~अर्जुन थापा~
पात्रहरु : अनुप (श्रीमान), सरिता (श्रीमती), सुष्मा (सरिताको साथी), ललिता (सरिताकी आमा)
स्थान : बिहेको रिसेप्सन पार्टीमा ।
(माघ महिना भएकोले साँझको ५ बजे नै झमक्क अँध्यारो छ । पार्टी हलमा ठुलो म्युजिकमा केही नाची रहेका छन् । वेटरहरु स्न्याक्सलाई पाहुनाहरु भएको स्थानमा डुलाई रहेको हुन्छ । वियर तथा हुस्की ग्लासमा खनाउँदै हुन्छ बार ब्वाई । नाची रहेका मान्छेहरुलाई हेर्दै रहेका हुन्छन् सरिता र सुष्मा अलिक पर बसेर ।)
सरिता : (आँखालाई नचाउँदै) हेर न, त्यो केटो कस्तो ह्यान्डसम देखेको । त्यसको चेस्ट र बाइसेप कत्रो हो । अग्लो, गोरे र लुगा पनि कस्तो मिलाएर लगाएको । मेरो आँखा त्यो केटाबाट हटिरहेको छैन । ठ्याक्कै मेरो सपनाको राजकुमार जस्तो । त्यसको मोबाइल नं. कसरी पाउने होला ? त्यो सँग टाका भिडाउन पाए त खुब मोज गर्न पाइन्थ्यो यार ।
सुष्मा : (वेटरले डुलाउँदै हिँडेको वियर आफुतिर तान्दै) के भाको त पनि । पहिलाको जस्तै सोचेकी छेस तैँले अब पनि । कसैको बुहारी, श्रीमती र घरको इज्जत होस अहिले तँ । समय र परिस्थिति अनुसार चल्न सिक अब ।
सरिता : (अझै त्यही केटालाई नै हेर्दै) समय र परिस्थितिले हामीलाई चलाउने नभई हामीले चलाउन सक्नुपर्दछ । अनि मात्र खुशी हुन सक्छौ हामी ।
सुष्मा : (मासुको टुक्रालाई टुथपिकले टिप्दै) सिउँदोमा सिन्दुर, गलामा पोते र हातमा चुरा लगाएर पनि यस्तो कुरा गर्न अब सुहाउँछ त तँलाई ?
सरिता : (कोकको ग्लासलाई टेबलमा राख्दै) जुन सिन्दुर, पोते र चुराको कुरा गरी रहेकी छेस नि । त्यो केबल समाजको लागि लगाई दिएको मात्र हुँ । जब यी चिजहरु मेरो शरीरमा पर्छन नि तब मलाई लामो डोरीले बाँधी दिएका छन् जस्तो लाग्छ । मेरो यस्तो कोमल शरीरमा यी वाइयात चिजहरु सुट गर्दैनन । तर बाध्यता छ । आमा बाबुको लागि भएतापनि लगाइ दिनै पर्यो ।
सुष्मा : (अर्को वियरको ग्लास मगाउँदै) समय भन्दा एक कदम अगाडी चल्न खोज्यो भने फाइदा होइन बेफाइदा मात्र हुन्छ । सम्बन्धलाई बनाउन समय लाग्छ तर विगार्नलाई रत्तीभर पनि लाग्दैन । आफ्नो घर र लोग्नेको महत्व कस्तो हुन्छ भन्ने किन बुझ्ने कोशिस गर्दिनस ।
सरिता : (खिल्लीको हाँसो हाँस्दै) हातमा वियरको ग्लास बोकेर मलाई सिकाउने तैँले । कोक पिउने राम्रो कि वियर पिउने ? देख्ने मान्छेले हामी दुई मध्ये कसलाई सरीफ ठान्छन् होला त ?
