कथा : लछ्मी जी को नर्क यात्रा

~बिक्रमादित्य~

लामो मार्लोब्रो चुरोटको धुवाको मुस्लो हावामा पोको पर्दै पानिमा उठेका भुल्काहरुजस्तै गरी डल्लो परी बिलाउदैछन्। यता मोटा मोटा चोर औँला र माझ औँलामा च्यापीएको मार्लोब्रो चुरोट सल्कदै आफ्नो जीन्दगी खत्तम बनाईरहेछ र उता राता ओठमाथि बाक्ला,काला र तीखा जुगाँ, घरीघरी चुरोटको तापले डढिरहेछन्।राता पोटीला हेर्दा तुरुक्क चुहिहाल्ला जस्ता ओठहरुमाँझ पहेंलो फिल्टर च्यापीएको र मुटुभित्रैबाट श्वास तानि चुरोटको मुस्लो तानिरहेछन्,हट्टाकट्टा लछ्मी जी। एउटा ऊनको मजेत्रो ओडिरहेछन् जुन, चुरोटका खरानीले माछा मार्ने जाल जस्तै भएको छ। उनी एकपछि अर्को गर्दै तन्काईरहेछन्।अहिलेको परिस्तिथीमा हेर्ने हो भने उनकी प्रेमीका हुन् मार्लोब्रो चुरोट चुम्बन गर्न छाड्दैनन् चुमीरहन्छन् आफ्ना ओठहरुले। शायद आफ्नी प्रेमीकालाई अत्याधीक चुमेका कारणले हुनसक्छ पोलिदिन्छीन् लछ्मी जीका ओठहरु। अनि झल्याँस्स बिउझिँन्छन् निन्द्राबाट, यथार्थ संसारमा हेर्छन्, वरिपरी कोहि पनि हुदैन। अजङ्गका ठुल्ठुला पहाडहरु बिचमा उम्रिएका पत्थरहरुले उनको बाटो छेकिरहेछन्। उनी अन्योलताको भुमरीमा हराईरहेछन् कि उनी कहाँ छन् भनेर? कान्तिपुरलाई नियालेका ति ठुल्ठुला बल्ड्याङ्ग्रे आँखाहरु चारैतिरका अस्तब्यस्त बातावरणलाई क्वाँरक्वारती दृष्टीपात गरिरहेछन्। अपत्यारीलो भावमा उनी विश्वास गर्न नसकि आफ्ना हातहरुले आखा सुम्सुम्याउछन्।अपत्यारीलो सपना सम्झन्छन् तर उनलाई यो अवास्तवीक हो भन्ने कत्ति पनि लाग्दैन। वरिपरी अझै हेर्छन् कुनै सत्य युगको रजदरबारमा आएजस्तो। शुन्यता चारैतिर। न चराचुरुङ्गी न फूलहरु न वृक्छ्यहरु। यो बिरक्तेको बातावरणमा उनलाई अर्को सर्को फेरि तान्न मन लाग्छ । शैलीबद्द तरीकाबाट मार्लोब्रो चुरेटको एक खिल्ली झिक्दछन्, ओठमा च्याप्दछन्,अनि आफ्नो जालीवाला मजेत्रो घाँटिमा बेर्छन्,कोटको खल्तीमा छामछुम गर्छन् र सलाई को बट्टा झिक्दछन् अनि सल्काउन यस्सो उघार्छन् त रित्तो सलाईको बट्टा! क्रोधको सिमा रहदैन,फतफताउन थाल्दछन् आफै आफै शायद त्यसबखत कुनै कागत र कलम भैदिया भए कविता लेख्न सुरु गरिहाल्थे होला तर त्यो उनीसंग थिएन।

फतफताउदै उनी तितरबीतर छरिएका स्याना स्याना ढुङ्गाहरुलाई खुट्टाले मिल्क्याउदै पथप्रदर्शन गर्न थाल्छन्।दूर निकै दूरमा उनी एउटा उडिरहेको चिल जस्तो आकृतीलाई दृष्टीपात गर्न भ्याउछन्। कुनै सत्य युगको जस्तो पुष्पक बिमान। अनि त्यसै त्यसै आफ्ना मनमा उब्जीएका भावनाहरु धोद्रो आबाजमा यसरी भट्याउन थाल्दछन्।

