कथा : बशिर

~दिलिप पौड्याल~

कालो बर्ण, भेडाको ऊन जस्तै घुम्रियको कपाल, अग्लो कद, पातलो सरिर, मौरिले टोकेर सुन्यको जस्तो ओठ।

चिसो र स्थिर आँखा। अनुहार सधै निराश कालो बादलले छोपेजस्तो। उसलाइ देखेपछि मन कस्तो कस्तो भयो। अलिकति डर। अलिकति निरासा।

“ हेलो! मेरो नाम दिलिप हो। म यो विल्डिङको म्यiनेजर।तपाई भित्र आउन सक्नुहुन्छ,” मैले दाइने हात अघि बढाउदै भने।

“हाय! म बसिर। हिजो तपाइसंग फोनमा कुरा गर्ने म नै हो।”

“धन्यबात। म संग दुईवटा मात्र खालि अपार्टमेन्ट छन। तपाइलाई एक बेडरूमको अपार्टमेन्ट चाहियको हो कि दुइ?

“ एक बेडरूम भए पुग्छ। के मलाई देखाउन सक्नुहुन्छ?”

‘अफकोर्स’।

मैले उसलाई भुइतलामा भयको कोठामा लगे। किचन, बाथरूमहरू देखाए।

“ यो एकजना या दुइजनासम्मलाई ठिक छ। सस्तो छ। यो मुल्यमा कतैपनि पाइदैन। यदि कोठा मन पर्यो भने यो आबेदन फर्म भर्नुस र एक सय डलर पनि बुझाउनुस। यदि तपाइको अप्लिकेसन पास भयो भने म तपाइलाइ कल गर्छु,” मैले भने।

ऊ तलमाथि यताउति हेर्दै थियो। केहि बोलिरहेको थिएन। “ऊडुस त छैन”, उसले सोध्यो।

“छैन। साङ्लाहरू हुन सक्छन तर हामि बेला बेला आषधि छर्छौ।”

मैले साङ्लाहरू छैनन भन्न पनि सक्थे तर उसकै अगाडिबाट एउटा साङ्लो खुर्र दौडेर फ्रिजमुनी छिरेको उसैले देख्यो तर ऊ केहि बोलेन। बाध्यताहरू आआफ्ना हुन्छन। उसले एकसय डलर बुझायो र फर्म लियो। आफु भोलि फर्म बुझाउन आउने भन्दै निस्कियो।

भोलिपल्ट साँझ ५ बजे उ आयो।

“हामि मे को एक गते मुभ इन गर्छौ। हुने नहुने खबर छिटो पाउ” भन्दै ऊ गयो।

भोलिपल्ट फर्म बुझायो। उसैदिन मैले रिफ्रेन्स चेक गरे। सबै ठिकठाक थियो। बोलाएर लिज पेपरमा हस्ताक्षर गराए।

मे को एक तारिक उनिहरू मुभ इन गरे। सामानहरू खासै धेरै रहेनछ। एकपल्ट उसलाइ भेटेर “केहि सोध्नुपर्ने छ भने सोध”, भने।

“आर यू इन्डियन”, उसले नाक खुम्च्याउदै सोध्यो। सायद उसलाइ थाहाथिएन होला यसरि राष्ट्रियताको बारेमा सोध्नु उचित मानिदैन यहा भनेर। तर मैले सहजतासाथ भने, “ नो”।

उ एकछिन अलमलिएझै गर्यो। मैले कुरो अगाडि बढाउन चाहिन। उसले पनि मेरो मनसाय बुझ्यो होला अगाडि सोध्ने आट गरेन।

मलाइ भने पछाडि कुरो गरेको भए हुनेरहेछ भनेर थक्थकि लाग्यो। आखिर मैले पनि कति मान्छेहरूलाइ उनिहरूको राष्ट्रियता सोधेको छु। प्रायजसो इमिग्रान्टहरुले सोध्ने गर्छन आफ्नो देशको बारेमा। सेतो छाला हुनेहरुले झन बढि सोधेको पाइयो।

म काममा निस्कनेबेला होस या कामबाट फर्कनेबेला उ सधै ढोका बाहिर भेटिन्थ्यो। “हाई, हेल्लो “ भैहाल्थ्यो। तर मलाइ भने कताकता उसंग कुरो गरेर अफ्रिकि देशहरूको बारेमा केहि जान्न मन लाग्यो।

