कथा : रशिदा

~दिलिप पौड्याल~

रसिदा। जस्तो नाम उस्तै रुप। हल्का काली काली, चिल्लो अनुहार, इवोरी जस्तै चम्किला सेता दात टम्म मिलेका केराउका दाना जस्तै। न लामो न छोटो सलक्क परेको नाक र ठुलो निधार। कर्लि कपालमा हल्का रातो कलर लगाएकी। इस्टायलिस।

हाँस्दा दाहिने पट्टिको गालामा सानो खाल्टो पर्ने। मिनाक्षीका जस्ता ठुला र सुन्दर आखाँ।

छाती पनि के बिधि मिलेको हो। पुट्ट पुट्ट उठेका स्तन र सपक्क परेको पेट। छिनेको कम्मर। कुदेर्रै बनाए जस्ता पुठा हिड्दा फ़र्लक्क फर्लक्क फर्किने। जतिबेला पनि मुस्कानले पोतिएको अनुहार। उसलाई हेर्दा यस्तो लाग्छ कि ऊ जत्तिको खुसि यो दुनियाँमै कोई छैन।

रसिदाको जिबन कथा गातामा देखिएको चित्र जस्तै सुन्दर छैन पक्कै पनि। अनेकन रहस्यहरु लुकेका छन् त्यो सुन्दर मुहारमा। कैयन बेथाहरु पुरिएका छन् त्यो दाहिने गालाको खोपिल्टो भित्र। उसको आँखा भित्रको सागरमा अनेकन सपनाहरु पुरिएका छन्। उसको छातीमा झुण्डीयका फलहरु बतिलैमा निमोठ्न कति ब्वासाहरु लागिपरे। तर दिइन रशिदाले छाँया सम्म पर्न त्यो सुन्दर वक्षस्थलमा।त्यसैले त ऊ हाँस्न सक्छे जस्तो सुखै दुखमा पनि। सामना गर्छे हरेक परिस्थितिको।

‘क्यानेडियन डर्बी डे’ अर्थात् घोडा दौड महोत्सब २०१८। अल्बर्टा प्रान्तको एडमन्टन शहरमा ११८ बर्ष देखि प्रत्यक बर्ष अगस्ट महिनामा भब्यताको साथ यो घोडा दौड प्रतियोगिता हुदै आइरहेको थियो। हजारौ मान्छेहरु यो प्रतियोगिता प्रत्यक्ष अबलोकन तथा आउथे। परालले बुनेका ह्याट, चराहरुको प्वाखले बनेका आइरिस टोपीहरू र अनेकन फेशनयुक्त ड्रेस लगाएर महिला, पुरुष, केटाकेटीहरु घोडा दौड प्रतियोगिता हुने रिङ्ग बाहीर बसेर आफ्नो आफ्नो बाजी थापेको घोडालाई हुटिंग गर्दथे। घोडा कुदाउने जोकीहरु पनि निकै फुर्तिका साथ घोडाको दुवै पेटलाई खुट्टाले ड्याम ड्याम पार्दै कुदाइरहेक हुन्थे। त्यो दृश्य एकैसाथ संसारका दर्जनौ देशरुमा प्रत्यक्ष प्रसारण भैरहेको हुन्थ्यो। उनीहरुले त्यहिबाटै बाजी थाप्दथे। यो अनोठो बिजनेस थियो घोडा दौड आयोजकहरुको।

जसरी रिङ्गमा घोडा दौडिरहेका हुन्थे त्यहि गतिमा रसिदाको मनमा कुराहरु दौडेका थिए आज। रसिदा क्यासिनोको भित्र बार टेन्डरको रुपमा काम गर्दथी। मान्छेहरु बाजी थाप्न भित्र आउथे।त्यहाँ बाजिथाप्नको लागि वेजरिङ्ग मेशिनहरु राखेको थियो। उनीहरु आफुलाई मन परेको घोडामा बाजी थाप्दथे। रसिदा उनीहरुलाई बियर, ह्विस्की, रम, वाइन डिमान्ड अनुसार सर्भ गर्दथी। मान्छेहरुको उन्माद र खुसीले उसलाई जिस्काइरहेको जस्तो लाग्दथ्यो। सधै अलि अलि जिस्केर बोल्ने रसिदा आज गम्भीर भएकी थिई। उ बारमा मान्छेहरु बिजी नभएको बेला, स्लट मशिनमा जुवा खेल्नेहरुको लागि उनीहरुको ठाउमा पुगेर सोध्थी र अर्डर लिने र पुर्याउने गर्दथी। आज उसलाई काउन्टर छोड्ने मन छैन। मान्छेहरु आफै बारमा आइरहेका थिए।

रसिदा किन खुसि थिइन भन्ने कुरामा धेरैजसो मान्छेहरु अनभिज्ञ भएपनि यँहा नियमित आउने ग्राहकहरुलाई भने हल्का थाहा थियो। उनीहरुले महिनौ अघिदेखि सोध्ने गर्दथे,”यो क्यासिनो बन्द भएपछि के गर्छेस?” उसलाई यो प्रश्नले चसक्क घोच्दथ्यो तर पनि त्यो कुरालाई उसले सिरियस लियकी थिन उसले। उसले नसोचिकनै भन्दिन्थि “अर्को क्यासिनोमा काम गर्छु। यो मात्र छ र यति ठुलो शहरमा।” तर आज न कसैले उसलाई सोधेको छ न कसैलाई उसले जवाफ नै दिनु परेको छ। तरपनि किन किन उसको मनमा ठुलै भुइचालो आएजस्तो भएको छ। घरि घरि दिमागमा भोलि के गर्ने, कहाँ नोकरी खोज्ने, नोकरी पाउने हो कि हैन जस्ता कुराहरुले भुमरी खेली रहेको थियो।

क्यासिनोमा तिन तिन वटा बार काउन्टरहरु थिए। तरपनि उसको शरीर र मुस्कानले गर्दा सबैजसो ग्राहकहरु उसकोमै झुम्मिएका हुन्थे।कसैले “केटा साथि छ कि छैन ” भनेर सोध्थे भने कसैले फोन नम्बर माग्थे।जसले जस्तो प्रश्न सोध्थ्यो उस्तै जवाफ दिन पनि आउदथ्यो उसलाई। खुलेर हास्दथी ग्राहकको अघि र भन्थी “मेरो केटा साथि छ।” फोन नम्बर भने कसैलाई दिदैनथि। यस्तो लाग्थ्यो कि गर्ल फ्रेन्ड होस् त रसिदा जस्तै होस्। रंग कालो भएपनि मन उज्यालो भएपछी अनुहार उज्यालो देखिदो रैछ। तर छालाको रंग सेतो भएपनि मन कालो हुनेको अनुहार कालो नै देखिदो रैछ। क्यासिनोमा काम गर्ने धेरै गोरीहरु देख्नमा सारै राम्रा देखिन्थे। सेतो छाला, अग्लो कद ,पुट्ट पुट्ट उठेका छाती र पारदर्सी कपडा। जति बेला पनि ओठ तनक्क तानेर ‘हाई ‘ भन्ने। तर हाई काडीनसक्दै ‘बाइ ‘भन्ने र पछि फर्केपछि थुतुनो बंगाउने अर्को सँग। नौटंकी पनि कति जानेका हुन्छन गोरिहरु। रसिदा उनीहरुभन्दा फरक थि। उसले सबैलाई ‘हाई ‘ भन्दै हिड्दिनथि, तर उ संग कसैको आखाँ जुध्यो भने चै घायल नै पार्थी।

जोसुकै होस् या जतिसुकै बुढो होस् उसँग एकै छिन भएपनि जिस्किन चाहन्थ्यो। जब ऊ त्यहाँबाट हिद्थी सबै फर्की फर्की हेर्थे उसलाई।