आहा! कति राम्रो त्यो पुष्पक बिमान झैँ
उडिरहेछ नील गगनमा फट्फटाई त्यो चील झैँ
आईज आईज ए उडुवा
लैजा लैजा म डुलुवा
झोँका झै ल त्यो पवनको
लैजा लैजा दूर त्यो गगनको
फट्फटाई नाचिरहेछ त्यो परेवारुपि यो मनमा मेरो
आईज आईज भरिदे त्यो संङ्गीतरुपि यो तनमा मेरो
छस् तँ दूर गगनमा
म त भूवनमा
रोईरहेछु आशुँ निकाली
दर्द दिई मेरो यो मनमा
तनमा अनि ति पलमा
भएका पीडाहरु ती दलमा
कोट्याईरहेछु मनका मलमा
नडुबोस भन्छु नयन भलमा
डुबिरहेछन् आशाहरु निश्चल त्यो जलमा
छाईरहेछन् मारहरू पवनमा
अनि यो जोबनमा
छाईरहेछन् मारहरू पवनमा
अनि यो जोबनमा……

एक्कासी उनका आँखाबाट दुई थोपा आशु तुरुक्क तप्किन्छन्। त्यो उडिरहेको बिमान पर कतै हराईसकेको हुन्छ तर अझै एकोहोरो उनी हेरिरहेछन्।निराशाको भावमा जग्मगाएका उनका सिर्जनाहरु चुरोटको धुवाजस्तै डल्लो पर्दै बिलाएर गए सायद लेखेका भए सातौँ संस्करणसम्म छापिने थियो होला।उनलाई, आफू काँहा छु भन्ने जिग्यासा उत्पन्न पनि भएन किनकी उनी आफ्नै कवितामा हराईसकेका थिए। जालीवाला मजेत्रो हावामा परेवाले पखेटा फट्फटाए जस्तै गरी फट्कारेर आफूलाई त्यो मजेत्रो भित्र लुकाउने निरर्थक प्रयत्न गर्न थाले लछ्मी जीले तर यो निरर्थक प्रयत्नमा उनलाई बडो आनन्द र रमाईलो लागिरहेको थियो। आफ्ने मुन्टो घरी मजेत्रो बाहिर त घरी भित्र पार्दै फेरी यस्तो भट्याउन थाल्दछन्:

भित्र छु म तिमी बाहीर बग्गीमा सबार
देखीरहेछु म तिम्रो मुहार
लाईदिउ जस्तो तिमीलाई हिराको हार
गर्छौ स्विकार
कि प्रतिकार
या भनौला कि मलाई बेकार
बनुला म तिम्रै चौकिदार
अहा! हेर कति राम्री मुस्कुराएकी झैं तुसार
छम छम आहा! क्या मिलाई सितार
भुन भुन भुन भुन भुलाई सब त्यो तार
मनमा हान्यौ तिमीले मार
छैन मेरो कुनै आधार
तिम्रो कुनै छैन आकार
न कसैको छ अधिकार
न त छ तिमीमा कुनै अन्धकार
न त छ मै मा कुनै सानदार

उनी यस्तै भटभट्याउदै घरी त्यो मजेत्रो बाहिर निस्कन्छन् त घरी त्यो मजेत्रोभित्रै अनुहार लुकाएर बस्छन्। घरी उनी ती पर्वतका भित्ताहरुमा आफ्नो आबाज ठोक्कीने गरि हास्छन् त घरी मुस्कुराउदै यता उता हिड्छन्।अनि फेरी खुशीले गदगद हुदै उनी त्यो पत्थररुपि जमीनमा बिर्कुसी मार्न थाल्छन्। उनले पर कतै फुलका गुच्छाहरु हावामा उडिरहेका अनि अत्यन्त मधुर सुवाष छर्दै आफ्नै समिपबाट लम्किरहेका फुलहरुलाई देख्ता उनमा खुशीको बाँध टुटिसकेको थियो।उनी लाजले झन रातो हुदै निहुरिएर मन्द मन्द मुस्कुराई रहेका थिए।

