~रामेश श्रेष्ठ~
म त्यो बेला खोटाङको बुइपामा शिक्षक थिएँ। ट्रान्जिस्टरमा नेपाली गीतहरू सुनिरहन्थें। त्यही बेलादेखि नै गीतसंगीतको माध्यमबाट अम्बर गुरुङ दाइसँग मेरो अप्रत्यक्ष चिनाजानी भयो। शुरूमा दाइको स्वर भारतीय गायक हेमन्तकुमारसँग कताकता मिल्दोजुल्दो लाग्यो मलाई। ‘
ए कान्छा मलाई सुनको तारा खसाइदेउन’ ‘घामजून पंच राखी बाचा मार’ ‘किन यो मन उदास उदास छ मेरो’ ‘म अम्बर हुँ तिमी धरति’ जस्ता गीतहरूबाट उनी हाम्रो हृदयमा बसे।
त्यही समयको कुरा– अम्बर गुरुङले दार्जीलिङमा अपमानित जीवन भोगिरहेका हजारौं, लाखौं नेपाली भाषीको पीडा ‘नौलाख तारा उदाए’ गीतमा राजा महेन्द्रलाई सुनाए रे! यो खबर फैलिएपछि हामीले पनि त्यो गीत निकै गम्भीरतापूर्वक सुन्यौं। लय कर्णप्रिय थियो र शब्दको भाव पनि अगमसिं गिरीले मार्मिक ढंगले रचेका थिए।
त्यो बेला हामी रेडियो नेपालमा लोकगीत गाउँथ्यौं। ‘रूपरेखा’ साहित्यिक पत्रिकाले ‘रूपरेखा नाइट’ आयोजना गर्ने भएपछि हामीलाई पनि कार्यक्रममा सहभागी हुन बोलाइयो, जसमा अम्बर गुरुङ प्रमुख आकर्षण थिए।
कार्यक्रममा सुगौली सन्धिको गीतसँगै उनको ‘नौलाख तारा उदाए’ गीतले प्रमुखता पाएको थियो। उद्घोषकले अम्बरका विशेषताहरू केलाएर शुरू गरेको त्यो कार्यक्रमपछि नेपाली गीत–संगीतको क्षेत्रमा उनको चर्चा यसरी चल्यो कि संगीतका सामान्य अनुरागी पनि उनीप्रति उत्सुक बने।
यता सिर्जना हुने धेरैजसो नेपाली गीतका शब्दहरू साहित्यिक गुणको कमीले गर्दा अलि निम्छरो नै लाग्थे। उताका चाहिं पे्रम–प्रणयका गीत नै भए पनि साहित्यिक गुण हुनुका कारण स्तरीय लाग्थे।
त्यसैले काठमाडौं एकप्रकारको हीनताबोधबाट ग्रस्त भएको अनुभव हुन्थ्यो। संगीतमा पनि दार्जीलिङेहरू आधुनिक बाजागाजासहित स्टाइलका साथ आउँथे। समूह भ्वाइलिनको अर्केष्ट्रावादन, सबै वाद्यवादक स्टाफनोटेसनका जानकार। दार्जीलिङतिरका त्यस्ता सबै सांगीतिक समूहले सम्मान गर्ने भएकाले पनि अम्बर गुरुङको उँचाइ अनुभव गराउँथ्यो।
राजा महेन्द्रले समेत मान्दिएपछि सबैले अम्बर गुरुङको स्वर, शब्द र संगीतको यति तारीफ र प्रशंसा गर्न थाले कि लाग्थ्यो नेपालले अब उनी जस्तो जाज्वल्यमान प्रतिभा पाउन एक शताब्दीमा पनि मुश्किल पर्छ। त्यसैले दाइलाई नेपालमा स्थापित हुन त्यति धेरै दुःख गर्नु परेन।
दरबार वरिपरिका शक्ति र नेपालका बौद्धिकवर्गले पनि अम्बर दाइलाई निकै मानमनितो गरेको मैलेे नजिकैबाट देखें। सरकारका ठूल्ठूला पदाधिकारीहरू दाइसँग सुरापानमा सामेल हुन चाहन्थे। उहाँसँग सरसङ्गत, जानपहिचान गर्न इच्छा राख्थे।
एक साँझ् ग्रीन होटलमा नेपाली साहित्य र संगीतका थुप्रै हस्ती जम्मा भएका थिए अम्बर दाइसँग। त्यो साँझ् मैले दाइको तार्किक क्षमताको जानकारी पाएँ। हामीलाई अग्रजहरूबाट सिक्नु थियो। नयाँ नौला कुराहरूको ज्ञान–अनुभव पाउनु नै थियो।
