समीक्षा : नरेन्द्रकुमार नगरकोटीको ‘सन्नाटाको लय’ कविता

~शेखरकुमार श्रेष्ठ~

१. विषयपरिचय

नरेन्द्रकुमार नगरकोटी (जन्म : २०४१) नेपाली साहित्यको कविता विधाको उदयमानकवि हुन् । काभ्रे जिल्लाको पनौती–१ मा जन्मिएका नगरकोटीको सन्नाटाको लय कवितासङ्ग्रह २०७६ भाद्र महिनामा प्रकाशित कवितासङ्ग्रह हो । यस कवितासङ्ग्रहमा आवरणसमेत गणना गर्दा ९२ पृष्ठ रहेको छ जसमध्ये अग्रभागमा आवरणबाहेक ६ पृष्ठको छ भने कविता ८१ पृष्ठमा लेखिएको छ । यस सङ्ग्रहको आवरण पृष्ठमा निलो रङलाई कालोले ढाकिएको चित्र छ । निलो शान्तिको प्रतीक हो भने कालो भय, अन्धकार, अशान्ति र विद्रोहको प्रतीक हो । यस आवरण कलालाई हेर्दा शान्तिलाई अशान्ति, अन्धकार वा भयले किचिएको कुरा देखिन्छ । यस कवितासङ्ग्रहको आवरण राजन काफ्लेले तयार गरेका हुन् । सन्नाटाको लय कृतिको नामअनुसार यसको आवरण सज्जा उपयुक्त देखिन्छ । यसको पछाडिको भागमा सन्नाटाको विषय केन्द्रित भई तयार पारिएको सानो लेख छ । यो लेख कसको हो उल्लेख छैन । तथापि यसमा सम्पूर्ण कवितामा केन्द्रित भई कविको लेखनी प्रस्तुत छ । यसको तल कवितासङ्ग्रहको नाम र प्रकाशन संस्था (शाब्दिक बुक्सको नाम, ठेगाना र आइएसबिएन अङ्क) उल्लेख छ । आवरण पृष्ठको पछाडिको भाग खालि छ भने पछाडिको पृष्ठभूमिमा लेखकको तस्बिरसहित सिर्जनात्मक कार्य उल्लेख गरिएको छ ।

यस कवितासङ्ग्रहको आवरणभन्दा पछिल्लो पृष्ठमा सन्नाटाको लय भन्ने कृतिको नाम छ । यसको पछिल्लो पृष्ठ खालि छ । यस कृतिको अग्रभागको तेस्रो पृष्ठमा सङ्ग्रहको नाम, विधा, लेखकको नाम र प्रकाशन संस्था उल्लेख छ भने यसको ठिक पछाडि सङ्ग्रहको नाम, विधा, लेखक, आवरण कला बनाउनेको नाम, प्रकाशकको नाम, फोन, इमेल, संस्करण र आइएसबिएन नम्बर छ । त्यस्तै अग्रभागको अन्त्यमा कविताको क्रम छ । यसमा कविताको क्रमसङ्ख्या उल्लेख छैन तथापि यसमा २८ ओटा कविता छन् । कवि नगरकोटीका २८ कवितामध्ये ढुकढुकीको आवाज ४ पृष्ठमा लेखिएको छ भने राष्ट्रवादको मौसम, ह्वाइटबोर्ड, बकपत्र र झरीको दिन (चार) कविता चाहिँ २–२ पृष्ठका छन् । त्यसैगरी बाँकी कविता तीन तीन पृष्ठ हुने गरी राखिएको देखिन्छ । समग्रमा कविताको डिजाइन पक्ष राम्रो छ ।

२. कविताको विश्लेषण

नरेन्द्रकुमार नगरकोटीको सन्नाटाको लय कवितासङ्ग्रहको पहिलो कविता सन्नाटाको लय हो । यसै कविताबाट कविले कृतिको नामकरण गरेका छन् । कवि नगरकोटी यस कविताप्रति आकर्षक भएर, अन्य कविताको तुलनामा बढी मिहिनेत परेको कारण वा यसको रचनामा सन्तुष्टि प्राप्त भएकाले कृतिको नाम नै यस कविताबाट राखिएको महसुस हुन्छ । व्यक्तिदेखि लिएर राष्ट्र र विश्वमा नै शान्तिको महŒव छ । तथापि कवि नगरकोटी देशमा शान्ति देख्दैनन् । उनी शान्ति बुद्ध पूर्णिमाको दिनबाट जसरी सुरु भएको थियो त्यसैगरी बुद्ध पूर्णिमाकै रातमा हराएको कुरा व्यक्त गर्दछन् । कानुनको तराजु बोक्नेले आँखामा पट्टी लगाएका कारण न्याय हराएको अनि शान्ति विलय हुन पुगेको कुरा कविले यसमा गरेका छन् । हतियार बोक्ने मानिस जङ्गलबाट घर फर्किए पनि युद्ध रोकिएको छैन । बरु पृष्ठभूमिमा अर्को युद्धको सङ्केत देखिएको कुरा उनले यस कवितामार्फत व्यक्त गरेका छन् । नेपाली माटोको शान्ति र सुवास चोरी भइसकेको कारण बालबच्चा, प्रेमीप्रमिका सबैको मनमा शान्ति भन्ने चिज अमूर्त चित्रका रूपमा रहेको कुरा यसमा आएको छ । स्वतन्त्रता, शान्ति र राष्ट्रलाई ब्यानरमा देखाउने गरे पनि त्यसैको मुनि हत्याहिंसा भइरहेको कुरा यस कवितामा उल्लेख छ । यसले नेपालमा शान्तिको नायकको जन्म भए पनि यहीँ हिँसा छ भन्ने कुरालाई सङ्केत गरेको छ । यसरी वर्तमान समयमा नदीको बहाब, जीवनको सङ्गीत, शान्ति जस्ता कुरा मुर्दा बनेकाले चारैतिर सन्नाटामात्र रहेको कुरा उल्लेख गरी भविष्य निराशाले भरिएको भाव यस कवितामा व्यक्त भएको छ ।

मार्च ८ मा बाको सम्झना यस सङ्ग्रहको दोस्रो कविता हो । नारी दिवसको दिन २०२१ सालमा जन्मिएका बाबु ५५ ओटा मार्च र चार महिना बाँचेको कुरा उल्लेख भएको यस कवितामा मृत बाबुको सम्झना गरिएको छ । साहुको ऋण तिर्न नसके पनि छोरीलाई नबेच्ने, सग्ला अक्षर पढ्न जाने पनि लोकगीत गाएर सबैलाई मन्त्रमुग्ध पार्ने बाबु कलाका धनी भएको कुरा यसमा आएको छ । लोकगीत गाउँदा दङ्गाफसाद परे पनि आमा र आमाजस्तै नारीबाट बाबुलाई पटक पटक बचाइएको कुरा गर्दै बाबुले जीवनमा कहिल्यै गलत बाटोमा नलागेकाले बाबु महान् रहेको कुरा यस कवितामा व्यक्त छ । कुलदेवताले जाँड रुचाएजस्तै बाबुले जाँड खाए पनि उपद्रब नगरी मुस्कानका साथ आत्मसमर्पण गरेको कुरा उल्लेख गरी बाबुमा रहेको शान्तिभावका साथै परम्परागत नेपाली रीति यस कवितामा प्रस्तुत गरिएको छ । बाँचुन्जेल सबैको दुःखमा साथ दिने बाबु आमालगायत प्रियजनबाट सदाका लागि बिदा भए पनि जन्मदिनमा उनको विचार, चिन्तन र कार्य सम्झनाको रूपमा आउने गरेको कुरा पनि यसमा आएको छ ।

रापिलो कविता यस कवितासङ्ग्रहको तेस्रो कविता हो । देशको राजनीतिक व्यवस्थाका कारण आमाका बाबु (हजुरबुबा) र आमा दुवै निरक्षर छन् । यसैको कारण ज्ञानको स्रोत किताबलाई बाख्राको खोरमा सोत्तर हालिदिएको कुरा यस कवितामा उल्लेख छ । देशका जनता ज्ञानको भोकले भन्दा पेटको भोकले सताइएको कारण किताब आलु, नुन र चाउचाउसँग ज्ञानको किताब साटिएको कुरा पनि यसमा आएको छ । देशका शासक नै शोषकका रूपमा रहेकाले अर्थ तथा ज्ञान दुवैबाट जनता भोको परेको कुरा उल्लेख गर्दै आगो सल्काउने वस्तु नहुँदा आमाले किताब बाली आगो सल्काएको कुरा यस कवितामा प्रस्तुत भएको छ । यस कवितामा किताबभित्र रहेको क्रान्तिकारी रापिलो कविता अभावको आगोमा दन्किए पनि जलेको कवितासँगै लेखिने नवीन कविता अझ रापिलो बन्ने कुरा अभिव्यक्त छ । यसप्रकार यस कवितामा शोषक एवम् शासकले कविताको क्रान्तिलाई दमन गर्न अभाव, भोक र शिक्षाको हतियार प्रयोग गरे पनि क्रान्तिकारी कविता दमनपछि अझ बढी सशक्त हुने कुरा यस कविताको मूलभाव बनेको छ ।