दुईजाना अजंगका मानिस जस्तै देखिने तर मानिस भन्न शब्दकोशले छेकेको, ती अजंगका प्राणीले लछ्मीजीका कोमल हात च्याप्प पकडे। लछ्मीजीलाई एक्कासी त्रासले छोप्यो र यस्सो उनीहरुको अनुहार हेर्दा सानामा हजुरबुबाले सुनाउने दन्तेकथाका राक्छँस्हरुजस्तै लछ्मी जी डरले अब लगलग काप्न थाले।

उनीहरु हेर्दामा साँचै भूत भन्दा कम थिएनन्।लामो लामो कपाल, शिरमा कुनै सैनिकको मुकुट जस्तो,जुगाँ कान्तिपुरमा गाईलाई बाध्ने डेरीजस्ता लामा लामा ,आखा भने रिसले चुर भएको राँगाको जस्तो अनी दात र ज्यान जवान हात्तीको जस्तो। एकहातमा धारीलो र टिलिक्क टल्कने तरवार र अर्को हातले लछ्मीजीको पाखुरा पकडेका।

लछ्मीजीले जमानामा हेरेको चलचित्रमा गुण्डाले हाँसेको हाँसोभन्दा भयङ्कर डरलाग्दो हाँसो हाँस्न थाले ती अर्धमानबहरू। लछ्मीजीको होशहवाष गायब अनी कम्पित आबाजमा उनी फेरी भन्न थाले

ज-जङ्गका राँगाहरू
अजङ्गका ब्वाँसाहरू
डम्ब डम्ब बोली त्यो
अखण्डका राकसहरु
धरमर धरमर आबाज त्यो
डरमर डरमर चाल यो

ती अर्धमानबहरू फेरी भयानक हाँसो हाँस्दै लछ्मीजीलाई घिसार्न थाले। घिसार्दै बाटामा लादा लछ्मीजीले अनेक अप्रत्याशित दृश्यहरु देख्न् पुगे। मानिसका कंकालहरु लछरल्ल पल्टिरहेका,ठूलो भाँडामा तेल तताएर मानिसहरुलाई चोप्दै निकाल्दै अनी सगरमाथा भन्दा पनि अग्लो हिमालबाट उत्तानेटाङ् पारेर मान्छेहरु हुईक्याईरहेका यस्ता अनेक दृश्यहरु देख्दा लछ्मीजी आँखा चिम्म पार्दै हिड्न थाले ।

‘तपाईहरु मलाई काँहा लैजादै हुनुहुन्छ ?’लछ्मीजीले कापिरहेका ओठहरूबाट अस्पष्ट आबाज निस्कीयो।

फेरी एउटा अर्को भयानक हाँसो गुञ्जियो। एकदमै भयानक….। उनी थर्र काप्न लागे ।

‘तँलाई हामी यमलेक लादै छौ चुप लाग नत्र यही काटी यि गिद्दहुलाई खाजा नबनाउनु परोस’ उनीहरुले पंञ्चायत कालमा ठाकुरले धम्की दिएको भन्दा कठोर बोलीमा कड्केर बेले।

लछ्मीजी वाल्ल परेर हेरिरहे अनि फेरी कवितामै प्रश्न तेर्स्यए यसरी:

‘म मरे… म कतिखेर मरे। म मरेको छुईन
ए राक्छ्यसहरु छोड मलाई
लादैछौ कँहा म मरेको छुईन अझै
श्वास फेरिरहेछु
दृश्य देखिरहेछु
आबाज सुनिरहेछु
तिमेरुका आतंकीत हाँसो थाहा पाइरहेछु
यति थाहा पाउदा पाउदै
किन लादैछौ मलाई

मेरी प्यारी अर्कैसंग पोईल गईरहेकी छे
मेरी छोरी अर्कैलाई बुबा भनिरहेकि छे
मेरो छोरो गाँजा तानिरहेछ
मेरा पिता पात्रो हेरिरहेछन्
मेरी माता बात्ती काटिरहेछीन्