सुष्मा : (एकछिनको मौनता पछि) वियर पिउँदैमा, छोटो लुगा लगाउँदैमा, नेल आर्ट गर्दैमा त्यसलाई खराबको संज्ञा दिनु हुँदैन । हो, अहिले म पार्टीमा बसेर वियर पिउँदै छु किनकी मलाई मेरो लोग्नेले विश्वास गर्छ । घरमा फूल्ली सपोर्ट छ र त्यही अनुरुप उहाँहरुको विश्वासर्लाइ आँच आउने काम कदापी गर्दिन पनि । तँ आफुलाई हेर । सबै कुरा भएर पनि केही छैन तँ सँग ।
सरिता : (शरीरलाई गीतको धुनमा हल्लाउँदै) सबको सोचाई कहाँ समान हुन्छ र डियर । तँलाई त थाहै छ म कस्तो खुल्ला दिलको, हँसी मजाक गर्नुपर्ने जली टाइपको आईमा हुँ भनेर । मेरो टोलमा ब्युटी भनेर चिन्दथे मलाई । हिन्दी फिल्मको नायिका जस्तै छे भनेर सबैले मरिहत्ते गर्थे हो । के गर्नु भाग्य नै खोटो लेखेर ल्याएपछि कसको के लाग्छ र ।
सुष्मा : यस्तो सोच्ने मान्छेले बिहे चाँही किन गरेको ? सबैको लाईफ सँग खेलेर आखिरमा के पाइस त ?
सरिता : त्यही गल्तीको सजाय त भोगदै छु अहिले । विवाह भनेकै खुल्ला रुपमा बलात्कार गर्न दिएको प्रमाणपत्र जस्तो लाग्छ । आफुले नचाहादा नचाहदै अरुको अगाडी आफ्नो शरीर सुम्पनु पर्ने रे । यो विवाह भन्ने कुरीतिलाई हटाउन म जस्तो २१औं शताब्दीको सोच राख्ने नारीहरु मिलेर आन्दोलन चलाउन पर्छ ।
सुष्मा : किताबी ज्ञान त पाइस तैँले तर व्यवहारिक ज्ञान चाही प्राप्त गर्न सकिनस । अरुले नसिकाएता पनि आफुले अरुबाट देखेर पनि सिक्ने कोशिस गरिनस । रमाइलो गर्नु मात्र खुशी हुने माध्यम होइन ।
सरिता : अरुको लागि बाँच्ने मान्छे नै होइन म । यो शरीर मेरो हो । र यसलाई कसको हातमा सुम्पने र कसरी राख्नुपर्छ भन्ने अधिकार केबल मलाई मात्र छ । अरुले के सोच्छन, के भन्छन भनेर हिँड्ने मान्छे नै होइन म । मलाई केबल यो थाहा छ कि कसरी र के गर्दा मलाई सन्तुष्टि मिल्छ त्यही गर्छु म ।
सुष्मा : तेरा कुरा सुनि रह्यो भने त मेरै घरमा भाँडभैलो नहोला भन्न सकिन्न ।
सरिता : त जस्तो १४ औं शताब्दीको सोचाई राऋने मान्छेको कुरा सुने भने त मलाई पनि आफु जस्तै बनाउन बेर छैन तैँले मलाई , जाउँ हिड बरु त्यो ह्यान्डसमसँग गएर केही क्षण नाचेमा राति निन्द्रा पनि मस्तले लाग्छ ।
(सुष्मा मोबाइलमा नम्बर थिचेर कुरा गर्न थाल्छीन भने सरिता अगाडी गएर नाच्न थाल्छीन ।)
दृश्य : २
स्थान : पुरानो घरको एक कोठा
समय : रातको १० बजे
अनुप : (ल्यापटपमा काम गर्दै) कस्तो रह्यो त पार्टी ? आउन ढिलो भयो नि ?