त्यहाँ अम्बर दाइलाई मैले यस्तो पाएँ– बोलाइले सबलाई प्रभाव पार्न सक्ने क्षमता, सामान्य कुरालाई पनि विशेष बनाउने खूबी। गीतसंगीतको विषयमा उनले बोलेपछि कसैले काट्न नसक्ने। अनि मलाई कताकता लाग्यो– नेपालको नेपाली गीत–संगीतको स्तरलाई दाइले त्यति महत्व दिदैनन्, स्तरीयताको मूल त उतै दार्जीलिङ–कालिङपोङतिर छ। यताका कलाकारमा बौद्धिकता छैन, अध्ययनस्तर पनि धेरै तल छ– दाइको भावभङ्गीले त्यस्तै बुझाउँथ्यो।
उत्तम कुँवर, बालमुकुन्ददेव पाण्डेको ‘रूपरेखा प्रकाशन’ ले अम्बर गुरुङको सम्मानमा बालाजु उद्यानमा भव्य वनभोजको आयोजना गर्यो। नाम चलेका सबै कलाकारलाई बोलाइएको थियो। माथि अम्बर दाइलाई केही विशिष्टहरूले घेरेका थिए। मन्द सुरापानमा थिए सब।
अलि तल कलाकारहरूको अर्को हूल थियो। तलका कलाकारहरूको चाला अचम्मको लाग्थ्यो। अम्बर गुरुङको सम्मान कार्यक्रम रे, तर त्यहाँ अम्बर गुरुङलाई सुन्नै नसकिने गालीगलौज गरेका छन्, उडाएका छन्, हाँसेका छन्। मानिसमा हुनुपर्ने गुण, सभ्यता केही छैन। मेरो भित्री मनले भन्यो– बेकार आएछु।
शुरूमा ‘नौलाख तारा उदाए’, ‘ए कान्छा मलाई सुनको तारा खसाइदेउ न’ लगायतका केही बाहेक अम्बर दाइका गीतहरू आम जनमानसमा त्यति भिज्न सकेनन्। दाइका गीतहरू नारायणगोपालको स्वरमा सुनिन थालेपछि भने उनको सांगीतिक क्षमताको चर्चा फेरि चुलियो।
काठमाडौंका बौद्धिक जमातबीच उनको क्वाएर र क्यान्टेटाहरूको पनि खूब चर्चा भयो। तर आम दर्शक/श्रोताले के देख्न सुन्न पाउनु त्यस्ता कला? देखे सुने पनि सामान्य श्रोताहरूले के, कति, कसरी बुझथे होलान् र! जान्ने बुझनेहरूले भने अम्बर गुरुङको पश्चिमा संगीतबारेको ज्ञानबारे राम्रै जानकारी पाए। दाइ पूर्वीय शास्त्रीय संगीतको जानकार रहेको कुरा त अरू बेलाको कुराकानीबाट बुझिन्थ्यो।
आयामेलीलगायतका कवि/लेखकहरूसँग अम्बर दाइको निकै गाढा संगत थियो। भूपि दाइको कुरा सुन्दा उहाँहरू दार्जीलिङतिर हुँदा चार–पाँच जना मित्रमण्डलीको जमघट यस्तरी जम्थ्यो कि चार–पाँच दिनसम्मको एउटै सिटिङ! लगातारको मदिरापानसँगै विश्वसाहित्य, संगीत र दर्शनदेखि विज्ञान र राजनीतिसम्मका विचार विमर्श। साहित्यका महारथीहरूको संगत, अध्ययन र अनुभवले होला अम्बर दाइको लेखन पनि अब्बल थियो। कुराकानी गर्दा उनको ज्ञान र अध्ययनले जसलाई पनि प्रभावित बनाउँथ्यो।
चेलाचेलीहरूले अम्बर दाइलाई उच्च सम्मान गर्छन्। उनीहरूमा अम्बर दाइको शिष्य हुन पाउनुको गर्वानुभूति छ र दुःखसुखमा गुरुलाई सघाउन दौडेर पुग्छन्। कतिपय शिष्यले ‘अम्बर दाइसँग डर लाग्छ’ भनेको पनि सुन्छु।
यस्तो सुन्दा मलाई लाग्छ– असल गुरुले आफ्ना विद्यार्थीलाई तर्साइ मात्र रहँदैन, बरु त्रास हटाइदिएर ज्ञान, अनुभव, हौसला, प्रेरणा र आत्मबल प्रदान गर्छ। कुनै पनि असल गुरुले शिष्यहरूलाई तर्साउन वा रिझाउन लगाउँदैन।