अतृप्ति यस कवितासङ्ग्रहको चौथो कविता हो । यस कवितामा पत्नीको संसर्ग, सामीप्य वा प्रेमबाट अतृप्त नै रहेको कुरा उल्लेख गरी पत्नीप्रेममा रमाएर आफू बसेको कुरा उल्लेख गरिएको छ । यस कवितामा नगरकोटीले पत्नीको केशराशिको गन्धलाई गुन्द्रुकको जैविक सुवास, ओठलाई रातोमाटो पोतिएको घर, चुल्ठोलाई वसन्त ऋुतुमा फुल्ने लालीगुराँसले सजाएको कुरा र पत्नी प्रेमिकाको अवस्थामा छँदा सुनाखरीको बासनादार मसीले लेखेको पत्र अझै जीवनमा ताजा रहेको कुरा उल्लेख गरी पत्नी नै प्रेमिकाको रूपमा आफूभित्र रहेको कुरा व्यक्त गरेका छन् । त्यसैगरी यस कवितामा किसानका फाँटका रूपमा पत्नीको गर्भ बोक्ने पेट, आँखालाई सूर्याेदय र गोधुलीको घामसँग अनि बोलीलाई कविताको विचार भनिएको छ । यसैगरी पत्नीको नाच, पत्नीले गाएको लोकगीत अनि तिनै गीत र नाचसँग पति बनेर गरेको रोमान्स, रोमान्स गर्दागर्दै जन्मिएका काफल, एँसेलु र चुत्रोजस्ता सन्तानले जीवनमा आनन्द दिएको प्रसङ्ग पनि कवितामा छ । यस कवितामा कविले नारीको जीवनलाई प्रेमिका, पत्नी र आमाको रूपमा चित्रण गरेका छन् । उनले पत्नीको रूपलाई स्वयम्भुका जस्तो कहिले नचिम्लने आँखाले हेरे पनि आफू तृप्त नभएको भाव व्यक्त गरेका छन् । यस कवितामा बिम्ब र प्रतीकको उत्कृष्ट प्रयोग छ । प्रतीक र बिम्बको सहायताबाट नै प्रेम अजर र अमर रहने कुरा पनि यसमा प्रस्तुत छ ।

ढुकढुकीको आवाज यस कवितासङ्ग्रहको पाँचौँ कविता हो । प्रोषितपतिका नारीले आफ्नो पतिलाई हृदयको ढुकढुकी व्यक्त गर्ने क्रममा यो कविता रचना भएको छ । पतिले रोजगारका लागि गाउँ छोड्दा गाउँले नउठेको, चरा नब्युँझिएको र तुलसीको मठमा शीत नओभाएको प्रसङ्गबाट कविताको सुरुवात भएको छ । यसले नेपालमा प्रजातन्त्र पुनस्थापना नहुँदै पति विदेशिएको भाव व्यक्त भएको देखिन्छ । विदेशमा जमिनमाथि रहेको पुल र पानीभित्र रहेको घरको सम्झना गर्दै कतै ती पुल भेरीको तुइन छिनेजस्तै छिन्ने हो वा पानीभित्रको घर बगाएर पतिसँग सदाका लागि बिछोडिन पर्ने हो कि भन्ने पत्नीको आशङ्का प्रस्तुत गरिएको छ । पति विदेश गएपछि गाउँमा बाटोघाटो र शिक्षाको विकास हुन थालेको कुरा गर्दै आफ्नो दुःखभन्दा देश, देशभन्दा पतिको उपस्थिति आफ्नो लागि महŒवपूर्ण भएको कुरा यसमा पत्नीमार्फत व्यक्त गरिएको छ । संसारमा भएका कुरा आफूले नदेखे पनि गाउँका मानिसले देखेको सपना झरिरहेको कुरा पनि कवितामा आएको छ । यसले कवितामा विरोधाभास उत्पन्न गराएको देखिन्छ । एकातिर बाटो र शिक्षाको विकासको कुरा लेखिनु अर्कातिर गाउँलेले देखेको सपना झर्नु जस्ता अभिव्यक्ति एउटै कवितामा प्रस्तुत हुनुले कवितामा विपर्य अर्थ आएको महसुस हुन्छ ।

अर्को एउटा गीत यस कवितासङ्ग्रहको छैटौँ कविता हो । यस कवितामा उनले वर्तमान समयमा नेपाली जनता पूर्ण स्वतन्त्र नभएकाले मुक्तिका लागि अर्को गीत लेख्नुपरेको कुरा उल्लेख छ । जनताको क्रान्ति, साना केटाकेटीले देखेको सपना, शोषित पीडित जनताको गीत पर्खालभरि लेख्दा पनि ती शब्द बिलाएर गएको कुरा उल्लेख गर्दै देशद्रोही, राष्ट्रघातीका विरोधमा बेसुरा आवाजमा भए पनि कर्कसे गीत गाउनुपर्ने कुरा यसमा आएको छ । यस कवितामा कतै गीत लेख्ने त कतै गाउने प्रसङ्ग आएको छ । यस कवितामा शोषकीय प्रवृत्तिको विरोधको साधन कविताको भावलाई मानिएको छ ।

गर्मी यस कवितासङ्ग्रहको सातौँ कविता हो । यस कवितामा निम्न वर्गीय मजदुरले भोगेको पीडाको दहन प्रस्तुत छ । सहर गाउँ जहाँका मजदुर भए पनि अभावले निम्नवर्गको जीवनलाई गर्मी बनाएको कुरा यसमा आएको छ । गरिबले गरेको श्रम मन पराउने तर पसिनाको गन्ध मन नपराउने उच्चवर्गलाई निम्नवर्गको परिश्रम र मिहिनेत नै डर बनेर रहने कुरा यस कवितामा उल्लेख छ । उच्चवर्गलाई गरिबबाट जहिले पनि भय भएको भन्दै यसबाट बच्न उच्चवर्गले कुकुर पाल्नुपरेको कुरा पनि यसमा आएको छ । यसप्रकार अर्काको पसिना खाने व्यक्ति भयरहित हुन नसक्ने भाव यस कवितामा व्यक्त छ ।

