अनूदित कथा : कात्रो

~प्रेमचन्द~
अनुवादः कुमुद अधिकारी

झुप्राको दैलाका छेउमा बाबु-छोरा निभेको आगाका छेउमा चुपचाप बसिरहेका थिए। झुप्रो भित्र छोराकी जवान श्रीमती बुधिया प्रसव वेदनाले कराइरहेकी थिई। बेलाबेलामा उसका मुखबाट हृदयविदारक चित्कार निस्कँदा दुवैजना छाती थामेर बस्थे।

जाडाको समय थियो, प्रकृति पूरै शान्त थियो र सारा गाउँ अन्धकारमा विलिन भएको थियो।

घीसूले भन्यो- “अब यो बाँच्दिन होला जस्तो लाग्छ। दिनभरी त कुदेको कुद्यै, गएर त हेर् एकपल्ट।”

माधवले झर्किएर भन्यो- “मर्नै छ भने किन छिटो मर्दिन ? हेरेर के गर्नु ?”

“तँ त साह्रै निष्ठुरी निस्किस त हौ, वर्षभरि जससँग सुखले बाँचिस् उसैसँग यस्तो निष्ठुरता ?”

“म ऊ त्यसरी दुःखले तड्पिएको र वेदनलाले हात गोडा फ्याँकेको हेर्न सक्तिनँ।”

त्यो सानो टोल चमारहरूको थियो र पूरै गाउँमा बदनाम थियो। घीसूले एक दिन काम गर्‍यो भने तीन दिनसम्म आराम गर्थ्यो। माधव यति कामचोर थियो कि आधाघन्टा काम गर्‍यो भने अर्को  आधा घन्टा चिलिम पिइरहन्थ्यो। त्यसैले उनीहरू कतै पनि मजदुरी भेट्तैन थिए। घरमा एक मुठी अन्न रहुन्जेल उनीहरू काम गर्दैगर्दैनथे। एक-दुई छाक भोकै रहेपछि, घीसू रुखमा चढेर दाउरा भाँच्थ्यो र माधव बजार लगेर बेच्थ्यो। बेचेका पैसा रहुन्जेल दुवैजना यताउति बराल्लिइरहन्थे। गाउँमा कामको कमि थिएन। किसानहरूको गाउँ थियो, परिश्रमी मान्छेलाई पचासौँ काम थिए।  तर मानिसहरूले उनीहरूलाई त्यसबेला मात्र काममा बोलाउँथे, जब दुईजनाको काम एकजनाबाट लिएर सन्तोष गर्नु सिवाय अरू उपाय हुँदैनथ्यो। यदि दुवैजना साधु-सन्यायी भैदिएका भए, सन्तोष र धैर्यका लागि संयम र नियमको आवश्यकता हुँदैनथ्यो। यस्तै थियो यिनीहरूको प्रकृति। विचित्र थियो यिनीहरूको जीवन। घरमा माटाका दुई-चारवटा भाँडाहरू बाहेक केही सम्पत्ति थिएन। फाटेका थाङ्नाहरूले आफ्नो नग्नता लुकाउँथे। संसारका चिन्ताहरूबाट मुक्त तर ऋणले डुबेका। गाली खान्थे, कुटाई खान्थे, तर पनि कुनै दुःख थिएन। गरिब यति थिए कि फिर्ता आउने आस नहुँदा नहुँदै पनि मानिसहरूले केही न केही ऋण यिनीहरूलाई दिइरहन्थे। मटर वा आलुको बाली उठ्ने बेलामा अरूका बारीमा गएर मटर र आलु चोरेर ल्याई भुटेर या पोलेर खान्थे अथवा ऊखुका बेलामा ऊखु उखेलेर चुसी रहन्थे।

घीसूले यस्तै मगन्ते हिसाबले साठी वर्षको उमेर बिताएको थियो र माधव पनि सुपुत्र भांति बाबुकै पद-चिह्नमा हिँडिहरेको थियो, अझ भनौँ बाबुको नाम उज्ज्वल बनाइरहेको थियो। यसबेला पनि उनीहरू आगाका छेउमा बसेर कसैका बारीबाट खनी ल्याएको आलु पोलिरहेका थिए। घीसू की श्रीमतीको धेरै अगाडि देहान्त भएको थियो। माधवको बिहे पोहोर भएको थियो। ऊ आएपछि यस खानदानमा सुव्यवस्थाको शिलान्यास भएको थियो र यिनीहरू दुवै गैर-जिम्मेवारहरूको नरक खेपिरहेकी थिई। ऊ आएपछि यिनीहरू दुवै अझ आरामपरस्त भएका थिए। अझ टेडिन थालेका थिए। कसैले काममा बोलाउँदा, निर्लज्ज भएर दुई गुणा ज्याला माग्थे। त्यही आइमाई आज प्रसव वेदनाले मर्न आँटेकी थिई र यिनीहरू ऊ मरेपछि आरामले सुत्‍न पाइएला भनेर प्रतिक्षा गरिरहेका थिए।

घीसूले आलु निकालेर ताछ्दै भन्यो – “जा हेर् न एकपल्ट, कस्तो हालत छ उसको ? चुडेलको पिसाचले होला यस्तो पिरोलेको, अरू के हुन्थ्यो र ? ओझाले पनि एक रुपियाँ मागिहाल्छ।”

माधवलाई आफू झुप्राभित्र पसेपछि घीसूले आलुको धेरै भाग खाइदिन्छ भन्ने डर लागेको थियो। भन्यो – “मलाई त भित्र जान डर लाग्छ।”

“के को डर म यहीँ छु त !”

“तिमी नै गएर हेर न।”

“मेरी आइमाई मर्दा म तीन दिनसम्म उसका छेउमा नचटपटाई बसेको थिएँ। अनि फेरि मलाई देखेर लजाउँदिन कि क्या हो ? जसको मुख मैले कहिले हेरिनँ, उसको उध्रिएको जीउ हेर्नु ? उसलाई आफ्नो शरीरको या लुगाको होस छ र ? मलाई देखेर त खुलेर हातखुट्टा पछार्न पनि सक्तिन बिचरी।”

“मलाई त डर लागिरहेछ। बच्चा जन्मियो भने ? सुप, गुँड, तेल केही पनि त छैन घरमा।”

“सबै थोक आउँछ। भगवान् पहिले बच्चा त दिउन्। जजसले अहिले एक पैसा पनि दिएका छैनन् नि, उनीहरूले पनि बोलाई-बोलाई पैसा दिनेछन्। मेरा नौजना छोरा भए, घरमा केही थिएन तर भगवानले कसो न कसो पार लगाईहाल्नुभो।”

जुन समाजमा रात-दिन परिश्रम गर्नेहरूको हालत पनि तिनीहरूको भन्दा खासै राम्रो थिएन, जहाँ किसानहरूभन्दा किसानहरूको दूर्बलताबाट लाभ लिन पल्केकाहरू धेरै सम्पन्न थिए, त्यहाँ त्यस किसिमको मनोवृत्ति उत्पन्न हुनु कुनै नौलो कुरा पनि थिएन। म त भन्छु घीसू किसानहरूभन्दा निकै विचारवान थियो र किसानहरूको विचारशून्य मन्डलीमा सामेल नभएर बैठकबाजहरूको कुत्सित मन्डलीमा गएर मिसियो। तर उसमा बैठकबाजहरूको नीति र नियम पालना गर्ने शक्ति थिएन। त्यसैले उसका मन्डलीका अरू मानिसहरू गाउँका मुखिया र नेता भएका थिए भने, उसमाथि पूरै गाउँले औँलो ठड्याउँथ्यो। फेरि पनि उसलाई यस कुरामा सन्तोष थियो हालत पतलै भए पनि उसले किसानहरूको जस्तो कम्मर भाँच्ने खालको मेहनत गर्न पर्दैनथ्यो, र उसको सरलता र निरीहताबाट अरूले फाइदा उठाएका थिएनन्। हिजैदेखि केही खाएको थिएन। सेलाउन्जेलसम्म धैर्य गर्ने पनि आँट रहेन। कैयौँ पल्ट मुख पोल्यो दुवै जनाको। ताछिएको आलुको बाहिरी भाग त्यति तातो त लाग्दैनथ्यो तर मुखमा हाल्ने बित्तिकै तालू, ओठ र जिब्रो पोलीहाल्थ्यो र त्यस अँगारको टुक्रालाई मुखैमा राख्‍नुभन्दा निल्नु नै श्रेयस्कर हुन्थ्यो। पेटमा त आलु चिस्याउने सामानहरूको कमी थिएन। त्यसैले दुवै छिटोछिटो ताता आलु निल्थे। तर यसो गर्दा दुवैजनाका आँखाहरूबाट आँसु आइरहन्थ्यो।

घीसूलाई त्यसबेला ठाकुरको जन्ती गएको कुरा सम्झना आयो, बीस वर्ष अगाडिको कुरा। त्यस भोजमा जुन तृप्ति भएको थियो, त्यो घटना उसका जीवनमा सम्झनलायक थियो र आज पनि त्यस भोजको कुरा उसका मानसपटलमा ताजै थियो। भन्न थाल्यो- “त्यो भोज त म बिर्सिनै सक्तिनँ। त्यसबेला देखि अहिले सम्म त्यसरी पेटभरि भोजन भेटेकै छैन। केटीपक्षकाले सबैलाई पेटभरि पुरी खुवाएका थिए। साना-ठूला सबैले शुद्ध घिउको पुरी खाएका थिए। चटनी, रायता, तीन किसिमको भुटेको साग, एउटा रसवाला तरकारी, दही, अचार, मिठाई अरू के भनूँ र कि त्यो भोजमा कस्तो स्वाद पाइयो। कुनै रोकटोक थिएन, जुन चीज जति चाहिए पनि मागेर खाए हुने। मान्छेले पेटमा पानी खाने ठाउँ पनि नराखी खाएका थिए। पस्किनेहरू पनि गजबकै थिए। भयोभयो भन्दाभन्दै पनि प्लेटमा गोला-गोला सुवासित कचौरी हालिदिइहाल्थे। हातले प्लेट रोक्दा पनि धर पाइएको थिएन। त्यसपछि मुख चुठेपछि पान र अलैँची पनि। तर मलाई पान खाने धुन कहाँ थियो र ! उभिनै नसक्ने भएको थिएँ। हत्तपत्त गएर कम्बलमा पल्टिएको थिए। त्यस्तो उदार थियो त्यो ठाकुर।”

माधवले मनमनै ती खानेकुराहरूको मजा लिँदै भन्यो- “अब त हामीलाई कसैले त्यस्तो भोज खुवाउँदैन।”

“अब त कसले खुवाउँछ र ? त्यो जमानै अर्को थियो। अहिले त सबैलाई किफायत सोच्नु पर्छ। बिहेवारीमा खर्च नगर, मर्दापर्दा खर्च नगर। हैन गरिबको माल सोहोरेर यिनीहरूले कहाँ राख्छन् हँ ? सोहोर्न कमी त भएको छैन। अँ खर्चमा चाहिँ बचत गर्नु पर्ने।”

“तिमीले बीसवटा पुरी त खाएकै थियौ होला ?”

“बीसभन्दा धेरै नै खाएको थिएँ।”

“म भए त पचासवटा खान्थेँ।”

“पचास त मैले पनि खाएँ होला। निकै बलियो थिएँ। तँ त मेरो आधी पनि छैनस्।”

आलु खाएर दुवैले पानी पिए र त्यहीँ आगाका छेउमा, धोती ओडेर अजिङ्गर गुँडुल्की परेजस्तो पेटमा घुँडा घुसारेर सुते।

भित्र बुधिया अझै वेदनाले कराइरहेकी थिई।

बिहान माधवले झुप्राभित्र गएर हेर्दा उसकी स्वास्नी चिसी भैसकेकी थिई, उसका मुखमा झिँगा भन्किरहेका थिए। जड भएका आँखाले माथि कतै हेरिरहेका थिए। सम्पूर्ण शरीर धूलैधूलो थियो। उसको बच्चा पेटमै मरेको थियो।

माधव कुदेर घीसूका छेउमा आयो। अनि फेरि दुवैजना छाती पिटीपिटी रुन थाले। छिमेकीले सुने र पुरानो सामाजिक मर्यादा अनुसार  अभागी बाबुछोरालाई सम्झाउन थाले।

तर धेरै रुने कराउने अवसर थिएन। कात्रो र दाउराको व्यवस्था गर्नु थियो। पैसा त यिनका घरबाट चीलको गुँडबाट मासु गायब भएझैँ गायब थियो।

बाबु-छोरा रुँदै गाउँको जमिन्दारकहाँ गए। जमिन्दार यिनीहरूको अनुहारलाई नै घृणा गर्थे।  कैयौँ पल्ट उनले यिनीहरूलाई आफ्नै हातले पिटेका पनि थिए। चोरी गर्दा, र कतिपल्ट समयमा काममा नआउँदा। सोधे- “के भो ऐ घिसुआ, किन रुन्छस्? अचेल त तँ यताउति देखिँदैनस् पनि, यस गाउँमा बस्न चाहँदैनस् कि क्याहो ?”

घीसूले भुइँमा टाउको टेकाएर आँखाभरि आँसु पारेर भन्यो- “सरकार ! ठूलो बिपत्तिमा छु। माधवकी जहान हिजो बेलुका खसी। रातभरी बेथाले कराइरही सरकार ! हामी दुवै उसका सिरानीछेउ बसिरह्यौँ। ओखतीमूलो जेजति हुनसक्थ्यो सबै गर्‍यौँ, तर उसले हामीलाई धोका दिई। तपाईँको दास हुँ, तपाईँबाहेक कसले उसको माटो पार लगाउला। हाम्रो हातमा जे थियो, त्यो सबै ओखतीमूलोमै सिद्धियो। सरकारको दया भए उसलाई माटो दिऊँ। हजुरबाहेक अरू कसका द्वारमा जाऊँ ?”

जमिन्दार साहेब दयालु हुनुहुन्थ्यो। तर घीसूलाई दया गर्नु भनेको कालो कम्बलमा रङ लगाउनु थियो। एक पल्ट त उहाँलाई ‘भाग् यहाँबाट’ भन्दिऊँ कि जस्तो पनि लागेको थियो। कहिले बोलाउँदा पनि आउँदैन, आज आफूलाई परेपछि आएर चापलुसी गर्दैछ। हरामखोर कतै नभाको, बदमाश ! तर यो समय क्रोधित हुने या दण्डित गर्ने थिएन। मन कुँड्याएर भए पनि उहाँले दुई रूपैयाँ निकालेर फ्याँकिदिनुभो। तर सान्त्वनाको एक शब्द पनि मुखबाट निस्केन। ऊतिर फर्केर पनि हेर्नुभएन। मानौँ टाउकाबाट ठूलो बोझ उत्रिएको छ।

जमिन्दार साहेबले दुई रुपियाँ दिए पछि गाउँका बनियाँ महाजनहरूले कसरी नकार्ने साहस राख्‍न सक्थे ? घीसूले फेरि जमिन्दार साहेबको नाम बेच्न जानेकै थियो। कसैले दुई आना दिए, कसैले चार आना। एक घन्टामै घीसूसँग पाँच रूपियाँको राम्रै रकम जम्मा भयो। फेरि कतैबाट अनाज पाइयो त कतैबाट दाउरा। दिउसो घीसू र माधव कात्रो किनेर ल्याउन बजारतिर हिँडे। यता घरमा अरू मानिसहरूले बाँस आदि काट्न थाले।

गाउँका नरम मन भएका महिलाहरू आएर लास हेर्थे र उसको विवशतामा दुई थोपा आँसु खसाएर जान्थे।

बजार पुगेर घीसूले भन्यो- “दाउरा त उसलाई जलाउन पुग्ने भेटियो, हैन माधव ?”

