संस्मरण : अक्षरहरूसितको भेट

~नारायण तिवारी~

गोरखबहादुर सिंहका बारेमा लेख्न बसेको छु । स्मृतिमा चलचित्र भाँति विभिन्न सन्दर्भ, स्थान र घटनाहरू आउँछन् । गोरखबहादुर सिंहको हँसिलो प्रिय अनुहार आउँछ स्मृतिमा ।

साहित्य यात्रामा लागेका धेरै यात्रीहरू पत्रपत्रिकाहरूमा प्रकाशित रचनाहरूबाट, पुस्तकहरूबाट परिचित भइरहेकै हुन्छन् । तर साक्षात् भेटघाट नजुरिरहेको हुन सक्छ । कहिल्यै भेटघाट नभएर पनि यो यात्राका यात्रीहरू यात्रामा एकअर्कालाई पढिरहेका भने हुन्छन् । एकअर्काको छवि मन–मस्तिष्कमा निर्माण गरिरहेका पनि हुन्छन् । रचनाको तेजले छवि निर्माणमा राप र तापको काम गरिरहेको हुन्छ । गोरखबहादुर सिंहलाई पनि मैले पत्र–पत्रिकामा पढ्दै आएको थिएँ । र, उहाँको रचनाको तिक्ष्णताले मभित्र उहाँको छवि निर्माण पनि राप र तापयुक्त वा भनौँ ओजस्वी हुँदो थियो । खासगरी कथा लेखनमा मैले गोरखजीलाई पत्याउने गरी मार्क गर्न थालेको थिएँ । संभवत उहाँ र म एकै समयका, एउटै कालखण्डका कथा लेखक थियौँ । तर हाम्रो साक्षात् भेट, परिचय जुरिरहेको थिएन, भइरहेको थिएन । एउटै यात्राका यात्रीहरू कसो भेटघाट नभई देहावसानको महायात्रामा विलिन भएनछौँ ।

सम्झन्छु गोरखजीसित भेट भएको, साक्षात् परिचय भएको पहिलो दिन । धेरै पनि भएको छैन, २०६७ साल जेठमा ‘तराई–मधेसका कथा’ प्रकाशित भएको थियो । र, यसै कथासङ्ग्रह प्रकाशन सन्दर्भको अन्तर्यमा उहाँसित मेरो साक्षात् चिनाजानी हुन जुरेको थियो । ‘तराई–मधेसका कथा’, तराई–मधेसको परिवेशमा लेखिएका विभिन्न कथाकारहरूको कथाहरूको सङ्कलन सङ्ग्रह थियो । यस सङ्कलन सङ्ग्रहको बीज उमार्नु भएको थियो अग्रज कथाकार परशु प्रधानले । परशु दाइ र मैले भएर यस सङ्ग्रहको सम्पादनको अभिभारा बोकेका थियौँ । प्रथम पटक मेरो भेट गोरखजीसित उहाँकै कार्यालय कक्षमा ‘तराई–मधेसका कथा’मा उहाँसित कथा माग गर्ने सन्दर्भमा भएको थियो । यो दुईहजार छ्यासठसाल वा दुईहजार पैँसठ्ठी सालतिर हुनुपर्छ । म उहाँलाई भेट्न युवा तथा खेलकूद मन्त्रालय पुगेको सम्झन्छु । मिलनसार व्यक्तित्व, सरल, मृदुभाषी बोलीवचनका साथ उहाँले मसित हार्दिकता प्रकट गर्नु भएको थियो । सरकारी राजपत्राङ्कित दोश्रो तहको व्यक्तित्व तर कुनै दम्भ, पद–प्रतिष्ठाको उच्चताबोध उहाँमा मैले देखिन । लेखनको उच्चताबोधयुक्त दम्भ पनि मैले उहाँमा त्यसबेला र पछि–पछिका भेटहरूमा पनि देखिन । नभए त देखेको छु, भेटेको छु, भोगेको छु– मानिसहरू कसरी आफ्नो स्वमूल्याङ्कनले स्वघोषित ‘उच्चता’को दम्भमा गजक्क परिरहेका हुन्छन् । उहाँको रचनाको तिक्ष्णताले त मलाई छोएकै थियो, व्यक्तित्वको सरलताले पनि म छोइएँ । त्यसपछि त म उहाँको कथाआदि रचनालाई मात्रै हैन व्यक्ति उहाँलाई समेत मनपराइने भएँ ।

