संस्मरण : गोरखबहादुर सिंह सम्झनाहरू

~अज्ञात~

त्यसो त गत मंगलबार २३ साउन पनि अरू दिनजस्तै सामान्य थियो । बिहान उस्तै–उस्तै र दिउँसो पनि उस्तै–उस्तै । तर, अपराह्न † सबै दिनभन्दा नितान्त फरक भएर आयो । राजधानीस्थित महाराजगन्ज शिक्षण अस्पतालको सघन उपचार कक्षमा अपराह्न ४ बजेतिर चिकित्सकले ‘भेन्टिलेटरमा राखिएका बिरामी गोरखबहादुर सिंह जीवित नरहेको’ घोषणा गरे । अचानक वातावरणमा सन्नाटा छायो । दु:ख, पीडा, आँसु, विरह, वेदना र व्यथा भरिएका आर्तनादपूर्ण स्वरहरूले अस्पतालको आइसियु परिसर नै स्तब्ध बन्यो ।

जीवन र मृत्युको लडाइँमा लगातार सत्र दिनसम्म भेन्टिलेटरमा राखिएका सिंहलाई मृत्युले जित्यो । पछिल्ला करिब सात महिनादेखि उनी मिर्गाैला र अन्य रोगले थला परेर उपचाररत थिए । उच्च रक्तचापको समस्या धेरै पहिलेदेखि थियो तापनि सुरुमा रोगको भित्री तह थाहा हुन सकेको थिएन । केही दिन लगातार खोकी लागिरहयो, असजिलोपन बढ्यो । लगत्तै सुरुमा मेडिकेयर अस्पताल पुर्‍याइयो, डायलोसिसका लागि त्यहीँबाट बालाजुस्थित राष्ट्रिय मिर्गौला केन्द्र र शिक्षण अस्पताल, त्यसपछि एअरएम्बुलेन्समा राखेर नयाँदिल्लीको मेदान्त अस्पताल । केही समय निको भएजस्तो भयो तर फेरि बल्घ्यो । अनि शिक्षण अस्पताल, हयाम्स, ब्लुक्रस र फेरि महाराजगन्जकै अस्पताल । चिकित्सकहरूले केही आशा छ भनेपछि थुप्रै पिन्ट ‘एबी पोजिटिभ पिरआपी’ (ह्वाइट ब्लड) को पनि व्यवस्था भएको थियो । तर, भयो उही– हुने हार, दैव नटार ।

जीवन–मरणको दोसाँधमा जुधिरहेका आफ्ना प्रिय पितालाई भेट्न अस्ट्ेरलियाबाट आएका जेठा छोरा बिरामी शय्यानजिक बसिरहेको, पटकपटक दोहोरो संवाद गर्न खोजिरहेको, ‘प्लिज, टक टु मी’ शैलीमा प्रतीक्षा गरिरहेको उनले केही थाहा पाएनन् । अन्तिम विश्राममा पुग्नुभन्दा करिब तीन साता पहिलेदेखि नै उनी बोल्न सकेका थिएनन्, न त उनका आँखा उघ्रिएका थिए, जसले केही देख्न सकुन् । अनि, एकैपल्ट उनी पार्थिव शरीरको रूपमा २४ साउनमा प्रज्ञा भवन कमलादीमा श्रद्धाञ्जलीका लागि पुर्‍याइए । यो पंक्तिकार पनि त्यही लाममा उभिँदा केहीछिन नोस्टाल्जिक बनिरह्यो । उनको सम्झनाले धेरैबेर भावुक बनाइरह्यो ।

हो, हरेक सदस्य आ–आफ्नो परिवारका लागि उत्तिकै प्यारो हुन्छ । तर, गोरखबहादुर सिंह केवल परिवारको सिमानाभित्र खाँदिएका थिएनन् । उनको कर्मक्षेत्र धेरै फराकिलो थियो । प्युठानको एउटा सामान्य गाउँ लुङ–४ मा जन्मेका उनले जीवन संघर्षका अनेक घुम्ती पार गर्दै नेपाली साहित्यमा आफ्नो विशिष्ट पहिचान बनाइसकेका थिए । उनी नेपाली लघुकथा समाजका संस्थापक उपाध्यक्ष र पछिल्लो समयमा त्यसका सल्लाहकार थिए । गोरखले कथा लेखे, लघुकथा लेखे, बालकथा लेखे अनि बालचित्रकथा पनि लेखे । केही अनुवाद पनि गरे । मधुपर्क, गरिमा, मिर्मिरे, जनमत आदि साहित्यिक पत्रिका, मुना मासिक र गोरखापत्रले निरन्तर उनका गद्यरचना छापिरहे । उनका धेरैजसो कृति साझा प्रकाशनबाट प्रकाशित छन् ।

