~अश्रु सिन्धुलीय~
१.मैले रोजीलाई सियाटलको टावर मुनि एक्लै बसेको भेटेँ। अनायास आँखा जुधेपछि अमेरिकन पारामा हाइ–हेलो भनियो। संयोग कस्तो पर्यो भने उसले कफी खाने ठाउँ र हाम्रो एउटै पसलमा एउटै लाइनमा परेको रहेछ। फेरि आँखा जुधे, अबको हाइ दोस्रो भयो र लाइनमा उभिँदा उसले सोधी—तपाई कहाँबाट? मैले भनेँ— म नेपालबाट। उसले आँखीभौँ खुम्च्याई, केही सम्झेझैँ गरी र टाउको झट्कार्दै भनी— इटलीमा हो? मैले हाँसेर भनेँ— ‘म माउन्ट एभरेस्टबाट। हिमालयको देशबाट।’ उसले केही फरासिँदै भनी—एजिया? मैले उसलाई पुलुक्क हेर्दा भित्तामा एसियाको नक्सा देखेपछि उसले त्यतै इसारा गरी र मैले पनि नेपालतर्फ इसारा गर्दै भनेँ— ‘भारत र चीनको बीचमा रहेको एउटा स्वतन्त्र देश नेपाल हो।’
२.रोजीले आफ्नो भूगोल कमजोर भएको ठानी क्यारे। कफीको प्याला लिएर त्यही नक्शामा पुगी अनि टावरको अर्को कुनामा गएर यसो हातले के सुम्सुम्याएकी थिई— त्यहाँ एसियाको नक्शा देखियो, नेपालमा छोई र नेपालको नक्शामा हातले छुँदै मलाई ठूलो स्वरले आकर्षित गरी र भनी—मैले तिम्रो देश फेला पारेँ। म हासेँ, ऊ पनि हाँसी।
३.एकछिन पछि हामी स्पेस निडलको ठ्याक्कै तल थियौँ र फेरि उसले मलाई नेपाल, हिमाल, नदी, गैंडा र टाटे बाघको बारेमा सोधी। जुन उसले एकछिन अघि पढेकी थिई। अनि उसले खुइय… गर्दै भनी— अपरिचित नेपाली, मैले तिम्रो देश त आज भेटेँ तर मैले आफ्नो देशचाहिँ भेट्न सकेकी छैन। अनि उसले परिचय दिँदै भनी— मेरो नाम रोजमेरी डन्कन हो। हामी ड्यालसमा जन्मियौँ। ह्युस्टनमा हुर्कियौँ, न्यु मेक्सिकोमा पढ्यौँ र अहिले सियाटलमा बस्दैछाँै। हामी भनेका म र मेरी बहिनी हौँ। त्यसैले म आफूलाई रोजी भन्छु र बहिनीलाई मेरी भन्छु। उसको आँखा तालभन्दा पारिको पहाडमा थुप्रिएको हिउँमा गाडिएका थिए र ऊ यन्त्रवत् मलाई आफ्नो जीवन–गाथा सुनाउन लागेकी थिई। तर उसले किन मलाई त्यो सुनाउन थाली, मेरो समय कति छ र त्यसपछि के हुन्छ? उसलाई थाहा नभएझैँ गरी एकोहोरो बोल्दै थिई र मचाहिँ त्यहाँबाट फुत्किने सुरमा ऊसँग नम्रताका साथ विदा माग्ने दाउमा थिएँ— रोजी, कृपया हामी फेरि कहीँ भेटौँला न भविष्यमा र कुरा गरौँला।
४.उसले मलाई एकछिन रोकिन् अनुरोध गरी, दौडेर गएर दुईवटा कफी लिएर आई र कफी नसिद्धिउन्जेल सम्मका लागि उसका कुरा सुन्न अनुरोध गरी— ए अपरिचित नेपाली दाइ, मेरो दुःख त सुन। आज म घरबारविहीन, बहिनीविहीन, जागिरविहीन सुनसान वर्तमानमा छु। हामी ऋणमा पालिने अमेरिकीहरू ऋणलाई जीवन मान्नेहरू, हामीजस्ता मध्यमवर्गीय मान्छेहरू घरका न घाटका भएका छौँ। उसले मलाई पुलुक्क हेरी र मेरो निरपेक्ष भावलाई पढी र भनी— मैले मनोविज्ञानमा बी.ए. गरेकी छु। एउटा हस्पिटलमा जागिर खान्थेँ, खुइय गर्दै भनी— ‘त्यो जागिर पनि एउटा बदमासले गर्दा हिजैमात्र गयो। बहिनी पनि उसैसँग गई र ऊ मलाई माया गर्छु भन्दै धोखा दिँदै बहिनीलाई पो लिएर हिँड्यो।’ ऊ रुँदै रुँदै कफीको तातो घुट्को पिउँदै, एकजना अपरिचितसँग किन किन आफ्ने मनको बह पोख्दै थिई, अनि म अन्यमनस्क भावमा उसको अंग्रेजी कति बुझ्दै, कति नबुझ्दै टाउको हल्लाउँदै थिएँ। अचानक उसले मलाई सोधी— ‘तिम्रो देशमा महिनाको कति डलरमा खान बस्न पुग्छ? मसँग केही डलर छ, यदि उतै गएर अमेरिका बिर्सन पाए पनि हुन्थ्यो। बहिनी, बहिनीको मायालु— त्यो बदमास डाक्टर र त्यो मेरो पोल लगाउने बिरामी बुढो। भो अपरिचित—मलाई ती कसैलाई सम्झन मन छैन। तिम्रो ठेगाना छ अपरिचित? उसले यी सबैकुरा एक सासमा बोली र मेरो कार्डका लागि हात पसारी।
५. मेरो हातले यन्त्रवत आफ्नो परिचय कार्ड दियो, ऊ त्यहाँबाट रन्थनिँदै हिँडी र मानिसहरूको भीडमा मिसिई। टावरमुनि संसारका सबै जात, धर्म र स्वरूपका मानिसहरुको घुइँचो थियो। म र रोजी पनि त्यही घुइँचो भित्रका मनुवाहरू थियौँ।
६.केही महिनापछि एकदिन मलाई घरमा एकाबिहानै फोन आयो— म रोजी, तपाईँसँग भेट्न चाहन्छु। म छक्क परेँ र सम्झिएँ— त्यो एक्ली केटी सहारा खोज्दै नेपाल आईछे।
७.एकछिनपछि म उसले दिएको निर्देशन अनुसार ठमेलको होटेलमा पुगेँ। वास्तवमा त्यही केटी रहिछे। उसले एकदम परिचितझैँ मसँग हात मिलाई र भनी— ‘म नेपाल आएँ। म नेपालमा घरजम गरेर बस्न चाहन्छु। मसँग नेपालका लागि पुग्ने थुप्रो पैसा छ। घर किन्न, गाडी किन्न, ग्याँस स्टेसन किन्न र पसल चलाउन वा त्यस्तै व्यापार गर्न। उसले एकसासमा सबै कुरा भनी र उसको किन हो त्यस्तो विश्वास थोपरेकी मलाई। मैले विश्वास नै गर्न सकिनँ।
(स्रोत : सेतोपटी डट कम )