सरिता : (दराजबाट लुगा निकाल्दै) अझ बस बस भनि रहेका थिए । सबै साथीहरु अझै रमाइलो गर्दै थिए । अघि भर्याङ्गमै तिम्री आमाले सुनाई सकिन । के गर्नु यस्तो घरमा बाबु आमाले भिडाई दि हाले अब जिवनभर यस्तै हो मेरो लाइफ ।
अनुप : (खिसिक्क हाँस्दै) एक छिन अरु बसेको भए भई हाल्थ्यो नि । लिनलाई आउँथे नि म ।
सरिता : (अनुपलाई हेर्दै) प्लिज, तिमी आएनौ राम्रो गर्यौ । के मेरो इनसल्ट गराउनु छ र ? त्यहाँ एक से एक ह्यान्सम बनेर आएका हुन्छन् साथीहरु । तिमीलाई कसरी लगेर मेरो सो कल्ड लौगने भनेर चिनाउनु नि । भोलीदेखि सबैले गिज्जाएको कसले सुन्ने नि । हेरेको छौ आफुलाई ऐनामा कहिले ? न बडी मिलेको छ । न बोल्ने तमिज छ । न लुगा लगाउने सेन्स थाहा छ । त्यसमा अरुको पुरानो बाइकमा चढेर आएको कसैले देख्यो भने ! बीच बाटोमा बाइक रोक्नु पर्यो भने तिम्रो खुट्टाले समेत जमिन छुँदैन भनेपछि कति पुड्को होलाउ । त्यस्तोको बाइक पछाडी बस्न मज्जा आउँछ जो अग्लो, जिम गरेर बनाएको ह्यान्डसम मान्छेको जसको पछाडी बस्दा पनि आफुलाई सुरक्षित फिल होस् ।
अनुप : त्यस्तो पनि गिराएर नभन न हो । जे भएपनि तिम्रो श्रीमान पो हुँ त म ।
सरिता : त्यहि त रुनु छ कि तिमी मेरो लोग्ने हौ । केही उपाय छैन कि यो घरबाट म धेरै टाढा जान पाउँ । फेरी एकपल्ट पुरानो कुराहरु गर्न पाउँ । चाहेको बेला जान, मन लागेको लाउन, खान पाउन। फ्रि टाइममा कहिले भेडेटार त कहिले जोगमनि । माडवारी बास्ना आएको मिठाई आदी आदी । ‘विचरी कस्तो कलकलाउँदो थियो तेरो हात । के भाको यस्तो पटपट फुटेर । तेरो हात देखेर रुन मन लाग्यो भनेर साथीले भन्दा केही बोल्न सकिन आज म सब साथीहरुको माझमा दोस्रो ‘प्रिती जिन्टा’ थिएँ म ।
अनुप : लौ ! अहिले पनि मेरो लागि त सबै थोक होउ नि मेरी बुढी त ।
सरिता : प्लिज यो चेपारो घस्ने नाटक मेरो अगाडी नदेखाउ । यि सब तिम्रो परिवारको लागि बचाएर राख । तिमी मेरो नजिक आउने वित्तिकै एलर्जी हुन थाल्छ मलाई । तिम्रो नमिलेको शरीर र मुखबाट निस्की रहेको गन्ध छि । जब तिमी कोठामा पस्छौ नि लाग्छ कुनै फिल्ममा भिलेन बलात्कार गर्नको लागि हिरोइनको अगाडी बढे जस्तै । त्यसैले लाइट अफ गरीहाल्छु अचेल म । अनि तिम्रो डाकु जस्तो अनुहार देख्न पर्दैन ।
अनुप : भिलेन हुँदै डाकु पनि हुन पुगे त्यसो भए म ?
सरिता : धेरै सोच्छु हाम्रो सम्बन्धलाई लिएर म तर यो घरको हरेक मान्छेहरु देखिमलाई किन किन चित्त दुखाई छ । तिमीहरुको कारण मलाई यो घरमा आउनु पर्यो । भन्ने नै हो भने यस विवाहबाट खुशी कोही हुन सकेका छैनौ नि तिमीहरु । म सोच्छु पूर्वको कुरा तिमीहरु पश्चिमको । मलाई कालो रङ्ग मन पर्छ भने तिमीलाई सेतो । मलाई अहिलेको आधुनिक गीत मन पर्छ भने तिमीलाई मेरो हजुरबाको पालाको । मलाई डिस्को, पार्टी, रमाइलो मन पर्छ भने तिमीलाई एकान्त । मलाई नोकर चाकर राखेर लाइफलाई सुन्दर बनाउन मन लाग्छ भने तिमीलाई आफ्नो काम आफै गरेको मन पर्छ । मलाई बाहिरी दुनिया रमाउन मन लाग्छ तर तिमीलाई घरमा बसेर घरमा कुचो लगाउन, लुगा धुन र घाममा बसेर सुन्तला खान ।
अनुप : हुन पनि हो । हामी दुईको सोच कति फरक छ । तिमीलाई फिल्मको हिरो जस्तो शरीरको हरेक पार्टहरु ठुलो भएको, गितार बजाउने र मिठो भ्वाइस भएको ह्यान्डसम केटा जो आफ्नो प्रेमिका होस वा श्रीमतीको लागि आफ्नी आमालाई समेत त्याग्न सक्ने । केटीकोएक इशारामा जे गर्न पनि तयार हुने श्रीमान चाहिने तर विचरी तिमी, कस्तोको फेला पर्यौ ।
सरिता : अचेल साथीभाई र आफन्तहरुको गेटटुगेदर मा जानै मन लाग्दैन ।
अनुप : किन र जानै मन नलाग्नु नि ? त्यति पार्टीबाट आउँदै होइन र ?