साझा प्रकाशनले सिंहका बारेमा भनेको छ, ‘सरल ढंगले लेखिएका उनका कथामा समसामयिक सामाजिक विकृति र राजनीतिक व्यंग्यले प्रभावपूर्ण अभिव्यक्ति पाएको हुन्छ । नेता र मन्त्रीहरूका चरित्रका काला पाटा खोतल्नु, पतिपत्नीका बीचका बेमेल स्वभावहरूबाट सिर्जना हुने परिस्थितिको उद्घाटन गर्नु, नेपाली समाजमा गहिरोसँग गाडिएको गरिबीको समस्या मार्मिक रूपमा कोट्याउनुजस्ता विभिन्न सामाजिक विसंगति, शोषण र उत्पीडनलाई आफ्नो कथाको आधार बनाउनु सिंहको विशेषता हो ।’

उनलाई चिन्ने, बुझ्ने र पढ्नेहरू भन्छन्– सिंह समाजमा विद्यमान विद्रुपताप्रति अनि देशको राजनीति र प्रशासन संयन्त्रमा रहेका विसंगतिप्रति कलात्मक ढंगले सटीक प्रहार गर्थे । उनका कथा र लघुकथा कोरा कल्पनामा होइन, अक्सर जीवनका वास्तविक भोगाइमा आधारित हुन्छन् । उनका रचनाहरूले शिष्ट र सौम्य भाषामा मानवीय संवेदना र भावानुभूतिहरूलाई साहित्यिक आवरणमा पस्कने गर्छन् । गोरखबहादुरका कृतिहरू भाषणको तयारी (कथासंग्रह), नगरसभाको पाँचौँ दिन (लघुकथासंग्रह), आलुप्याज/प्याजआलु (कथा/लघुकथासंग्रह), खप्तड (सन्दर्भ सामग्री), बिर्सन नसकिने मान्छे (सन्दर्भ सामग्री), जातपातको कथा (सन्दर्भ सामग्री), अल्छीको औषधि (बालकथासंग्रह), चतुरेको चर्तिकला भाग १, २ र ३ (बालकथासंग्रह), असी दिनमा विश्वभ्रमण (अनुदित उपन्यास), खरायो र कछुवाको दौड तथा जुत्तेघरको मर्मत (दुवै चित्र कविता), सुनको सियो (कथासंग्रह), पहिरो थुप्रिएको बगर (संकलित/सम्पादित लघुकथासंग्रह) आदि गरी करिब डेढ दर्जन कृति प्रकाशित छन् ।

पिता ईश्वरबहादुर र आमा चेतनाकुमारी सिंहका ६ भाइ छोरामध्ये काहिँलो भएर १० फागुन ००५ मा जन्मेका गोरखले पन्ध्र वर्षको उमेरमै आमा गुमाए । तर, उनलाई ठूला दाइ वीरबहादुर सिंहको बलियो आडभरोसा र साथ प्राप्त भइरहयो, जसले जीवनमार्गमा अगाडि बढ्न उनलाई साथ दिइरह्यो । एसएलसी पास गरेपछि उनी बाग्लुङमा शिक्षक बने । त्यसपछि उनले केही समय रुकुम र प्युठानमा अध्यापन गरे । करिब पाँच वर्ष शिक्षक बनिसकेपछि उनी लोकसेवाको परीक्षा उत्तीर्ण गरेर ०३१ मा माविनि नियुक्त भए । यही क्रममा उनले एमएड, एमपिए र एमफिलसम्मको अध्ययन पूरा गरेका थिए । लोकसेवाको परिणाम सार्वजनिक नहुँदै २६ वर्षीय गोरखले दाइ वीरबहादुरकै पहल र सक्रियतामा रोल्पाकी शारदा सुवेदीसित विवाह गरेका थिए । उनीहरूका दुई छोरा असिम र अमित अनि एक छोरी दीप्ति छन् ।

अहिले ७२ वर्ष पुगेका जेठा दाइ वीरबहादुरका शब्दमा, ‘भाइ गोरखले ०३१ देखि ०६६ सम्म लगातार ३५ वर्ष सरकारी सेवा गर्‍यो । अवकाशको बेला ऊ शिक्षा मन्त्रालयमा सहसचिव थियो । उसले धेरै साहित्य सिर्जना पनि गर्‍यो तर उसले कहिल्यै पञ्चायतको समर्थनमा भने एकै शब्द पनि लेखेन । उसलाई भ्रमणमा निकै रुचि थियो । अवसर मिल्यो भने हिँडिहाल्ने । उसले देशका ७५ वटै जिल्ला घुमेको थियो भने देशबाहिर पनि भारत, फिलिपिन्स, चीन, डेनमार्क, स्विडेन, नर्बे, अमेरिका, फ्रान्ससमेतका अनेक देश पुगेको थियो ।’

परिचितहरूका अनुसार, अल्प र मृदुभाषी गोरखबहादुर मिलनसार थिए तर अक्सर एक्लै बस्न रुचाउँथे, सायद केही साहित्यिक चिन्तनले तानिरहन्थ्यो उनलाई । अक्सर मृदु मुस्कान छर्दै कुराकानी गर्ने उनलाई प्रचारप्रसारप्रति खासै मोह थिएन । आफूसित बोल्दा ठूलो स्वरले बोलेको मन नपराउने उनमा क्रिकेट, फुटबल, टेनिस, रेस्लिङ आदिप्रति दर्शक–रुचि थियो । मित्रमण्डलीलाई घरमा बोलाउने अथवा आफू उनीहरूकामा जाने, चिया–चमेना र समयअनुसार मदिरामय बाउन्नपत्ते जमघट उनलाई प्रिय थिए । खानपिन र सरसफाइमा अत्यन्त ध्यान दिने र सधैँ चिटिक्क पर्ने उनको स्वभाव थियो । उनी भन्ने गर्थे– ३५ वर्षे सरकारी सेवामा दाह्री नकाटी कहिल्यै कार्यालय पसिनँ ।

गोरखबहादुरको अर्को सोख थियो– गार्डेनिङ । बोटबिरुवा भनेपछि हुरुक्क हुने स्वभाव † फुर्सद निकालेर बगैँचामा पुगिहाल्ने । ठाउँठाउँबाट बिरुवा जम्मा गर्ने, गमलामा सजाउने, काटकुट गर्दै ‘बोन्साइ’ गरेर अझ आकर्षक बनाउने । उनले मिनभवनस्थित घरमा गमलाहरूमा आँप, कागती, तपस्यारत बुद्धसहितको वरपीपल र अरू फलफूलको आकर्षक सञ्जालजस्तै बनाएका थिए । अब त्यो बगैँचाले आफ्नो प्रिय माली सधैँका लागि गुमाएको छ ।

गोरखबहादुर सिंहको एउटा स्वभाव थियो– सम्झौता नगर्ने स्वाभिमान अर्थात् अनकम्प्रमाइजिङ नेचर । परिवार होस् वा बाहिर, उनी आफूले भनेको कुरा अरूले मान्नुपर्छ भन्ने सोच राख्थे । आफूलाई लागेको कुरामा उनी सम्झौता गर्दैनथे । त्यसैले त उनले सिंगो जीवन आफ्नै सर्तमा बाँचे । अनि जीवनको गोधुली पलमा जतिखेर जिन्दगीले उनलाई रोगसित कम्प्रमाइज गर्न लगायो, त्यसलाई उनले अस्वीकार गरिदिए । रोगी जीवन बाँच्न उनलाई मन्जुर भएन । आफ्नो एक लघुकथाजस्तै उनले पनि जीवन र मरणबीच ‘कोर्न नसकिने सीमारेखा’ कोर्न सकेनन् । नेपाली वाङ्मयलाई अझ कति कथा, लघुकथा र बालकथाहरूले सिँगार्न नसकेको असन्तुष्टि बोकेर उनले संसार त्यागे र नि:शब्द समस्त परिवार, आफन्तजन, कुटुम्ब, प्रशंसक, शुभचिन्तकलाई स्तब्ध पार्दै परलोकको अथाह यात्रातिर प्रस्थान गरे ।

अब शेष रहेका छन् उनका सम्झनाहरू मात्र । र, ती सम्झनाहरूलाई उनका साहित्यिक रचनाहरूले सधैँसधैँका लागि आलो बनाइरहनेछन् ।

(स्रोत : सौर्यअन्लाईन)

This entry was posted in संस्मरण and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.