एकदिन उ ब्यकयार्डमा भएकोबेला म पनि निस्के बाहिर। उ फोनमा ब्यस्त थियो। केहिबेर पछि ‘हाइ, हेल्लो’ भयो।

“आर यू अन वर्कपरमिट अर पि आर?” मैले आइस ब्रेक गरे।

“रिफ्यूजि”, उसले मुख बङ्गाउदै भन्यो। सायद रिफ्युजि भन्दा आत्मग्लानी भयको हुन सक्छ।

खासगरि नाइजेरिया र इथियोपियाका मान्छेहरूलाई म उनिहरूको शारिरीक बनोट,ओठ र रंगको आधारमा चिन्दछु। सबै काला बर्णका अफ्रिकन हुदैनन् भन्ने कुरा काम सुरूगरेको पहिलो दिन नै थाहा पाएको थिए। त्यो दिन एक जमैकन महिलालाई ‘ मलाइ अफ्रिका मन पर्छ भन्दा’ उनले हासेर जमैका अफ्रिकन देश होइन’ भनेकी थिई। म छक्क परेको थिए।

“वोयर आर यु फ्रम?” मैले सोधिहाले।

“ साउथ सुडान”, मेरो आखामा एक अपराधिलाइ जस्तै गरि हेर्यो उसले।

“आइ एम फ्रम नेपाल”, मैले अलिकति ओठ लेप्राउदै भने।

उ पनि फुर्सदमै रहेछ। उ संग करिब आधाघन्टा सम्म कुराकानि भयो।

मैले सोध्ने क्रममा उसले आफ्नो ब्यथा यसरि पोख्यो।

“म साउथ सुडानको नुबा पहाडमा जन्मे। जनतन हुर्कदै थिए। मैले अलिअलि जान्ने बुझ्ने हुदादेखि नै हत्या, हिंसा दिनदिनै जस्तो हुन्थ्यो। किन हुन्थ्यो अहिलेसम्म थाहा पायको छैन। हाम्रो परिबारमा चार दाजुभाई र तिन दिदिबैनी थियौ। बाबाको १९९० मा बमको छर्राले दाइने हात चुडिएको थियो। उहॉले जनतन एउटा हातले भयपनि केहि अन्न उब्जायर परिबार पाल्दै आउनु भयको थियो। कहिले कता, कहिले कता दिनदिनै जसो मान्छे मोरेको खबर सुनाउथे गाउलेहरु। हेर्दा हेर्दै सबैजसो युवाहरू नुबान बिद्रोहि ग्रूपमा भर्ति भयछन।”

“नुवान बिद्रोहिको माग चाहि के रहेछ?” मैले उसको कुरो बिचमै काटेर सोधे।

“ मैले अघि नै भनिसके त्यो युध्द किन भैराखेको छ मलाइ राम्रो संग अझैपनि थाहा छैन । बिद्रोहिहरू ठलाठुला हतियारहरू भिरेर दिनदिनैजसो देखा पर्थे। उनिहरू भन्थे यो माटो हाम्रो हो। पुर्खादेखि बसेका हामि अफ्रिकनहरुलाई अरबियनहरूले लखेट्न खोज्दै छ। हामि स्वतन्त्रता चाहन्छौ। १३७ भन्दा बढि जातजातिहरूको बसोबास भयको सुडानमा नुबान बिद्रोहि मात्र हैन अन्य थुप्रै हतियार बोकेका समुहहरू थिए। सबैले आफ्नो जातिय तथा धार्मिक अधिकारको माग राखेका थिए। तर सैन्य कु गरेर राष्ट्रपति बनेका वोमार अल बसिरले जबरजस्ति मुस्लिम धर्ममा परिबर्तन गराउने तथा बिद्रोहिहरूको इलाकामा जथाभाबी बम खसाल्ने काम गरे।”

“किन सुडान मुस्लिम देश हैन र?” मैले सोधिहाले।

“ देश कहिलेपनि मुस्लिम या क्रिचियन हुदैन। रह्यो जनताको कुरा। दक्षिण सुडानमा अशि प्रतिसत भन्दा बढि क्रिचियन र अन्य धर्मका मान्छे बसोबास गर्छन भने उत्तरमा नब्बे प्रतिसत मुस्लिमहरूको बसोबास छ। तर साधनस्रोतले सम्पन्न दक्षिण सुडानमा भोकमरीको कारणले बर्षेनि हजारौको ज्यान गैराको हुन्छ।”

सन् २००६ देखि हत्या, हिसा चरम बिन्दुमा पुग्यो। बमगोला केटाकेटीलाई खेलैना जस्तै भयो।”

उ केहिबेर चुप लाग्यो। म पनि उसलाई साथदिए ।

“ मेरा दुई दिदिहरू र एक भाई त्यहि बमसंगै टुक्रा टुक्रा भए। दुई दाजुहरू बिद्रोहि समहुभित्र छिरे। ज्युदो मर्दो थाह छैन्। बचेखुचेका हामि आकाशबाट कतिबेला बम खसाल्छ भन्दै हेर्दै बस्थ्यौ। जब आकाशमा डरलाग्दो आवाज सुनिन्थ्यो हामि घरछेउको खाडलभित्र पस्थ्यौ। पछि घरघरमा आएर आतंक फैलाए। एक रात अरबि सिपाईहरू घरभित्र छिरे। हाम्रै अगाडि एउटा आखो कानो भएको सिपाईले दिदिलाई बलत्कार गर्यो। मैले त्यो सिपाइको टाउकोमा दाउरोले हाने। पछि उसले धारिलो हतियारले दिदिको दुबै स्तन चुडाइदियो। दिदिको रगत बगेर त्यहि प्राण गयो। अर्कोले त्यहि दाउरोमाथि राखेर मेरो दायॉ हातको पाचवटा औलाहरू टुक्रायो।”

उसले दायॉ हात तन्कायो। उस्को सग्ला औलाहरू त प्लास्टिक पो रहेछन्। त्यो देखेर मन झिसिङ्ग भयो।एकमनले सोचे ‘भो अब धेरै नखोतलौ, खाटा परेको घाउ नकोट्याइदेउ।’ एकछिन केहि बोलिन।

“त्यसपछि हामिहरू घर छोडेर पहाडको खोचमा ओडारमा लुकेर बस्न थाल्यौ। त्यहि जंगलमा पाईने कन्दमुल, रूखको पात र बोक्राहरू खाएर कैयौ रात बितायौ।”, ऊ बोल्दै गयो।

“ ति ओडारहरू पनि सुरक्षित कहॉ थिए र। कैयौ मान्छेहरू बिषालु सर्पको टोकाइबाट मोरे। जताततै सर्पको काचुलि झुन्डियको हुन्थ्यो ढुङ्गाहरूमा। कैयौ आमाबाबूहरू आफ्ना केटकेटीहरूलाइ ओडारमुनि लुकाएर खानेकुरा खोज्न तल झर्थे। कतिपय कहिले फर्केनन्। उतै मारिए। कतिपय़ले फर्केर आऊदा छोराछोरी देख्न पाएनन्। उपचार गर्ने डाक्टर थियनन्। स्कुल, अस्पताल बमले ध्वस्त थिए। खोलाको आसपास लास कुहियको अबस्थामा हुन्थ्यो। त्यहि खोलाको पानि पिउदा झाडा पखलाले कति मोरे कति।”

उसले भन्दै गर्दा मेरो ज्यान नै सिरिङ्ग भयो। मैले दश बर्षे जनयुध्द सम्झे। उदेश्य जे भयपनि दुबैतिर मान्छे मारिएका थिय। कसैका टाउका गिडियका थिए भने कसैको हात र खुट्टा। जंगलमा लाश , खोलामा लाश , भिडन्त भएको ठाउ वरिपरी पनि लाशै लाश । बिभत्स द्रश्य नाचिरह्यो आँखा वरिपरि।

“ आइ ह्याप टु गो ब्रो”, उसले भन्यो।

“ नाइस टकिङ टु यू, सि यू देन”, भन्दै म पनि लागे कोठातिर ।

उसंगको कुराकानिले मनभित्र खुल्तुलि झनै बढाइदियो। यूट्यूबमा केहि भिडियोहरू हेरे। गुगलबाट केहि न्युज पढे। डार्फर, नुमा माउन्टेन,जुबा, नाईल नदिको छेउछाउ दिनहुजसो युध्द भैरहेको थियो। शासक कति सम्म क्रूर हुन्छन भन्ने हिट्लर पछिको उदाहरण थियो यो।