सरिता : कस्तो घरको छोरी थिए म । मेरो लागि हरदम एक जना काम गर्ने मान्छे रेडी हुन्थ्यो । लुगा देखि जुत्ता सिलाई दिने । बिहान ९ बजे उठ्दा बेडमा हर्लिक्स रेडी हुन्थ्यो । दुई राउण्ड कफी पिएर मात्र उठ्ने म । मेरो माइतीमा त अहिले दुई दुई जना छन् काम गर्ने । माइती गएको बेला पानी पिएको ग्लास पनि टेबलमा राखिदिने अर्कै हुन्छन् भने कस्तो ठुलो परिवारको छोरी रहेछु म । बिहान बेडमा बसेर ठुलो टि.भि मा आफुलाई मन लागेको गीत सुन्न पाउँछु । मेरो छनौट अनुसार खाना पाक्ने गर्दछ । तिम्रो घरमा जस्तो बासी खाना खाने चलन छैन त्यहा । जहाँ गए पनि, जो सँग गए पनि, जे लगाए पनि, जति बेला आएपनि कसैले केही भन्दैनन किनकि उनीहरु अहिलेको २१औं सोचाइको विचार भएका छन् । तिमीहरु जस्तो बिहान ४ बजे देखि उठेर घण्टा बजाउने तर मन चाहि सफा नभएका मान्छे होइन । तिमी र तिम्री आमाले जति धर्म गरे पनि कहिल्यै धर्म हुँदैन । एउटा बुहारीको इच्छा बुझ्न नसक्नेलाई मेरो मनमा माया कसरी पलाउँछ ।
सरिता : आज पुरै जंङ्गिएर आएको छौ त मेरी प्यारी बुढी । कसलेके भन्यो र ?
सरिता : दिदीबहिनीका लोग्नेहरु विदेशमा घुम्न जान्छन तर तिमी चाही घरमा बसेर आमाको लुगा धोएर बस्छौ । मेरा आफन्तहरुले यो कुरा थाहा पाउने हो भने मेरो इज्जत के हुन्छ होला । अरुलाई भविष्य कसरी बनाउने भनेर चिन्ता हुन्छ तर तिमीलाई दाल, नुन, चिनी तरकारी सक्यो भन्ने हुन्छ । र आमा छोरा भएर किनेर ल्याएर दिनभरी कौसीमा बसेर दाल केलाएर बस्नु नै ठुलो हुन्छ तिमीहरुलाई । काम नहुने मान्छेहरुको काम हो यो दाल चामल केलाएर बस्ने । म जस्तो काम गर्ने मान्छेको होइन । मेरो माइतीमा यस्ता काम गर्ने समय कसैसँग पनि हुँदैन । यस्ता झिना मसिना काम गर्ने मान्छे अर्कै छ उता । अर्को कुरा त्यहाँ कुनै नियम भन्ने छैन । जसलाई जे मन लाग्छ गर्दा हुन्छ । तिमीहरुका जस्तो मान्छे मान्छेको खुट्टामा ढोक्दै हिँड्नु पर्ने । फ्रिज खोल्न धाराको पानी पिउन समेत सोध्नपर्ने राणा शासन छैन । तिमीहरुमा शिक्षाको कमी र ठुला मान्छेहरुको संगत नभएर पनि त्यस्तो सागुरिएको हो विचारहरु ।
अनुप : हुन सक्छ हामीमा शिक्षाको कमी भएरपनि यस्तो भएको । तिमी सिकाउ कस्तो गर्दा तिम्रो लेभल मा पुग्न सक्छौ हामी ।
सरिता : मेरो सासु त पुरै मोर्डन होस । सँगै पार्लरमा गएर नेल आर्ट गर्ने होस । सासु बुहारीमा कसले बढी फेसनको लुगा लगाउने भन्ने होडबाजी चलोस । सासुको फेसन देखेर मलाई डाहा जागोस अनि पो मज्जा आउँथ्यो त ।
अनुप : राम्रो कुरा गर्यौ अहिले बल्ल ।
