कथा : घर फर्केको ज्यानमारा

~मधुवन पौडेल~

आज पनि मालिकले नलीले हिर्काएको नीलडाम लिएर देवदास घर फर्किरहेको छ । ऊ मनमनै सोचिरहेको छ, घर पुग्नासाथ आफ्नी स्वास्नी गोमतीलाई तातो पानीले सधैँ झैँ सेकाउन लगाउनेछ । जमिन्दारको घरमा उसका बाबु–बाजेले पुस्तौँदेखि चाकरी गरिआएका हुन् । त्यसैले उसको मनभित्र जति विरोधको ज्वाला दन्किए पनि जमिन्दारको दैलोअगाडि पुग्नासाथ देवदासको शिर बेतको हाँगो झैँ निहुरिहाल्छ । आज त उसले अल्छी मानेरै उसको यो हाल भएको भन्ने कुरामा ऊ निश्चिन्त छ । उसका सात पुस्ताले जमिन्दारका खलकका लागि कति पसीना बगाए, कति काम गर्दा गर्दै थलिएर औषधी नपाएरै अकाल मृत्युका शिकार भए, अझ कति सन्तान दरसन्तानले ऊ जस्तै गरी पिटाइमा परेर थलिई एक दिन नश्वर देहबाट बिदा लिनेछन् ।

देवदासलाई गोमतीले कति पटक आफ्नो मनको वह पोखिसकेकी छे । पल्लो गाउँमा एउटा क्रिस्तानीले त्यहाँ आएर स्कूल खोलेको छ । सवैले भन्छन्, उसले लोग्ने–स्वास्नी दुवैलाई जागीर पनि दिन्छ रे, अनि पुन्टे र भुन्टीलाई पढाइदिन्छ रे, तर उसको कुरा मान्नुपर्ने रे तर जसले उसको कुरा मान्यो उसले आफ्नो धर्म छोड्नुपर्छ रे, उनीहरूको घरबाट गणेशको फोटो झिकेर क्रसको चिन्ह लगाउनुपर्छ रे, आइतबारैपिच्छे स्कूल पछाडि भएको ठूलो घरमा सबै जना गएर प्रार्थना गर्नुपर्छ रे, र उनीहरूले कहिल्यै कालीको थानमा गएर पूजा पनि गर्नुहुन्न रे !

कृस्तानीको कुरा संझनासाथ देवदासको जीउमा डरले काँढा उम्रन्छन् । आफ्ना बाउबाजेले जुगौँदेखि पूजा गर्दै आएको गणेश, हप्तैपिच्छे पूजा लैजाने गरेको कालीमन्दिर यी सबै कसरी बिर्सने उसले ? बरु ऊ जमिन्दारको नली सहन तयार छ, आफ्ना हात खुट्टा भाँच्ने गरी पिटे पनि, रगतै छदाए पनि क्रिस्तानी बन्न जाने छैन । उसकी स्वास्नी गोमतीचाहिँ उसलाई आफ्ना छोराछोरीको चिन्ता छ भन्छे । देवदासको बाबुलाई पनि त्यस्तै पीर थियो होला नि, उनले आफ्नो धर्म किन छोडेनन् ? ऊ आफ्नो बाबुलाई देउताजस्तै मान्छ ।
बाबुले जेठा जमिन्दारलाई बचाउँदा बचाउँदै धेरै बर्ष अघि भीरबाट खसेर खुट्टा भाँचेका थिए रे । अनि जेठा जमिन्दारले शिकारमा लैजान नहुने भएकाले उनलाई घरबाट निकालेका थिए रे ! आमाले आफु केटाकेटी छँदै बाबुको बहादुरीको बयान गर्दै यी सब कुरा देवदासलाई भनेकी थिइन् ।

देवदास अब घर पुगिसकेको छ । गोमती बाख्राको दूध दुहेर भर्खर भित्र पसेकी रहिछ ।ऊ गोमतीलाई भन्दै थियो,
“गोमती अलिकति तातो पानी र कपडा लिएर आइज ।”

“किन आज पनि ? के गर्यौ तिमीले फेरि ?”