सपनाको अवशेषमाथि एउटा कविता यस कवितासङ्ग्रहको आठौँ कविता हो । यस कवितामा विपनाको आधार नै सपना भएकाले सपना देख्नुपर्ने कुरा आएको छ । यस कवितामा मन्दिर, मस्जिद, गुम्बा चर्च जहाँ जाँदा पनि विकसित र प्रगतिको सपना देख्नुपर्छ भन्दै सपना नै विपना भएर आउने कुरा उल्लेख छ ।

रेमिट्यास धुन यस कवितासङ्ग्रहको नबौँ कविता हो । यस कवितामा विदेशमा पैसा कमाउनका लागि जाने व्यक्तिले भोग्नुपरेको पीडा उल्लेख छ । विदेशमा काम गर्न जाने व्यक्तिले त्यहाँ श्रम गरेरमात्र पुग्दैन । त्यहाँ त मालिकको खुसीका लागि तन पनि बेच्न बाध्य हुने कुरा यस कवितामा आएको छ । विदेशमा गएर काम गर्नेले दिनमा मात्र नभई रातमा पनि मालिकको खुसीका लागि काम गर्नुपर्ने कुरा यस कवितामा गरी विदेशी भूमिमा नेपाली कामदारले भोग्नुपर्ने कष्टप्रद क्षणको वर्णन यस कवितामा प्रस्तुत भएको छ । यसरी यस कविताको विषयवस्तुलाई पर्गेल्दा यस कविताको शीर्षक र विषयवस्तुबिच भने तालमेल नमिलेको देखिन पुग्छ ।

डर यस कवितासङ्ग्रहको दसौँ कविता हो । यस कवितामा कुकुर जतिसुकै इमान्दार भए पनि त्यसको भुकाइसँग डर उत्पन्न हुने, सर्प जतिसुकै राम्रो देखिए पनि त्यसले जिब्रो चलाउँदा डर लाग्ने कुरा उल्लेख गर्दै मानिससँग अझ बढी डर लाग्ने कुरा कविले उल्लेख गरेका छन् । यस कवितामा मुखले राम भने पनि बगलीमा छुरा बोक्ने स्वभाव मानिसमा छ भन्दै मानिससँग देखाउने र गर्ने व्यवहार फरक रहेको कुरा नगरकोटीले अभिव्यक्त गरेका छन् ।

राष्ट्रवादको मौसम यस कवितासङ्ग्रहको एघारौँ कविता हो । यस कवितामा छिमेकी राष्ट्रले नेपालको राष्ट्रिय फूल गुराँसलाई अराष्ट्रिय भन्दा पनि फूलको वर्षा भएको ठान्ने नेपालीप्रति व्यङ्ग्य छ । यस कवितामा छिमेकीले गरेको राष्ट्रघाती कामलाई पनि अमृतको वर्षा ठान्ने नेपाली प्रवृत्तिप्रति कटाक्ष छ ।

सम्झनाको गीत कविता यस कवितासङ्ग्रहको बाह्रौँ कविता हो । यस कवितामा प्रवासमा बस्ने नेपालीको सम्झना प्रस्तुत छ । विदेशमा रहेका नेपालीले त्यहाँ बसेर माटोको गीत गाए पनि आफूले स्वदेशमा बसेर माटोको पूजा गरेको कुरा यस कवितामा आएको छ ।

छोरीलाई बाको सम्बोधन यस कवितासङ्ग्रहको तेह्रौँ कविता हो । यस कवितामा छोरीसँग छोराको पनि उल्लेख छ । यस कवितामा छोरा यार्सागुम्बा टिप्न गएदेखि फर्केर नआएको भन्दै छोरीले नै आफ्नो यौवन, रहर भुलेर आफ्नो देखरेख गरिरहेको बताइएको छ । यस कविताले कुनै न कुनै दिन ईश्वर दाहिने हुँदा छोरीप्रति रहेको कर्तव्य बाबुबाट पूरा हुने कुरा उल्लेख गरिएको छ ।

ह्वाइटबोर्ड यस कवितासङ्ग्रहको चौधौँ कविता हो । यस कवितामा समयसँगै ब्ल्याकबोर्ड ह्वाइटबोर्डमा परिवर्तन भएको कुरा उल्लेख गरी समयले नै दुःख हटाएर सुख दिने कुरा अभिव्यक्त गरिएको छ । यस कवितामा जानिफकारहरूले ह्वाइटबोर्डमा अक्षर तथा नेपालको नक्सा कोरेको भन्दै अक्षरका अर्थ र नेपालको फेरिएको रूप हेर्ने मन ह्वाइटबोर्डलाई भएको कुरा आएको छ । यसमा ह्वाइटबोर्डलाई मानवीकरण गरिएको छ ।

स्खलित आस्थाको सञ्झ्यालबाट यस कवितासङ्ग्रहको पन्ध्रौँ कविता हो । यस कवितामा पुराना मिथक आफ्ना लागि स्खलित बन्दै गएको भाव व्यक्त छ । ईश्वररूपी ब्रह्माले सुनको सट्टा रिसमा आई कुखुराको सुलीबाट मानिस बनाएको भन्दै रिसाहालाई पनि ईश्वर भन्नुपर्ने अवस्था आफूलाई अमान्य भएको कुरा यस कवितामा अभिव्यक्त भएको छ । यस कवितामा बोल्दै नबोल्ने ईश्वरलाई आस्थाको रूपमा मान्ने प्रवृत्तिको विरोध छ । यो विरोध कुनै वाद वा मान्यताप्रति लीन भएर नभई आफैबाट स्वतस्फुर्त रूपमा उत्पन्न भएको जिकिर पनि नगरकोटीको कविताले गरेको देखिन्छ ।

समयको एउटा स्केच यस कवितासङ्ग्रहको सोह्रँौ कविता हो । यस कवितामा पल्सर बाइक चढ्ने, जिन्स पाइन्टको बाहिर साँचो झुन्ड्याई देखाउने, हातमा चुरोट र आधा काटेको कपाल लिएर किशोरीरूपी फूलको रस चुस्न युवा हिँड्ने गरेको कुरा उल्लेख छ । यस्ता मानिस देख्दा भद्र, शालीन र मधुर बोलीको भए पनि मन कुटिल रहेको भन्दै क्रान्तिकारी शासकबाट उत्पादित यस्ता अधबैँसे मान्छेले नै एउटा युग बोकेको कुरा बताइएको छ । देशको विकास तथा सुरक्षाका लागि तत्पर रहनुपर्ने यिनै युवाको प्रतिनिधि रुपले देशमा विकृति बढाउँदै लगेको भाव पनि यस कवितामा प्रस्तुत भएको छ ।

मेटामोर्फोसिस यस कवितासङ्ग्रहको सत्रौँ कविता हो । यस कवितामा नेपालीहरूले वीरता, साहस, ज्ञान, सिप प्रयोग गरी कुलको मर्यादा राखे पनि अहिले आफ्नै देशमा पहिचानरहित बनेको कुरा उल्लेख छ । अहिले नेपालीलाई भगौडा भने पनि सत्यको उत्खनन भएको दिन यो देशको विकासमा कसले कति योगदान ग¥यो त्यसको पहिचान हुने कुरा गरी सत्यको खोजले नै इतिहास कायापलट हुने कुरा अभिव्यक्त भएको छ ।

मई १ मा मजदुर यस कवितासङ्ग्रहको अठारौँ कविता हो । यस कवितामा मे १ तारिख मजदुरको दिवस भए पनि त्यसले मजदुरको हक र हितको संरक्षण गर्न नसकेको कुरा व्यक्त भएको छ । एकजना मजदुरको कमाइले पाँचजनाको परिवार पनि पाल्न नसकेको स्थिति यस कविता वर्णित छ । मजदुरले आफ्नी पत्नी बिरामी हुँदा उपचार गराउन सकेको छैन । छोराछोरीलाई राम्रोसँग खान, लाउन र पढाउन सकेको छैन । मजदुरको छोराछोरीले मालिकका छोराछोरीको जड्यौरी लुगा लगाउने र किताब पढ्नुपर्ने अवस्था छ । यसरी हरेक कुरा मालिककै प्रयोग गर्नुपर्ने स्थितिमा मे १ तारेखको मजदुर दिवस देखाउने रमितामात्र बनेको कुरा यस कवितामा उल्लेख भएको छ ।

माटोमाथि उभिएर यस कवितासङ्ग्रहको उनाइसौँ कविता हो । यस कवितामा नेपालको सगरमाथामा तेन्जिङ शेर्पाले पहिलोपल्ट मानव पाइला राखे पनि लेख्नेले दोस्रो भनेर लेखिँदिँदा नेपालको परिचय दोस्रो बन्नपुगेको कुरा व्यक्त छ । हाम्रो देशमा स्वाभिमानको फूल फुल्न नसकेको कारण नेपालीहरू लाहुरे र शरणार्थी बन्न पुगेको भन्दै राष्ट्रवादीको नारा लगाउनेले नै माटो कब्जा गरी माटो नै कुल्चेर निर्धक्क भई बाँचेको कुरा यसमा बताइएको छ । यस कवितामा राष्ट्रवादी नारा माटोमा बसेर नभई विदेशमा बसी लगाइएकाले नेपाल विश्वकै इतिहासमा पछाडि परेको कुरा बताइएको छ ।

इतिहासमा नाम यस कवितासङ्ग्रहको बिसौँ कविता हो । यस कवितामा नेपालमा जन्मेर नेपाली माटो हावा, सविधान र राजनीतिक व्यवस्थाभित्र रहँदा पनि नेपालले अरुकै चोरी औँला समातेर हिँड्नुपर्नेे किन भनी जिज्ञासा प्रस्तुत गरिएको छ । यस कविताले नेपालको इतिहास लेखनमा विदेशीको निर्देशन रहेकाले नेपालको स्वाभिमान र गौरवमा कालो छाया परेको भाव प्रस्तुत छ ।