जान देऊ ए अर्धमानवहरु
म जान्छु छोड मलाई
नछेक अझै बाटो मलाई
बर्बादहुदैछु म आफै
जान देऊ ए अर्धमानव मलाई

खोला मलाई खोजिरहेछ
रुख मलाई रुँगिरहेछ
पात मलाई पर्खिरहेछ
कोईली मलाई कराइरहिछ

जान देऊ ए अर्धमानव मलाई
किन सुन्दैनौँ तिमीहरू
किन बुझ्दैनौ तिमीहरू
किन देख्दैनौ तिमीहरू

तिमीहरु मरेका छौ
जस्तै मलाई देख्छौ
म बाचीरहेछु
जस्तै तिमेरुलाई देख्छु

सुकेको रुख हौ तिमीहरु
लुकाउने गोबन साँपहरु
पंछी बनी उडी आए बन्दि बनाउने जाल तिमीहरु

छोड ए राक्छ्यसहरु छोड भन्दैछु म
जान देउ नत्र म टोकिदिनेछु तिमीहरुलाई
हात्तीका जस्ता दाह्रा छैनन्
चिलको जस्तो चुच्चो छैन
अजङ्गका अजिङ्गरको जस्तो बिषालु त्यो श्वास छैन।

छोड ए अर्धमानव मलाई जान देउ
म जानेछु त्यो सुन्दर स्वर्गमा
जँहा अशान्त छैन
जँहा हिँसा छैन
र जाहा तिमीहरु जस्ता अर्धमानव छैनन्
जान देऊ ए अर्धमानव मलाई जान देउ
जान देउ….

ति अर्धमानवहरु झन् जोडसंग हाँस्छन्।लछ्मीजी हात छुटाउने निरर्थक प्रयत्न गर्छन। उनको केहि चल्दैन। अनि बेस्कन एउटा अर्धमानवको हात बेस्कन टोकिदिन्छन्। अर्कोको पनि त्यसै गरी टोक्दिन्छन्। टोकाईले ती अर्धमानवहरू रन्थनिन्छन् । अनि म्याराथुन दौडको प्रतिस्पर्धा गरेझैँ गरी दौडन थाल्दछन् लछ्मीजी। ती अर्धमानवहरू रन्थनिएर रिसले चुर भएका ति माथि लछ्मीजी फुत्किएका ।हातमा धारीलो तरवार लीएर रन्थनिदै लछ्मीजीलाई खोज्न थाल्दछन् ती अर्धमानवहरू ।

‘ओए मानव!, ओए पृथ्वीवासी मानव कँहा छस् तँ?’ उनीहरु आतङ्कीत आबाजमा खोज्न थाले लछ्मीजीलाई।

यता लछ्मी जी आँखा चिम्लेर दौडिरहेछन्। उनलाई, आफू कँहा गईरहेछु कुनै प्रवाह छैन।आफ्ना पाउमा ठेस लागेको उनलाई कुनै ख्याल छैन। फट्याङ्ग्रो झै पछारिन पुग्छन् पत्थररुपि माटोमा अनी आफ्ना बलड्याङ्ग्रे आँखाका परेला उघारछन् ।चारैतिर अर्धमानवका भयभित हाँसो अनि क्रोधका धर्साहरु तर उनलाई अवश्य पनि नियालेका थिएनन्। कतै आगो बालेर मानवहरुलाई उत्तानो पारेर झुण्डाईएको थियो त कतै उत्तानो पारेर तातिरहेको तेलमा टाउको चोप्दै निकाल्दै गरिरहेका थिए , कतै छाला काटेर खोर्सानी बेस्कन दलिरहेका। अब फेरी लछ्मीजीको मनमा उब्जिएको भयको सिमा रहेन।उनी डरले झन झन कापिरहेका थिए। अनि सेचिरहेका थिए ‘ कतै मेरो हालत पनि यस्तै हुने त हैन?’

‘नाई ‘उनी चिच्याए।

सबै अर्धमानवहरुले लछ्मीजीतर्फ दृष्टी बढाए। उनी डरले झन काप्न थाले लग…लग लग लग लग लग…

तर ती अर्धमानवहरु उनलाई ध्यान दिईरहेका थिएनन्। बल्ल उनको मन अब स्थीर अवश्थामा रह्यो ।

उनले शान्तिको श्वास बल्ल फेरे अनि चुरोट ओठमा फेरी च्याप्न पुगे तर उनीसंग सलाई भने अवश्य पनि थिएन।उनले चुरोट सल्काउन त्यही मानवहरूलाई आगोमाथि झुण्डाइएको नजिक पुगे अनि झल्याँस्स भए ती झुण्ड्याईएका मानवहरू त राणाहरु पो रहेछन्!

उनले चुरोट सल्काए तर ती अर्धमानवहरुले कुनै प्रतिक्रीया जनाएनन् तर आतङ्कित आबाजमा हाँसिरहे । राणाहरुलाई देख्ने बित्तीकै चुरोटको एक सुर्को तान्दै यस्तो भन्न थाले :

राणाहरुलाई नमस्कार छ
प्रणाम महाराज
आगोको ज्वालाझैँ जंगिएका
ज्वालामै आज जलिरहेका
हेर्दा क्या आनन्द राणाहरू
डढिरहेका
पर्र पर्र आबाज त्यो
झल्मल झल्मल ज्योती यो
जलिरहेका जिउदा राणाहरु
हास्छु म आज त्यो हाँसो
हाँसेथ्यौ राक्छ्यसी हाँसो
थुक्छु म थुकले त्यो दुष्ट मुखमा
थुईक्क राणाहरु थर्काएका थियौ त्यै थुतुनोले
थुक्दछु आज यै थुतुनोले

अर्धमानवहरुले फेरी लछ्मीजीलाई समाए किनकी लछ्मी जी आफैलाई सम्हाल्न सकिरहेका थिएनन्।उनीहरुले लछ्मीजीलाई एउटा खम्बामा बाँधे। लछ्मीजीले त्यो लामो लस्करलाई धेरैबेर सम्म नियालीरहे । कतै उनी त्यो लाममा जंगबहादुर देख्दथे त कतै चन्द्रशम्सेर अनी कतै त उनीहरुकै आफन्तहरु । अलि पर हेर्दै जादा लुते,ख्याउटे,लाम्चो नाक भएको ,रोगी जस्तो देखिने नेपाली पोषाकमा सजिएका अत्यन्त बुढा मान्छेलाई उनले देखे। ठुलो चस्मा लगाएका,तोते बोलीमा ‘बताउ बताउ’ भनि कराईरहेका ती बृद्ध मानिसलाई हेरिरहेका थिए। तर उनी को हुन् त्यो ठम्याउन भने उनले सकेन् ।

भर्खर कताबाट ल्याएका हुन् कुन्नि ठूले हुल एकतर्फबाट आउदै गरेको लछ्मी जीले प्रत्यक्छ दृष्टिपात गरे त्यै हुलमा एकजाना मानिसलाई गौर गरेर हेरे।कपाल शैलीबद्ध तरीकाबाट रुप्पीझै पछाडि कोरिएको थियो,स्यानो चस्मा लगाएका थिए, निन्याउरो अनुहार,ति मानिसले बडो जोश भरिएको झैँ गरी एउटा हात मुठ्ठी पर्दै माथि लान खोजिरहेथे तर अर्धमानवहरुको च्यापाईबाट लान सकिरहेका थिएनन्।अनि उनैका पछाडी एकजाना नेपाली टोपी र सुटमा सजिएका मानिसलाई देख्दा उनले निबन्ध रच्दाको हाँसउठ्दो जोकर जस्तै देख्दा उनी मरी मरी हाँस्न थाले ।

‘उ हेर नेपालका महाकवि ‘कसैलै लछ्मी जी तिर औला फ्याक्दै भन्यो।

त्यो बिषाल हुल लछ्मी जी तर्फ लम्किरहेको थियो। तर ति अर्धमानवहरुले उनीहरुलाई दह्रोसँग अठ्याँइरहेका थिए ।

कोहि लछ्मी जीतर्फ हेर्दै कराईरहेको थियो ‘महाकवि एकचोटी अवश्य म तपाईलाई भेट्नेछु’। तर लछ्मी जीलाई केको भेट्ने ईच्छा जाग्थो र ?

उनी आफै बाँधीएका गोरु झैँ नारिएका थिए।

अलि पर उनले दाह्रिजुँगा पालेका ,चस्मा लगाएका अत्यन्त लुते मान्छेलाई नियाल्न पुगे उनी पनि एकचोटी सम्म प्रधानमंत्री भईएन भनी फत्फताइरहेका थिए।एउटा अर्धमानव आएर ठ्याम्म टाउकोमा बजार्यो उनी रन्थनिदै चुप लागेर त्यही छट्पटाउन थाले ।

त्यस्कै पल्ला छेउमा दुईजाना अलि खासखुस गरिरहेका थिए ।लछ्मी जीले आफ्ना दृष्टी उँहि पुर्याए ।उनीहरु मेटा मेट ज्यान भएका,गोरा अनुहार,एउटाको बेली तोते तर अलि तिखो थियो भने अर्काको अली धेद्रे।’दुईजानै प्रधानमंत्री भईयो आहा! क्या मजा ‘ भनेको लछ्मी जीले प्रत्यक्छ सुने । तिनीहरुलाई पनि अर्को अर्धमानव आएर ठ्याम्म मुखमा बजार्यो। उनीहरु अक्क न बक्क परेर हेरिरहे ।

अनि लछ्मी जीलाई बल्ल थाहा भयो।उनलाई नर्कको राजनिती कक्छ्यमा ल्याईएको रहेछ।उनी एकताका शिक्छ्यामंत्री भएका कारणले यँहा आईपुगेका रहेछन्।राजनितीक मनुस्यहरुलाई याँहा झन तडपाईतडपाई मारिदोरहेछ । उनले थाहा पाईसकेका थिए कि उनको हालत पनि यस्तै नै हुनेछ । ती भर्खर ल्याईएका राजनितीग्यहरूलाई उँधो मुन्टो लगाई कसैलाई आगोमा , कसैलाई उम्लिएको तेलमा , पानिमा , अझ कसैलाई त उत्तानो पारेर उमालिएको फलामको तरल झोलमा हालीदै थिए । ति प्रधानमंत्री हुन नपाएकालाई त उत्तानो पारैर भकभक उम्लिएको पानिको बाफमा नाङ्गै सेकाउदा खुपै हसाँउने तरीकाले कराएका थिए ।त्यो देखेर लछ्मी जी खित् खित् खित् खित् हाँस्न थाले ।

अझ ति कड्केर मुठ्ठी पर्नेलाई त झन आगोको रापमाथि उत्तानो पारी झुण्डाईएर दशैमा खेलीने लिङ्गे पिङ् जस्तै हुईक्याउदा उनको चस्मा मिल्किदासम्म पनि हात मुठ्ठी पार्न भने छोडेका थिएनन्।यो देखेर पनि खुपै हाँसेका थिए लछ्मी जी ।

ती दुईजाना प्रधानमंत्री हुन पाएकालाई चै खम्बामा बाँधेर कुकुर फुकाई दिदा चै लछ्मी जी हाँसेर हुरुक्कै भएका थिए ।कुकुरले झम्टिदासम्म उनीहरु भनिरहेका थिए ‘ए कुकुर ज्यूहरु हामी त कान्तिपुरका प्रधानमंत्री पो त ‘अनि ती छ सय जानाको हुलमा एउटा प्रतिश्पर्धा गरीयो ।कागजको थाक दिएर लछ्मीजीकै रचना मुनामदन हुबहु सार्न दिईएको थियो ।जसले ढिलो सार्छ त्येसलाई नर्कको सबै नोकरले गर्ने काम गर्न दिईने र जीउदै काटेर नर्कका मानिसहरुलाई खान दिईने भन्दा कोहि हस्याङ्फस्याङ गर्दै चाईनिज अक्छेर सम्झेर लेखिरहेका थिए भने कोहि जस्ताको तस्तै हुबहु चित्र कोरेजस्तै गरी एक एक धर्सा कोर्दै थिए । कसैले लछ्मीजीलाई सुनाईरहेको थियो कि ‘यिनिहरु गणतान्त्रिक नेपालका सभासद् अरे’ आश्चर्यचकित अनुहार लगाएर लछ्मीजीले सोधिहाले

‘नेपालमा पनि गणतन्त्र आयो र अनी कस्ले ल्याएछ त ?’