धेरै जसो इम्प्लोईहरुले जागिर छोडेर नयाँ ठाउमा काम सुरु गरिसकेका थिए। तर रसिदाले क्यासिनोको ढोका बन्द हुनेबेला सम्म काम गर्ने निधो गरेकी थिई। उसले निकै दुख पाएको बेला भेटेकी थिई यो जागिर। यो जागिरबाट कमाएको टिप्सजति सबै घरमा आमालाई पठाउथि। इथियोपिया को जिजिका भन्ने ठाउमा एक्लै बस्थि उसकी आमा। उसको बाउ सोमाली विद्रोहीको आक्रमणमा मारिएको थियो भने दुइवटा दाईहरु युद्धको बेला हराएका थिए। उसकी आमाले घर छोड्न मानिन। रसिदा भने पाँच बर्षको उमेरमा उसको अङ्कलले सरणार्थी कोटामा क्यानाडा ल्याएर आएको थियो। यतै इस्कुल पढेकी थिई रसिदाले। आफुले कमाउन थालेदेखि नियमित आमालाई पैसा पठाउथि उसले। आफैले किनेर फोन पठाएकी थिई त्यसैमा घन्टौ कुरा गर्थी आमासँग । इथियोपियामा राजनीतिक स्थिरता आइसकेकोले गर्दा उसकी आमाले घर फर्कन खुब आग्रह गर्दथी। तर पनि भने जति सजिलो थिएन फर्केर जान रसिदालाई। एक्लै भएपनि एउटा सानो घर किनेकी थिई एडमन्टनमा। यहि जागिरबाट महिनावारी बन्धक अर्थात् मोर्ट्गेज तिर्दथी बैंकलाई। घरखर्च चलाउथि। यो सबै छोडेर जान भनेजस्तो सजिलो थियेन। आमालाई खर्च पठाउथि। अब यो क्यासिनो बन्द हुनासाथ उसको जागिर पनि संगै बन्द हुन्थ्यो। अर्को जागिरको टुङ्गो नहुदा सम्म उसलाई ठुलो तनाब थियो।

उमेरले तिस वर्ष टेक्ने बेलासम्म कैयौ केटाहरुले प्रेमको नाटक गरेर रसिदा संग रासलिला गर्ने उद्योग गरे , तर सफल भएनन्।कसै कसैले साँचो प्रेम गरे तर एकोहोरो मात्र। ति मध्यको एउटा थियो डेबिड। सोमालियाको गृह्ययुध्यको बेलामा सरणार्थीको रुपमा क्यानाडा छिरेको ऊ सोमालियन क्युसिन चलाउथ्यो डाउनटाउनमा। रसिदालाई वेटरको रुपमा काममा राखेको थियो केहि वर्ष अगाडी। डेबिड निकै मेहनेती केटा थियो र उसको रेस्टुरेन्ट पनि राम्रो संग चलेको थियो। उसका ग्राहकहरु प्राय इथियोपिया, इरित्रिया, सोमालिया, जिबुटि देशका हुन्थे। बयस्क केटाहरु रसिदालाई देख्न साथ मोहित हुन्थे र हुक्काको धुवा संगै उनीहरुको कल्पना हावामा लहर्याउथ्यो। डेबिडलाई भने केटाहरु रसिदा संग जिस्केको मन पर्दैनथ्यो। उसले निकै चाहन्थ्यो रसिदालाई तर धेरै दिन सम्म भन्ने आँट गरेन। दिन दिनै केटाहरुले जिस्काउने, र उ पनि जिस्केर बोलेको देख्दा डेबिडलाई सहि नसक्नु भयो। तर पनि आफ्नो ब्यापार बढेको देखेर चित्त बुझाउथ्यो। रेस्टुरेन्टमा पाउनाहरु नभएको बेला काउन्टरमा बोलाउथ्यो, र केहि न केहि कुरा सोधी हाल्थ्यो ; काम कस्तो लागिराछ ? कुन कुन खाना बनाउन आउछ ? हिजो त्यो केटो संग के गफ गरेको ? पहिले चिनेको हो ? यस्तै यस्तै। ऊ पनि सबै प्रश्नको जवाफ दिन्थी खुरु खुरु। एकदिन एक्कासी हात समातेर आदेश दिएको सैलिमा भन्यो “तलाई म भित्रै मनदेखि माया गर्छु।अबदेखि अरुसंग जिस्किने हैन। ” ऊ जिल्ल परि धेरै बेरसम्म। उसले त्यसरी भन्ला भनेर सोचेकी पनि थिइन। उ मुसुक्क हाँसी मात्र केहि बोलिन।

