातिइरहेको वेला छ,
माथि हिमालदेखि बग्दै आएका नदीहरु टक्क रोकिएको वेला छ ।
घामजूनले कोल्टो परेर हिँड्नु परेको वेला छ ।
वास्तवमा,
मनहरु अनन्तसम्म उड्न पाउँदा मात्र मन हुँदा रहेछन्,
रहरहरु कतै नठोक्किई दौडिउन्जेलनै रहर रहँदा रहेछन्,
धर्ती तल भरुइँमा सुते मात्र उर्वर हुँदो रहेछ,
हावाले हावाझैँ वहे मात्र जीवन जोगाउने रहेछ,
पानी ओढिइएर हैन, पिईएर मात्र जीवनदायी बन्न सक्दो रहेछ ।
वास्तवमा,
सबै आ-आफ्ना ठाउँमै सुहाउँदा रहेछन्,
आकाश ठाडो उभिँदा
सम्मानजनक बाँच्न चाहनेहरुलाई साह्रै गाह्रो हुने रहेछ ।
(२) पिलो
ढोका थुनेर छेकिँदैन,
अलार्म राखेर जोगिँदैन,
आउनु छ भने,
कुनै बाटो र पूर्वाभाष विनै आउँछ
र राज्य जमाउँछ शरीरको कुनै अफ्ट्यारो ठाउँमा पिलाले ।
मान्छेको पद र प्रतिष्ठालाई टेर्दैन
डराउँदैन कसैको गफ र धम्किहरुबाट
हर्दैन पिलाले शरीरको ढाँचा र वनावट
न त उमेर हेर्छ कहिल्यै ।
पिलो आएपछि देख्दैन मान्छेले
रुखमा अम्बा पाकेको
देख्दैन कतै गोलभेँडा, ऐँसेलु र लिच्ची,
जताततै पिलै देख्छ ।
न त कसैले आइसक्रिम वा आलुचा खाएकै देख्छ ।
आफुलाई एकरत्ति मन नपरेको पिलोलाई बोकिहिँड्नुपरेको मान्छेले
चिन्दैन आफ्नै अनुहार,
ऐना हर्ेदा केवल शरीरमाथि एउटा ठूलो पिलो देख्छ ।
आफूसँग पिलो लिएर मिटिङ्गमा बसेको मान्छेले
बुझदैन कुनै एजेन्डा,
पिलो उखेलेर फ्याँक्नु नै सबै एजेन्डाको निक्र्यौल देख्छ ।
मान्छे बिर्सन्छ
उसका शरीरमा पिलो वाहेक अरु अङ्ग पनि छन्
उ बिर्सन्छ कि उ एउटा जीवन पनि सँगसँगै बाँचिरहेको छ ।
पिलो केन्द्रबिन्दु बन्छ
मान्छेका रिस र गालीको,
काम, विचार र सम्पूर्ण सोचको ।
पिलो आएपछि चाहिँदैन टीभीको रिमोट कन्ट्रोलर
खेलाउँदैन मान्छे सेलफोनका बटनहरु
उसलाई पिलो सुम्सुम्याउन मै आनन्द आउँछ ।
पिलाले पिरोलेको क्षण
मान्छे जीवन कै र्सवाधिक ज्ञानी बन्छ, र
आफूलाई रुवाई रहेको शत्रुको
उत्तरोत्तर बृद्धिको कामना गर्दछ ।
आएपछि
पिलो साँच्चै राजा नै हुन्छ एक अवधिभर
खिलै उखेलेर नफ्याँकुन्जेल
कसैले हकार्दैमा डराएर भाग्दैन ।
तर केवल मासुमा समेटिएको हुन्छ पिलो,
पिलाको जरा मनसम्म पुगेको हुँदैन,
पिलाको टाउकाले मस्तिष्कलाई छोएको हुँदैन,
त्यसैले धेरै दिन टिक्दैन ।
बेलैमा खिलैसम्म उखेलेर फ्याँक्नै पर्छ पिलालाई
किनकि,
थोरै दिन भए पनि
रहुञ्जेल त आखिर यसले
पिलैले दिने दुःख दिएर छाड्छ !
