~दिपक निरपेक्ष~
कति भाग्यमानी रहेछन यी आँखा ,
सारा दुनियाँ छाडी उसैमा ठोकियो,
भएर आभारी , देउरालीमा पाती,
टेकाउँदै शीर, सब देउता ढोगियो ।
जति जे छन मनका खुशी या वेदना,
उमंग उदासी उसैमा पोखियो,
कति माया होला उसको मुटु भित्र,
न कहिले नापियो, न कहिले जोखियो ।
कस्ले भन्छ पिरतिमा चोट हुँदैन,
एकअर्का को भरोसाले छोपियो,
हराएर जाने राधाको के कुरा,
मुटुको कहानीमा मिरा खोपियो।
उसैको हृदयमा सुटुक्क पसेर,
उसका मिठा मिठा भावना चोरियो,
अगि सम्म ढुक्ढुक गरिराथ्यो मुटु,
कता बिर्सिए खै कता पो छोडियो।
अँध्यारो मुटुको कुनामा यो दियो,
जलाएर जाने प्रेयसी को थियो?
यो निस्पट अन्धकारमा ब्युँझिएर
आँखा बन्द गर्दै एकैछिन सोचियो।
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट प्रेषण गरिएको ।)