होटलमा यस कवितासङ्ग्रहको एक्काइसौँ कविता हो । यस कवितामा होटलमा काम गर्न बस्ने मजदुरको यथार्थ जीवनको चित्र आएको छ । होटलको कामदारले गर्नुपर्ने कामको तहगत जिम्मेवारी बढे पनि कामदारको जीवनमा खुसी बढ्न नसकेको कुरा उल्लेख छ । यस कवितामा होटलमा कवि, नेता, किसान, हिरो जस्ता मानिस धेरै आएर गए पनि मनले खाएको मान्छे भूकम्प जाँदा एकपटक आएको तर पछि नफर्केको कुरा व्यक्त छ । यस कवितामा होटल सबैका लागि भए पनि कामदारका लागि नभएको कुरा व्यक्त भएको छ । होटलमा वैँसालु ओठ बोकेर मानिस काम गर्न आए पनि निस्कँदा रित्तो गोडा लिएर जाने कुरा अभिव्यक्त भएको छ । यसरी यस कवितामा मजदुरले जतिसुकै मालिकको काम गरे पनि आर्थिक स्थिति मजबुत नहुने भाव प्रकट गरी कामदारको दयनीय र कारुणिक अवस्था चित्रण गरिएको छ ।

हेर्दाहेर्दै यस कवितासङ्ग्रहको बाइसौँ कविता हो । संसारमा जेजस्ता कुरा भएका छन् ती हर्दाहेर्दै हुने गरेको कुरा यस कवितामा उल्लेख छ । यस कविताले पहाड भत्केर मैदान, आकाशचुम्बी भवनको निर्माण, स्वतन्त्र पक्षी पराधीन, झ्यालको सिसा फुट्ने, छोरो क्रान्तिकारी बन्ने, छोरी बेस्या बन्न सक्ने, अधिकारका लागि लड्न उद्घोष हुने, मकै पिँधिएजस्तै मानिस दुःखमा पिँधिने जस्ता घटना हेर्दाहेर्दै हुने कुरा प्रस्तुत छ । यस कवितामा संसारमा हरेक कुरा हेर्दाहेर्दै हुने भए पनि मानिस सचेत नहुँदा कतिपय घटनाले मानिसलाई विनाशतिर लैजाने प्रसङ्गसमेत आएको छ । मानिसको लापरवाहीले घट्ने घटनाले ठुलो क्षति पुग्नसक्ने भन्दै मानिस र मानवीय संसारमा क्षति पुग्ने दृश्यचाहिँ हेर्न नपरोस् भन्ने इच्छा कविबाट यस कवितामा व्यक्त गरिएको छ ।

गाउँ सम्झेर एक साँझ यस कवितासङ्ग्रहको तेइसौँ कविता हो । यस कवितामा ग्रामीण जीवनमा हुने सरसहयोग प्रस्तुत छ । गाउँले जीवन परिश्रमी जीवन हो । यस जीवनलाई चटक्क भुलेर मानिस सहर पसेका छन् । गाउँबाट सहर छिरेका पढेलेखेका मानिस पुनः गाउँ जाँदैन । त्यसैले गाउँमा शिक्षाको अभाव छ । गाउँ रोगले ग्रस्त छ । आधुनिक प्रविधिसँग साक्षात्कार गरेका मानिस सहरमै रहेका कारण आधुनिक प्रविधिको पहुँच पनि गाउँमा नपुगेको कुराको वर्णन यस कवितामा भएको छ ।

गाउँबाट एउटा चिठी यस कवितासङ्ग्रहको चौबिसौँ कविता हो । यो कविता गाउँ छाडेर हिँड्ने सन्तानलाई सम्बोधन गरिएको लेखिएको छ । यसमा गाउँबाट सहर प्रवेश गरेका सन्तान गाउँ नफर्केकोमा गुनासो छ । गाउँ छाड्ने युवायुवतीले बाल्यकालमा आफूले खेलेको ठाउँ भुलेकोमा गुनासो पनि पोखिएको छ । गाउँबाट सहरमा युवायुवतीमात्र नभई वनस्पति र छोरीचेली पनि बेचिएको कुरा आएको छ । यसरी गाउँबाट सहरमा अमूल्य चिज गए पनि गाउँमा भने म्याद नाघेका औषधी, मोबाइल फोनले ल्याउने विकृति, तस्करी, फरक धर्म प्रचार गर्ने मतियारको प्रवेश भएको कुरा उल्लेख गरिएको छ । यसरी गाउँ र सहरले एकअर्काे वस्तु साटासाट गर्ने क्रममा गाउँले चाहिँ विकृति, विसङ्गति प्राप्त गरेको कुरा यस कवितामा प्रस्तुत छ ।

शोकमग्न समय यस कवितासङ्ग्रहको पच्चिसौँ कविता हो । देशमा नयाँ संविधान र कानुन आए पनि देश पुरानै शैलीमा चलिरहेको कुराको गुनासो यस कवितामा प्रस्तुत गरिएको छ । देशभरि व्याप्त अराजकता उल्लेख गर्दै नयाँ योजनाले स्थान नपाएको कुरा पनि यस कविताको भाव बनेर आएको छ ।

