~कालूसिंह रनपहेंली~
जीवनको किताबमा अन्तिम अध्याय मृत्यु।
जिन्दगी वाक्यको एउटा पूर्ण विराम मृत्यु।
जिन्दगीको दैलोमा अलिकति सास खानुलाई
ढुकिबस्छ मृत्युको भिखारी।।
जीवनको हात जहिल्यै माथिबाट छ।
भिखारी मृत्यु दयाको सिनो खाएर अघाउँछ।
मच्यो भन्छ मान्छेले जीवन लीला समाप्तिलाई।
त्यो अन्तिम विरामको लट्ठी टेकेर
अनन्त यात्रामा प्रस्थान गर्छ जीवन।
जिन्दगीसित छ गतिशील पखेटा
मृत्युसित छ गतिहीन अचलता।
चलायमान छ जीवनको गति
मृत्युको स्थिरतामा छैन हलचल।
मृत्युको रेलगाडी
त्यो अन्तिम जंकसनमा थामिएपछि
चिताको लप्का हाँस्छ।
हिजोसम्मका घमण्ड र हाँकहरू
आगोको जिब्रोमा जल्छन्।
हिजोसम्म सिमाना देखाउने औंलाहरू
खरानीका रेखाहरूमा परिवर्तित हुन्छन्।
शुरु हुन्छ अर्को अध्याय
यो अध्यायपछि।
कर्मको रेखाले कोरिएको इतिहास
जल्दैन आगोको चपेटमा।
इतिहास हुन जान्नेहरू ।
खरानीमा विनाश हुन मान्दैनन्।
अमर बन्छन् उनीहरू मृत्युकै क्षणदेखि।
जीवन तीन अक्षरमा छ
मृत्युको अढाइ अक्षर।।
अर्थमा र शब्दमा बृहतता
बोकिहिँड्छ जीवन।
जिन्दगीका हातमा कर्मका रेखा
मृत्युका हातमा फगत खरानी।
जिन्दगीको साथ इतिहास
मृत्युको साथ समाप्ति।
जीवन बाँचिरहन्छ कर्मसित
मृत्यु उड्छ खरानीसित।।
– (सिलगढी, शुक्रबार, १८ जनवरी, २०१९)
(स्रोत : समय दैनिक – गान्तोक)