व्यक्तित्त्व समीक्षा : खाँटी अनुवादक

~राजकुमार बानियाँ~

थुप्रैचोटि अन्तिम घोषणा गरे खगेन्द्र संग्रौला, ७४, ले । अन्तिम, अन्तिम भन्दाभन्दै विदेशी भाषाका पुस्तक अनुवादको सुसेधन्दा छाड्न सकेनन् । जोन उडको माइक्रोसफ्टदेखि बाहुनडाँडाताका नै अनुवादलाई अन्तिम बनाउने संकल्प गरेका उनलाई चिनगिज आइतमातोभको उपन्यास प्रथम गुरु आइलाग्यो, त्यसपछि टीएच भारिएरको संस्मरण एक पिताका सम्झनाहरू । सत्यजित रेका कथाहरू पनि उनकै करकमलबाट नेपालीमा आयो ।

यसपालि पत्रकार विजय कुमारले आफूलाई आइलागेको जीवनी ‘खगेन्दाइ’ लाई सुम्पिए । आफ्ना पार्टनरको फर्माइस उनले पनि टारिहाल्न सकेनन् । अन्तिम अनुवाद असलै होस् भनेर सकारे पनि । उनले त्यो कामका लागि बाहिरफेर कतै निस्केनन् । कार्यक्रममा कहीँ देखिएनन् । हातेफोन बन्द गरे । र, अढाई महिनामा सन्दुक रुइत फत्ते भयो ।

कन्नड लेखक विवेक शानभागको उपन्यास घाचर घोचरको विमोचनमा यी ‘सुपरस्टार अनुवादक’ ले फेरि त्यही दुखिया घोषणा गर्नुपर्‍यो, ‘अब म बूढो भएँ । अनुवादबाट सन्न्यास लिएँ ।’ त्यो धम्कीजस्तो, घुर्कीजस्तो पनि सुनिएन । संग्रौलाले भने, ‘अब म बूढो भएँ । आइन्दा युग पाठक मेरो अनुवाद उत्तराधिकारी हो । अनुवाद लेखिमाग्न कोही आए म सोझै उनैकहाँ पठाइदिन्छु ।’

खास भन्ने हो भने संग्रौलालाई मौलिक सिर्जनाभन्दा अनुवादले नै चिनाएको छ । पाँच दशकपहिले नै उनको अनुवादक हुलिया बनिसकेको थियो । ०२६ मा बीएको जाँच दिएर बसेका थिए । ‘महेन्द्ररत्न छात्रवृत्ति’ सिद्धिसकेकाले साथीभाइकहाँ आश्रति थिए । भोटाहिटीमा निरञ्जनगोविन्द वैद्यको लाल पुस्तक पसलमा भेटे, भियतनामी लेखक न्युयन न्होकको उपन्यास द भिलेज द्याट वुड नट डाई । ख्यालख्यालैमा त्यसलाई अनुवाद गरे, अजम्मरी गाउँ ।

त्यतिबेलासम्म उनले कलेजमा ‘स्पेसल इङ्लिस’ बाहेक अनुवाद सिद्धान्त पढेका थिएनन् । अनुवाद गर्न सकिन्छ कि सकिँदैन, छापिन्छ कि छापिँदैन, केही चिन्ता थिएन । फ्रान्सेली उपनिवेशविरुद्ध स्वाधीनताको लडाइँसम्बन्धी त्यो उपन्यास उनले आफ्ना सधैँका साथी स्वनाम साथीलाई देखाए । साथीले गजब छ भनेर मात्रै उकासेनन्, प्रकाशकको खोजीमा हिँडिहाले ।

त्यो समय काठमाडौँका प्रकाशक थिए, साझा प्रकाशन, रत्न पुस्तक भण्डार र पुस्तक संसार । यी तीन वटैबाट संग्रौलाको अनुवाद छापिने गुन्जायस थिएन । कम्युनिस्ट साहित्य, त्यो पनि हो चि मिन्हको देशको । स्वनाम र संग्रौलाका घनिष्ठ वाम साथी थिए, ताप्लेजुङका केबी श्रेष्ठ । रेफ्रिजेरेटर मेकानिक्स । किताब छाप्न उनले आफ्नो देब्रे नाडीमा बाँधेको रोलेक्स घडी नै बेचिदिए ।

त्यसो त संग्रौला हालसालै बूढा भएका होइनन् । उनको विश्रामको चाहना पनि स्वाभाविकै हो । बुढेसकालमा धेरै फूर्ति गरेको सुहाउँदैन पनि । उनलाई जीवन निर्वाहकै लागि अनुवाद गर्नुपर्ने अवस्था छैन ।

