~राम बिनय~
पहाडी डाँडामुनिको नदीको किनारमा समतल फाँट छ । त्यहाँ एउटा गाउँ छ । गाउँको छेउ र नदीको किनारनिर एउटा सानो झुपडी छ । झुपडीमा दुई दिदीबहिनीको बास छ अर्थात् पसल छ । नदी एकनासले बगिरहेको छ । सुनसान चकमन्न रात छ । रातको करिब ११ बजेको हुनुपर्छ । मुक्तिसेनाको लुगा सिइरहेकी सासाचु एकनासले लुगा सिउने कल चलाइरहेकी छे । चौतर्फी हरियाली प्रकृति मौनतामा डुबेको जुनेली रात छ । चुचु निदाइरहेकी छे । दिनभरिको कामको थकाइले सासाचुलाई निन्द्रा लाग्दैन । अझै निन्द्रा लाग्दैन । एकनासले उसको कलमा खुट्टा चलिरहन्छ । सुनसान रातको धमिलो बत्तीको प्रकाशमा भाइहरुको बिजोग झलमल्ल देख्छे । त्यसलाई सहन नसकेर झन् छिटो–छिटो लुगा सिउँदैछे ।
सासाचुको मनमा तर्कना उठ्छ, “कति दुस्मनलाई बोकेर आइ राखेका होलान् जहाजहरु सैगनमा ।” घृणित कुकर्मबाट उब्जेको तर्कनाले ऊ जागा हुन्छे । एकाग्र भएर एकोहोरो तर्कना गर्दै एक तमाससँग मेसिनमा खुट्टा र हात खेलाइ रहन्छे । “हँ, हँ भियतकङको नै सम्झनामा छौ होइन ? यति अबेरसम्म जागा बसिरहेकी, लुगा सिइरहेकी ? वर्षभरिको सबैभन्दा ठुलो चाड आइरहेछ । भाइबहिनीहरुका लागि लुगा सिइरहेकी नि ।’ “ती कहाँ बस्छन् ? हामीलाई ठिक ठिक कुरा भन ।” अम्रिकन फेरि गर्जिन्छ । “ती कुरा त मलाई थाहा छैन, मेरा भाइहरु भने दिनभरि खेतमा काम गर्छन् र अहिले त निदाइ सके होलान् । म तपाईंहरुलाई उनीहरुसित भोलि भेट गराइ दिउँला हुँदैन ?’
सायद उनीहरुलाई थाहा होला, भियतकङ कहाँ छन् ? भट्टी पसलेको काम गर्दा उनले धेरै रहस्यमय कुरा पत्ता लगाउने मौका पाएकी थिई । एक छिनको मौनतापछि केही शान्त स्वरमा एउटा सिपाही भन्छ, “हँ बहिनी ! हामी भियतकङको खोजीमा हिँडेका । अहिले भर्खर क्याम्पबाट आएका हौँ । ती दुष्टहरुले तिम्रो पसलमा पनि हमला गरेर नास गर्न लागे होलान् भनेर रक्षा गर्न हामी यहाँ आएका !” कुरो यसरी नै चलिरह्यो ।
अमेरिकी कमान्डर माझमा र दुईतिर उसका सिपाही बसिरहेका थिए । उनीहरुले सासाचुले तयार पारेको खाना खान र रक्सी पिउन थाले । रक्सीको घुटको लगाउँदै अम्रिकन बोल्छ‚ “ओहो, तिमी त साह्रैसाह्रै जाति बहिनी रहिछौ ।” मिठो रक्सीको स्वाद र सासाचुको विनम्र बोलीले दुई जना सिपाही पनि खुसीले फुरूक्क हुँदै भन्छन्, “ओ, बहिनी आहा ! क्या मिठो खाना ख्यायौ । धेरै राम्रो धेरै राम्रो !” भन्दै सबै मुस्काइ रहेका हुन्छन् । सासाचु कहिले भित्र, कहिले बाहिर अनि कहिले लुगा सिउने कलतिर जान्छे । कहिले उनीहरुलाई खाना थप्नेतिर । सासाचुको पसल असाध्यै राम्रो छ । ह्विस्की, ब्रान्डी, बियर र यस्तै मादक पदार्थ र थुप्रै पेय पदार्थका बोतल आल्मारीमा सजाएर राखेको देखिन्छ । आज पाहुनाको सत्कारका लागि उसले पाँच बोतल खर्च गरी । अनि, त्यस्तै मिठामिठा अम्रिकनलाई मन पर्ने खाना । कमान्डर र एउटा सिपाहीलाई रक्सीले लठ्ठ पा¥यो र गाउन÷बर्बराउन थाल्यो, “ओ मेरो प्यारी राम्री केटी ! तिमी साह्रै साह्रै सुन्दरी छेउ । हामीले तिमीसित आनन्द पायौँ । कृपया ! हाम्रो कुरामा पनि ख्याल गरि देऊ ।” यति भन्न नपाउँदै ऊ भुइँमा लड्छ । एउटा सिपाहीलाई रक्सी पुगेनछ, सोध्यो, “ओ बहिनी ! आल्मारीका तीन वटा बोतल पनि दिए पैसा नै तिर्ने थियौँ, कसो हुन्छ ? पिउनुप¥यो । अलि पुगेन ।”
सासाचुले सहर्ष स्वीकार गर्दै सहमति जनाउँदै भन्छे, “हुन्छ, हुन्छ । खानूस्, पिउनूस् । पैसा तिर्नु पर्दैन । आज तपाईँहरु मेरो घरको पाहुना ।” रक्सीले चूर भएर तीनै जना सशस्त्र सैनिक निःशस्त्र भएर बसेको ठाउँमा बस्न नसकी मत्तु भएर लडिरहन्छन् । सासाचु स्थितिको पूर्ण जानकारीका साथ चुचु सुतिरहेको ओछ्यानमा दौडेर पुग्छे र चुचुलाई झक्झक्याएर निन्द्राबाट ब्युँझाउँदै भन्छे, “चुचुउठ उठ !” चुचु बिस्तारै ब्युँझेपछि सासाचुले सानो स्वरले कानमा खुसखुस गरेर बोलाउँछे‚ “उठ उठ, छिटो छिटो डुंगा नजिक लिएर आऊ । आज तीन जना दुस्मन कैदी…. ।” चुचु आँखा मिच्दै उठ्छे । यसो यताउता हेर्छे । तीन जना सिपाही लडिरहेका । चुचु दगुरेर नदीको डुङ्गा किनारमा ल्याउँछे । बहाना समेत सब ठिक पार्छे । गोरा साहेब अङ्ग्रेजीमा बर्बराइरहन्छ एकनासले । भन्छ, “ओ सुन्दरी महिला ! म भियतकङको खोजीमा छु । ओ सुन्दरी ! तिमीलाई कस्तो छ ? म तिमीसित रमाउँछु । तर, भन भियतकङहरु कहाँ छन् ? भियतकङ कहाँ छन् ? भियतकङ खोज्दाखोज्दा म त थाकी हैरान भएँ । ओ मेरी…।”
“पाहुना दाइहरु ! रात निकै ढल्किसक्यो, अबेर भयो । अब ओछ्यानमा सुत्नूस्, ओछ्यान तयार छ ।” दुई जना दिदीबहिनी मिलेर तिनीहरुलाई नदी किनारमा रहेको डुङ्गामा लगाएको ओछ्यानमा सुताउन लग्छन् । सासाचुले बहिनीलाई झुपडी कुर्न लगाएर नाउको बहाना हातमा लिएर बस्छे । रात सुनसान छ । जून डाँडातिर ओरालो लागेको छ । कत्ति पनि आवाज नगरी नदी एकनासले बगिरहेको छ । प्राकृतिक वातावरण एकदम शान्त छ । तीनैजना ‘साहेब’हरु मस्त निन्द्रामा ओछ्यानमा पल्टिरहेछन् । सासाचुले डुङ्गा चलाउन थाली । नाउ गन्तव्य स्थलतिर सलल बहन थाल्यो । सासाचु मनमनै सोच्छे, “मेरा प्यारा भाइहरु हो ! तिमीहरुका लागि उपहार लिएर आइरहेकी छु । तीन जना दुस्मन, तीनओटा राइफल र एउटा हल्का मेसिनगन !”
सासाचुले रातारात नाउ पार गरी लगी । भियतकङको खोजीमा हिँडेका यी सैनिकहरु मुक्ति सेनाको क्याम्पमा आइ पुगिएछ भन्ने कुरा भोलिपल्ट बिहान ब्युँझेपछि थाहा पाउँछन् । सासाचुले आफ्नो काम, कर्तव्य पूरा गरी । क्याम्पका भाइहरुले सासाचुको साहसिक कार्यको उच्च प्रशंसा गरेर बधाइका साथ धन्यवाद दिए । कमान्डर बर्बराइरहेको थियो । “म भियतकङको खोजीमा थिएँ र म तिनीहरुलाई नियन्त्रण गर्न चाहन्थ । तर, तिनीहरुले मलाई नियन्त्रण गरे ।