सरिता : हप्तामा एक दिन पाएको छुट्टीमा चट्ट धुलिखेल वा कुरीनटार तिर गएर छुट्टी मनाउन पाओस । चट्ट स्वीमिङ्ग स्वीट मा स्वीमिङ्ग गरेको फोटो फेसबुकमा पोष्ट गर्न पाओस । होइन यो शरीर मेरो हो बाबा। यसलाई चाहे देखाउ वा नदेखाउ त्यो नितान्त मेरो अधिकारको कुरा हो । अरुलाई किन टाउको दुखाई ? तिमीहरु जस्तो तल्लो स्तरको सोच भएको मान्छेले गर्दा हाम्रो समाज पछाडी परेको छ ।
अनुप : अबको छुट्टीमा जाउ न त तिम्रो मनपर्ने ठाउँमा बस्ने गरी ।
सरिता : जानु छैन तिमी जस्तोसँग । तिमीलाई निधारमा सिन्दुर, हातमा चुरा र सारी लगाएर हिँडेको मन पर्छ । तर अफुलाई जति सक्दो छोटो लुगा । यस्तो राम्रो फिगर छ मेरो । सबैले कस्तो राम्रो फिगर छ मोडल जस्तै । प्रिती जिन्टा जस्तै मिलेको बडीलाई के यस्तो गरेको भन्छन् । मेरो यस्तो राम्रो फिगर देखेर सबैजना डाहा गर्छन । तर यो घरमा आएदेखि । माइतीमा एउटा दराज भरी जुत्तै जुत्ता, अर्को दराज भरी लुगाहरुले भरिएका छन् । कस्तो मिलाएर लगाउनु हुन्छ लुगाहरु । लुगा, जुत्ता, ब्याग र मोबाइलको कलर समेत म्याच हुनेगरी । ‘मेरो श्रीमतीलाई पनि तपाइका पठाइ दिनु पर्यो यस्तै राम्री हुनलाई’ भनेर अफिसका हाकीमहरुले भन्ने गर्छन तर तिमीहरु मात्र हौ मलाई घरमा काम गर्ने मान्छे सरह व्यवहार गर्ने ।
अनुप : हल्का त फरक हुन्छ नी होइन र विवाह अघि र पछिमा ?
सरिता : स्वास्नीको हरेक इच्छा पूरा गर्ने जिम्मेवारी लोग्नेको हुन्छ । तर यहाँ त तिमीहरुलाई मैले पो गर्नुपर्छ । अफिसमा काम नगर्ने हो भने त तिमीहरुले मलाई के मात्र गर्ने थिएनौ होला । हप्तामा एक दिन ब्रत हुन्छ । ब्रतको भोली पल्ट मिठोमिठो खान मन लाग्छ । तिमीहरुको घरमा नपाउने भएकोले माइती जानुपर्छ । माइतीमा न खानाको थाल वरिपरि खानाको परिकारले घेरिन्छ । थाकेर घर आउँदा आमा छोराको अनुहार हाँडी घोप्टे हुन्छ । होइन तिीहरुलाई जस्तो चिन्ता पिर अरुलाई छैन भनेको ? खाली चित्त दुख्यो र व्यवहार गर्न जानेको छैन भनेर भनेको सुन्दा सुन्दा यो घरको गेटबाट भित्र छिर्न मन लाग्दैन ।
अनुप : बोल्दा बोल्दा कहिलेकाँही ज्यादा नै भन्छौ क्या ।
सरिता : किन र चित्त दुख्यो तिम्री आमाको बारेमा भनेको सुन्दा । ‘मैले यस्तो दु:ख गरे । यो घर बनाउँदा ड्रममा बालुवा समेत चाले ।’ भनेर भन्नुको के अर्थ ? के अब मैले पनि बालुवा चाल्न जानु पर्यो ? आफ्नो समयमा हरेकले दु:ख गरेका हुन्छन् । मेरो आमा बाबुले पनि कति दु:ख गरेका थिए । तर तिम्री आमाले जस्तो भाषण दिँदैनन । उल्टै, जा छोरी यही हो समय रमाइलो गर्ने, बुढेसकालमा अझ दाँत झरेपछि गरेको केही रमाइलो हुँदैन भनेर भन्छन् । यसैलाई भन्छन ज्ञानकोकमी । पर सरेर तिम्रा आफन्त आउँदा बेडमा सुत्न गाह्रो भयो होला भन्ने तर मलाई चाहि अलग्ग बस भनेर प्यासेजमा बसाउने । तिमीहरुको मन परेको मान्छे आउँदा मिठो मिठो पकाएर खुवाउने तर मैले खाँदा पैसाको कुरा गर्ने । यो घरको म हुन चाँही को हुँ ?