“घोडा फुकेर बगैँचाको फूल सवै फाँडेछ, भर्खर बनाएको वचको फोहोरा पनि बिगारिदिएछ, त्समाथि मालिकको अगाडिपट्टीको दाँत पनि फुकालिदिएछ पो ! अनि त के चाहियो र ! म पुग्न पाएको थिइन, चोकैदेखि लगारेर तबेलाभित्र थुनेर पिटे । त्यो नयाँ घोडा पनि कस्तो रिसाहा छ !”

गोमती बरर्र आँसु खसाल्दै बाहिर निस्कन्छे । लोग्नेका मुखमा रगतको थोपै नभएजस्तो उसलाई लाग्छ । “यस्ता पापी असत्तीको कहिल्यै भलो नहोस् ।” भन्दै ऊ भित्र पानी तताउन तसला बसाल्न जान्छे। देवदास पनि बाहिर दरीमा पल्टन्छ । सूर्यास्त हुने बेला भइसकेको छ । छोरा र छोरी दगुर्दै हिलाम्यै भएर आउँछन् र आमा भोक लाग्यो, आज ढलमा एउटै पनि माछा छैन, सुकेकै भए पनि पकाऊ भन्दै भित्र पस्छन् ।

गोमती दुवै जनालाई हेरिरहन्छे । के गर्ने? लोग्ने मान्दैन ! नत्र उसका छोराछोरी पनि किताब च्यापेर पढ्न जान पाउँथे। अनि कमसेकम जमिन्दारको बुहार्तन पनि उनीहरूकै पुस्तामा गएर टुङ्गिन्थ्यो । कहिले ऊ दिक्क मान्थी अनि कस्तो धर्मभीरु लोग्ने होला भनेर रिसाउँथी पनि । घरमा भएको पुरानो भजनको किताब बिहान एकैछिन पल्टाएर दुई हरफ पढ्दा पनि ऊ त्यसभित्र पनि जुँगामुठे जमिन्दारकै अनुहार देख्थी । पोहोर दुर्गापूजाको दिन गोमती पनि छोराछोरी च्यापेर मालिकको घरमा गएकी थिई । उसलाई मालिकको छोराले खाउँला झैँ गरेर हेरेको थियो । दुईटा बच्चाकी आमा, झुत्रो लुगा लाएकी आफ्नो तबेला सोहोर्ने नोकरकी स्वास्नी देखेर पनि उसले आफ्नो कामुकता देखाएको थियो ।

“ए दासे ! अक्षर पनि चिन्छे भन्थिस् नि तेरी स्वास्नी, यही नै हो ?”

“हो मालिक” । अनि घर फर्कंदा गोमतीले लोग्नेलाई भनेकी थिई, “त्यो मालिकको छोराको मलाई मुखै हेर्न मन लागेन । मोरो ! हाम्रा छोरा छोरीलाई देखाउँदै तैँले पाएकी होस् र यी भुँडुल्काहरू भन्दोरेछ ।”

“हुन्दे, माया लागेर सोधेका होलान् नि त !”

देवदास कति सोझो तर मालिक र उसका सन्तान चाहिँ कति कपटी छन् भन्ने गोमतीलाई लागेको थियो । ऊ केही पनि बुझ्दैन भनेर गोमती दिक्क हुन्थी

“सुत्यौ कि क्या हो ? सेकाउन पर्दैन ?”

“ए !! आँखा लागेछन् त !” भन्दै देवदास उठेर कुर्ता एकातिर फ्याँकी फेरि पल्टन्छ । छोराछोरी पनि बाहिर निस्केर बाबुआमा नजीक आइ बस्छन् ।

“बा तिमीलाई के भयो ? कसले पिट्यो ?” गोमती र देवदास मुखामुख गर्छन् । उनीहरूको मुखबाट एक वाक्य पनि फुट्दैन । दुवै जनाका आँखा रसाएर आउँछन् । भोलिपल्ट बिहान देवदास उठ्नै सक्दैन । उसको पिठ्युँ सुन्निएको छ । गोमती छोराछोरी काखमा लिएर रोएर बसिरहन्छे । छोराछोरी पनि माछा मार्न निस्कँदैनन् । बाख्राहरू घाँसपात नपाएर कराइरहेका छन् । पल्लो गाउँमा हिजो गाउँको चेयरम्यानले चामल बाँडेको सुनेर गोमती पनि छोराछोरी लिएर पुगेकी थिई । तर ऊ पुग्दा सिध्दिइसकेको रहेछ । त्यसैले आज त आँगनकै कर्कलो नउसिनी केही पनि उपाय छैन । ऊ हँसिया झिक्न भित्र पस्छे । देवदास एकातिर जरोले बरबराइरहेको छ ।

“जा त मालिकका घर गएर केही मागेर ल्या ! भोलि त जान सकिहालुँला । नत्र २/४ दिन दुवै जना गएर पनि फर्छ्याउँला नि !”