भोलिपल्टबाट रसिदाले काम नै छोडी। कारण केहि होइन, उसलाई डेबिडको भनाईमा माया भन्दा बढी प्रभुत्व देखि। एक त उ क्यानेडियन परिबेशमा हुर्की। अफ्रिकनहरु महिलालाई आफ्नो कामचलाउ बस्तुको रुपमा प्रयोग गर्छन भन्ने बुझेकी थिई त्यसमा पनि सोमालियनहरु महिलालाई अलि ज्यादै हेप्ने गर्छन। आज भने उसलाई त्यहि रेस्टुरेन्टको याद आयो। डेबिडले त “हक्की स्वरले माया गर्छु भनेको थियो, तर उसको शरीरमा हातले छुन सम्म छोएको थिएन। तर सबै अफ्रिकन पुरुषहरुलाई हेर्ने एकै दृष्टिकोण हुनाले उसले डेबिडलाई गलत बुझेजस्तो लाग्यो आज। केटो सक्षम थियो। आफ्नै ब्यबसाय चलाएर बसेको थियो। कुरै नबुझी जागिर छोडेकी थिई उसले। आज लाग्यो सायद उसंग बिबाह गरेको भए मालिक्नी भएर बस्न सकिन्थ्यो। दुई चार महिनामा जागिरको लागि भौतारिनु पर्दैनथ्यो।

बाहिर घोडा दौडको मध्यम समय भएको थियो। सबैजना बारमा ओइरिन थालेका थिए । बिगतमा हराईरहेकी ऊ बुडो बुड़ो मान्छेको आवाजले झस्के जस्तै भई। एक पछि अर्को गर्दै मान्छेहरुको लाइन लामै भयो। कसैलाई बियर, कसैलाई कक्टेल, कसैलाई रेड लेबल, कसैलाई स्कच ,कसैलाई वोड़का दिदै गई। त्यति ठुलो भिडमा पनि नितान्त एक्ली थिई ऊ। कस्टमरलाई रक्सीको गिलास हातमा दिदै गर्दा उसको मन एकतमासले घरको बन्धक तिर्ने कुरा सोचिरहेको हुन्थ्यो। कतिपल्ट त उसले भोड्कामा क्रेन्बेरि जुसको सट्टा रयास्बेरी जुस मिलाइदेकि थिई। धन्न कसैले पनि कम्प्लेन गरेनन। गर्न चाहेनन्।