बेपत्ता मान्छेको नाउँमा यस कवितासङ्ग्रहको छब्बिसौँ कविता हो । यस कवितामा मान्छेहरूको भिडमा मानवता हराएको कुरा आएको छ । देशबाट मानवता हराउँदा पनि तिनका नाममा गीत, सङ्गीत र फेसबुकको स्ट्याटस नलेखिएको भन्दै मान्छेमा मानवता बेखबर, अज्ञान र निद्रित अवस्थामा रहेको कुरा यस कवितामा वर्णित हुनपुगेको छ ।

बकपत्र यस कवितासङ्ग्रहको सत्ताइसौँ कविता हो । यस कवितामा देशको विकास नभएको, आर्थिक अवस्थामा सुधार नआएको र शिक्षाको प्रमाणपत्र बेकामी बन्न पुगेको कुरा उल्लेख गरिएको छ ।
झरीको दिन यस कवितासङ्ग्रहको अठ्ठाइसौँ वा अन्तिम कविता हो । यस कवितामा दैनिक रूपमा निम्नवर्गले भोग्नुपर्ने आर्थिक समस्या र अज्ञानताले विकराल स्थिति सिर्जना गरेको कुरा प्रस्तुत छ । यसै कारण आमामात्र नभई तिनका सन्तानले पनि समस्या भोग्नुपरेको भन्दै समस्या र अराजकता पुस्त्यौली रुपमा हस्तान्तरण भएको कुरा यस कवितामा व्यक्त भएको छ ।

नरेन्द्रकुमार नगरकोटीको सन्नाटाको लय कवितासङ्ग्रहमा गाउँसँग सम्बन्धित शीर्षक नै दुईओटा छ भने अन्य कवितामा पनि देश र सहरभन्दा गाउँकै विषयले बढी स्थान पाएको छ । यस सङ्ग्रहमा भएका कवितामा एउटै कविताभित्र अनेक विषय र अनुभूतिले स्थान पाएको छ । यसले कविको लेखनलाई सशक्त बनाएको छ । तर यही कारण कविले विषयवस्तुलाई निचोडमा पु¥याई मोती झिक्न नसकेको स्थिति पनि छ । नेपाली साहित्यमा देखिएको आयामेली प्रभावले पनि यस कवितासङ्ग्रहलाई प्रभाव पारेको छ । यस कवितासङ्ग्रहका कविताले मूलतः निराश भावलाई काँधमा बोकेको छ । यस कवितामा जिम्मेवारी बहन गर्न नसकेको कुरा आएको छ तर कसले उत्तरदायित्व लिने भन्ने सवालमा कविता मौन छ । यस कवितासङ्ग्रहमा अभाव, गरिबी, पीडाको ज्वरोलाई विस्मित स्वरमा प्रकट गरिएको छ । व्यक्ति, समाज र राष्ट्रमा देखिएका समस्यालाई भावुक, शालीन र भद्रशैलीमा प्रस्तुत गरिएको छ । यस कवितासङ्ग्रहमा बकपत्र, बेपत्ता मान्छेको नाउँमा, एउटा अर्को गीत, ढुकढुकीको आवाज, रापिलो कविता, सन्नाटाको लय शीर्षकको कविताबाट कवि आफैले कविता लेख्नुको कारण स्पष्ट पारेका छन् ।

सन्नाटाको लय कवितासङ्ग्रहमा सङ्गृहित कविताहरूमध्ये सन्नाटाको लयमा शान्ति हराएको, मार्च ८मा बाको सम्झनामा बाबुले भोगेको पीडा, रापिलो कवितामा अज्ञानताका कारण क्रान्तिकारी कविता जलेको, अतृप्तिमा रोमान्स, ढुकढुकीको आवाजमा पतिसँग बिछोडिँदाको पीडा, अर्को एउटा गीत र गर्मी कवितामा शोषणको उल्लेख, सपनाको अवशेषमाथि एउटा कवितामा जीवनलाई पीडाबाट मुक्त गराउन सपना देख्नुपर्ने कुरा, रेमिट्यान्स धुनमा विदेशमा रोजगारका लागि जानेको पीडा, डरमा सबैसँग डराएर बाँच्नुपर्ने कुराको उल्लेख, राष्ट्रवादको मौसममा छिमेकी राष्ट्रले गरेको बदनाम, सम्झनाको गीतमा प्रवासी नेपालीको विषय, छोरीलाई बाको सम्बोधनमा भाग्यले साथ दिए छोरीप्रति रहेको कर्तव्य पूरा गर्ने बाबुको चाहना, ह्वाइटबोर्डमा शिक्षाले गरेको परिवर्तन हेर्ने इच्छा, स्खलित आस्थाको सन्झ्यालबाटमा ईश्वरप्रति विकास भएको अनास्था, समयको एउटा स्केचमा युवामा देखिएको विकृति, मेटामोर्फोसिसमा धर्म संस्कृतिमा बढेको हस्तक्षेप, मई १ मा मजदुर कवितामा शोषित नेपालीको पीडा, माटोमाथि उभिएर कवितामा नेपालको इतिहास गलत मान्छेले लेखेकोमा आपत्ति, इतिहासमा नाम कवितामा देशमा नाम राख्न गर्नुपर्ने कामकुरा, होटल कवितामा अर्काको नोकरी गर्नेको उन्नति नभएको कुरा आएका छन् । यसरी आएको विषयवस्तुलाई हेर्दा यस कवितासङ्ग्रहमा कवि आफैले बाँचेभोगेको कुरा नै कविताको विषय बनेको देखिन्छ । जीवनमा देखिएका समस्या र कविको इच्छाले नै यस कवितासङ्ग्रहको भार बोकेको छ । समष्टिमा कविताको प्रतिपाद्य विषय समय सान्दर्भिक छ ।