माधवले भन्यो – “अँ दाउरा त प्रशस्तै छ, अब कात्रो चाहिएको छ।”

“हेरौँ न त, कुनै हलका-फुलका कात्रो लिऔँ।”

“अँ हौ, लास उठाउँदा उठाउँदै रात पर्छ, राती कसले कात्रो देख्छ र ?”

“कस्तो नराम्रो रिवाज हो यो, जिउँदो हुँदा तन ढाकिने गरी कपडाको धरो पनि छैन, तर मरेपछि चाहिँ नयाँ कात्रो चाहिने।”

“कात्रो त लाससितै डढीहाल्छ आखिरी।”

“अरू के नै पो बाँकी रहन्छ र ? यिनै पाँच रुपियाँ पहिले पाएको भए दवाई-पानी त गरिन्थ्यो।”

दुवैले एकअर्काका मनका कुरा बुझ्ने कोसिस गर्दै थिए। बजारमा यताउति घुमिरहे। कहिले बजाजको दोकानमा त कहिले कसकामा। खालखालका कपडाहरू, रेसमी, सूती पनि हेरे तर केहीले चित्त बुझेन। यसो गर्दागर्दै साँझ पर्‍यो। त्यसैबेला दुवै कुनै दैवी प्रेरणाले कुनै मधुशालाको छेउमा पुगे। फेरि पहिले नै निश्चय गरेर आएझैँ भित्र पसे। भित्र दुवै एकछिन अलमलिए। अन्त्यमा घीसूले गद्दीका छेउमा गएर भन्यो- “साहूजी, एक बोतल हामीलाई पनि दिनोस्।”

त्यसपछि अलिकति चिखौना आयो, अनि तारेको माछा लिएर दुवैजना बरन्डामा बसेर शान्तिपूर्वक पिउन लागे।

कैयौँ गिलास सटासट पिएपछि दुवैलाई मात लाग्न थाल्यो।

घीसूले भन्यो- “कात्रो लगाएर के पाइन्छ ? आखिर डढीहाल्ने हो। बुहारीसँगै त जाने होइन।”

माधवले देवताहरूलाई आफ्नो निष्पाप मनको साक्षी बनाएझैँ आकाशतिर हेरेर भन्यो- “दुनियाँको चलन हो यो नत्र भने मान्छेले बाहुनलाई हजारौँ रुपियाँ किन दिन्छन् ? कसले देखेको छ र परलोकमा पाइन्छ कि पाइँदैन।”

“ठूला मान्छेसँग धन छ, उडाउन्। हामीसँग उडाउनलाई के छ र?”

“तर मान्छेलाई के जबाफ दिन्छौ ?  उनीहरूले त कात्रो कहाँ छ भनेर सोध्छन् त।”

घीसू हाँस्यो- “भन्दिउँला नि पैसा चिप्लेर झर्‍यो। खोज्दाखोज्दा गर्‍यौँ, भेटिएन। ती मान्छेले विश्वास गर्दैनन् र ? हेर् न तिनैले फेरि पैसा दिन्छन्।”

माधव पनि यो अनपेक्षित सौभाग्य पाएर हाँस्यो। भन्यो- “साह्रै राम्री थी बिचरी। मर्दा पनि पिलाएरै मरी।”