‘उहि पिङ्ग खेल्ने मान्छे चै मुल हुन अनि पर बाख्रा चराउने चै साहायक अनि यी अरुहरु मिलेर ल्याएका रे ‘ कसैले उनलाई भनिरहेको थियो ।

लछ्मी जी ट्वाँ परेर हेरीरहे ति बाख्रा चराउनेलाई । कसैले फेरी भन्दै थियो उनलाई त नामको अगाडी डाँ. राख्नुपर्छ रे । उनलाई बाँधिएको डोरी त्यो सज्जनले खोलिदिए र लछ्झी जीलाई भाग्न आग्रह गरे तर लछ्झी भाग्ने अवस्थामा थिएनन् किनकी अगीनै उनलाई लखेट्दै आएका ती अर्धमानवहरू उनलाई नै खोज्दै आईपुगेका थिए ।उनले मुन्टो लुकाए ती अर्धमानवहरू अरु अर्धमानवहरूसँग केही कुरा गरिरहेका थिए,अनि लछ्मी जी तर्फ पाईला सार्न थाले अब लछ्मी जीका हंसले ठाँउ छोड्यो । त्यो सज्जन, लछ्मी जीलाई भाग्न भनिरहेको थियो ।अब लछ्मी जीले आँखा चिम्लिए, आफ्ना पाऊ अगाडी बडाए र जोडसंग दौडन थाले। दौडदा ती अर्धमानवहरु बेस्कन खित्का छाडि छाडि हाँसिरहेथे । त्यो सज्जन भय र त्रासले ती अर्धमानवहरूलाई हेरिरह्यो । लछ्मी जी रकेट उडेजस्तै दौडदै गए र पर छ्तिजमा बिलाए ।अनि त्याहाँ एउटा मधुरो आबाज गुञ्जियो ।त्यसपछी उनी कहाँ गए कसैलाई पत्तै भएन ।

त्यो मधुरो आबाज यस्तो थियो :

जादैछु म दूर त्यो
गर्दै म भुल यो
नसोच म कायर हूँ
भागेर जाने पवन सरी
कड्केर आउने हुण्डरी त्यो
गर्जने एक सिंह हूँ
अवश्य छुईन तिमेरु सरी
जलमा जल्ने आगो हूँ
आगोमा हुने आतङ्क सरी
दिदैछु आफै आकार यो

आतुर यो मन उडिरहेछ
आकार लिन त्यो सभ्यताको
आओ आओ ए अर्धमानवहरू
आकार लिई ओइलिएका आशाहरु उचाल्न आओ
आखाका अविरल आश्थाहरु अंगाल्न आओ

दौडिरहेछु म भागेको नसम्झ
कापिरहेछु म डराएको नसम्झ
आइरहेछ अविरल आशुँ
ए अर्धमानवहरू रोएको नसम्झ
जादैछु म दूर अब काँहा
थाहा छैन तर हुनेनै छु म यहाँ

सिध्याउने छु तिमीहरुलाई
सिध्याउनु भन्दा पहिला मलाई
हातमा छ तिमेरुको तरवार
खालि छु म तर भिड्न तयार

आओ ए अर्धमानवहरू बोलाउदै छु
चेतावानि नसम्झ माफ गरिएझैँ

डम्ब परेका पाखुरा मेरा
जोशले भरिएका भाव मेरा
जग्मगाईरहेछ त्यो ज्योती झै
शक्तीले भरिएका ईच्छा मेरा

अब छैन दूर समय त्यो
आईरहेछ समिप यो
डराओ डराओ ए अर्धमानवहरू
खत्तम पार्दैछु तिमीहरुको हाँसो त्यो
खत्तम हुदैछ तिमीहरुको श्वास त्यो
खत्तम हुदैछ तिमीहरुको ज्यान त्यो।।

-बिक्रमादित्य

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.