गोरखजीसित मेरो जम्माजम्मी पाँच वा छ पटक भेट भएको थियो होला । म काठमाडौँ उपत्यकामा बस्न थालेको २०६५ सालपछि भएका थिए उहाँसितका भेटघाटहरू । तर त्यो भेटघाटको क्षण पनि लामो हँदैनथ्यो । कहिले बाटोमा हिँड्दा–हिँड्दै, कहिले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सभाहलको अगाडिको सडक छेऊमा, कहिले परशु प्रधान दाइको घरको ससानो पुस्तकालय कक्षमा, कहिले उहाँकै घरमा…! उहाँको घरमा भेट गर्न जानेमा परशु प्रधान दाइ, चन्द्रप्रसाद भट्टराई जी, पवन आलोक जी र म थियौँ । यो सन्दर्भ पनि ‘तराई–मधेसका कथा’ प्रकाशनकै थियो । अर्थात् गोरखजीले युवा तथा खेलकूद मन्त्रालय अन्तर्गत ‘तराई–मधेसका कथा’ प्रकाशनका लागि ‘फण्ड’ उपलब्ध गराउन सहयोग गर्नु भएको थियो । यद्यपि पछि, जतिबेला गोरखापत्रमा सूचना प्रकाशित गरेर योजना आह्वान गरियो त्यतिबेला, योजना स्विकृत गर्ने बेला गोरखजी उमेरको हदम्यादका कारणबाट सेवा निवृत्त हुनु भएको थियो । तथापि उहाँका त्यस मन्त्रालयका सहकर्मीहरूले उहाँले थालनी गर्नु भएको कामलाई अनुमोदन गरिदिएका थिए । र यसरी, युवा तथा संस्कृति मन्त्रालयको सहयोगमा नेपाल स्रष्टा समाज प्रकाशक रहेर ‘तराई–मधेसका कथा’ प्रकाशन हुन सकेको थियो । यसको अन्तर्यमा श्रेय गोरखबहादुर सिंहको थियो भन्ने म सम्झिरहेको छु ।

विहानको समयमा हामी उहाँको घरमा पुगेका थियौँ । सामुहिक कुराकानी भएको थियो । धेरैबेर बसेका थिएनौँ । चिया पिएर हामी छुट्टिएका थियौँ ।

एकपटक नयाँ बानेश्वर अन्तर्राष्ट्रिय सभाहल अगाडि बाटोको छेऊमा जहाँ झुरूम्म मानिसहरू बसेर गफ गरिरहेका हुन्छन्, जहाँ सडक–पसलमा बसेर वा उभिएर मानिसहरू चिया पिइरहेका हुन्छन्, त्यसै ठाउँमा गोरखबहादुर सिंह भेट हुनु भयो । गोरखबहादुर सिंह मात्रै होइन त्यहाँ मेरा मित्र अशेष मल्ल र उहाँकी श्रीमती सावित्री मल्ल कक्षपती पनि भेट हुनु भयो । प्रसङ्ग रमाइलो छ– म घरि अशेषजीसित, घरि गोरखजीसित उभिएर एकैठाउँमा, एकैपटक वातमारिरहेको थिएँ । भलाकुसारी, आदान–प्रदान गरिरहेको थिएँ । तर अशेष मल्ल र गोरखबहादुर सिंहका बीच कुराकानी भइरहेको थिएन । मैले झस्किएर सोधेँ– “लौ, तपाईँहरूका बीच चिनजान छैन ?” दुवैजनाले ‘नभएको’ भन्दै टाउको हल्लाउनु भएको थियो । त्यसपछि मेरो पालो ‘उहाँ अशेष मल्ल’, ‘उहाँ गोरखबहादुर सिंह’ भन्नासाथ दुवैजना आत्तिएका थिए । अर्थात् खुसीले आत्तिएका थिए, खुसी भएका थिए ।

