~दीपा राई~
घरि घरि आफ्नै माटोमा
परायपनको खीलले च्वास च्वास घोचिरहने यो मुटु छ
हामी यता पुसको ठिहीमा
टुलु टुलु आखाले ब्ल्याङकेटको न्यानोभित्रबाट चियाउछौ,
सास फेर्नु पनि गाह्रो हुने ठिही छ,
यतिबेला उता सिमानामा
सास ओठबाट झर्दै फ्रीज हुने
कठ्याङ्ग्रीने ठिहीमा देशको सुरक्षा गरिरहेछ,
हाम्रो गोर्खे योद्धा
यसैले त
यहाँ हामी आराममा छौ, मज्जामा छौं।
उता हिउठिह्रुवा हावाले
हड्डीका मासीसम्म कमाको छ
कमाको छ दुधमुखे ओठ
कति याद आउदो होला
आमाको काख
बाबाको हात
न्यानो रात
अगेनाको आगो
तात-तात्तो हाते रङको चिया
मन नै त हो आखिर
एकादेशमा भएपनि उडेर
पुगिहाल्छ मनचरी एकैछिन
आफ्नु जन्मथलो।
छप, छप, छप, बुटको आवजले
बिस्तारै सुनसानको छात्ती चिर्दैछ
केही क्षणमा … केही क्षणमा
यी क्षण इतिहास हुन्छ
भनेर कसले सोचे थ्यो र
गड्याम, ड्याङ ड्याङ…
आइ्या … जय हिन्द
चिसो साँझमा रातो तातो रगतको सिन्दुरले रंगाईदिन्छ
हिन्दुस्तानको माटो ।
धुवाँ र बारूदले मात्र सुन्छ
उनको देशभक्तिको अन्तिम गीत..
एउटा कलिलो फुल,
छिप्पेको देशभक्ति
सहिद भईदिन्छ
फेरि एकपल्ट
देशको माटोमा
यता
आमा र बाउको सपना मात्र थिएन कि
गर्वले छात्ती चौडा गर्नु
सपना थियो त बाबुले कुममा धाप मार्नु
अनि आमाले प्रेमले निधारमा म्वाई खानु
र प्राउड अफ यु माइ सन भन्नू।
तर खै त उनी
चुपचाप चिरनिन्द्रामा आए,
सहिद भएर आए
न त बाबुले धाप मार्न सके
न त आमाले म्वाई खान सके
बस बगिरह्यो सुनसान बाबुको रित्तो आखाबाट
गुन्जीरह्यो करूण रूवाई आमाको गलाबाट
हे दैव,
शहिदको नाममा कति चुडिएका
यी कलिला कलिला कोपिलाहरू… उफ यी कोपिलाहरू
ऐ सरकार
सहिदलाई सलाम गर्छौ नि
गोर्खेलाई सलाम गर्छौ नि
तिमीलाई त्यसबेला यी फुलहरू फुल्ने माटोको याद आउदैन
उता सिमानामा देशको निम्ति
ज्यान हातमा राखेर
छात्तीमा बुलेट थापेर
भोक न तिर्खा भन्दै
पहिला देश
त्यसपछि परिवार भन्छ जवान
यता तिमी चैं भन्छौ
घरि विदेशी र
इमिग्रान्ट
तिनै जवानको जन्म थलोलाई नाम दिनसमेत
राजनिती गर्छौ
अनि जब गोर्खे जवान सहिद हुन्छ
तब हाम्रो वीर जवान भन्छौ
अफशोच,
सक्छौ भने बरू
शहिदलाई एक मुट्ठी उसकै नामको माटो (मट्टी ) त देउ
त्यसबेला साच्चिकै श्रद्धाञ्जली हुनेछ सहिदको आत्मालाई
र तिरंगाको मान रहने छ
नभए के गोर्खाहरू
सहिदै सहिद भईदिनका लागि,
सहिद भएपछि देशका झण्डामा
बेरिनका लागि मात्र हुन् त
सरकार…?
गान्तोक, सिक्किम।