कविता : अभिसप्त सिमाना र अनागरिकहरु !

~सुनील बाबु श्रेष्ठ~

सयौ चोटी आफ्नो थातथलोलाई
पछाडी फर्कदै हेर्दै
हजारौ किलोमिटरको दूरी पार गरेर
शून्य आकाशलाई बोक्दै
एउटा सूर्यको खोजीमा
सिमानाका अभिसप्त पिलरहरुसंगै
भर्खरै काठमाडौँ आइपुगेका अनागरिक हौ हामीहरु ।

देहातमा जन्मेर
देहातमै मृत्यु रुंगेर बस्ने हामीसंग
तिम्रो भावना कहिले पो पलायो र ?
हामीलाई चोट लाग्दा कहिले पो दुख्यो र?
तरपनि हामीले दुधे वालकको कोक्रोलाई झैँ
क्रुर बुटहरुको पिडा छातीमा सहेर
फुलाई रहेका छौ सिमानामा हाम्रा पहिचानका फुलहरु ।

नजाऊ भन्दापनि अह: धरै दिएन मनले
एक चोटी भेटेरै पिर पोख्न मन लाग्यो तिमीसंग
टिठ लाग्दा प्राचिन हाम्रा अनुहारहरु हेरेर
कतै तिम्रो मन पग्ली पो हाल्छ कि?
कुईरोका कागहरू जस्तै
यो काठमाडौ कता हो कता लाग्छ !
यता भडकिन्छौ उता भौतारिन्छौ
यसै पनि प्रकाश विहिन भएर हामी
आदिमकालदेखि बाँच्दै आईरहेका
सिमानाका ब्ल्याकहोल न हौ ।

तिमीलाई भेट्ने अधिकार पनि छ हाम्रो
किनकि हामीले हाम्रा बाजे बराजुको पालादेखि
तिमीलाई हुर्काउन बढाउँन
बुझाएका छौ धान, घिऊ र आलुहरु
र, स-गौरव बोकेका छौ हात हातमा
मुटु समान हाम्रा लालपुर्जाहरु
हेर त ! अझै जीवित छन् त्यहाँ तिम्रा राता हस्ताक्षरहरु !
यो भन्दा गतिलो प्रमाण
तिमीलाई अरु के नै चाहियो र काठमाडौँ?

सिमानामा गाडिएका यी पिलरहरु
फगत ढुंगाका साँधहरु मात्र हैनन्
यी त जिउदो अस्तिपंजर र ईतिहास हुन् पुर्खाहरुको !
अझै पनि ती भुमीहरुमा
अजिव तिखो गन्ध आऊँछ हाम्रा पुर्खाका रगतहरुको
त्यसैले त ती भूमिहरुको चिम्टी चिम्टी माटोलाई चिन्छौ
माटोको कण कण बास्ना थाहा पाउछौ
हो अझै आलै छन् त्यहाँ
धान रोप्दा छोडेका हाम्रा पैतालाका डोबहरू ।

ओ काठमाडौँ !
किन यति सारो लुरे बन्छौ?
समयको सबैभन्दा ठुला र भरपर्दो जीवित साक्षी हौ हामी ।
सिमानाका विरामी स्तम्भहरुलाई अंगालेर
एक चोटी घोषणा गर्देऊ,
कि रातारात हाम्रा कम्जोर स्तम्भहरु
हाम्रो ईतिहासलाई अवमुल्यन गर्न सारिएका हुन् ।
हामी ज्युदै छौ काठमाडौँ !
अपहेलित र उपेक्षित भएपनि
आमा त सबैको आमै हुन्छिन ।

ओ काठमाडौँ !
सुते झैँ नगर्नु
कान नसुनेको झैँ गरेर नबस्नु
तिमीलाई उठाउँन आएका छौ हामी
तिमीलाई सुनाउन आएका छौ हामी ।
ओ काठमाडौं !
तिमी केवल काठमाडौं भएर मात्र नबस
एकचोटी देश बनेर हेर
र आफ्नो फैल्यावटलाई हेर
कहाँसम्म पुगेको छ हाम्रा सिमानाका पखेटाहरु ।

रातोपाटी अनलाईन खबर पत्रिकामा प्रकाशित
शिलापत्र अनलाईन खबर पत्रिकामा प्रकाशित

१६ नोभेम्बर २०१९
दिक्तेल खोटाङ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.