आधाभन्दा बढी बोलत रित्तिसकेको थियो। घीसूले दुई सेर पुरी मगायो। चटनी, अचार र कलेजी पनि। भट्टीका छेवैमा पसल थियो। माधवले फूर्तिसाथ दुईवटा टपरामा सबै सामान लिएर आयो। पूरै डेढ रुपियाँ खर्च भयो। थोरै मात्र पैसा बचेको थियो।

दुवैजना यति बेला सानसँग बसेर पुरी खाइरहेका थिए मानौँ जङ्गलको राजा सिंहले कुनै सिकार उडाउँदैछ। न कसैलाई जबाफ दिनु पर्ने न बदनामीको डर। यी सबै भावनाहरूलाई त तिनले धेरै पहिले नै जितिसकेका थिए।

घीसूले दार्शनिक भावमा भन्यो- “हाम्रो आत्मा प्रशन्न हुँदा के उसलाई पुण्य नहोला त ?”

माधवले टाउको निहुराएर सहमती जनायो- “किन हुँदैन, पक्कै हुन्छ। भगवान तिमी अन्तर्यामी छौ। उसलाई बैकुण्ठ लैजाऊ है। हामी दुवैले हृदयबाटै आशीर्वाद दिइरहेका छौँ। आज जुन भोज भेटियो त्यो त जिन्दगीभरि भेटिने थिएन।”

एकछिन पछि माधवलाई एउटा शङ्का उब्जियो- “के हो दादा ! एक न एक दिन त हामी पनि त्यहाँ जान्छौँ नै होइन ?”

घीसूले यो सरल प्रश्नको  केही उत्तर दिएन। ऊ परलोकको कुरा सोचेर त्यो आनन्दलाई बाधा पुर्‍याउन चाहँदैनथ्यो।

“यदि उसले माथि हामीलाई कात्रो किन नदिएको भनेर सोधी भने के जबाफ दिने ?”

“तेरो टाउको भनौँला ?”

“सोध्न त पक्कै सोध्छे !”

“तलाईँ कसरी थाहा भयो कि उसले कात्रो पाउँदिन ? तैँले मलाई गधा ठानेको छस् ? साठी वर्ष के मैले दुनियाँमा घाँसमात्रै काटिरहेको छु ? उसले कात्रो पाउँछे र एकदम राम्रो कात्रो पाउँछे।”

माधवलाई विश्वास लागेन। भन्यो- “कसले दिन्छ ? पैसा त तिमीले चट् पार्‍यौ। उसले सोध्ने त मसँग हो। उसको सिउँदामा सिन्दूर त मैले हालेको थिएँ। किन भन्दैनौ ? कसले दिन्छ ?”

“तिनैले दिन्छन्, जसले अहिले दिएका छन्। अँ, अब पैसा हाम्रो हातमा आउँदैन।”

अँध्यारो बड्दै गएपछि मधुशालाको रौनक पनि बड्दै गयो। कोही गाउँथ्यो भने, कोही गफ चुट्नमा व्यस्त थिए भने कोही आफ्ना साथीलाई अँगालो हालेर मस्त। कसैले आफ्ना साथीको मुखैसम्म गिलास पुर्‍याइरहेका थिए।

त्यहाँको हावामा मात थियो, हावामा नशा। कैयौँ त यहाँ आएर एक डाडु रक्सीमै मस्त हुन्थे। रक्सीले भन्दा यहाँको वातावरणले उनीहरूमा नशा भरिदिन्थ्यो। जीवनका व्यवधानहरूले उनीहरूलाई यहाँ तानेर ल्याउँथ्यो, उनीहरू केही क्षणका लागि आफू बाँचेको हो या मरेको हो, बिर्सन चाहन्थे। न बाँच्थे न मर्थे।

त्यहीँ ती बाबुछोरा अझै पनि सुरुप्प पार्दै आनन्द लिइरहेका थिए। सबैको दृष्टि यिनीहरूतिरै थियो। कति भाग्यशाली थिए दुवै, सिङ्गै बोतलका बीचमा थिए।