हातहातै किताब बेच्ने अनि मालामाल भएर फेरि रोलेक्स किन्ने सपना देखेका थिए केबीले । किताब छापिएपछि दुई-चार ठाउँमा बाँडे । तर पैसा उठाउन जाँदा धेरैजसो पुस्तक पसल नै भेटिएनन् । कतिपयमा साहूजी फेरिएछन् । कतिपयले किताबबारे थाहै नभएको ठाडो जवाफ दिए । त्यो अनुवादबाट संग्रौलाले युवा क्रान्तिकारीको धाप पाए अनि केबीले प्रकाशक बन्न पाएकामा चित्त बुझाए । बस् । रोलेक्स घडीको किस्सा आफ्नो ठाउँमा छ, संग्रौलाका निम्ति त्यो अनुवाद स्मरणीय र सुखद छ ।

त्यसपछि उत्तर कोरियाली गीतिनाटक द फ्लाबर गर्लको उल्था गरे फूल बेच्ने केटी । तिनै वैद्यले दिएको काम थियो, त्यो । ५०, ६० पाने गीतिनाटकबापत झन्डै सय रुपैयाँ पारिश्रमिक पनि पाए उनले । “शब्दकर्ममा मैले पाएको पहिलो पारिश्रमिक त्यही हो । त्यतिबेला त्यो पनि ठूलै पैसा थियो,” उनी सम्झिन्छन्, “गीति लयमा मेरो पकड देखेर दुर्गालाल श्रेष्ठ छक्क परे । दाइ, दाइ भन्दै प्रशंसा गरे ।”

बीए सकेपछि शिक्षक भए संग्रौला । शिक्षक आन्दोलनमा लाग्दा तीन महिना वीरगन्जमा जेल परे । त्यहाँ उनले म्याक्सिम गोर्कीका कथाहरूका साथै निकोलाई गोगोलको गभर्मेन्ट इन्स्पेक्टरलाई नाटक बनाए, सरकारी निरीक्षक । चितवनबाट पञ्चायती लखेटाइमा परेर काठमाडौँ आएपछि पूर्णकालीन अनुवादक भए । ०४० देखि ०४४ सम्म दिनको १५-१६ घन्टासम्म घोटिए । याङ मोको उपन्यास द सङ अफ् युथलाई युवाहरूको गीत बनाइदिएको उनैले हो । माओका चार ठेली, लु सुनको जीवनी, माओ तुनको सिल्क रोड एन्ड अदर स्टोरिज आदि उनकै उल्था-कलाको परिणाम हुन् ।

संग्रौला सोझै अंग्रेजीबाट अनुवाद गर्थे । किनभने उनलाई हिन्दी फिटिक्कै आउँदैन । युवाकालमा न हिन्दी फिल्म हेरे, न त मधेस बसे अनि कसरी आओस् हिन्दी ? माओका रचनाबाटै उनले माक्र्सवादको कखरा सिके । लालगीता मानिने रेडबुकका माओका सूक्ति उनलाई कण्ठ थियो । जस्तै, ‘नौजवान हो, यो संसार हाम्रो पनि हो, तिम्रो पनि हो, अन्तिम विश्लेषणमा यो संसार तिमीहरूकै हो ।’

माओका चार ठेली अनुवादको प्रसंग रोचक छ । बन्दीपुरका चीजकुमार श्रेष्ठले नेपाल स्टडिज संस्था खोलेका थिए । त्यसमार्फत उनी गोरालाई पढाउने ठेक्का लिन्थे । उनको ठेकेदारीअन्तर्गत कुल्ली काम गर्थे संग्रौला । चीजकुमारले उनलाई नेपाली पढाउन खटाएका थिए, बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ४ बजेसम्म यूएसएआईडीमा ।

त्यतिबेला संग्रौलाको डेरा थियो, यूएसएआईडीको अफिस सोल्टीमोडबाट टाढा हाँडीगाउँमा । त्यसैले उनी क्यान्टिनमा एक कप कफी पिएर लाइब्रेरी पस्थे । सुरुमा त उनलाई त्यहाँ बसेर माओको ठेली अनुवाद गर्ने आँटै आएन । उनी सबैभन्दा कुनामा बस्थे । केही किताब पल्टाएर राख्थे अनि ठेली उल्था गर्थे । उनलाई ध्यान दिने फुर्सद कसलाई ! “गोरालाई नेपाली सिकाउने, सडकमा अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्ने, यूएसएआईडीमा बसेर माओको ठेली अनुवाद गर्ने विचित्रको मानिस मै थिएँ,” उनको विस्मयकारी अनुभव छ ।

खासमा माओका पाँच वटा ठेली छन् । पहिलो ठेलीको उल्था कृष्णदास श्रेष्ठले गरे । त्यसबापत वैद्यले उनलाई २० हजार दिएछन् । दोस्रो ठेली पहिलोभन्दा दोब्बर ठूलो थियो । वैद्यले संग्रौलालाई जम्मा ६ हजार मात्र दिएछन् । तैपनि उनले झिँजो नमानी चार वटा ठेली अनुवाद सके । “चिनियाँहरूले माओ विचारधाराको प्रचारका लागि वैद्यलाई कुस्त पैसा दिएको सुनिन्थ्यो,” उनी हाँस्छन्, “वैद्य दाइले मलाई ठगे तर मैले ठगिएको पाटो बिर्सने हो भने अनुवाद मेरो पि्रय कर्म हो ।”

प्रगतिशील प्रकाशनका वैद्य र शान्तदास मानन्धरसित उनी कृतज्ञ छन् । सरकारी जागिर पाउने कुनै सम्भावना नभएको अप्ठेरो स्थितिमा पत्याएर थोरबहुत पैसा दिनु सानो कुरा होइन । प्राण धान्न सघाएकामा उनी फेरि पनि धन्य छन् । उज्ज्वल प्रसाईंले लेख्दै गरेको संग्रौलाको जीवनीमा यस्ता ‘अनटोल्ड स्टोरी’ धेरै आउनेवाला छन् ।

अर्को रमाइलो प्रसंग के भने युवाहरूको गीत, लु सुनको जीवनी, गुनिला चिनियाँ कथामाला, गोर्कीका कथाको अनुवाद उनले टाइपराइटरमै गरेका थिए । ०२६ अगावै नक्सालमा टाइपराइटर सिकेका थिए उनले । ०४० तिर स्वनाम साथीले आकर्षक प्रस्ताव ल्याए, ‘ए भेना, टाइपराइटर किन्ने हो ?’ अन्ततः जर्मन रेमिङ्टो टाइपराइटर किने २ हजारमा ।

धेरैजसो कम्युनिस्ट नेता-कार्यकर्ता उनकै अनुवाद पढेर क्रान्तिकारी बनेको सुनाउन हिचकिचाउँदैनन् । पुष्पकमल दाहालदेखि बाबुराम भट्टराईसम्मले दाइको साइनो लगाउँदै उनलाई सुनाएका पनि छन् । उसो त संग्रौलाले ‘क्रान्तिको सेवा’ मात्रै गरेनन्, यूएसएआईडी, एसिया फाउन्डेसन, युनिसेफजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका ‘एक ट्रक विकासे स्रेस्ता’ पनि अनुवाद गरे । उनले त्यस्ता काम किन गरे भने समाजलाई घाटा थिएन, उनलाई फाइदा थियो ।

संग्रौलाले विदेशी भाषाका कति किताब अनुवाद गरे त ? उनलाई ठ्याक्कै यकिन छैन । ३४ वा ३५ ? अनि कमाइ ? “जोन उड र सन्दुक रुइतको प्रकाशक एउटै हो, जोनको २६ हजार पाएँ, रुइतको दुई लाख,” उनी भन्छन्, “सामान्यतः अनुवादकलाई प्रकाशकले ठग्छन्, सर्वाधिकार र रोयल्टी पनि दिन्नन्, रुइतकोमा चाहिँ थोक र रोयल्टी दुइटै पाउने समझदारी छ ।”

यसरी अनुवाद अलिकति प्यासन, अलिकति व्यवसाय भयो उनको । चावहिल, गणेशस्थान घरमा पनि नर्स पत्नी र उनको अनुवादको अंश छ । “जेसुकै भए पनि अनुवाद लोकहितकारी चीज हो,” उनी भन्छन्, “किताबको चयन अरूको हुँदा पनि मैले सैद्धान्तिक आस्थाको अभिव्यक्ति गर्न पाएँ ।”

अंग्रेजी क्लासिक्सलाई नेपालीमा अनुवाद गर्ने ऋद्धिबहादुर मल्ल, शान्तदास मानन्धरप्रति उनी गौरव गर्छन् । गतिला अनुवादकको नाम लिनुपर्‍यो भने उनलाई पनि कन्नैपर्ने हुन्छ । उनका शब्दमा राम्रो अनुवादकको कसी हुन्- शब्दप्रति कति इमानदार छ ? वाक्य छाड्यो कि छाडेन ? दोहोर्‍याएर पढ्दा आँखा नबिझाओस्, किरकिराहट नहोस् । “म निष्ठावान अनुवादक हुँ तर कुशल अनुवादक धेरै नभएकाले आफूलाई ठिक्कै ठान्छु,” उनको आत्मसमीक्षा छ, “पुलिस लाग्ने पनि होइन, अख्तियार लाग्ने पनि होइन । सरदरभन्दा राम्रो हुँ, उत्कृष्ट हो कि होइन म जान्दिनँ ।”

साहित्य, कला, संस्कृति, दर्शन, समाजशास्त्र, सौन्दर्यशास्त्रका गम्भीर कृतिको अनुवादप्रति गरिएको उपेक्षा उनलाई निको लाग्दैन । कतिपय बुज्रुक उनलाई सुझाउँछन्, मौलिक चिन्तन र सिर्जना भएको मान्छे के अनुवादमा अलमलिइराख्या ? उनलाई के थाहा छ भने जे अनुवाद गर्छन्, त्यस्तो लेख्न सक्दैनन्, अनुवाद एक हिसाबले त्यो अज्ञानता र अभावको क्षतिपूर्ति हो ।

उनको अनुभवमा अधिकांश लेखकलाई आफ्ना खोट र सीमाबारे थाहै छैन । सिर्जनशील र स्वप्नशील हुन अनुवादले सघाउँछन् । कुनै समय उनी अन्ना कारेनिना अनुवाद गर्न चाहन्थे । लाल स्कुलमा हुर्के पनि दस्तोवयस्कीको जोडा देख्दैनन् । सिमोन बाउभारको द सेकेन्ड सेक्सको अनुवाद बीचमै छाडिदिए । गोर्कीको मदरको अनुवाद गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ ।

हुनलाई अनुवाद नभएको केही छैन तर गजब भएको पनि केही छैन । गुणवत्ताको हिसाब बरबादी मात्रै छ । रातारात अनुवाद गरेर नामको व्यापार मात्र गर्नेहरूप्रति उनी आक्रोशित छन् । “कृति भनेको लेखकको जीवनभरको तपस्या, निष्ठाको अभिव्यक्ति हो,” उनी भन्छन्, “अनुवादको प्राणपखेरु जोगाउन अब सिर्जनशील लेखक नै उत्रिनुपर्ने अवस्था छ ।”

संग्रौलाका शब्दमा अनुवाद एक संस्कृतिको अर्को संस्कृतिसितको संवाद, आदानप्रदान र लेनदेन हो । अनुवादक भनेको हल्कारा हो । देश, संस्कृति र सभ्यतालाई अर्को भूगोल र सभ्यतासम्म पु‍‍र्‍याउने अनि एक भाषाबाट अर्को भाषासम्म नित्य हिँडिरहने ।

हाम्रो समयका अर्गानिक र अब्बल अनुवादक हुन्, संग्रौला । कुनै गतिलो किताब हात पर्‍यो भने उनको प्रौढ मन चञ्चल भइहाल्छ । यही साल वा अर्को साल उनको अन्तिमभन्दा अघिको किताब आउने छाँटकाँट छ । त्यो अनुवाद सुरु भएको नै १५ वर्ष नाघिसक्यो ।

बदलिँदो विश्वमा चिन्तन र सौन्दर्यशास्त्रको रिक्तता देखेर उनलाई क्यानेडियन-अमेरिकन साथी मेरी डेसेनले जिम्मा दिएको प्रोजेक्ट हो, त्यो । ग्राम्स्की, आइन्स्टाइन, ब्रेख्त, सइद, गालिआनोलगायतका १२ दार्शनिक निबन्धका लागि सीके लालले भूमिका लेखिसकेका थिए । डेसेन आफूले पनि लेख्ने इच्छा गरिन् । उनको भूमिकाका लागि दुई वर्ष कुर्दा प्रकाशककै अस्तित्व बिलायो ।

“मेरीले भूमिका सिध्याउन लागेको भनेकै १२ पल्ट भयो । भाकाकबुल गरेका थुप्रै शुक्रबार गए,” उनी भन्छन्, “अब मै एक महिनापछि अमेरिका जान्छु । मेरीलाई भेट्छु । कि उनको भूमिका सकेर ल्याउँछु कि उनको भूमिका हुन्न भन्ने निश्चिन्त भएर आउँछु ।” त्यसैले त भनेको, संग्रौलाले हानेको अन्तिम ढुंगो खासमा अन्तिम होइन । अन्तिमअघिको चाहिँ हुन सक्छ ।

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.