“दिन्छन् कि दिँदैनन्” भन्दै गोमती बाहिर निस्कन्छे ।

“गएर त हेर् न…” गोमती चुपचाप भएर निस्कन्छे ।

साँझ झमक्क परिसकेको छ । गोमती अझ फर्केकी छैन । पानी पनि झमझम परिरहेको छ । खोल्सा तर्न सकिन कि भनेर एउटा बाँस लिएर देवदास मालिकका घरतिर लाग्ने विचार गर्छ ।

“तिमीहरू भित्रै बस है ! बाहिर जलामय छ”,केटाकेटीलाई यति भन्दै ऊ बाहिर निस्कन्छ। जरोले गलाएकाले उसका पाइला पनि छिटो चल्न सक्दैनन् । बल्ला बल्ल मालिकका आँगनमा पुगेर ढोकामा बसिरहेको चन्दू पालेलाई गोमती कहाँ छे भनी सोध्छ ।

“तबेलाभित्र पानी भरिएकाले सोहोरेर आइज, अनि मात्रै पिठो पाउलिस् भनेर मालिक्नीले भन्नुभा सुन्याथेँ ! अर्को पालेले पनी तेसै भन्थ्यो ! त्यतै होलि कि…!”

चन्दू पालेको कुरा टुङ्गिन नपाउँदै गोमती दगुर्दै आएकी देख्यो उसले । उसको शरीरको माथिल्लो भाग निर्वस्त्र र धोती पनि ठाउँठाउँमा च्यातिएको !! गोमतीको पछिपछि ! “तँ राँडलाई नमारी कहाँ छोड्छु !” भन्दै मालिकको छोरो पनि दगुरेको देखेर देवदासका आँखाबाट आगो नै निस्के जस्तो भयो । अनायास उसको हातको बाँस मालिकको छोराका टाउकामा दनादन बज्रन पुग्छ । अनि ऊ पनि मूर्छा परेर ढल्छ ।

यो घटना घटेको आज पन्ध्र वर्ष बितिसक्यो । देवदास कर्तव्य ज्यान मारेको अभियोगमा जन्मकैद परेको थियो । पछि जेलमा एक पटक चन्दू पाले भेट्न आएको थियो । उसलाई पनि मालिकले निकालिदिएछन् । यो कुरा उसैले देवदासलाई भनेर उसले थाहा पाएको थियो। ऊ लामो समय जेल पर्ने थाहा पाएपछि गोमतीले दुवै छोराछोरीलाई क्रिस्तानीको स्कूलबाहिर पर्खिराख्नु भनेर घरतिर दलिनमा झुन्डिएर प्राण त्यागिछ । छोराछोरी कता गए कसैलाई थाहापत्तो भएन रे ।

देवदास ज्यानमारा भए पनि जेलमा राम्रो बानीबेहोरा राखेर बसेको, कहिल्यै कसैसँग झगडा नगरेको कैदी भएकोले १५ वर्षमै उसलाई माफी भयो ।आज ऊ जेलबाट बाहिर निस्कने दिन हो । जेल भित्रका उसका अन्तरंग साथीहरु, कपाल काटिदिने हासिम काका, सँधै नै रिसाइरहने राजन् भाइ, लेखनदास कहलिएका चक्रवर्ती दाइ समेत सबैलाई छोडेर आज ऊ बाहिर निस्कनेछ । यी तीन जना पनि देवदासजस्तै गरी जेलको कोठामा पुगेका थिए । हासिम काकाले आफ्नै घरमा उनको गाउँको मुल्लाले आफ्नी स्वास्नीलाई ताबीजको लोभ देखाएर इज्जत लुटेको देखेर एकै पटकमा मुल्लाको शरीर दुई फ्याक पारिदिएका थिए रे ! पहाडबाट बसाँई सरेर आएका राजन भाइले पनि दिउँसै आफ्नै घरमा आगो लगाएर स्वास्नी छोराछोरी डढाइदिने वनपालेको घाँटी थिचिदिएको रे ! घुम्दै फिर्दै पल्लो गाउँमा पसेर शिक्षक भएका चक्रवर्ती दाइको चाहिँ स्कूलमा मास्टर हुँदा आफ्नै एउटी चेलीसँग मन बसेको रहेछ । पछि त्यो केटीको बिहे अन्तै भएपछि विधर्मीसँग फसेकी भनेर उसको लोग्नेले मारेर स्कूलको कम्पाउण्डभित्र फ्याँकी चक्रवर्तीलाई फसाएको रे !