सुमेरु (रुपन्देही)
देशले के मागेको छ ?
अव धर्तीको माटोले राजतन्त्रको बीउ खोजेको छैन
हिंसा गोली र वारुदी सुरुङ्हरु पनि रोजेको छैन,
राजाको देश होईन
जनताको देशहुन खोजेको छ ,
निरङ्कुश राजतन्त्र फालेर
लोकन्त्रको विहानी रोजेको छ
लोकतन्त्रको खेल खेल्न राजाले जान्दैजान्दैन
प्रजातन्त्रलाई राजतन्त्रले आफ्नो ठान्दैठान्दैन
गणतन्त्रलाइ राजतन्त्रले धान्नैधान्नैन,
त्यसैले,
उ संग अव कुनै संझौतापत्र हुने छैन
कालो पोतिएको उस्को छविमा मलमपट्टीले छुनेछैन
अव लेनदेनको कपटपूर्ण संझौतामा देश जाने छैन
यहांको महगो राजतन्त्र जनतालाई कुनै माने छैन,
अव राजा असफल भई सकेको छ
उस्का स्वनामधन्य अधिकार र स्यानब्यानहरु
हिंसाका हात र मनहरु
सुरक्षा कवज र लवजहरु
हामीले शमन गरिदिनु पर्छ,
अनि आर्यघाटका चिताहरुमा भरीदिनु पर्छ,
यो जन आन्दोलन हो
यस्ले आफ्नो उचाइ लिईसकेको छ
लोकतन्त्रले मात्र होइन
देशलाई गणतन्त्रले छोई सकेको छ,
अझ पनि राजालाई अवतरण गर्ने मौका छ
उस्को हातमा एउटादाउ चौका छ
तर,
राजा रहेर होईन
प्रजा वनेर थापिनु पर्छ
उस्को बैङ्क ब्यालेन्स र सम्पत्ति
देशका लागि नापिनु पर्छ
जनताको कठघरामा उभिएर
जनअदालतको फैसला अनुसार
राजा कैदी वनेर जेलतिर हानीनु पर्छ ।
अनी जनताको मन जितेको नेपालीलाई
नारायणहिटीमा राखिनु पर्छ ।
सुरेश रानाभाट (पोखरा)
सदीऔँदेखि
हिमालय पर्वतबाट
अविरल पानी बगिरह्यो
न पानि डाँडामा न पानी भाँडामा भैरह्यो
चकमन्न अन्धकारको सन्नाटा छाइरह्यो
यसघडी
एउटा भीषण आँधी आउँन खोजेको छ
शोषित/उत्पीडित तनहरू स्वागतार्थ आतुर छन्
आँधीलाई प्रकृतिको कुचो संझिरहेछन्
बतास लयमा खासखुस सुसेलीरहेछन्
अलिखित/अनाम मान्छेद्वारा निर्मित
स्वघोषित उचाईका धरहरा/घण्टाघर
सत्ता र शक्तिका संहदरबार/बाघदरबार
विखण्डित टुक्रिने त्रासले
रोक्न/छेक्न चाहिरहेछन् आँधीलाई
खेलौना जस्ता रोमोट कण्ट्रोलले
ओ ! आँधीसित अपरिचित राजधानी
के आँधी कृत्रिम पङ्खाको वतास हो र?
स्वीच अफ गरे रोकिने/थामिने
हतास मानसिकताले बतासको जुलुसलाई
दमन गर्ने दुस्साहस असम्भव छ
ज्ञात रहोस महासय,
लोकमा आँधी आइसकेपछि
विख्याँचाहरु ढल्नेछन्
जनताहरू उठनेछन्
आँधी आयातित बन्दुक र बमभन्दा
हजारौँ गुणा शक्तिशालि छ
नपत्याए सोधि हेर बार्सिलोनालाई
यो भूगोलमा पनि
पूर्वपश्चिम लेकाली पहाडबाट
आँधीको यात्रा र गन्तव्य
तय भैसकेको छ
यो अग्रिम सूचना हो
समयमै चेतना भया !
ओ ! आँधीसित अज्ञाँत राजधानी
सावधान ! अब उपत्यका वरपरका
गिरि र कोटले/पहाड र पर्वतले आँधीको तुफानी सुनामी लयलाई
किमार्थ थाम्न सक्दैन
टुडिखेलको बार र सिपाहीको घारले
अवश्य खाम्न सक्दैन
राजधानीलाई आँधिको अग्रिम सूचना!!!
स्व.स्वप्नील स्मृति
अरू सम्बोधन
महोदय !
सर्कस-घर होइन देश
न समय
बादशाहको शालिक नै हो ।
तिम्रो हातमा छ
जो हस्तिनापुर र महाभारतको युद्ध सुन्दरी
अनि तिम्रो हातमा छ
उत्तराधुनिक ‘रिमोट कन्ट्रोल’
जसले तिमी नचाइरहेछौ-पेशेवर वेश्या शान्ति ।
तिम्रो हातमा छ-हिंस्रक राज-झट्ट
र ठान्दो हौ यही हो अन्तिम जादुमय छडी
लासहरूको चाङ
चाङमाथि चाङ
चाङहरूको दरबारमा
जुन छ वैदिक साम्यवादको गद्दी
हो त्यही आसिन छौ तिमी- जङ्गली ऋषिमुनि झै ।
तिम्रो हातमा छ नरभक्षी बन्दुक
सङ्सँगै एउटा कुरुप कला
तर आफु शाकाहारी हुँ आदेश-बक्सको
ठूल्ठूला होर्डिङबोर्डहरू झुण्ड्याएका छौ
टोल-टोलका बधशालाहरूमा ।
तिम्रो हातमा छ-गीता
र, अज्ञात यौवनाको बलात्कारपछि
तत्काल हत्या गरेको
रक्तमुछेल छुरी ।
जुन तिम्रो हातमा छ-
एक टुक्रा सुकिलो खादा
राजकीय अभिनन्दनमा
उही बलात्कृत यौवनाका बुबाहरूबाट समर्पित ।
महोदय !
हाम्रो हातमा केही छैन
यो देशको एकमुठी माटोसम्म …
तर तिम्रो हातमा धेरै छ ।
सबैभन्दा घृणित त
तिम्रो हातमा छ-राष्ट्रिय झण्डा
जो, हो तिम्रो गुप्ताङ्ग छोप्ने हतियार
मानीदिउँ
राष्ट्रियता तिम्रो कामुकता
अनि राष्ट्र हो तिम्रो गुप्ताङ्ग ।
तिम्रो अभिमान सोहोरिएको
तिम्रो महत्वाकांक्षा पोको परेको
एउटा पूरातात्विक टोप
चाहे त्यो हाम्रो पाइतालामुनि होस्
चाहे त्यो तिम्रो शीरैमा होस्
जसको कुनै मतलब छैन हामीमा
हो, त्यो समेत तिम्रै हातमा छ ।
महोदय !
हिरामोति, धनसम्पत्ति, फौज,
मानीदिउँ-ब्रहाण्ड नै
सबैसबै तिम्रो हातमा छ
तर तिम्रै दुर्भाग्य !
तिम्रो हातमा छैन जनता र समय
तिम्रो आयूसमेत हाम्रो हातमा छ ।
हो, खाली छन् हाम्रा हातहरू
तर, बुझ्नू महोदय !
सबैभन्दा डरलाग्दो
सबैभन्दा सृजनशील
सबैभन्दा परिवर्तनकामी
त खाली हातहरू नै हुन्छन् ।
जब भरिने छन्-
केही थोकले हाम्रा हातहरू
सम्भिनू
त्यतिखेर तिम्रो हातमा के हुनेछैन के हुनेछ ।
(वैशाख १३, ०६३ सम्म प्राप्त मत्र – चैत्र २४, २०६२ देखि संचालित जनआन्दोलनको अभिलेख कविता सँगालो)
(वरिष्ठ कलाकार किरण मानन्धरका चित्रहरू समेत राखेर यो सँगालो छिट्टै पुस्तकका रुपमा पनि प्रकाशित गरिनेछ)
(स्रोत : नेपालीकविता डट कम)