२०२५ वैशाखमा दार्जीलिङमा ‘राल्फा गीति कार्यक्रम’ प्रस्तुत गरिसकेपछि हामी पारिजात दिदीसँग कालिङपोङ पुग्यौं। त्यहाँका आयोजकहरूले हामीलाई ‘अम्बर गुरुङले हुन्छ भन्यो भने मात्र कार्यक्रमको व्यवस्था हुन्छ’ भने।
भोलिपल्ट दाइले हामीलाई बिहानको खाना खाने गरी बोलाएर संघर्ष गरिरहेको आफ्नो जीवनको अवस्था पनि खुलेर बताए। दाइ सारै औपचारिक। हामी अपरिचितसँग आत्मीय। उनले स–साना छोराछोरीलाई बेन्चमा लहरै बसेर हाम्रा गीतहरू सुने, आफ्ना पनि नयाँ गीतहरू सुनाए। त्यसपछि कालेबुङमा हाम्रो भव्य कार्यक्रम भयो।
नेपालमै बस्ने व्यवस्था मिलेपछि दाइले बेला–बेला हामीलाई आफ्नो निवासमा बोलाइरहन्थे। त्यस्तो भेटमा गीत, संगीत र साहित्यको विषयमा लामो कुराकानी चल्थ्यो। आफ्नो अनुभव बाँड्नमा कुनै कन्जुस्याईं थिएन, छैन दाइमा। आफ्नो ज्ञानबाट अरूलाई पनि लाभान्वित पार्ने दाइको बानी छ। विश्वका उत्कृष्ट कलाकृतिहरूको जानकारी गराउँदै उनी बारम्बार भन्थे, “संसारमा ती कृतिहरू मात्र अमर रहे, जसको उत्कृष्ट शिल्पले मानवजीवनलाई उच्चतातिर डोर्यायो।”
हामीले गीतसंगीतको माध्यमबाट गरेको सचेतना अभियानको सधैं सराहना गरे दाइले। आफूभित्र पनि त्यो भावना रहेको बताउँदै आफूले रचना गरेका त्यस्तै गीतहरू हामीलाई बराबर सुनाए। अम्बर दाइले हामीले राल्फा हुँदा गाउने कलात्मक गीतहरूको चर्चा पनि बराबर चलाइरहे।
कालिङपोङमा हामीले गाएका कवितात्मक गीतहरूमध्ये ‘भोकै मर्ने महाकविका पेटका सारंगीहरू…’ आफ्ना छोराछोरीले अझै सम्झिरहेको सुनाइरहन्थे।
पोहोरसाल अम्बर गुरुङ दाइसँग फर्पिङमा भेट भयो। शरीर निकै गलेको देख्ता चिन्ता लाग्यो। एक घन्टाजति हामी सँगै रह्यौं। धेरैपछि भेट भएकोमा दाइ खुशी नहुने कुरा भएन। अरू थुप्रै कलाकार पनि थिए। एकछिन गीतसंगीतकै कुरा चल्यो।
‘गीतसंगीत मनोरञ्जनको साधन मात्र बन्यो’ भन्ने कुरा भयो। कलालाई आत्मरञ्जनातिर उन्मुख गराउनुपर्छ भन्ने दाइको विचार थियो। मैले भनें ‘राष्ट्ररञ्जनातिर पो लैजानुपर्छ कि दाइ गीतसंगीतलाई!’
कुनै साँझ् दाइकै निवासमा हामीले लोकगीतहरू सुनाउँदा दाइ खुशीले उचालिने, संगीतज्ञ अम्बर गुरुङ होइन गुरुङगाउँको एउटा रउसे गुरुङ झैं फुरुङ्ग परेर हाम्रो स्वरमा स्वर मिसाउँदै लरीबरी मच्चाउने। एक साँझ् दाइले भनेको म सम्झिरहन्छु– ‘भाइ, मेरो स्थान र अवस्था भिन्नै छ र पनि भाइहरूले लामो समयदेखि चलाइरहेको सचेतना गीति अभियानको सराहना गर्ने मान्छे हुँ।
मान्छेहरूबाट भाइहरूका कुरा सुन्दा खुशी लाग्छ। त्यस्तो वातावरण मैले किन नपाएको भनेर दुःख पनि लाग्छ। निरन्तरता दिइरहनसक्नु नै सधैं बाँचिरहनु हो। भाइहरूमा त्यो छ। नेपालजस्तो देशमा राम्रो काममा लाग्नेहरू स्थापित हुनु कठिन छ। त्यस्तै कठनाइहरूबाट जो उठ्छ त्यो कहिल्यै मर्दैन। दुःखले नै मान्छेलाई दह्रो बनाउँछ।’
मलाई लाग्छ, देशभित्र होस् या बाहिर, नेपाली गीतसंगीत क्षेत्रमा अम्बर दाइ जत्तिको सम्मान पाउने कलाकार अर्को छैन।
(स्रोत : हिमाल खबरपत्रिका – मंगलबार, जेठ २५, २०७३)