एकहप्ता पछि अचानक फोन आयो उसको।कोठामा हिटिङले काम गरेको रैनछ। साझ हिटिङ चेक गर्नको लागि उसको कोठामा पसे। कोठा एकदम अब्यव्स्थित थियो। लिभिङ रूममा एउटा पुरानो सोफा बाहेक केहि थिएन। बेडरूममा एक जना महिला ओक्ष्यान मिलाउदै थिइ। तातोपानिको पाइप चिसो थियो। पाइपको भल्भ हेरे। उपाय लागेन। पलम्बरलाई बोलाइदिने भन्दै निस्के। कुरा गर्न मन थियो तर बाताबरण भनेजस्तो थिएन।

भोलिपल्ट घरको बाहिर दुईजना केटा र एउटा केटी रूख मुन्तिर धेरैबेर यताउति गरे। केटाहरू कालो हुडि र जिन्समा थिए भने केटी जिन्सको हाफप्यान्टमा। उनिहरूको क्रियाकलाप संकास्पद थियो। केटीलाई दुबैजनाले पालै पालो किस खाइरहे। केहिबेरमा पुलिसको गाडि देखा पर्यो। पुलिसले उनिहरूलाई कब्जामा लियो र उनिहरूको शरिर र झोला खानतलासि गर्यो। एकै छिनमा सबैलाई भ्यानमा हालेर लग्यो पुलिसले।

भ्यान छुटेको एकछिन पछाडि वसिर देखापर्यो त्यहि ठाउमा एकजना केटिसंग। त्यो केटी मैले उसको कोठामा देखेको चाहि हैन। उनिहरू धेरैबेर त्यहि अलमलिए ।करिब बिस मिनेट पछि केटी उत्तरतिर लागी।

मलाई बसिरसंग अझै कुरा सोध्न मन थियो। दौडदै ऊ भएको ठॉउ पुगे। ऊ झस्केजस्तो गर्यो। मैले सहज बनाउन भने “इट इज अ बिउट्फूल डे”।

उसले मतिर हेर्दै भन्यो, “यस, इट इज”।

अनि मैले पहिलेकै संबादलाई जोड्न खोजे। उसले पनि मेरो कुरो बुझिहाल्यो र पहिलेको घटनाको कुरा लाई जोड्यो।

“ हामिहरू अत्यन्त कष्टकर जिबन बितउदै थियौ। बाबा, आमा र म मात्र थियौ बचेको। रूखको बोक्रा र पात खादै ढुङ्गाको कोप्चेरोमा कैयौ रात बितायौ। एकदिन त्यो पहाडको छेउछाऊ लुकेर बाचेकाहरू हिड्यौ बेमेसै। कैयोले बटोमै छोडे र सदाका लागि बिदा भए। हामि रातदिन हिडेर इथियोपियाको बोर्डर पुग्यौ।बोर्डर काट्न नपाऊदै आमाको एक्कासि भिरबाट खसेर ज्यान गयो।बाबा र म भने जनतन बोर्डर काटेर त्यहा एक सरणार्थि सिबिरमा पुग्यौ। हामिभित्रको समबेदना मोरिसकेको रैछ भन्ने कुरो आमाको मृतु हुदा थाहा पाए।”

ऊ बोल्दैगर्दा निकै दुखि देखिन्थ्यो। मैले बेला बेला “ आइ एम सोरि, दिस इज पेनफुल” भन्दै साथ दिदै गए।

ऊसले पुन भन्दै गयो,

“करिब दुई बर्ष शिबिरमै बसियो। कैयौ रात भोकै बित्यो शिबिरमै पनि। बेलाबेला नौला मान्छेहरु आइरहन्थे। प्रश्नहरू सोध्थे। कतिपय पछि कहिले देखा पर्दैनथे।

एकदिन केहि मान्छेहरू आए। तिमिहरूलाई बिदेश लैजादै छ। कहॉ जाने भने। हामिलाई बाहिरी संसारको बारेमा केहि थाहा थिएन। सबै काम उनिहरूले नै गरिदिए । कैले कुन पेपर कहिले कुन पेपर दुइ बर्ष त त्यसैमा गयो। २००४ सालमा बाबा र म लगायत पन्ध्र जनाको टोलि क्यानाडा आइयो। यहा हामिहरूलाई पहिले खानबस्न दियो सरकारले। पछि त्यो सबै छुट्यो। बाबा बिरामि भइरहने। एक दिन हिऊमा चिप्लेर खुट्टा र ढाडमा चोट लाग्यो। पछि विलचेयरमा हिड्ने हुनुभयो। अहिले यउटा संस्थाले रेखदेख गर्छ।”