जेलबाट निस्कनासाथ देवदासलाई आफ्नै गाउँ जान मन लागेकाले ऊ त्यतै लाग्छ । १५ वर्ष जेलभित्र बस्दा २/४ हजार रुपियाँ जोगाएको पनि थियो । घर त टालटुल पार्नैपर्ला नि, छोराछोरी खोज्नुपर्यो फेरि… भन्ने सोच्दै ऊ आफ्नो गाउँ पुग्छ । तर उसको घर भएको ठाउँ !! त्यहाँ त लाइनै सिमेन्टका बिशाल घरहरू बनिसकेछन्, आँगन भएको ठाउँमा एउटा ठूलो मस्जिद र चारैतिर लाउडस्पीकर राखिएको ! ऊ बाटोमा हिँड्ने कसैलाई पनि चिन्दैनथ्यो । अनि उसले एक जना त्यहीँ आफ्नो गाडीमा अडेस लागेर उभिइरहेको मानिसलाई आँट गरेर सोध्छ,
“त्यहाँ त १५ वर्षअघि एउटा देवदास भन्ने मानिसको घर थियो, होइन र ?”

“ए त्यो ज्यानमारा ? म त यता आएर बसेको सात बर्ष मात्र भो ! अलिकति जमिन्दारको जग्गा मैले पनि किनेँ । उनीहरुबाट मैले सुने अनुसार देवदास भन्ने त आफ्नै जमिन्दार मालिकको छोरो मार्ने नमकहराम थियो रे त ! मालिकले पहिले र पछि मुद्दा खेप्दा घरजग्गा उनैलैई बेचेको रहेछ, तर अहिले त त्यो सबै अर्कैले किनिसक्यो ।”

त्यो मानिसले देवदासलाई तलदेखि माथिसम्म हेर्दै भन्छ । देवदासले टोलाएर हेरिरहेको देखेर त्यो मानिस सोध्छ, “किन? तिमी चिन्छौ र उसलाई ?”

“मालिकको छोरो अर्को पनि थियो नि, ऊ कहाँ छ नि ?” देवदासको आँखा रिसले रातो न रातो भइसकेको थियो, उसलाई फेरि जेलभित्र जान मन लागेर आउँछ ।

“ए ! त्यसपछि त उनीहरू सबै ४/५ वर्ष नहुँदै नेपाल छोडेर अर्कै देश गइहाले नि ! अर्को जनआन्दोलनपछि त भागाभाग भैगो नि !”

अर्कै देश भन्ने शब्द सुन्नासाथ देवदासलाई आश्चर्य लाग्छ । जमीनदारका सन्तान किन भागेछन्, मनमनै कुँढिन्छ अनि सोच्न थाल्छ, “भाग्नुपर्ने त ऊ जस्ता कमाराहरूले पो त, न घरवास न जहान परिवार” !

देवदास निश्चल किंकर्तव्यविमूढ भइ एकटक लगाएर टाढा क्षितिजतिर हेरिरहन्छ । उसको एउटै कुरो सोचिरहेको छ, ऊ जस्तो मान्छेलाई अहिले र पहिलेमा के फरक ? गाउँमा बसे पनि पुराना जमिन्दारको ठाउँ लिएका नयाँ जमिन्दारको बुहार्तन के कम होला र ? यति सोच्दासोच्दै ऊ गाउँबाट वाहिरिइसकेको थियो, उसका पाइला निरुदेदश्य र दिशाहीन लम्किरहेका थिए।

भीमनिधि तिवारी मार्ग,
काठमाडौ

(स्रोत : फेसबुकको ‘कथा’ समूहबाट )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.