कथा : चिना

~कालूसिंह रनपहेंली~

रामेेको छोरो जन्मियो। घरमा खुशीको माहौल छायो। पुत्र प्राप्तिको खुशीमा रामेे र उसकी पत्नी सीताको भुइँमा खुट्टै छैन। न्वारानमा गाउँ-घरकालाई बोलाइयो। खोरको खसी ढालियो। सबसित खुशी बाँड़ियो। सबैले रामे र सीतालाई बधाई दिए। कतिले नानीको निम्ति थाङना, ब्ल्याङकेट, ताता फुलालैनका लुगाहरू लिएर आए त कतिले नानीको हातमा पैसाकै भेंट दिए। पण्डित हरिहरलाई बोलाइएको छ। उनलाई न्वारानको कर्मकाण्डसित नानीको नाम राख्ने र चिना बनाउने जिम्मा पनि लगाइएको छ। पण्डितजीले पात्रो निकालेर हेरेपछि औंला भाँच्दै गन्न लागे, “पुस 3 गतेको जन्म। श्रवण नक्षत्र। योगिनी उत्तरमा। नागको शिर दक्षिणमा। शुक्र पश्‍चिममा। राशि पर्‍यो मकर। अब मकर राशिको बालकको लागि पहिलो अक्षर भो- जा, जी, खी, खू, खे, खो, गा, गी! अब यिनैबाट नाम टिप्नुपर्‍यो! लौ मै टिपेर राखिदिन्छु नाम पनि! ‘खे’-बाट राखिदिऊँ बालकको नाम… खेमकुमार। नानीको नाम राखिदिएँ…खेमकुमार बस्नेत!”

सबैले थप्पड़ी मारे अनि मनमनै दोहोर्‍याए, “खेमकुमार बस्नेत।”

न्वारान धूमधामसित सम्पन्न भयो। विभिन्न व्यञ्जन पाके। पकवान्नको सुगन्धले गाउँ ढाक्यो। नाच्नेहरूले आँगनमा कम्मर मर्काए। धनवीरेले मादल ठटाएर गीत गायोः

“तल्ला घरकी साइँली-माइली
पानी भर्न जान्छौ कि?
सात घैला पानी छ
काखैमा नानी छ
जाँदैन भनिदेऊन……….”

रविलालले धनवीरेको काँधबाट मादल खोसेर भाका हाली गाउन लाग्यो-
“ए साइँली, गाईको बाछी लरीबरी घुम्छ तगारैमा
ए साइँली, बाँचुन्जेल हाँसखेल गरौं मरे बगरैमा……”

साँझसम्म रामरौस चल्यो। परिवारले पण्डितजीलाई खुशी बनाएर बिदा गरे। उनी जाँदाजाँदै रामेले भन्यो, “लौ चिना बनाइदिने पनि हजूरलाई नै जिम्मा लगाएका छौं है पण्डितजी!”

उज्यालो अनुहारका पण्डितले भने, “धन्दा नमान्नुहोस्! म हप्तादिनमा चिना लिएर आउनेछु।”

सात दिनपछि चिना बोकेर पण्डित हरिहर फेरि रामेकहाँ आइपुगे। रामे र उनकी पत्नी सीताले स्वागत जनाए। पण्डितले झोलाबाट चिना निकालेर अह्राए, “एउटा चोखो काँसे थालमा फूलहरूसित अछेता राख्नुहोस्।”

रामेले हतार-हतार भान्साघरभित्र पसेर काँसे थालमा अलिकति चामल लिएर आयो अनि आँगनका केही फूलहरू टिपेर धुज्याउँदै थालमा हालेर पण्डितको अघि राखिदियो। पण्डितजीले त्यसमाथि चिना राखे अनि मन्त्र उच्चारण गर्दै उनीहरूको हातमा थमाइदिए। रामेले भन्यो, “पण्डितजी, तपाईं नै जानकार व्यक्ति हुनुहुन्छ, नानीको चिना पनि हेरिदिनोस्न के कसो छ?”