सातौ नम्बरको घोडा दौड प्रतियोगिता शुरु हुन गैरहेको थियो। सबैजना हर्षउल्लासका साथ आफ्नो आफ्नो घोडाको समर्थनमा चिच्याइरहेका थिए। यो प्रतियोगितामा दशवटा घोडाहरु भाग लिइरहेका थिए। केटाकेटी, बुढाबुढी ,जवान सबै उफ्री उफ्री आफुले बाजी थापेको घोडाको नम्बर बोलाइरहेका थिए। तिन नम्बरको घोडा सबैभन्दा अगाडी पुगेको थियो। त्यो घोडाको मालिक थियो स्पेनिस। कालो कालो बर्णको हाइब्रिड थियो होला मान्छे तर उसको जोस खाट्टी क्यानेडियन थियो। बुरुक्क बुरुक्क उफ्रिन्थ्यो। नभन्दै तिन नम्बरको घोडाले दौड जित्यो। उसको तल्लो पनि पचास हजार क्यानाडियन डलर कमाइ भयो। दुइ डलर बाजी थाप्नेहरुले पनि बिस तिस डलर जिती हाले। आफ्नो घोडाले जितेपछि उ दौड्दै गयो क्यासिनो बारमा र भोड्का माग्यो रसिदालाई। धेरै जसो हार्ने उसको घोडाले आज दौड जितेकोले उ होशमा थिएन। पचास डलर टिप्स थियो रसिदालाई। सधै टिप्स पाउदा आमालाई सम्झने रसिदाको मन आज झन् नराम्रोसंग झस्कियो। फिस्स हाँसी ऊ तर हाँसो थिएन उसको ओठमा। अ’र्को महिनाको घरको बन्दक कसरि तिर्ने? कामको लागि कहाँ कहाँ जानु पर्ने हो ? ‘ आमालाई बोलाउन योजना थियो उसको केहि महिनाको लागि भएपनि। तर आफ्नै जागिर अनिश्चित भएपनि चुप बसेकी थिई ऊ। यस्तै यस्तै के के सोच्दै थिई ऊ। सबैजना हुरुरु बाहिर जान्थे दौड सुरुहुने बेला, र पुन हुरुरु भित्र आउथे दौड सकिए पछि। कोहि बाजी जितेर खुसि हुदै आउथे भने कोहि बाजी हारेर खिस्स पर्दै। जो जे अवस्थामा आएपनि उसले अर्डर बमोजिम रक्सि दिन्थी। उनीहरुको खुसि या दुखले खासै केहि फरक पार्दैनथ्यो उसलाई।

आजको घोडा दौड प्रतियोगिता यो बर्षको अन्तिम घोडा दौड थियो। अर्को बर्ष देखि घोडा दौड प्रतियोगिता शहरको पल्लो छेउमा लागिएको थियो। यहाँको बिजनेस अर्थात् क्यासिनो र घोडा दौड दुवै बन्द हुदै थियो। कतिपय मान्छेहरु बिहान नौ बजे देखि राति बाह्र बजेसम्म क्यासिनो को तल्लो तला र माथिल्लो तला गर्दै बिताउथे बर्षौदेखी। यसरि दिन काट्नेहरु प्राय गरेर बुडा बुडीहरु हुन्थे। सरकारले दिएको बुडौली भत्ता घोडामा दाउ थाप्दै सिध्याउथे। क्यासिनोको मुख्य फ्लोरमा रहेको रेस्टुरेन्टमा पाउरोटी र कफी खान्थे। प्रायजसो रेगुलर आउने ग्राहकहरुको लागि छुटको ब्यबस्था गरिएको थियो। तिनै ग्राहकहरु बढी दुखि देखिन्थे आज। यस्तो लाग्थ्यो उनीहरुको घर अचानक आउने हावाहुरीको भुमरीले भत्काउदै छ। उनीहरु एकतमासले घोडा दौड हेर्दै थिए। सबैभन्दा ठुलो चिन्ता कि त यिनिहरुलाई थियो कि त रसिदालाई।

घोडादौड प्रतियोगिताको अन्तिम दौड शुरु हुदै थियो। मान्छेहरु सबै बाहिर प्यासियोमा उभिएर आफ्नो आफ्नो घोडाको नम्बर चिच्याउदै थिए। सात नम्बरको घोडा सबै भन्दा अगाडी दौडिरहेको थियो। मान्छेहरुको भिडले जोड जोड संग हुटिंग गर्दै थियो। रसिदालाई अचानक छाती पोल्यो। चिट् चिट पसिना आयो। शरीर तातेर भुङ्ग्रो जस्तो भयो। ऊ त्यहि थचक्क बसी र आइस बकेट भित्र टाउको छिराई। अनुहारमा आइस दली। अझैपनि उसलाई सितल भएन। सबै कुराहरुलाई अध्यारो कपडाले छोपेजस्तो देखि उसले। क्यासिनो फ्लोरमा काम गर्ने कर्मचारीहरुले उसलाई उठाएर प्राथमिक उपचार गर्ने कोठामा पुर्याए। आपत्कालिन अवस्थामा उपचार गर्नको लागि केहि स्वाथ्यकर्मीहरु उपस्थित थिए। उनीहरुको टोलिले रसिदालाई नजिकैको अस्पतालमा पठायो उपचारको लागि। अस्पतालको आपतकालीन सेवामा रसिदाको डाइग्नोसिस गरियो। मेडिकल रिपोर्टले उसलाई ‘पेनिक अट्याक ‘ भएको बतायो। रसिदाले दिन दिनै जस्तो भबिस्यको चिन्ता लिने, नकारात्मक कुराहरुले उसको दिमागमा नराम्रो अशर पारिसकेको थियो। सामान्य उपचार पश्यात रसिदा घर फर्की। उता क्यासिनोमा यो घटनाले खासै कसैलाई पनि दुखि गराएन। उसको ठाँउमा नयाँ बार टेन्डर आई। सुपरभाईजरले रिपोर्ट तयार पार्यो।

डाक्टरले रसिदालाई काममा केहि दिनको लागि छुट्टी लियर कुनै रमाइलो ठाँउमा घुम्न जान सुझाएको थियो। स्ट्रेसले दिमागमा नकारात्मक असर पर्ने भएकोले यस्तो कुरा भनेको थियो डाक्टरले तर काममा नजादा स्ट्रेस घट्नुको साटो बढ्ने कुरा डाक्टरलाई के थाहा। भोलिपल्ट काममा गई ऊ। म्यानेजरले रसिदालाई आफ्नो अफिसमा बोलायो। उसको स्वास्थ्य भन्दा बढी उसले आफ्नो कुकुरको बारेमा बतायो। आफ्नो एक्स वाइफ़ले डिनरमा बोलाएको कुरा सुनायो। र अन्त्यमा अर्को महिनादेखि क्यासिनो बन्द हुने र सबै कर्मचारीहरुलाई हटाइएको कुरा बतायो। रसिदाको हातमा पहेलो रंगको इन्भेलप थमायो। यो कुराको जानकारी पहिले नै थियो रसिदालाई जसले गर्दा यो घटनाले खासै अशर परेन उसलाई। म्यानेजरलाई ‘बाई’ गर्दै बाहिरिई ऊ।

हिजो सम्म जागिर जाने डर थियो उसलाई। आज जागिर नै गैसकेकोले उसलाई अर्को जागिर नखोजी कुनै उपाय नै थिएन। कम्प्युटरमा पुरानो रिज्युमी खोजि। नयाँ कामको अनुभब थपी, र कभर लेटर तयार गरि। प्रत्यक दिन जसो कुनै न कुनै बार तथा रेस्टुरेन्टमा अप्लाई गर्थी ऊ तर कसैले पनि सम्पर्क गरेनन महिनौ सम्म। उसलाई घरको बन्दक तिर्ने कुराले झन् धेरै सताउन थाल्यो। उसलाई थाहा थियो चिन्ताले चितामा पुर्याउछ भन्ने कुरा तर चिन्ता कहाँ कसले गर्छु भनेर हुन्छ र ? रसिदा झन् पछि झन् डिप्रेसनमा पर्दै गई। उसले कामको लागी अप्लाई गर्न पनि छोडी। उसको मनोबल एकदमै कम्जोर बन्दै गयो। साथीहरुलाई फोन गर्न पनि छोडी। एक्लै एक्लै बस्ने, एक तमासले चुरोट तान्ने गर्न थालि। दुई दुई महिना सम्म घरको बन्दक तिर्न नसकेकोले गर्दा घर फोरक्लोजरमा गयो। घरलाई बैंकले लिलाम गर्ने भयो। ऊ घर छोडेर डेरा सरि।

रसिदाको यो हालत भएको कुरा डेबिडले थाहा पायो। रसिदाले उसँग काम छोडेको भएपनि उसले रसिदाको बारेमा जानकारी राखिरहेको थियो। ऊ रसिदालाई आत्मादेखि नै माया गर्दथ्यो। रसिदा एउटा गोरे केटो संग डेटिङ्ग जाने गरेको र एक बर्ष पछि उसलाई धोखा दिएको कुरा पनि थाहा थियो। उसलाई यो पनि थाहा थियो कि रसिदा प्रेममा हैन भ्रममा छे। यसरि भ्रममा परेर जिन्दगि बिगार्नेहरू धेरै थिए कालिहरु। गोरिहरु पनि काले केटाहरु रुचाउथे सेक्सको आनन्द लिनको लागि। वास्तविक प्रेम गरेर बिहे गरेका गोरे र काली तथा काली र गोरे निकै कम थिए। थिएनन् भन्दा पनि हुथ्यो किनकि गरेकाहरु पनि एक दुइ बर्षमै डिभोर्ष गर्दथे। एकदिन डेबिड केहि फलफुलहरु बोकेर रसिदाको कोठामा पुग्यो। रसिदाको शरीर अत्यन्त कम्जोर भैसकेको थियो। उसले डेबिडलाई चिन्दा पनि चिनिन शुरुमा। डेबिडले बिगतको कुरा सम्झाउदै आफ्नो परिचय दियो। उसको परिचयले रसिदा छक्क परि। उसलाई बिश्वास नै लागेन उसको अगाडी सोफामा बसेको मान्छे डेबिड नै हो भन्ने। धेरै बेरसम्म उनीहरु बिगतका कुराहरु गरे। अन्त्यमा डेबिडले रसिदालाई भोलिपल्ट आफ्नो घरमा आउन निम्तो गर्यो। रसिदा लागुपदार्थको सेबन गर्ने सोचमा पुगिसकेकी थिई। डिप्रेसनले गलाई सकेको थियो। डेबिडको आगमनले उसको दिमागमा पाँचसय भोल्टेजको झड्का दियो। अन्धकारमा भासिदै गएको उसको जिबनमा आशा पलाउन थाल्यो। अर्को दिन ऊ डेबिडको घरमा गई। उसको अनुहारमा पहिलेको चमक हराइसकेको थियो। खुलेर हाँस्नको लागि आत्मबल रित्तियको थियो। सामान्य कुराले डिप्रेसनमा गएकि थिई ऊ। जागिर आज नभए भोलि हुन्थ्यो। उसले अप्लाई गर्न छोड्नु हुन्थेन। तर उसलाई पहिले देखि नै मनमा डरले जरा गाडिसकेको थियो। नकारात्मक सोचले दिमागमा डेरा जमाई सकेको थियो। त्यतिमात्र होइन रसिदाको व्यक्तिगत जिबनमा पनि विभिन्न घटनाहरु घट्दै गए। जति जति उ आफुलाई बलियो बनाउन खोज्थी, परिस्थिति अलग भैदिन्थ्यो। सबैतिरबाट एक्लो महशुस गर्न थाली ऊ। त्यसैले त उ चुरोटको लतमा फसिसकेकी थिई। एकदुई पल्ट त ड्रग्स लिनको लागि कोठाबाट निस्की पनि तर सजिलै कहाँ पाइन्थ्यो र ड्रग्स। ड्रग्स बेच्नेहरूको ठुलो च्यानल थियो, तर सजिलै उनीहरुको कन्टयाकमा आउन गाह्रो थियो। यदि उसको मन भौतारियको बेला ड्रग्स फेला पारेको भए ऊ सायद यो अवस्थामा हुने थिइन। एकदिन आत्महत्या गर्ने सोच आयो दिनभर। बेलुकापख आमाको फोन आयो। आमासंग रोइ बेस्मानी संग। त्यसपछि आमाकै लागि भएपनि आफु बाच्नु पर्ने निस्कर्षमा पुगी ऊ।

डेबिड रसिदालाई पर्खेर बाहिरै बसेको थियो। रसिदालाई हातमै समाएर भित्र लग्यो। घरमा अरु कोइ पनि थिएन। लिबिंग रुममा दुइजना ओल्लो पल्लो सोफामा बसेका थिए। सामान्य कुराकानी पछि मौनता छायो। डेबिड रसिदाको रुप रंग हेरेर दङ्ग परेको थियो। के नै घटना घटेको थियो र उसको जिबनमा ऊ यति छिटो जिबनबाट हार खानु पर्ने? कैयौ होटेलमा भाँडा माझेर बल्ल बल्ल काम सिकेको थियो आफुले।कति दुख पायो कति, पछि त्यहि शिपले उसलाई मालिक बनायो। दुख के हो उसले राम्ररि चिनेको थियो। रसिदाको व्यक्तिगत कुराहरु त खासै धेरै जान्दैनथ्यो ऊ, जागिरकै कारणले यो अवस्थामा नपुग्न पर्ने हो जस्तो लाग्यो उसलाई। ‘जागिरको लागि ऊ मेरो मा पनि एकचोटी आउन सक्थी ‘, उसले मनमनै सोच्यो। रसिदाको आँखामा ज्योति हराएको थियो। केहीबेरको मौनता पश्यात ऊ रसिदाको नजिकै गएर बस्यो र उसको ढाडमा हात राख्यो। ‘रसिदा म तिमीलाई अझै पनि उति नै माया गर्छु जति मा तिमीलाई त्यतिबेला गर्थे। बिगतका कुराहरु सबै बिर्सिदेउ तिमीले। यदि तिमीले मान्छ्यौ भने म अहिले नै तिमीलाई बिहे गर्न तयार छु ‘, डेबिडले पूर्ण आत्मबलका साथ भन्यो। रसिदाको आखाबाट अनायासै आशु झर्न थाल्यो। सुक्क सुक्क गरेर रुन थाली। धेरै बेरसम्म केहि जवाफ दिन्छे कि रसिदाले भनेर पर्खिबस्यो ऊ, तर नाजवाफ थिई ऊ।

बेलुका दुबैजना खाना खान बाहिर निस्के। अफ्रिकन सफारी रेस्टुरेन्टको एउटा कुनामा बसे उनीहरु। जिबनको बारेमा खुलेर कुरा गरे। दुवै जनाले बिगतलाई खोतल्नु भन्दा बर्तमान र भबिष्य कै बारेमा कुरा गर्न चाहे। छिटै बिहे गर्ने सहमति पनि भयो उनीहरुको। बेलुका दुबैजना डेबिडको घरमै बसे। डेबिड एक्लै बस्थ्यो घरमा। उसको घरमा तीनवटा बेड रुम थिए। एउटा रुम मा आफ्नै रेस्टुरेन्टमा काम गर्ने भाई बस्दथ्यो भाडामा, तर यतिबेला ऊ त्यहाँ थिएन। उनीहरु सहमतिमै एउटै कोठामा सुते। दुबैजना रातभरी चलमलाई मात्र रहे। त्यो दिन देखि दुवै जना ‘लिभिंग टुगेदर’को रुपमा बस्न थाले डेबिडको घरमा। रसिदाले पनि डेबिडको रेस्टुरेन्टमा काम गर्न थालि। उसको गुमेको जवानी रंग झन् झन् रंगिन हुदै मौलाउदै गयो।

अगस्ट महिनाको सोमबार दुवैजना नजिकैको चर्चमा गएर बिहे गरे। सुहागरातको दिन डेबिडले रसिदालाई लिएर कलिंगउड भन्ने ठाँउमा लग्यो। उसले रसिदालाई सर्पराइज दिनको लागी गाडीमा बस्ना साथ आँखामा पट्टि बाध्न लागाएको थियो। कलिंगउडको एउटा घरमा पुगेपछि आफैले डोर्याएर घर भित्र पसालेको थियो रसिदालाई । जब रसिदा ले आँखा खोलि उ झन्डै बेहोस भईन। त्यो घर बैकले केहि महिना अगाडी लिलाम गरेको रसिदा कै घर थियो। उसको आँखाबाट खुशीका आँशु झरे। आँखा चिम्म गरेर एकचोटी डेबिडको ओठमै चुम्मा दिई।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.