स्रष्टा परिचय : समालोचनाकी देवी

~सेवा भट्टराई~

लक्खीदेवी सुन्दास, २५ जेठ १९९१ – ३० साउन २०७६ । कोलकातामा जन्मिएकी लक्खी (बङ्गाली भाषामा लक्ष्मी) कालान्तरमा नेपाली भाषाको साहित्यमा सरस्वतीकै वरदान बनिन्।

हँसिलो अनुहारमा सेतै फुलेको कपाल, लर्बरिएको बोली र धुमिल स्मृति । मैले दुई वर्षअघि सिलिगुडीको एउटा अपार्टमेण्टमा भेट्दा विदुषी डा. लक्खीदेवी सुन्दासको छायाँ मात्रै बाँकी थियो । तर उनको मीठो बोली र मिजासिलो स्वभाव भने जस्ताको तस्तै । उनै लक्खीदेवीको मुटु रोगका कारण ८५ वर्षको उमेरमा ३० साउनमा सिलिगुडीकै एक नर्सिङ होममा निधन भयो ।२५ जेठ १९९१ मा भारत पश्चिम बङ्गालको कोलकातामा जन्मिएकी लक्खीदेवीले सम्भवतः एक जुनीमा एक मानिसले गर्न सक्ने भन्दा धेरै गरिसकेकी थिइन् । दलित परिवारमा जन्मेर भेदभावहरू छिचोल्दै उच्च शिक्षासम्म पुग्नु नै त्यो समयका लागि ठूलो उपलब्धि थियो । तर, सुन्दास त्योभन्दा निकै अघि बढिन् । त्यो वेला कोलकातामा नेपाली छोरी असुरक्षित मानिन्थे । धेरैले सुरक्षित हुनैका लागि मुसलमानसँग दोस्रो र तेस्रो पत्नी बनेर विवाह पनि गरेका थिए । तर, लक्खीका बुवा चन्द्रबहादुर सिंह परियार र धनमायालाई यो मञ्जुर थिएन । ’एक दिन मेरी छोरी पनि यसैगरी गइदिई भने बर्बाद हुन्छ’ भन्ने सोचेर लक्खीलाई पुनः दार्जीलिङ फर्काइयो । र, राजबारीमा घरै किनेर राखियो ।

सुन्दासको अधिकांश जीवन दार्जीलिङमा बित्यो । साहित्य र दर्शनशास्त्रमा स्नातक गरेपछि उनले नेपालको त्रिभुवन विश्वविद्यालयबाट २०४६ सालमा ‘नेपाली कवितामा दार्जीलिङको योगदान’ विषयमा विद्यावारिधि गरिन् । केही समय वकालत पेशा समेत अँगालेकी उनले धेरै समय भने शिक्षणमै बिताइन् । दार्जीलिङको लोरेटो कलेज हुँदै त्यहाँको सरकारी कलेजकी पहिलो महिला प्रधानाध्यापक र भारतीय नेपाली नारी साहित्यिक मञ्चकी संस्थापक अध्यक्ष समेत बनिन् ।

मैले सन् २०१७ को फेब्रुअरीमा भेट्दा भने उनले धेरै कुरा बिर्सिसकेकी थिइन् । लामो समय दार्जीलिङमा बसे तापनि स्वास्थ्य प्रतिकूल भएपछि उनी सिलिगुडी झरेर एउटा अपार्टमेण्टमा एक जना सहयोगीसँग बसिरहेकी थिइन् । दुई छोरा अन्तै बस्थे, र त्यतिवेला उनकी बुहारी उनलाई भेट्न आएकी थिइन् । म पुग्दा सुन्दास सुतिरहेकी थिइन् । टाढाबाट आफूलाई भेट्न कोही आउँदा उनी खुशी देखिन्थिन् । तर, धेरै प्रश्नका उत्तर दिने अवस्थामा उनी थिइनन् ।

“मेरो बारेमा नेपालमा सुन्नुभएको थियो ?” उनले मुस्कुराउँदै सोधिन् । मैले धेरै सुनेको बताएपछि उनले भन्न थालिन्, “तपाईंको नेपालमा एउटा संस्था थियो नेपाली कांग्रेस भन्ने । त्यसका बीपी कोइरालासँग मेरो परिवार नजिक थियो । नेपालका थुप्रै साहित्यकार मेरो घरमा आउनुहुन्थ्यो ।”

उत्तराद्र्धको खेल, ती साहित्यकार को को थिए भनेर सम्झिन भने उनलाई निकैबेर लाग्यो । धेरैबेर गम्दै मस्तिष्कमा गडेका ती नाम उनको मुखमा आइपुग्यो, “बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा । म लेख्छु भन्ने उहाँहरूलाई थाहा थियो । मैले म्याट्रिक पनि गरेकी थिइनँ । तर उहाँहरू मलाई खुब प्रोत्साहन दिनुहुन्थ्यो ।”

यस्तै प्रोत्साहनकै कारण हुनसक्छ, लक्खीदेवीले साहित्यका धेरै विधामा कलम चलाइन् । उनका अधिकांश कवितामा आफ्नो समाज र भोगेको भेदभावको विरोध पाइन्छ । कलेजमा पढाउने भए तापनि उनी त्यस्ता भेदभावबाट अछुतो थिइनन् ।

भारतीय नेपाली साहित्यको समालोचना गरेर ती रचनालाई नेपाली साहित्य जगतमा चिनाउने र स्थापित गराउने महत्त्वपूर्ण काम लक्खीदेवीले गरिन् । उनका आहत अनुभूति (कथासंग्रह), सम्भावित अर्थ समर्पित एकान्त (कवितासंग्रह), समय र समीक्षणा (समालोचना) जस्ता कृति प्रकाशित छन् । अग्रज साहित्यकारको प्रेरणामा हुर्किएकी लक्खीदेवीले समकालीन साहित्यकारहरू इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काइँलासँग पनि सङ्गत गरिन् । अगमसिंह गिरी, अच्छा राई रसिक, बद्रीनारायण प्रधान, गुमानसिंह चाम्लिङ पनि उनका सहकर्मी थिए ।

पश्चिम बङ्गाल सरकारको तर्फबाट ‘माइकल मधुसूदन पुरस्कार’ प्राप्त गर्ने लक्खीदेवी पहिलो नेपालीभाषी महिला हुन् । लक्खीदेवी नेपाल सरकारबाट भानुभक्त स्वर्णपदकले पनि विभूषित भइन् ।

लक्खीदेवीले आफ्नो निधनमा नेपाली साहित्य जगत र विशेषगरी भारतमा रहेका नेपाली साहित्यप्रेमीमा दुःख व्यक्त गर्ने प्रशस्त प्रसङ्ग दिएर गएकी छन् । जीवन, संघर्ष, अध्ययन लगायतका मेरा प्रश्नको उत्तर पनि आफूसँगै लिएर गइन् ।

(स्रोत : हिमाल खबर – ८–१४ भदौ २०७६)

This entry was posted in स्रष्टा परिचय and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.