पण्डितले थालबाट चिना उठाएर खोले। हातका औँलाहरू भाँचे। टोपी खोलेर अनुहारमा हावा दिएजस्तो गरेर हल्लाए। फेरि चिना पढ्न लागे,“गजकेशरी राजयोग, चन्द्रमा माङ्गल्य योग, अचल लक्ष्मी योग, पञ्चमहापुरुष राजयोग, केतु सातौं स्थानमा, बृहस्पति उत्तरतिर, छिक्का द्वितीय प्रहर ईशान दिशातिर भनेपछि सर्वसिद्धि। किम् कुर्वन्ति ग्रहा: सर्वे यश्य केन्द्रे वृहस्पति…..राज योगै छ! लौ सुर्ता मान्नुपर्दैन! यो नानी अत्यन्त भाग्यमानी योगमा जन्मेको छ। यो नानी राजासमान हुनेछ। यो बालकको योगले तपाईं माता-पिताका दु:खदर्दहरू पनि हावाले बादलजस्तो उड़ाएर लैजानेछ। उसको भाग्यमा चन्द्रमा जिन्दगीभरि दाहिने छ। 12 र 20 वर्षमा दुइवटा खड्ग भने काट्नुपर्छ, त्यसपछि 45 वर्षमा अर्को खड्ग छ, त्यसलाई पनि पार गरे यो नानी सय वर्ष राज गरेर बाँच्नेछ।”
सीताले सोधी, “त्यो 12, 20 र 45 को खड्गलाई टार्नु के गर्नुपर्छ पण्डितजी?”

पण्डितले आफ्नो आँखाको चश्मा निकालेर कान अड़ाउने दुइतिरका भाग दोबार्दै खप्टाएर पाकेटमा हाल्दै भने, “त्यसको पनि बन्दोबस्त भइहाल्छ। एउटा जाप गर्नुपर्छ। भरसके आउँदो वैशाख महीनामा घरमा यो कार्य लगाउनुहोस्, म आफैं भए पनि आएर यो पूजा गरिदिनेछु।”

रामेले भन्यो, “पण्डितजी, लू तपाईं नै यसको भावी हुनुहुन्छ। तपाईंले नै यसको भाग्यको कुरा ल्याइदिनुभयो, अब तपाईंले नै पार लगाइदिनुहोस्।”

“हुन्छ म गरिदिनेछु।” तीन शब्दमा तीनै कालजस्तो ठूलो आश्‍वासन बोले पण्डितजीले। रामे र सीता ढुक्क भए।

रामेले कृतज्ञ भएर भन्यो, “धेरै-धेरै धन्यवाद पण्डितजी!” फेरि केही अप्ठ्यारो मानेर टाउको कन्याउँदै बोल्यो, “भन्दा पनि पण्डितजी यो चिना बना’को चैं कति दिनुपर्छ हजूरलाई?”

पण्डितजीले आफ्नो नाकभित्रबाट बाहिरतिर निस्केको एउटा नाथेलाई बूढ़ी औंला र माइली औंलाले समातेर उखेल्नलाई झट्कारेर भने, “यो त जीवनभरिको भाग्यको लेखाजोखा हो। ठूलो मिहिनेत गरेको छु, गाउँघरमा त पाँच सय दिन्छन्, तपाईंहरूले अब विचार गरेर दिनुहोस्। छुसेमुसे भाग्यको त क्यै लिने थिइनँ, यो नानीको प्रताप त्यस्तै निस्कियो, खुशीमा तपाईंहरूले जति दिनुहुन्छ दिनुहोस्।”

रामेले आठ सय निकालेर थालको फूलमाथि राखिदियो। सीताले पनि छोरोको ठूलो भाग्य निकालिदिएकामा खुशी भएर अरू दुइ सय रुपियाँ थपिदिएपछि पण्डितको अनुहार धपक्क बल्यो।

वैशाखमा ग्रह जाप गर्न फेरि पण्डितलाई बोलाइपठाइयो। आए पण्डितजी। आफ्नो छोरालाई पनि पुरोहित कामको प्रशिक्षण दिइरहेका हुनाले उसलाई पनि लिएर आए। सिकुवामा राड़ीमाथि बसेर उनले सामान लेखिदिए। रामे बजार गयो अनि केही क्षणमा नै सबै थोक लिएर आयो। पण्डितलाई दान दिने एक जोर दौरा-सुरुवाल, गम्छा, टोपी र एउटा ब्ल्याङ्केट पनि लिएर आयो। पूजा सकियो। अब पण्डितजीले छोराको जीवनमा आउने सब बाधा-विघ्नलाई रोक्ने काम गरिदिइसकेपछि र पूजाआजा पनि भइसकेपछि केको चिन्ता? ढुक्क भए रामे र सीता दम्पती।

खेमकुमार अब बढ्न लाग्यो। त्यो त्यसै थै-थैमा बढ्यो। बाबु रामे भूमिसुधार कार्यालयमा काम गर्थ्यो। उसले आफ्नो छोरालाई मान्छे बनाउन कुनै कसर बाँकी नराख्ने विचार गर्‍यो। यो राजासमान हुने छाँट छ त पण्डितजीले भनेकै छन्।

थै-थैमा बढ़ेको छोरा अब बाह्र वर्षको लग लाग्यो। घरमा कसैलाई नटेर्ने, मुख लाग्ने, बाबु-आमासित पनि झगड़ा गर्ने। ठूलो मान्छे हुनेले निडर त हुनैपर्छ, यो त्यसैको लक्षण होला भनेर बाबु-आमा त्यसको जिद्दीपनामा पनि खुशी नै थिए।

किशोर अवस्था पार गरेर युवा अवस्थामा प्रवेश गर्‍यो खेमकुमारले। लहड़ी उमेरमा त्यो नराम्रो सङ्गतमा लागेर पुलिस थानातिर पुग्नथाल्यो। रामेले परिवारसित भन्यो, “ठूलो मान्छे हुनेले जेल-नेल त सहेकै हुनुपर्छ! त्यसै कहाँ राजासमान हुन्छ!”

केही दिनपछि खेमकुमार ड्रग्स केसमा पक्रा पर्‍यो। बाबु रामेले छुटाएर घर ल्यायो।

दिन-प्रतिदिन छोरा बिग्रँदै गएको देखेर फेरि पण्डितलाई बोलाएर चिना हेराए दुवैले। यसपल्ट गुरु बृहस्पतिको पूजा गर्नुपर्ने पण्डितले सल्लाह दिए।

बृहस्पतिको पूजा भयो। फेरि आमा-बाबु ढुक्क भए। पूजाले सब ठीक गर्छ भन्ने सीताको विश्‍वास थियो।

बीस वर्ष पुग्दा त्यसले एउटी ठिटी भगाएर घरमा ल्यायो। ठिटीको नाम रानी थियो। बुहारी ल्याएपछि त्यसले पढ्नु छोड्यो। रामेले व्यङ्ग्यसाथ सीतासित भन्यो, “रानी बिहे गरेपछि अब यो राजा त भइहाल्यो नी! चिना त्यसै झूटो किन हुन्थ्यो?”

आठ महीना नबित्दै खेमकुमारको नानी जन्मियो। नातिको नाम रामेेले रिसैले राजकुमार राखिदिएर भन्यो, “अब राजकुमारको बाबु राजा नभएर को हुने? त्यसको बाबु राम पनि उहिले त राजा नै थिए अनि आमा सीता पनि रानी नै थिइन्। राजघरानामा जन्मेको राजकुमार खेम एक दिन राजा त हुने नै हो! त्यसमा के शङ्का?”

काम छैन, कमाइ छैन। नातिसित छोरा-बुहारी पाल्ने जिम्मा पनि रामेकै टाउकोमा आयो।

खेमकुमार रङ्गालिहिँड्दा र बदमाशी गरिहिँड़्दा कतिपल्ट त्यसलाई पुलिसले पक्रेर लैजान्छ तैपनि रामे गएर छुटाएर ल्याउँछ। यही क्रममा रामे हत्तुहैरान भयो।

एक आइतबार मध्याह्नपछि सीता र रामे बरन्डामा बसेर बात गरिरहेका थिए। रामेले भन्यो, “हेर सीता, हामीले खेमकुमारलाई राजासमान हुन्छ भनेर लाड़प्यारमा राख्यौं। कुनै दुःख दिएनौं तर हामीले छोरोलाई जीवनको आदर्श सिकाएनौं। अब त्यो ज्यादै बिग्रेर गयो। तर यसमा हामी नै दोषी छौं सीता। खासमा त अनुशासन घरबाट नै पहिले सिकाइनुपर्छ। हामीले त लाड़प्यारको हद नाघ्यौं। त्यसले राम्रो-नराम्रो जे माग्यो त्यही दिएर र जे भन्यो त्यही गर्न दिएर त्यसलाई पुल्पुल्यायौं। जीवनमा त्यसलाई कमी अनुभव गर्न नदिएकोले स्वनिर्भर हुनुपर्ने पाठ त्यसले बिर्स्यो र त्यो बिग्रल भयो। हामी नै दोषी छौं, हामीले त्यसलाई बाटोमा ल्याउन होइन, बाटो बिराएर कुबाटोतिर लाग्न मद्दत गर्‍यौं। पुलिस चौकीबाट छुटायौं। गाउँको पन्चेतमा त्यसलाई जोगाएर डाँड़ तिर्‍यौं, के-के गर्‍यौं-गर्‍यौं। त्यसलाई अब फेरि कसरी राम्रो बाटोमा ल्याउन सकौंला हामी? पानी टाउकोबाट माथि निस्किसक्यो।”

सीताले आँखामा आँसु लिएर भनी, “हामीले नै सिकाउन जानेनौं होला त्यसलाई।”

रामेले भन्यो,“हीराको टुक्रा भन्यौं हामीले त्यसलाई अनि त्यो हीराले हाम्रो इज्जतको हीरा पनि टुक्रा-टुक्रा पारेर काटिदियो। अब त्यसको नानीलाई चाहिँ हामी राम्रोसँगले देखरेख गरेर राम्रो मार्ग देखाऔं। छोरा बिग्रे पनि नातिलाई राम्रो मान्छे बनाइदिनुपर्छ। त्यही नै हाम्रो प्रायश्‍चित होला।”

सीताले सुस्केरा काड़ेर भनी, “खैत त्यसको चिनामा त राजासमान हुने कुरा लेखेको छ भन्थे पण्डितले!”

रामेले पश्‍चात्तापहरू शब्दमा गालेर निकाल्यो, “भाग्यमा लेखेको छ भन्दैमा डोकोमा दूध दुहेर अड़िन्छ त? भाग्य त मेहनतको मसीले लेख्नुपर्ने हो! के गर्नु भाॐड़ो हामी आफैंले चुहुने पारेछौं! अब त्यसमा के सपना पकाएर खाने? खै त्यसको चिना यता ल्याऊ त!”

सीता उठेर गई अनि चिना लिएर आई र रामेको हातमा थमाइदिई। रामेले चिना खोलेर हेर्‍यो तर त्यसभित्र लेखिएका कुराहरू त्यसले केही बुझेन। रामेले भन्यो, “यसमा लेखिएको कुरा मैले नबुझेजस्तो त्यसको भाग्यले पनि बुझेन होला र नै यसरी उल्टो परिणाम हामीले भोग्नु परिरहेछ।”

रामे उठेर भान्साघरतिर गयो अनि तुरुन्तै फर्केर आयो। आउँदा उसको हातमा माचिसको बाकस थियो। ऊ फेरि चौकीमा बस्यो र चिनालाई लामो पारेर खोल्यो अनि कच्याक-कुचुक पारेर भन्यो, “अब यो चिनामा लेखिएको भाग्य होइन तर त्यसको हत्केलामा परिश्रमले लेख्नुपर्ने भाग्यबारे हामीले त्यसलाई सिकाउनुपर्छ।”

यति भनेर रामेले माचिस झ्वार्र पार्‍यो अनि चिना भुइँमा राखेर सल्कायो। हेर्दाहेर्दै चिना खरानीमा परिणत भयो। रामेले भन्यो, “हामीले गलत बुझेको चिना खरानी होस् ताकि त्यो खरानीमा हामी पश्‍चात्ताप रोपेर केही सुधार उमार्न सकौं।”

यतिकैमा दुइजना पुलिसहरू घरमा आइपुगे। रामेले सोध्यो, “फेरि के गर्‍यो त्यो नालायकले?”

पुलिसले बतायो, “अब तपाईंको छोरो खेमकुमार कहिल्यै नफर्कने गरी गइसकेको छ। हिजो राति खेमलाई ड्रग्स खाने केटाहरूले छातीमा छुरी घोेपेर ठहरै बनाइदिएछ। लाशलाई पुलिस कार्यवाहीपछि पोस्टमोर्टमको निम्ति लाशघरमा पुर्‍याइएको छ। अब लाश जिम्मा लिनु तपाईंहरू त्यहीँ ह़िँड्नुहोस्।”

रामे उभिएको उभिएकै भयो। सीता ‘हे भगवान्!’ भनेर त्यहीं लड़ी। यो खल्याङमल्याङमा बुहारी नानी बोकेर भित्रबाट निस्की अनि कुरा बुझेपछि कङ्कलाशब्द गरेर रुन लागी। हल्लाखल्ला भयो। गाउँलेहरू आए।

घाम डुबिसकेको थियो। साँझ हुन लागेको थियो। रामेले भन्यो, “अब रहल अँध्यारोमा घाम रोपेर दिन बनाउने समय पनि टरेर गयो!”

निराश बाबु-आमा ठूलो साँझपर्दा छोरो भेट्न लाशघरतिर गइरहेका थिए।

***

20 जुलाई 2019 को दिन ‘हिमालाय दर्पण’ समाचारपत्रमा प्रकाशित)

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.