~बिमल लामिछाने~
हाम्रो दिनहुँ झगडा पर्छ
कहिल मुक्का मुक्की हुन्छ
कहिले फास्स फुस्स मै टर्छ
म डल्लो लोहोरो उचाल्छु
बुढी चेप्टो सिलौटो उचाल्छे
म तातो रोटी उचाल्छु
बुढी रातो तावा उचाल्छे
कहिले बुढीले पन्यु खान्छे
कैले मैले कसौडी खान्छु
भुईँभरी भातको सिता हुन्छ
भान्सामा यसरी नै रमिता हुन्छ
एउटी छोरी छे,
पाखुरा तन्काउँदै तन्काउँदै
हामी दुइको हुलमा पस्ने
कोही छ घरज्वाँई बस्ने ?
बुढी नभए मलाई नहुने
म नभए बुढीलाई नहुने
मेरो जीत हुन्छ बुढी रुने
बुढीको जीत हुन्छ म रुने
उसले पनि हार्न नहुने
मैले पनि हार्न नहुने
झगडा गर्न एकदिन पनि बार्न नहुने
एउटी छोरी छे,
चौबिसै घन्टा मुखमा तितौरा पस्ने
कोही छ घरज्वाँई बस्ने ?
म ‘ए बिस्तारै बोल’ भन्छु
बुढी उचालिइ उचालिइ कराउँछे
म कान समाउँछु
बुढी उठबस गराउँछे
म ‘तालुमा तेल ठोकिदे ‘ भन्छु
बुढी झन तालुका रौँ उखेल्छे
म ‘समात बुढी समात’ भन्छु
के को समात्थी, झन झन ठेल्छे
एउटी छोरी छे,
लिपिस्टिक दल्दै दल्दै भातखान भान्सामा पस्ने
कोही छ, घरज्वाँई बस्ने ?
– बिमल लामिछाने , कुवेत