३. भाषाशैली

नगरकोटीका कवितामा समास शैली प्रयोग छ । तृतीय पुरुष दृष्टिविन्दु प्रयोग छ । अनुच्छेदगत संरचनामा एक वाक्यले पनि आफ्नो पूर्ण भनाइ राख्न सफल छ । पाठकलाई उत्तेजित र करुण नबनाई साम्य स्थितिमा नै राख्ने कविताको सिर्जना भएको छ । यस कविता सङ्ग्रहका भाषाशैली कठिन नभई सरल छ तथापि भाव संयोजनका लागि बौद्धिक कसरत आवश्यक छ ।

यस कवितासङ्ग्रहका कवितामा नीलो जून (पृष्ठ १) मूर्दा सन्नाटा (पृष्ठ ३) जस्ता नवीन प्रतीकको प्रयोग पनि भएको छ । क्यान्भास,, एब्स्ट्रयाक्ट (पृष्ठ २) मार्च, अल्टिमेटम पृष्ठ ४) पल्सर (पृष्ठ ४६), मेटामोर्फोसिस (पृष्ठ ४८) अर्केष्ट्र (पृष्ठ ५८) जस्ता केही अङ्ग्रेजी शब्दको प्रयोग पनि भएका छन् । यसका साथै यस सङ्ग्रहमा टाइप गल्तीका कारण गुञ्जिन्छ मा न् हुनुपर्नेमा ञ् भएको छ । खुइलिँदैछ, काटिँदैछन् (पृष्ठ २) हुँदैछ (पृष्ठ ४१), भनिँदैछ (पृष्ठ ४९), सुनाउँदैछौँ, मान्दैछौँ, निकाल्दैछौँ (पृष्ठ ५८) जाँदैछौँ (पृष्ठ ५९) जस्ता क्रियापदमा अपूर्ण कालका क्रियापद जोडिएको छ । मूर्दा (पृष्ठ ३) जस्ता केही शब्दमा दीर्घको प्रयोग छ । लड्नुछ, लेख्नुछ, जित्नुछ, गर्नुछ पृष्ठ४९) भएपनि (पृष्ठ २१) जस्ता शब्द पदयोग भएका छन् । साहू (पृष्ठ ४), बाँचुञ्जेल (पृष्ठ ५) वगर (पृष्ठ ३५) अनगिन्ति (पृष्ठ ७६) भञ्ज्याङ (पृष्ठ ११) उफ्रदा (पृष्ठ १२) स्वयम्भू (पृष्ठ १२), यीनै (पृष्ठ ४३), ब्यूँझिएकै (पृष्ठ १३) मा जस्ता शब्दमा वर्णविन्यासको समस्या देखिन्छ । यस कवितासङ्ग्रहको रापिलो कवितामा गरिबीको वर्णन हुँदै गर्दा चाउचाउ किनेर खाने बहिनीको उल्लेख छ । यसले परिवार गरिब हुनसक्छ कि सक्दैन भन्नेतिर शङ्का गरेको छ (पृष्ठ ८) । अतृप्ति कवितामा गुराँसे ओठ र चुल्ठोमा लालीगुराँसभन्दा समान प्रतीक प्रयोग भएको देखिन्छ । गुराँसे ओठले आकार जनाएको छ भने लालीगुराँसले कपालको सौन्दर्य प्रस्तुत गरेको छ । यसरी एउटै गुराँस शब्दलाई दुई कुरा जनाउन प्रयोग गरिँदा बिम्बप्रतीक चयनमा शब्द अपुग भएको हो कि भन्ने आभास हुन्छ ।

४. निष्कर्ष

नरेन्द्रकुमार नगरकोटीका अठ्ठाइस कवितामध्ये अतृप्तिबाहेक बाँकी कवितामा जिज्ञासा, बेखुसी, असन्तुष्टि, औडाहा र अभावका कुरा आएका छन् । अतः उनी यस सङ्ग्रहबाट निराशावादी विषय प्रस्तुत गर्ने कविका रूपमा चिनिन्छन् । यसका साथै उनका प्राय कवितामा जिज्ञासाको भाव नै मूल रूपमा उठान भएको छ । यसको समाधानको बाटो भने पर्गेलिएको देखिँदैन । नगरकोटीका कवितामा देश र देशको गाउँ दुखेको कुरा आएको छ । मूलतः समसामयिक जीवन भोगाइको असन्तुष्टि नै कवि नगरकोटीको काव्य लेखनको आधार बनेको छ ।

-फर्पिङ, दक्षिणकाली 

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.