अनुप : हरेक कुरालाई राम्रो तरिकाले बुझ्नु पर्छ । ससाना कुरामा अल्झयौ भने हामी कहिल्यै खुशी हुन सक्दैनौ ।
सरिता : मेरो माइतिमा गएर सबैलाई भनेका रहेछौ तिमीले कि बच्चा पाउनलाई मनाइ दिन पर्यो भनेर । तर इन्द्रको बाउ चन्द्रे आएपनि तिम्रो नामको बच्चा चाहिन्न मलाई जिवनभर रुनु छ र तिम्रो बच्चा पाएर ।
अनुप : चाहेको चाहि के हौ तिमीले आज मलाई भन त ? हरेक समय यही कुरा सुन्दा सुन्दा थाकीसके ।
सरिता : मुक्ति ! मिती र यो घरबाट । तिमीहरुको अनुहार देखि दिग दिग लाग्छ मलाई । याद गरेका छौ तिमीले प्रयोग गर्ने सिरानी समेत प्रयोग गर्दिन म । र तिम्रो आमाको अनुहार देख्न नपरोस भनेर अर्कैतिर मुख फर्काएर हिँड्ने गर्छु । अहिले जे गरीरहेको छु नि, त्यो पहिला नै गुर्नपर्ने रहेछ । तर ढिला भएपनि बुद्धि आयो मेरो ।
(कौसीमा गएर फोनमा कुरा गर्न थाल्छीन उनी । त्यहि पुरानो गीत कानमा एयरफोन लगाएर सुन्न थाल्छ अनुप ।)
(पर्दा बन्द)
दृश्य : ३
स्थान : ठुलो कौसी
समय : रातको ११ बजे
सरिता : (फोनमा कुरा गर्दै) कति पटक सम्झाए तिमीहरुलाई कि यो घरमा बस्न सक्दिन भनेर । तर तिमीहरुलाई बोझ भएको थिए म र यस्तो नर्कमार बारम्बार धकेली रह्यौ ।
ललिता : (कसैले सुन्ला कि भनेर सानो श्वरमा) तेसो नगर छोरी । तिमी भनेको मेरीमुटु हौ । के गर्नु हामी नराम्रो गरी फस्यौं । मेरी फूल जस्ती छोरीको यो हालत देख्दा मलाई कस्तो भएको छ त्यो तिमीहरु कसैले बुझ्न सक्दैनौ । मलाई त दोस्रो दिन खुट्टा खोच्याएर लङ्गडो जस्तो गरेर हिँड्दैमानै मनमा खचक्क लागेको थियो कि मेरी यस्ती राम्री कलकलाउँदी छोरीलाई बुढो केटो पर्यो भनेर ।
सरिता : तिमीलाई छोरीको बिहे हेर्ने रहर थियो । त्यो पुरा भईहाल्यो । अब यहाँ बस्न सक्दिन म । तिमीहरुलाई समाजको डर लाग्छ भने छुट्टै डेरा लेर बसी दिन्छु । राम्रो छु । पढेलेखेकी छु र राम्रो कमाउने छु । त्यसैले मलाई कसैको अण्डरमा बस्नु पर्छ भन्ने छैन । सरिता हो मेरो नाम र मैले चाहे भने जे पनि गर्न सक्छु । जुन कुराको प्रमाण तिमीहरुलाई धेरै पटक देखाई पनि सकेको छु ।
ललिता : त्यसो नभन छोरी । तिम्रो खुशी भनेको पनि हाम्रो खुशी हो ।
सरिता : तिमीहरुले मलाई चिनेका छैनौ । तिम्रो दिमाग भन्दा दुई कदम अगाडी चल्छ मेरो दिमाग । मलाई आफन्त र समाजको कुनै प्रवाह छैन । सबैभन्दा पहिला आफु खुशी हुुनपर्छ म । अनि मात्र बाँकी आउँछन् ।
(रिसको झोकमा फोन काटेर कोठाभित्र पस्छिन् सरिता । आमाको दिमागमा अर्को कुनै योजना फुरी रहेको हुँदैन ।
(पर्दा बन्द)
समाप्त
अर्जुन थापा
धुम्बाराही, काठमाण्डौ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )