कथा : ब्लड रिपोर्ट

~डिल्लीराम दुलाल~

सूर्यबहादुर कार्की खास नाम। आफ्नो ठाउँमा धेरै इज्जत कमाएका। सबैले उनलाई सूर्यबाबु भन्ने गर्छन्। सरकारको परियोजनाभित्र आफ्नो जग्गा जमीन धेरै क्षति भएपछि करोड़ौं रुपियाँ क्षतिपूर्ति थापेर शहर पसेका। सुर्यबाबुले शहरमा सुन्दर घर बनाएर बसेका छन्। अग्लो घर। घरको सिह्रान तलाबाट हेर्दा थुप्रै घरहरू देखिन्छन्। साना ठूला घरहरू। गाउँमा छँदा सूर्यबाबुको धेरै हैकम चल्थ्यो। शहरमा आएपछि उनी जहिले उदाश देखिन्छन्। साँच्चै भन्नु हो भने शहरमा उनी कहिल्यै पनि रमाइलो देखिँदैनन्।

मनमाया कार्की उनकी पत्नी, जो शहरमा आएर आफ्नो परिचय बनाउन सफल भएकी छन्। गाउँमा महिला कल्याण संघकी अध्यक्षा रहेकी मनमायाले शहरमा पनि मानव अधिकार संस्था चलाउने काम शुरू गरिन्। मानव अधिकार एवं मानव कल्याण विषय भागदौड गर्दा-गर्दै उनका दिनहरू बित्ने गर्छन्। सानो परिवार सुखी परिवारमा एक छोरा र एक छोरी। छोरो हर्कबहादुर अष्ट्रेलियामा पशु डाक्टर भएर उतै व्यस्त छ। कहिलेकाहीँ ईमेल पठाउँछ।

जवाफमा सूर्यबाबुले जहिले पनि छोरोलाई ‘दशैमा घर आउनु। तेरो बिहे गर्नुपर्छ। अँ, चाँड़ै त्यहाँका एक प्रतिष्ठित डाक्टरलाई आफ्नो रक्त जाँच गराएर त्यसको रिपोर्ट पठाउनु। मैले यहाँ भर्खरै इञ्जीनियर सकेकी डाँडा घरे सरदारकी छोरी हेरेको छु। मैले यहाँ भर्खरै कुरा चलाउन जाँदा सरदारकी छोरी स्मिता सबै कुरामा राजी भएपछि उसले आफ्नो अऩ्तिम शर्तमा तेरो ब्लड रिपोर्ट हेर्ने बताई।’

जवाफमा छोराले – म व्यस्त छु, टीप-चिना मिल्यो भने छिनाफाना गर्दै गर्नु। अँ, स्मिताको फोटो प्राप्त छ भने मलाई इ-मेल गरिदिनु। दशैमा घर पक्कै आउनेछु, भन्थ्यो।इ-मेल पढ़ेपछि सूर्यबहादुर मनमनै मुरमुरिन्थ्यो। मेरै दोष हो। एउटा भएको छोरोलाई पनि विदेश पठाएर फेरि उसैलाई कुरेर बस्नु। के नपुग्दो थियो त्यसलाई। घरमा घर, गाड़ी, पैसा। मैले सम्पत्ति नकमाएको पनि होइन। आवोस् मात्रै त्यसलाई फर्किएर जान दिएछु भने र के र! तर यहाँ आएर पनि त्यसले के गर्ने? विदेशमा उसले एक महीनामा कमाउने यहाँ आएर वर्षौं पसिना बगाउँदा पनि कमाउन सक्दैन। आमा-बाबुको माया-ममता सबै बेचेर कमाउनुपर्ने कस्तो भाग्य मेरो छोराको? गाउँमा न शहरमा उसका दौंतरीहरू कुनै काम लाग्ने छैनन्।