त्यसपछि त म वेपत्तासित ‘ओझेल’ परेँ । कुराकानी उनीहरूकै । प्रसङ्ग, सन्दर्भ सबै उनीहरूकै । बीचमा प्रवेश गर्नु भयो सावित्री मल्ल कक्षपती । उहाँले त झन् कति विगत कोट्याउनु भयो कति । पूर्व परिचित झैँ । पाल्पाका सावित्री मल्लको घरमा नै भन्नु भएको थियो सायद, साहित्यका पुस्तकहरू, राजनीतिका पुस्तकहरू छोडेर एउटा मानिस बेपत्ता । कसले छोडेर गयो यी किताबहरू ? प्रहरीको निगरानीमा परेको हो कि ? धमिलो सम्झिन्छु– सावित्री मल्लले, पुराना कुराहरू धेरै स्मरण गर्नु भएको थियो । सन्दर्भमा हुनुहुन्थ्यो त्यो बेपत्ता मानिस गोरखबहादुर सिंह । यो विषय मैले उभिएर त्यहाँ जति सुनेँ, जति सम्झन सकेँ, जति बुझ्न सकेँ अहिले यस्तै सम्झिएँ – धमिलो । सावित्री मल्लसित गोरखबहादुर सिंहको पाल्पा बसाइका सन्दर्भहरूका बारेमा बुझ्नु परे अझै बुझ्न सकिएला नै, भन्ने लाग्छ ।

त्यस दिनको गोरखबहादुर सिंह, अशेष मल्ल सहितको भेटघाटको प्रसङ्गले म छोइएको पनि थिएँ । खुसी पनि लागेको थियो कि दुवै एउटै नाउमा सवार छन्, एउटै पोखरीमा बिहार गर्छन् तर एकअर्कालाई चिन्दैनन् । जब चिन्छन् औधी खुसी हुन्छन् । र, चिनाउने माध्यम बन्छु म, अर्को सुदूर पूवैको पोखरीबाट भर्खरै आएको मान्छे । म विराटनगरको मान्छे, भर्खरै यहाँ आएर एकदिन काठमाडौँमै घर बनाएर स्थायी बसोबास गरिरहेका दुई कहलिएका मित्रहरूलाई चिनाउने माध्यम बन्छु । र, लाग्छ– यस्तो पनि हुँदो रहेछ । ठूलो ठाउँ, राजधानी भनेर मात्रै के गर्नु, सधैँ चिनिइरहेका, एकैठाउँमा बसिरहेका मानिसहरू अपरिचित बसिरहेका हुन्छन् । त्यो प्रसङ्ग मेरो सम्झनामा अविष्मरणीय भएर रहने प्रसङ्ग हुन पुग्यो ।

एकदिन मीनभवनमा गाडीबाट उत्रिएर परशुदाइकहाँ उहाँको घरतर्फ जाँदै गर्दा बाटैमा भेटिनु भयो गोरखबहादुर सिंह । त्यतिबेला धेरै बेर उभिएर हामीले वात मा¥यौँ । अन्तरङ्ग कुराहरू ग¥यौँ । सम्झिन्छु, त्यति बेला आन्तरिक हालखबर सोधपुछ भए । उहाँ ‘सेवानिवृत्त’ भइसक्नु भएको थियो त्यसबेला । उहाँले भन्नु भएको थियो विदेश गएर केही महिना बसेर आएको कुरा । विदेशमा उहाँका सायद छोरा वा छोरी थिए, सम्झना आएन को थिए भन्नु भएको । विदेश गएर, बसेर आएको भन्नु भएको थियो वा विदेश जाँदैछु, त्यो पनि उति सम्झना आएन । जेहोस् सन्दर्भ ‘रिटायर्ड’ भएपछिको ‘के गर्दै हुनुहुन्छ ?’ को प्रत्युत्तर थियो ।

मैले पनि आफ्ना आन्तरिक कुराहरू राखेको थिएँ । भनेको थिएँ– “मलाई ‘पोलिसिष्टिक किड्नी डिजिज’ भन्ने रोग छ ।”

उहाँले कति सजिलै भन्नु भएको थियो (सम्झन्छु) – “आ, त्यो केही होइन, मेरो पनि किड्नीमा थुप्रै गाँठागुँठी छन्…!”

मैले भनेको थिएँ – “म मुख बार्छु । रक्शी, माछामासु खान छोडेँ यसै पोलिसिष्टिक किड्नी डिजिजले गरेर !”

उहाँले भन्नु भयो (सम्झन्छु)– “आ, केही हुँदैन । म त खान्छु…!”

मैले झट्ट उसबेला पनि तुलना गरेथेँ, आपूmलाई र उहाँलाई । यो एकबारको जुनीलाई उहाँ कति हलुकासित लिनु हुन्छ र म डरछेरूवा, कति डराउँछु । डाक्टरले रक्शी नखान भनेकै छैन (सोध्ने कुरा पनि भएन, मैले सोधेको छैन– ‘रक्शी खानु हुन्छ कि हुँदैन डाक्टरसाहब ?’) तर म डरले खान्न । डाक्टरले ‘माछामासु कम’, ‘प्रोटिन कम’ लेखे– मैले माछामासु बन्द नै गरेँ ।

मैले भनेको थिएँ– “म प्रणायाम गर्छु सधैँ रामदेवको प्रणायाम, डेढ घण्टा !”
उहाँले सायद उहाँ पनि यो प्रणायाम भने नित्य गर्ने कुरा भन्नु भएको थियो । उति सम्झन्न, तर लाग्छ त्यसो भन्नु भएको हो कि !

त्यसरी बाटोमा उभिएरै धेरै वातमार्दा उहाँलाई प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभासद बनाइने प्रस्ताब आएको कुरा पनि उहाँले मसित खोल्नु भयो । यसबाट पनि बुझ्न सकिन्छ, उहाँ कति मित्रवत् हुनुहुन्थ्यो, कति सरल हुनुहुन्थ्यो । उहाँले भन्नुभएको थियो– साहित्य तर्फको अमुक संगठनको सदस्य बन्नु पर्नेछ त्यसका लागि उहाँले । त्यो प्रस्ताबलाई ठाडै अस्विकार गरेर प्रज्ञा प्रतिष्ठानको कार्यकारी प्राज्ञ बन्ने अवसर उहाँले गुमाउनु भएको थियो । यो थियो कुनै बन्धनमा बाँधिन नचाहने एक आजाद लेखक गोरखबहादुर सिंहको स्वाभिमान । उहाँ लोभिनु भएन, चुक्नु भएन, झुक्नु भएन । यो कुरा कतिलाई थाहा होला, नहोला, कतिलाई भन्नु भएको होला, नहोला तर उहाँका निकटतम इष्टमित्रजनमा, सम्बन्धित संगठनका मानिसहरूमा अवश्य विदित होला । यी राजनीतिक दलहरू, यी सरकार चलाउने मान्छेहरूलाई सोध्नु छ मेरो पनि एउटा प्रश्न– असल राम्रा मान्छे चाहियो कि, कुरूप भए पनि जस्तो भए पनि ‘हाम्रा’ मान्छे चाहियो….?

यसैगरी एकदिन गोरखजीसित परशु प्रधान दाइकहाँ भेट भएको सम्झन्छु । त्यो बेला खासै छोइने, उल्लेखनीय वार्ता उति भएन लाग्छ ।

त्यसपछि त यो ‘साहित्य संसार’को यात्रा मात्रै होइन, यो एकबारको जुनीको यात्रा पनि समाप्त गरेर, आफन्तजनलाई रूवाएर, साथीभाइ इष्टमित्र, छरछिमेकलाई छोडेर उहाँ हिँड्नु भयो– कसैले नदेखेको महायात्रामा…। उहाँ अब कहिल्यै भेट हुनुहुने छैन । साक्षात् अन्तरङ्ग कुराकानी उहाँसित फेरि कहिल्यै हुने छैनन् । तर पनि सम्झनामा उहाँ आउन छोड्नु हुने छैन । उहाँले सिर्जना गरेर जानु भएको पूmलवारीका पूmलहरूसित हाम्रो सधैँ भेट भइरहने छ । मैले उहाँलाई साक्षात् भेट्न, देख्न, चिन्न, उहाँसित बोल्न नपाएको भए कसरी थाहा पाउँथेँ उहाँको सरल व्यक्तित्व, उहाँको मित्रवत् व्यबहार ! धन्य रहेछु म । म अशेष मल्लसित उहाँको परिचय गराउने माध्यम बनेकोमा पनि आपूmलाई धन्य ठानिरहेको छु । तथापि यी सबै भेटहरू भन्दा पनि ठूलो भेट त उहाँका कथाआदि कृतिहरू नै हुन् । सधैँ ‘भेट’ गरिरहन पाइने, यो पृथ्वी, यो पृथ्वीमा मानिसहरू बसोबास गरिरहुञ्जेल पढ्न पाइरहने – अक्षरहरूसितको भेट ! सहृदयी गोरखबहादुर सिंह, तपाईँले हामीलाई सशरीर छोडेर जानु भएतापनि तपाईँ हाम्रो भेट अक्षरहरूमा भइरहने छ । तपाईँका कथाहरूमा भइरहने छ…!

++
(स्रोत : ‘गोरखबहादुर सिंह : श्रद्धा-सुमन स्मृतिग्रन्थ’ )

This entry was posted in संस्मरण and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.