“ तिमि के काम गर्छौ त?” मैले सोधे।

ऊ केहि बोलेन। चुप लाग्यो। मैले दोहोर्याएर सोधिन।

“नाइस मिटिङ विद यू बसिर”, म कोठातिर लागे।

ऊ त्यहि बस्यो धेरैबेर।

एक दिन डाउनटाउन सबवे स्टेसनमा देखे उसलाई अरू केटाहरूसंग। के गर्दै थियो थाहा भएन तर उसंग भएकाहरू सडकमा ड्रग्सको लेनदेन गर्ने केटाहरू जस्तै थिए। मलाइ देखेपछि ऊ अर्कोतिर फर्क्यो।

अर्कोदिन एउटा गोरि केटिसंग घरभित्र छिर्दै गर्दा देखे।

दिन दिन नयॉ नयॉ केटा र केटीहरू देखा पर्न थाले घर वरिपरी। पुलिसको गस्ति बढ्दै गयो। राति पनि हल्ला बढि हुदै गयो।

एक दिन मध्यरातमा बाहिरको हल्लाले गर्दा बिउझे।स्लाङ शब्दहरू बोलेको टाठै सुनियो बेरूममा। केटीको आवाज चर्को चर्को आयो। पर्दा तानेर बाहिर हेरे। पोप्लर रूखको तलपट्टि केटी घासमा उत्तानो परेकि थिइ पाइन्ट तल झारेको अबस्थामा। माथिबाट एउटा केटो चढ्दै थियो। सडकको बत्तिमा अनुहार धमिलो धमिलो देखिन्थ्यो। केटो काले र केटी नेटिब। केटोले पान्टको फस्नर खोल्यो र केटीको पेन्टि तल सार्यो। केटी चिच्यउदै थिइ। ऊ नसामा भयको आभास मिल्यो। हातले केटीको मुख बन्दगर्दै आफ्नो काम तमाम गर्यो। त्यसपछि केटा सरासर उत्तरतिरको बाटो गयो। केटी रूदै उठी र ‘फ*’ ‘फ*’ गर्दै पश्चिमतिर लागी।

त्यो सबै यति छिटो घट्यो कि मैले पुलिसलाइ कल गरौ कि नगरौ भनेर सोच्दा सोच्दै उनीहरू आफ्नो बाटो लागे। रातभर निन्द्रा लागेन। आफ्नो आँखा अगाडि बलात्कार भएको थियो। नसामा मातिएर हिडेका दुबै जना होमलेस पनी हुन सक्थे। ब्वयफ्रेन्ड र गर्लफ्रेन्ड पनि हुन सक्थे। बहुलाईजस्ती त्यो नेटिब आमामाईलाई कालेले मौका छोपेको पनि हुन सक्थ्यो। तर जे भएको थियो त्यो अत्यन्त पाशबिक थियो।

आर्थिक मन्दीले गर्दा धेरै मान्छेहरूले रोजगार गुमाएका थिए अल्बर्टामा। काम गुमाए लगतै कतिपय घरबारबिहिन भएका थिए । क्यानाडा जस्तो सम्पन्न मुलुकमा मान्छेहरूको आर्थिक अवस्था यति कमजोर हुन्छ कि आधाभन्दा बढि जनसंख्या पे चेक टु पे चेक जिबन निर्बाह गर्दछन। गगनचुम्बी घरमुनि दर्जनौ मान्छेहरू आउने जानेहरूसंग एक खिल्लि चुरोट मागिरहेका हुन्छन। रेलबे स्टेसनतिर पनि लुनि र टुनी माग्नेहरू प्रसस्तै हुन्छन। यतिसम्म कि पुलिसको हेडक्वाटरको खुट्टामै टेकेर ड्ग्सको कारोबार हुन्छ। कमनवेल्थ स्टेडियम, कोलिसियम, क्यासिनो, स्ट्रिप क्लबहरू त लागुपदार्थको कारोबार गर्ने घोसित अड्डानै बनेका छन्। घरेलु हिंसा, स्टोर रबेरी, ग्याङ, कार चोरी, घर फोडेर लुटपाटका घटनाहरू सामान्य बनिसकेका छन यो शहरमा। केहि महिना अघि ग्यास स्टोरहरूमा गोलिकान्ड बढेकाले अल्बर्टा राज्य सरकारले अनिबार्य प्रिपेडको ब्यबस्था लागु गरेको छ।यिनै सिरिजहरूको एक दृश्य थियो यो बलत्कारको घटना।