उसँग माध्यमिक गर्ने हरिप्रसादले ड्रग्सलाई नै जीवन साथी बनायो।कस्तो समय आयो बिहे गर्नु पनि ब्लड रिपोर्ट चाहिने। प्रकृति पनि धेरै दूषित भइसकेछ। हाम्रा जीबा हजूरबाले त पाँच वर्ष नपुगी बिहे गरेको भन्थे। सुनिताकी आमालाई मैले एकै बसाईंमा पट्याएको थिएँ। गाउँको खेतमा दुबो पन्साउँदै हलोले काँचो बाँझो पल्टाउँदा मनमायाले पानी नपिलाएसम्म मनमा शान्ति हुँदैन थियो। मेरो बिहेको छिनाफाना गर्दा टिप-चिना मिलाएका थिए रे। यो ब्लड रिपोर्ट भन्नै त मैले सुनेको थिइनँ। अणु बमको आविष्कार भएपछि संसारको विनाश निश्चित छ भनेर चिन्तित रहेको विश्वलाई शान्ति कायम गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरू खोल्नुपरेको थियो। अब मान्छेको खूनलाई नै दूषित पार्ने, सृष्टिलाई नै बाधा पुऱ्याउने, सृष्टिका शत्रुको कसले सामना गर्ने? अणु बम र भौतिकवादसँग जुवारी खेल्ने कहिलेसम्म द्वन्द्व गर्ने हो।

सूर्यबाबुको जीवनमा सूर्य अस्ताउने सुरसार गर्दैछ भनेर हो या दिन दिनै आफ्नो हैकम सकिँदैछ भनेर हो हिजो आज उनी घरमा पुराण लगाउने, भद्र व्यक्तिहरूसँग गफ मार्नु, छोराको बिहे गर्ने यस्तै यस्तै विषयमा आफ्नो दिन बिताउने गर्थे। बिहान नयाँ जोश लिएर सूर्यसँगै उदाउँथे, दिनभरि विभिन्न कुरा सम्झेर साँछ परेपछि आफैं आफ निराश भएर नयाँ बिहानीको प्रतीक्षामा अस्ताउने गर्थे।आधुनिक शिक्षा प्रणालीको प्रभाव परेको प्रभाव परेको सूर्यबाबुको घरमा अन लाइन एजुकेशनको वकैदा व्यवस्था गरिएको छ। सुनिता एउटी मात्र छोरीलाई पनि घरमा अपुग केही छैन। छर-छिमेकमा उसका कुनै साथी छैनन्। इऩ्टरनेटमा उसका बग्रेल्तै साथीहरू छन्। च्याट गर्न पाए उसलाई भइगयो। मन लागे इऩ्टरनेटमा नोट्स खोज्ने नत्र च्याटमा नै व्यस्त।सुनिताले भर्खरै मात्र लाइनमा नयाँ साथी पाएकी छे। मध्य दिउँसो पनि उ च्याटमा नै व्यस्त रहन्छे। आज पनि उ लन्डन, अमेरिका र कहाँ कहाँका च्याट फ्रेण्डहरूसँग मस्ती माग्दछे।

‘यू आर डू लेट’ अलब्रट नाम गरेको मित्रले सुनिताले च्याटमा बोलाउँछन्।‘नो-नो आई एम भेरी विजी वित् माई एनोदर फ्रेण्ड’ सुनिताले जवाफ पठाउँछे।

‘तिमी कहाँदेखि?’

‘म भारत, इण्डियाबाट।’

‘ओ, यू र हिन्दुस्तानी आई लाइक हिन्दुस्तानी।’

‘थेङ्कयू’

‘आर यू भर्जिन? के तिमी कुमारी नै हौ।’

‘वाई, सिल्ली बोई, लेखेर हाँसेर साङ्केतिक भावका चिन्हहरू पठाउँछे।’

‘आई एम नट जोकिङ सिरियस, के तिम्रो त्यहाँ स्थानीय बोइफ्रेण्ड छैन।’

‘अहँ, अहँ, म यस्तो कुरामा विश्वास गर्दिनँ।’केही भावनात्मक भएर उसले फेरि लेख्छ, हैन-हैन मैले सुनेको छु, बिहे नगरेसम्म हिन्दूस्तानमा नारीहरू कुमारी नै रहन्छन्। के यो सत्य होइन?’

‘ठीकै सुनेको होला तिमीले तर पनि ठोकुवा गरेर हो भन्न सक्दिनँ तिमीलाई। तिमी त्यहाँ के गर्छौ?’प्रश्न पठाएको धेरै बेरसम्म जवाफ आउँदैन।’सुनिताले फेरि तिम्रो तस्वीर पठाउनु भनेर लेख्छे, ‘वेब केम ठीक छैन, ठीक भएपछि पठाउँला।’

‘के तिमी अविवाहिता हौ त?’

‘हजुर, म अहिलेसम्म अविवाहित नै छु।’

‘तिमी बिहे कहिले गर्ने’

‘बिहे, बिहे’

‘अँ बिहे।’सुनिता भावुक भएर लेख्छे, ‘म त यस्तो सांसारिक कुरामा विश्वास राख्दिनँ। बिहेपछि लाला बाला बाफ्रे भन्न सक्दिनँ। फेरि हाम्रो समाजबाट मानव मूल्य नै हराउँदै जाँदैछ। हत्या, बलात्कारजस्ता जघन्य अपराधले दिन दिनै नयाँ विश्वको निर्माण हुँदैछ। कल्पना गर्ननसक्ने विश्व। यस्तो स्थितिमा बिहे गरेर नयाँ सृष्टिलाई किन लज्जित पार्ने।’

‘डण्ट बी सिरियस। इट्स नेच्यूरल। तिमी किन सृष्टि विपरीत कुरा गर्छौ, यसरी नै तिमी अघि बढ्यौ भने के थाहा तिम्रो यौवन बग्दै गरेको नदीलाई छेकेर बनाइएका डामहरूले कुनै दिन पडकिएर ठूलो विनाश त गर्दैनन्? यौवन भडकिएर पथभ्रष्ट भएपछि सम्हाल्न सक्छौ के?’

‘भो-भो मलाई नै हरेस लागेको संसारमा फेरि पनि मेरो खूनलाई दूषित पार्न चाहन्न। सुनिता तिमीलाई हीनताबोध भएको मात्र हो। चाह्यौ भने तिम्रो समाजको दिशा परिवर्तन गर्नसक्छौ। तिमी जस्तो सचेत नारीले पनि यस्तो सोच्न थालेपछि कसरी हुन्छ। तिमीले नयाँ विश्वको कल्पना गरेर, समाजप्रति अन्याय गर्दैछौ। समाजमा मानव मूल्यलाई कायम राख्न आजैदेखि संघर्ष गर्नुपर्छ। अँ, तिमीले तिम्रो समाजको मूल्यको कदर भएको कल्पना गरेर नयाँ समाजको सिर्जना गर्नसक्छौ। विश्वको प्राचीन एवं धनी संस्कृतिलाई कलङ्क लाग्नबाट बचाउनुपर्छ।’

‘सायदै तिम्रो कुरा ठीकै होला। सुनिताले जवाफमा अझ तर्क पेश गर्दै लेख्छे, ‘कसलाई विश्वास गर्ने? पाँच महीनाको बालिकाको बलात्कार हुन्छ यहाँ, मानवताको कुनै अर्थ छैन। आफअनै बाबुले छोरीलाई कुकर्म गरेको दिनहूँ यहाँ समाचार-पत्रहरूले छाप्ने गर्छन्। साँच्चै भऩ्नु हो भने पुरुषको आधा अङ्गदेखि मलाई घृणा हुन्छ।’

‘बाफ्रे तीन बजिसकेछ, हाम्रो गफ आज यही राखौं ल, बाँकी भोलि फेरि गरौंला। घाम अस्ताउन लाग्यो, साँझ परेपछि खालि सर्वर डाउन हुन्छ, नेटले काम नगरेपछि हामी विदा लिन पनि त पाउँदैनौं।’ च्याटबाट बाहिर निस्किएपछि इनबक्समा एउटा मेल आइरहेको हुन्छ, अष्ट्रेलियाबाट दाजुले आफ्नो ब्लड रिपोर्ट पठाएको रहेछ। डाक्टरको भाषा उसले बुझ्न नसके पनि त्यसको प्रिण्ट आउट गरेर राख्छे। बाहिरको वातावरणलाई कालो बादलले ढाकिसकेको छ, सायद ठूलो हुण्डरी आउनेवाला छ। कम्प्यूटर सट् डाउन गरेर सुनिता आफ्नो दाजुको ब्लड रिपोर्ट देखाउन सुर्यबहादुरसमक्ष जान्छे।

December 28, 2012
Gangtok, Sikkim, India

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.