~राजेन्द्र तारकिणी~
अस्तु खरानीमा मिल्नुअघिको
तर डिम्बाशयको म्याराथन जितेदेखिको
बाँचिरहेको यो अन्तरिम कालखण्डमा
मलाई त दुःखहरू सबैभन्दा प्यारा लाग्छन्।
दुःखबिना संसारमा
केही/कोही जन्मेको थिएन/छैन
दुःखबिना ब्रह्माण्डमा
केही पनि सुन्दर बनेकै छैन।
जस्तो कि हेर्नुहोस् मलाई–
यी आँखाका सुन्दर तलाउ
यो निधारको फराकिलो पठार
त्यसपरको सदाबहार वन
नाकडाँडाको चुचुरो
ओठका कापमा भञ्ज्याङ
चिउँडोमुनिको खर काट्ने भीर…
यी सबैसबै मेरो अनुहारमा रोपेर
एउटा यो हदको जीवन रचना गर्न
आमाले कति सुन्दर दुःख पिएकी छन्
बाबाले कत्रो प्रतीक्षाको दुःख उठाएका छन्!
जस्तो कि हेर्नुहोस् पृथ्वीलाई–
यी देउताजस्ता लाटा चट्टानहरू
यो गरिबजस्तो इमानदार माटोको रङ
त्यसमाथि सज्जन मित्रजस्ता हरियालीहरू
मायालुझैँ गालामा चुम्न आउने बतास
अनुशासित नोकरजस्तो बिहानै ट्रेमा उज्यालो बोक्ने घाम
कर्तव्यनिष्ठ सिपाहीजस्ता काँडाहरू
अनवरत पथिकजस्ता बाटाहरू
छलरहित हृदयजस्तो समुद्रको फैलावट
अहंकाररहित हिमालयजस्तो उचाइ
विषादीरहित उपत्यकाजस्तो गहिराइ…
यी सबैसबै कलाकृति रचेर
एउटा यो सभ्यताको जीवन दिन
प्रकृतिले कति सुन्दर हलचल,
कति लामा तनावका रात भोगेकी छन्।
रामको धनुकाण पनि दुःख, पैगम्बरको बुर्का पनि
बुद्धको तपस्या/ईशाको क्रुसारोहण पनि दुःख
हिटलर जन्मनु पनि दुःख, विज्ञान हुर्किनु पनि
बादलले चुमेपछि
चट्याङ खोक्दै पीडाको झरी रोइरहने आकाश पनि दुःख
दुःख पिएरै नाइटोमा कमल फुलाउने धरतीको कला दुःख
गुलाफ फुल्नु पनि दुःख/झर्नु पनि दुःख
स्पेसमा तैरिन अभ्यासरत पिण्डहरूको प्लेग्राउन्ड यो ब्रह्माण्ड
दुःखले दुःखलाई अँगालेपछि अंकुराउने यी यावत् लीला
कति सुन्दर दुःख/कति प्यारा दुःख हुन्!
त्यो दुःख कति प्यारो
जसले लालित्यपूर्ण गर्भाधान बनायो।
त्यो दुःख कति महान्
जसले सुन्दर प्रसव वेदनाजस्तो चक्र रच्यो।
त्यो दुःख कति गौरवशाली
जसले चिहानको सौन्दर्यशास्त्र लेख्यो।
फालीको टुप्पोमा
क्रेनको पाखुरीमा
रकेटको धुवाँमा
जहाँ झुण्डिएर भोगे पनि
रोमान्सका लागि लामबद्ध सुन्दर प्रेमिकाभन्दा
मलाई त दुःखहरू प्यारा लाग्छन्।
–०–
नागरिक दैनिक मा प्रकाशित
– न्वादेउ- ६, बैतडी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )