~डा.मेघराज ढकाल~
छन्द : अनुष्टुप्
न गन्न सकिने यस्तो न मोल तोल नै छ यो
बर्तुलाकारको बिन्दु थोपा भन्ने जनाइयो
आकारमा छ यो सानो मोल मूल्य ठुलै भयो
कसरी बन्छ यो भन्दा ? मिहिनेत भयो अहो !
१
साहित्यकारको सीप मसीमा जब बग्दछ,
श्रमको पसिना थोपा किसानसँग झर्दछ,
पुर्खाको पसिनाबाट राष्ट्र हाम्रो सगौरब
बनेको देश सुन्दर राम्रो अन्त कहाँ छ र ?
२
मान्छेको जिन्दगी पनि थोपा थोपा रहेछ यो
समयको बुझे थोपा महाकाब्य रचिन्छ भो
सानो छ तर यो बुझ्दा हिराभन्दा अमुल्य छ
प्रकृति बुझेर बढ्दा अनि पो लेख्न सक्दछ ।
३
काव्य लेखिन्छ थोपाले आँसुका धार बन्दछ,
थोपा रक्तिम जो मिल्दा मान्छेका हाड बन्दछ,
दधिचीका त हाडैले हान्दा राक्षस नै मरे
त्यै सम्झेर बलैभद्र भक्ति थापा गरे मरे ।
४
नालापानी त छाडेका जल थोपा नपाउँदा,
अमरसिंह गए अन्तै चिसो थोपा नभेटिँदा
थोपाका भरमा पुर्खा बहादुर भए यहाँ
थोपा छैन भने आज हुन्छ मान्छे कहाँ यहाँ
५
आशा विश्वासमा मान्छे काम गर्न सके भने
बढ्दछ श्रमको मूल्य थोपा आँसु छ रक्तमा
शक्ति बढ्छ सुकार्यमा फरक लक्ष्यमा भने
विश्वासमा उँभो लाग्छ, शङ्कामा त तलै झरे ।
६
भित्रपट्टि खनिजै छन् ढुङ्गा–माटो छ बाहिर
पानी बग्ने यसैमा झन् घाम पर्दा त आखिर
नभमा उड्छ रे माथि आकाशमा पुगेपछि
जलका बन्दछन् थोपा धरतीमा खसे पनि ।
७
बन जङ्गलको साथी धरती नै हराभरा
बल, बुद्धि ,विवेकैले मान्छे बन्छ अजम्बरा
त्यसैले त खियाएर सकेजति विवेक यो
निकालेर सुना–चाँदी काम गरौ त अर्थको ।
८
सुना–चाँदी मिलाएर बन्दैछन् गहना पनि
नदीमा झरना नाँच्दै महासागरमा अनि
पुग्दा खेल्दा बने बाफ आकाशमा पुगेपछि
असिना बन्न सक्नेछ झर्दा खेती त मर्दछ ।
९
तिल जोगिन्छ बारेरै पुर्खाको सूक्ति यो बुझौँ
सान्दर्भिृक छ यो अझै तर्किन्छ असिना बुझौँ
गरे जाँगर विश्वास फलाएका अनाज रे
कर्मका पसिना छर्दै ज्ञान बुद्धि बढाउँ रे ।
१०
मेची, काली, महाकाली थोपा नै मूल बन्दछ,
गङ्गासागर झन् ताल थोपा मै रम्न सक्तछ,
कुण्डैकुण्ड अझै राम्रा, पोखरी ताल बन्दछन्,
तिर्थस्थान भए हाम्रा राष्ट्रियता त बोल्दछन् ।
११
माछा हौँ त धरत्रीका लोभ–पाप त गर्जने
पानी बिना भए माछा उफ्रे जस्तै त उफ्रने
दुख्खको पलमा फेरि दुःखी नै रेट्न खोज्दछौ
बिर्सी कल्याणको बाटो छुद्र धार त रोज्दछौ ।
१२
महासागरको पानी नुनिलो बन्छ रे किन,
दुःखीको आँसुले हो कि ? पसिना रक्त हो चिन
त्यसैले बुद्धिको थोपा खियाइ गम्न पर्दछ
पुर्खौली सम्झना गदैँ अगाडि बढ्नु पर्दछ ।
१३
थोपा– थोपा मिले बन्छ खोला नदी त सागर
यति मात्र कहाँ हो र ? मान्छेमा बढ्छ जाँगर
जाँगरमा अझै सीप प्रबिधि बढ्न सक्दछ
विकास अनि पो हुन्छ देश उँभो त लाग्दछ ।
१४
थोपा बस्ने सबै ठाउँ धर्ती औ तीन लोकमा
अर्तीका बिन्दुमा बस्ने थोपा–थोपा त हितमा
ज्ञान–गुन पढे खोजे बुद्धि विकास बढ्दछ
त्यसैको फलले मान्छे धर्तीमा रम्न सक्दछ ।
१५
मेघराज ढकाल (विद्यावारिधि)
निबुवाबोट ,आँधीखोला गाउँपालिका, स्याङ्जा ,
हाल टोखा , धापासी काठमाडौँ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )