कविता : पर्खिरहेका हुन्छन आमाहरु !

~सुनील बाबु श्रेष्ठ~

जाडोले कठा़ङ्ग्रीएका लेकका धुपिहरु जस्तै
यतिबिघ्न जाडोमा
चाउरिएका अनुहारमा सयौ रेखाहरु बोकेर
सुनसान घरको पिडिमा एकोहोरो टोलाईरहने
ती एक्ली बुढी मान्छे कसकी आमा होला?

छेऊमा गएर सोध्छु,
‘आमा जाडो भएको छैन?’
कति पातला छन् तिम्रा जीउका कपडाहरु
जीउभरी काँडा उम्रिएका छन्
हिऊ जस्तै चिसा छन् तिम्रा हात खुट्टाहरु ।

सतिसाल झैँ ठिङ्ग उभिएर भन्छिन
अचेल त मलाई जाडो हुन छोडेको छ बाबु !
एक एक पत्रहरु झिक्दै मैले
मेरो प्यारो सृष्टिको आङ्ग ढाकिदिएको छु
त्रसित हुन्छु कतै मैले जाडो महशुस गरेर
मेरो आङ्गमा न्याना पत्रहरु थप्दा
मेरो उसलाई जाडो पो हुने हो कि ?
म त हिउँद, बर्खा, घाम, पानी
सबै सहन, निल्न सक्ने
बेसहारा डाँडापारीको जुन न हुँ !

म सोध्छु,
‘आमा घरी घरी मात्रै किन मुस्कुराउछौ?’
हँसिलो भएर भन्छिन
जव मैले सिङ्गै सृष्टिलाई गर्वमा हुर्काए
पहिलोचोटी ऊ चल्दा मलाई लाग्थ्यो
आफ्नी प्यारी आमाको अनुहार हेर्न
हतार गरिरहेको छ बाहिर निस्कन !
विकसित नभएका कोमल खुट्टाहरुले
प्याट्ट प्याट्ट मेरो पेटमा हिर्काउदा
यो ब्रम्हाण्डमा कतै नभएको
खुशी र सुखको अनुभूती गरेकी थिए
यस्तै सम्झिन्छु
र चाउरिएका यी छालाहरु
अनयास घरी-घरी त्यसै फैलिन्छन !

जिज्ञासु हुँदै सोध्छु,
पर-पर हेर्दै किन टोलाउछौ आमा?
विगत सम्झिदै भन्छिन
जव ऊ लट्ठ जवान भयो
म जस्तै एउटा आफ्नो संसार बोकेर
यो वारीको कान्लैकान्ला हुँदै वेपत्ता भएको छ
शायद फेरी ऊ
अर्को नयाँ सृष्टिको खोजीमा गएको होला
अव त उसकी संसारले पनि गर्वधारण गर्दै
पुनः अर्को सृष्टिको सिर्जना गरिसकी होला
कल्पिन्छु उसको स्वरूप मेरै जस्तो पो छ कि?
अथवा मैले जन्माएको सृष्टिको जस्तै?
मेरो आफ्नै यी मुटुका टुक्राहरुको
विघ्नै माया लागेर आउँछ
र, टोलाउछु, भक्कानिन्छु बाबु !

सशंकित हुँदै सोध्छु,
‘आमा ऊ फर्केर आउँछ?’
मनभरी पहाडको जस्तो विश्वास बोकेर भन्छिन
ऊ फर्केर आउँछ बाबु !
उसले यो संसारको रित बुझ्ने छ
यो पुरै ब्रम्हाण्ड अधिक चिसो मात्र छैन
निरन्तर घुमिरहेको पनि छ
घुम्दा घुम्दै यसरी सबैले
एकदिन आफु उभिएको धरातलमा आईपुग्नैपर्छ
उसले पनि थाहा पाउनेछ
आमाको काखभन्दा सुरक्षित र न्यानो ठाउँ अन्त हुँदैन
एकदिन फेरी मेरो छातीमा टाँसिन आईपुग्नेछ
अनि, भन्ने छ
‘आमा मलाई फेरी तिम्रै गर्वभित्र राखन !’

सायद सबैका आमाहरु
पर्खेर बसिरहेका हुन्छन होला यसरी नै
सम्झिन्छु कहिले फर्केर आउछन होला
आमाका काख भर्न
उडेर गएका ती सृष्टिहरु?

१०/१७/२०१९

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.