रात बित्छ। उज्यालो हुन्छ। सडकमा गाडिहरू तछाडमछाड गर्दै चिप्लिरहेका हुन्छन। वल्लो घरमा घटेको घटना पल्लो घरलाइ थाहा हुदैन।मान्छेहरू भेला भयर चियो चर्चो गर्दैनन् कसैको। जसरि मेसिनका पाटपुर्जाहरू चल्छन त्यसैगरि चलेको छ यो शहर।

म पनि त एउटा मशिन बनिसकेको थिए।

माया, प्रेम, संम्बन्धहरू खुकुला छन्। कानुनले सबैलाई कसेको छ उम्किनै नसक्ने गरी। तर कहिलेकाही दुईवटा दाम्लोले बाधेको साडे पनि त उम्किन्छ। तिनै सॉडेहरूले खेद्दै हिड्छन मानसिक संतुलन गुमायका आईमाईहरू, ड्र्गसको लत बसेका तरूनिहरू जसको बास सडकमै हुन्छ। आखैले नदेखेसम्म र दरो प्रमाण नहुदासम्म केहि गर्न सक्दैन पुलिस।

एक दिन म बोईलरको मिटर रिड गर्न बेसमेन्टको मेकानिकल कोठामा जादै थिए बिहानको करिब आठ बजेतिर। बाटोमा लन्ड्रि कोठा पर्दथ्यो। परैबाट मान्छे घुरेको सूने जोडसंग। लाग्यो कुनै कोठाको टिनान्ट होला। तर लन्ड्रि रूममा एकजना अपरिचित मान्छे सुतेको पो रहेछ। त्यो होमलेस पनि हुनसक्छ।उसले राति ढोकाको चाबी तोडेर भित्र छिरेको होला भन्ने लाग्यो। अनुहार घोप्टो परेकोले राम्रो संग देख्न सकियन।उसको वरिपरी ड्रग्सको साना साना प्लास्टिकका पोकाहरू थिए। बिस डलरका दुईवटा नोट र बैङ्कको कार्डहरू पनि। मैले तुरून्त पुलिसलाई कल गरे। तर पुलिसहरू ब्यस्त भएकोले मेरो नाम पर्खनेहरुको सुचिमा पर्यो, त्यो पनि बाह्र नम्बरमा। ड्रगस ओभरडोज भयर मान्छेको ज्यान नै खतरामा पर्ने भएकोले गर्दा दुई मिनेटमै एम्बुलेन्स आइपुग्यो। लगतै दुईवटा फायर ट्रक या नि कि दमकल।

पछि थाहा लाग्यो त्यो मान्छे त कोठा नं चारमा बस्ने बसिर पो रहेछ।

ईमर्जेन्सी रेस्पोन्डरहरूले ऊसलाई एम्बुलेन्समा राखेर हस्पिटल तिर लगे। ऊनिहरूको काम ज्यान बचाउने हो त्यहि गरे। ड्रग्सको अनुसन्धान गर्ने पुलिस हो। पुलिसको कल आयो करिब बाह्र बजेतिर दिउसो। मैले सबै कुराहरू बताए। उनिहरूले सोधे,” डु यू स्टिल निड असिस्टेन्स?”

कुनै उत्तर थियन म संग। मैले भने “नो” आई एम गुड”।

पुलिसले गर्न पो के सक्थ्यो र बिना प्रमाण। मलाई पनि झझटमा फस्न मन लागेन।

यो शहर बिश्वभरिका मान्छेहरूको रंगशाला हो। मेरो विल्डिङमा जम्माजम्मी तिसवटा अपार्टमेन्ट छन्। ति अपार्टमेन्टहरू पन्द्र भन्दा बढि देशका मान्छेहरू बस्छन्।

अरू कति होलान् यो शहरभरि।

धेरैजसो मान्छेहरू आफ्नो देश असुरक्षित भएकोले सुरक्षित मुलुकको खोजिमा यहॉ आएका हुन्छन। जात फरक, भाषा फरक, रूपरंग फरक, धर्म फरक , सोच फरक। अझै धेरै के के छन् फरक फरक। तर पनि उनिहरूलाई जोडेको छ एउटै मालामा यहॉको कानुन र मानब धर्मले। जाती, धर्म, रंग र भाषाको आधारमा कसैमाथि भेदभाब गर्न मिल्दैन यहॉ। भेदभाब गर्ने माथि कडा कारबाहि हुन्छ। यिनै शुन्दर शहरमाथि नजर लाग्छ लागूपदार्थका तस्करीहरूको। तिनै गिरोहहरूको शिकार बन्न पुग्छन् सयौ युबाहरू दिनकै जसो। प्रतेकदिन सरदर दशजना युवा युवतीहरू अत्याधिक अबैधानीक ड्रग्स सेबनको करणले मृतु हुन्छ यहाँ । मलाई लाग्यो बसीर पनि त्यसैको सिकार बन्न पुग्यो।

दुईदिन पछि ऊ घर फर्क्यो। ऊसको अनुहारमा नङ्ग्राले चिथोरेको जस्तो खतै खत थियो। आखॉ रातो र सुन्नीयको थियो। उसको नजिक जान पनि डर लाग्यो मलाई। मैले हेडअफिसमा बसीरको बारेमा रिपोर्ट गरे। ऊसलाई समयमा भाडा नतिरेबापत कोठा छोड्न सुचना दिईसकेको थियो। हेड अफिसले कुनैपनी हालतमा उसलाई निकाल्ने निर्णय गर्यो। घरधनीसंग भएको सम्झौता ऊल्लङ्घन भएकोले निकान्ने आधार पनी बनेको थियो।चौधदिने नोटीस जारी भैसकेको अबस्थामा उसलाई निकाल्नको लागी कोर्ट प्रोसेस हुदै थियो।

बसीर घर फर्केको केहिदिन पछि एक सॉझ घरको अगाडी केही जगल्टे, मुन्द्रे र ट्याटुवाले जम्मा भए। हेर्दा हेर्दै ड्याङ ड्याङ गोलि चल्यो। लगत्तै भागे उनिहरू त्यहॉबाट भित्रीबाटोतिर।

कसैले पुलिसलाई कल गरेहोला दुई मिनेटमै तिनवटा पुलिस कार रोकिए घर अगाडी। एम्बुलेन्स र फायरट्र्क्स पनि संगसंगै देखापरे। पुलिसहरू अत्यन्त साबधानीपुर्बक छिरे घर भित्र। ढोकाको सिसामा चार पॉचवटा प्वलहरू थिए। धन्न कसैलाई केहि भएन। सबैजसो कोठाभित्रै थिए त्यो बेला। प्रतक्ष्यदर्शिको हुलियाको आधारमा उनिहरूले बसीरलाई हातकडी लगायर लगे। उसको कोठाबाट एउटा सट गन र केहिमात्रमा लागु आषधी कोकेन पनि बरामत गर्यो पुलिसले।

त्यसपछि बसीर फर्केन घरमा। ऊसको कोठाबाट सामानहरू निकालेर फालियो गार्बेज कन्टेनर भित्र। गोलिकाण्ड पछि एक एक गर्दै सबैले घर छोडे। घटनाबारे थाहा नपाएकाहरू आउदै गए। तेस्रो महिना आधा खालि भयो घर। मैले पनि छोडे जागिर। अहिले पनि म सोच्ने गर्छु बेला बेला त्यो घटना, उसको बिगत,बर्तमान र भबिष्य। एक जातिय युद्धको परिणाम।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

1 Response to कथा : बशिर

  1. Krishna KC says:

    Its an excellent story, very nice and sm0oth writing! Congratulations Dilip ji! I solute you! I went through your article about South Sudan man, it is really nice, highly appreciable; since I knew both Sudan as I was there before separation, I knew the reality, that he may not know enough about North part of Sudan then on how Bashir was cheating them while he was in power. Unfortunately perhaps this man was forced by his situation and context to do unwanted activities, but so many of them are very very fine people with high morale as well. Thanks for sharing, I thoroughly enjoyed reading your article! BIG Thank you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.