(१)
म र मेरा कथा बेगल छन् र
हुन् पनि ।
मानिस र मानिसको कथा बेगल हुन् र
छन् पनि ।
तिरोहित देहबाट अङ्गप्रत्याङ्गहरूमा
महाकथाको स्थापत्यमाथि
तीर्थ जन्माएर उहिले
आँखाले पहेँलोमा मृग खेदेर दगुर्यो जङ्गलभित्र
र हरायो जङ्गलभित्र सधैँलाई ।
हो, कथा झाङ्गिएको जङ्गलै जङ्गल
झ्याम्म वटबृक्ष सबैलाई … छ, …
चौतारीमा ओत लागेर उहिले
तिमीले
मेरो कथा, पूराकथा सुन्यौ र सुनायौ,
र मलाई खोज्न अनवरत दगुर्यौ …
(निरर्थकको खोजी जङ्गलभित्र)
मुहानको पानी पिएर अञ्जुलीले
खोलैखोला समयको बगेर
वक्र भरेङ समयको उक्लेर-ओर्लेर
युगौँ टाढो दूरी छिचोलेको समयको, तर
खोजी निरर्थक थियो यहाँसम्मको, भयो ।
(निरर्थकको खोजी जङ्गलभित्र)
म खोजेर केही नखोजेर
ध्वंशावशेष उक्लेर आफ्नो, टाउकोमाथि
सिङ्गो अन्धकार कुम्लो बोकेर जङ्गलभित्र
चुपचाप
लाटोकोसेरो
कतै पनि होइनमा कुदेर – छु ।
नाच्दै रमाउँदै पुगेर/नपुगेर
उभिन्छु ।
उभिएको भएर छु ।
कम्मरबाट पटुका फुकाइरहेको छु निरन्तर बाटाहरू…
बाटाहरू कुण्डली मारेर ममा टुङ्गिरहेका छन् चक्रवत्,
निरन्तर, र
म
उहीँ तिहीँ छु ।
तिहीँ उहीँ छु ।
(२)
अकस्मात् कि संयोगवस्
जन्मिएँ असिना बर्सेको भएर म
मेरो जन्म मेरो स्वतन्त्र वरण थिएन ।
हो, शून्यबाट असिना बर्सँदै माटोमाथि पग्लेर शून्यमा तत्क्षण
बिलाइरहेर – छु,
शून्यमा,
शून्यमा शून्य थपिँदै शून्य हुँदै…
समयमा समय बगेको अविराम
(३)
कथाको रेसाहरूमा रेसमको रेसाले निरन्तर
रेसामा जालोभित्र जेलिँदै अल्झँदै जन्म जन्मान्तर
भित्र, भित्रदेखि भित्र, अझ भित्र
हराउँदै हराउँछु ।
(रेसमको कीराभित्र कीरा छ)
रेसमभन्दा कीरा भिन्न भएजस्तै, हो
म र मेरो कथा बेगल छन्
र हुन् पनि ।
(४)
रेसामा जालोभित्र जेलेर
क – भन्दै नामले चिनेर बोलाउँदै
मेरो खुट्टामा थाम समातेर तिमीले आफ्नो घरभित्र पस्यौ,
आफैँभित्रको अहम्, लोभ-लालच र इर्ष्याले
परम सत्ताका लागि,
स्नेह र सद्भावलाई चल्लाका भोगमा भाकल बुझायौ
र आफैँलाई कैद गर्यौ सधैँलाई ।
अलग्ग मैले हेरिरहेँ…
मेरो सुँड समातेर तर्सियौ साँपमा आदिम शत्रु भेटेर
र युद्धका लागि उठ्यौ,
अलग्ग मैले हेरिरहेँ…
मेरा दाँतमा हस्तिहाड टिपेर तरवार बनायौ
र पहिलो शत्रुमाथि जाइलाग्यौ,
त्यसरी मालश्रीका रागदेखि भोटका सवाईका गीतहरूले
आकाश र पृथ्वी घन्किए
रक्तपातपूर्ण युद्धहरूमा,
र रगतले बाढीमा बगायो मानव इतिहास,
विजयी कोही नहुने सधैँको लडाइँमा लासका पहाड उठे
हड्डीको समिधा र मान्छेको बोसोमा बलेका दीयोहरू
दासले बाँचेका भ्रमको जीवन … आह ! …
अलग्ग मैले हेरिरहेँ…
पुच्छर समातेर अनन्त इच्छा अनन्त राग अनन्त वासना अनन्त
कथाको डोरी रेसमको ओकलेर अनन्त डोरी
आफैँलाई जेल्दै अनन्त
आह ! … रेसमको डोरीले बाँधेर बलियो
आफैँलाई पिञ्जडाभित्र पखेरू
उचालेर ओलिम्पसको पहाडमाथि राख्यौ,
अलग्ग मैले हेरिरहेँ…
शरीर अँगालोमा नागपासले बेरेको तिमी
भित्तामा ठोक्कियौ पहिलोपटक चेतनाको स्पन्दनले र
मुक्ति र स्वतन्त्रताको तिर्खाले हरहर आँत जलेको भएर तिमी,
उठ्यौ विरुद्धमा कसैको कि आफैँको,
हो, सोच्न सकेर बेगल भएपछि त्यहीँबाट…
आह ! …
शुरू भयो तिम्रो/मेरो दुखान्तको कथा
अलग्ग मैले हेरिरहेँ…
(५)
ढुङ्गा थिएँ तिमीले ताछेर कलाकृति भएर कथा भएँ
तिमीले मनले पोख्खिँदै भिजायौ रङ्गमा भिजेँ,
र म रङ्गिएर कला भएँ ।
आह ! … आख्यानहरूका अनेक बिम्बका रङ्गहरूका बारले
तिमी छलियौ ।
म छलिएँ ।
फोटोसहितको नागरिकता छातीमा टाँसेको
फोटोसहितको राष्ट्रिय परिचयपत्र
फोटोसहितको मतदाता परिचयपत्र निधारमा छापेको
विष्णुको सहस्र नाम छन्…
जुनै नामले बोलाए पनि उही हो ?
उही होइन ?
हो ।
होइन ।
सहस्र जीवनहरू सहस्र नामहरू
सहस्र जिब्राले उच्चारित मुन्धुमका ऋचाहरूका
नामले बार बारेर
घेर्यौ तिमीले आफैँलाई,
घेरेँ आफैँले आफैँलाई पनि पर्खालले ।
र भेटेनौँ
र भेटिनँ ।
टाढाटाढा आफैँभित्र हराएको मात्र रहेको – छु
आख्यानका प्रतिबिम्बहरूमा ध्वनित ।
(६)
श्रीमान् क…
म र मेरा कथा बेगल हुन्, छन्
र हुन् पनि ।
आऊ… चिया पिऊँ
निख्खर कालो चिया कि दूध हालेको
अर्गानिक ग्रीन टी कि जस्मिनको सुगन्धसित
घर होइन कफी हाउस नै ठीक…
आऊ… चिया पिऊँ
कथाको कथा महाकथा
रेडियो, टिभीका सिरियल कथा सुन्दै सनाउँदै
र
संविधानसभा भवनको चउरको वेबसाइट खोलेर
अन्यमनस्क दिन बिताउने गफ गरिरहेका जनप्रतिनिधिहरू,
हजारौँ सुरक्षाकर्मीका टाउका माथिबाट उड्दै उफ्रँदै
जुलुसको चर्को नारामा झिँगाले, आह ! …
हेर, बुद्धि उफ्रेर झिँगाले चियाको कपभित्र डुब्यो…
छटपटाएको डुब्यो । बुद्धि झिँगाले मर्यो ।
पर्खेर नपर्खेर
माउसुलीको आक्रमण
अन्तिम र निर्णायक,
हो, झिँगाले
आत्महत्या गर्यो,
होइन, त्यसले आत्महत्या गरेको भएर मर्यो ।
(आह ! … बुद्धिको तिरोहन)
(ताली : करतल ध्वनि)
तुहियो एउटा अर्को क्रान्ति, झिँगाजत्रो विद्रोह,
सपनाहरू उसको पखेटा जलेको झरे…
(ताली : करतल ध्वनि)
आऊ… चिया खाऊँ
म चियालाई उमालेर खान्छु
ओँठ तातोले पोलेर जिउँदो चल्मलाउँछु म
ओँठ तातोले पोलेर जिउँदो चल्मलाउँछौ तिमी
(७)
डाँडामाथि अल्गो फैलिएको नाघीका बीच
धूपीको रूख हरियो उभिएको
म
हो, मलाई
श्रीमान् क-ले देखेर बोलायौ र
साक्षात्कारले ब्युँझेर आँखा मिच्दै
उठ्दै छु- को चेतना बलेर उज्यालोमा दीयो,
हो… तिमी भेटेर छु ।
आह ! … म तिमीसम्म कुदेर… हुन्छु ।
म
क-लाई शब्दले भेटेर
अनुभव गर्दछु जो शब्दातीत छ ।
(८)
पग्लेको नदीले हिमशैल र अपरिचयको पर्वत
कोशी र कर्णालीमा अदुरत्वको नदीले बग्दै
म-हरू तिमीसम्म कुदेर तिमी भए
तिमी-हरू मसम्म कुदेर म भएँ
पग्लिएर मभित्र तिमी
बिलाएर तिमीभित्र म
पानी… पानी… पानी… पानी…
नदीमा जल जलमय
जलमा नदी जलमय
जलको थोपा जलमा जलमय
जलमा जल जलमय…
गोठाल्नीहरूले भेटेका गोठालो र बजेको मुरली जसरी
भेटिनुपर्ने साक्षात्कारमा
अन्धाहरूले हात्तीसँग थियो, हो, त्यसरी ।
कुम्भकर्ण हिमालमा गुफा-कन्दराबाट…
कि बृन्दावनको वन-कानबाट हो गुन्ज्यो…
गोठालोले फुक्यो मुरलीमा मधुर स्वरलहरी
हा… है… बज्यो मुरली…
… …
डुबेर बजेको मुरलीको महारोदनमा आकण्ठ
हाक्पारेको तन्केको विरहिणीमा जलमग्न
मुरलीको स्वर मोहिनी मधुरले सुमधुर
छमछम नाचेका लिम्बूनी बालाहरू नृत्यमय राधे… राधे… राधे
मादलको तालमा मै नाचूँ
डम्फुको तालमा मै नाचूँ
हा… है… बज्यो मुरली…
मैना फुत्केको उड्यो… पिँजडाबाट निर्बन्ध सीमाहीन
आह ! … बज्यो मनको मुरली मधुर मधुर…
डम्फुको ताल तरल
मुरलीको मोहिनी स्वर-लहर
हा… है… बज्यो मुरली…
(स्रोत : काइँलाको कविताकृति – ‘बैरागी काइँलाका कविताहरू’ बाट )