पेटभरि खाएर माधवले उभ्रिएका पुरीहरूले भरिएको टपरो ऊतिरै भोका आँखाहरूले हेरिरहेको एउटा भिखारीलाई दियो। अनि उसले दान दिनुको गौरव, आनन्द र उल्लासको अनुभव जीवनमा पहिलोपल्ट गर्‍यो।

घीसूले  भन्यो- “ल, लैजा र मज्जाले खा र आशीर्वाद दे। जसको कमाई हो ऊ त मरिहाली। तर तेरो आशीर्वाद उसकहाँ अवश्य पुग्छ। रौँ-रौँबाट आशीर्वाद दे, धेरै मेहनत गरेर कमाएको पैसा हो।”

माधवले फेरि आकाशतिर हेरेर भन्यो- “ऊ त वैकुन्ठमा जान्छे दादा ! वैकुन्ठकी रानी बन्छे।”

घीसू उभियो र उल्लासका लहरमा पौडिँदै भन्यो- “हो छोरा ! वैकुन्ठमा जान्छे। कसैलाई सताएकी छैन, कसैलाई दबाएकी छैन। मर्दामर्दै हाम्रो सबभन्दा ठूलो ईच्छा पूरा गरेर मरी। ऊ वैकुन्ठमा न गए अरू को जान्छन् त ? ती मोटेहरू जान्छन् जसले दुवै हातले गरिबलाई लुट्छन्, र आफ्नो पाप पखाल्नलाई गङ्गामा नुहाउँछन् र मन्दिरमा जल चढाउँछन् ?”

श्रद्धालुपनको यो रङ तुरन्तै फेरियो। अस्थिरता नशाको एउटा विशेष गुण हो। दुःख र निराशाको आघात भयो।

माधवले भन्यो- “तर दादा। बिचरीले जिन्दगीमा साह्रै दुःख पाई। कति दुःख पाएर मरी।” ऊ हातले आँखा छोपेर कराई कराई रुन थाल्यो।

घीसूले सम्झाउन थाल्यो- “किन रुन्छस् छोरा, खुसी हो, किनकि ऊ मायाजालबाट मुक्त भई, जन्जालबाट मुक्त भई। ठूलै भाग्य लिएर आएकी रहीछ र नै यति चाँडै संसारको माया मोहको बन्धन फुकालेर गई।”

अनि दुवैजना उभिएर गाउन थाले- “ठगिनी क्यों नैना झमकावे ! ठगिनी।”( ठगिनी किन आँखा झिम्क्याउँछेस् ! ठगिनी।)

पियक्कडहरूका आँखाहरू यिनैमा केन्द्रित थिए तर यिनीहरू आफ्नै सुरमा मग्न भएर गाइरहेका थिए। फेरि नाच्न थाले। उफ्रिए, कुदे। लडे, उठे। भाव बताए, अभिनय गरे। त्यसपछि नशाले लठ्ठ भएर त्यहीँ लडे।

——————————
मुन्सी प्रेमचन्द
जन्मः ३१ जुलाई १८८०, मृत्युः ८ अक्टोबर १९३६
उपन्यास सम्राट, कलमको सिपाही, कलमको जादूगर आदि नामले चिनिइने मुन्सी प्रेमचन्दका कैयन् कालजयी उपन्यास र सैयौँ कथाहरू छन्। गोदान, रङ्गभूमि, कर्मभूमि, कायाकल्प, निर्मला, प्रेमाश्रम, सेवासदन, गबन, प्रतिज्ञा, वरदान आदि उनका उपन्यासहरू हुन् भने सम्पूर्ण कथाहरूको सङ्ग्रह मानसरोवर हो। उनले लेखेका हरेक शब्दहरू चिनियाँ र रूसी भाषामा अनुवाद भएका छन्। उनका कृतिहरू चीन र रूसका विश्वविद्यालयहरूमा पठनपाठन गरिन्छन्।

(स्रोत : साहित्यसरिता डट अर्ग)

This entry was posted in अनूदित कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.