लोक दन्त्यकथा : राजकुमारी प्रियम्बदा

~सङ्कलन : प्राञ्जल प्रेम~

एकपटक पाटलीपत्तनमा सत्यविक्रम नाम गरेका राजाले राज्य गर्थे । उनी वीर, पराक्रमी र प्रजावत्सल थिए । परचक्रीहरुको आक्रमणबाट आफ्ना प्रजाहरुलाई रक्षा गर्न उनले आफ्नो देशको सीमालाई अग्लो र बलियो पर्खालले घेरेका थिए । सीमाका नाकानाकामा उनका युद्धविशारद सैनिकहरुले परिक्रमा गरिरहेका हुन्थे ।

पाटलीपत्तन हरतरहले सुन्दर थियो । राजधानीको एकछेउमा राजा सत्यविक्रमको भव्य राजप्रासाद थियो । बाहिरबाट हेर्दा राजप्रासाद कुनै घना वनजस्तै देखिन्थ्यो । त्यहाँ अनेक प्रकारका लताकुञ्ज, फलफूलका रुखबुटाहरुमा बसेर अनेक प्रकारका चराचुरुङ्गीहरु चिरबिर गरिरहेका हुन्थे ।

राजा सत्यविक्रमको राजप्रशासन चुस्तदुरुस्त थियो । प्रजाहरुले कुनै प्रकारको दुःखकष्ट नपाऊन् भन्ने कुरामा उनी सचेत थिए । खेतीपाती, पशुपालन, जडिबुटी, कपास उत्पादन र सोही अनुरुपका व्यापार उनका प्रजाका दिचर्या थिए ।

राजा सत्यविक्रमले राजकाज सम्हालेको दशवर्ष पनि नपुग्दै पाटलीपत्तन सम्पन्न, शिक्षित र सभ्य भइसकेको थियो । ठाउँ ठाउँमा विद्यापीठहरु चलेका थिए । चोरीचकारी हुँदैनथ्यो वा कम हुन्थ्यो । कोही पनि झूट बोल्दैनथे वा कम बोल्थे । प्रजाहरु आआफ्नो काममा निरन्तर लागिरहेका हुन्थे । सबै कुरा कानुनको दायरामा थियो । सबै प्रकारको न्याय निरुपण राजसभाले गथ्र्यो ।

राजा सत्यविक्रमकी रानी सुमनमञ्जरी देवी पनि आध्यात्मिक स्वभावकी कोमल हृदय भएकी ज्ञानले विदुषी र रुपले सुन्दरी थिइन् ।

राज्यको सम्पूर्ण आर्थिक, राजनैतिक, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था सुदृढ हुँदै गएको देखेर रानी सुमनमञ्जरीले एक दिन राजालाई कविहरुको भेला गराउँने कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् । राजा पनि रानीको कुरा सुनेर अति नै खुशी भए ।

कविगोष्ठी हुने भएपछि नगरमा निकै उत्साहको वातावरण छायो । जसले सबैभन्दा सुन्दर कविता सुनाउँन सक्छ रथयात्रासहित उसलाई सम्मान गरिने घोषणा भयो । नगरका कविहरु पनि एकाएक सक्रिय भए ।

काव्यगोष्ठी हुने दिन जति नजिकिँदै जाँदो थियो मानिसहरुमा कविताको आस्वाद लिन कौतुहल छाएको थियो भने कविहरु पनि सुन्दरतम कविता रचना गर्न एकान्तको सेवन गरिरहेका थिए ।

राजधानी नगरको खुला मैदानमा भव्य तयारी सहित मञ्च बन्दै थियो । राजा सत्यविक्रम, रानी सुमनमञ्जरी, राजकुमार सत्यव्रत र राजकुमारी ‘प्रियम्बदा’ बस्ने व्यास तथा मन्त्रीहरु लगायत राजप्रासादका अन्य वरिष्ठ कर्मचारीहरु बस्ने मञ्च बन्दै थिए ।

हेर्दा हेर्दै तोकिएको दिन वैसाख पूर्णिमाको शुभसाइतमा कविगोष्ठी सुरु भयो । सभामा कविहरुको नाम बोलाइन्थ्यो र सम्बन्धित कवि मञ्चमा पुगेर राजारानी सहित विशिष्ट पाहुनाहरुलाई स्वस्ति गरिसकेपछि आफ्नो कविता पाठ गर्नथाल्थ्यो । अनि स्रोतादीर्घाबाट ताली बज्थ्यो ।

थुप्रै कविहरुले हृदय नै उत्तेजित पार्ने सुन्दर सुन्दर कविताहरु सुनाए । सुन्नेहरु रमाए ।

कविता त उसको भन्दा उसको राम्रो वा फलानोको भन्दा फलानोको राम्रो भन्दै मानिसहरु बीचमा खासखुस चलिरहेको थियो ।

छानिएका सबैले कविता सुनाइसकेपछि प्रथम भएको कविता वाचन गर्न कवि रत्न प्रभाकर मञ्चमा गए । उनले यथोचित सम्बोधन गरिसकेपछि आफ्नो कविता पुनः वाचन गरे

माटो यो देशको मीठो मगमग बसाउँछ
शान्तिको मैत्रीको हावा सिरसिर सुसाउँछ ।।

सत्यविक्रमको बोली आफैँमा कविता छ जो
सुमनमञ्जरीभित्र जून नै जून हुन्छ त्यो ।।

भानु झैँ चम्कियो देश सत्यविक्रमले गरी
देख्छु सारा उन्यु फुल्छ जहाँ छिन् पुष्पमञ्जरी ।।

राजारानी बडा देख्ता घामजून डराउँछन्
जय होस् जय होस् भन्दै प्रजा सारा कराउँछन् ।।

हो । कवि रत्नप्रभाकरले ती शब्दहरु यसरी वाचन गरेका थिए कि स्रोताहरु सबै सबै कराएका थिए । राजा पनि उठेर ताली ठोक्न थाले । राजा उठेपछि त्यहाँ कोही पनि बस्न सकेनन् । सबै उठेर ताली ठोक्न थाले । रानी सुमनमञ्जरी पनि मुसुमुसु हाँस्दै ताली पिट्दै थिईन् । राजकुमार सत्यव्रत रमाइरहेका थिए भने राजकुमारी प्रियम्बदा पनि हौसिइरहेकी थिइन् । सबै रमाएका थिए । कवि रत्नप्रभाकरलाई कविरथीको उपाधि त्यहीँ प्रदान गरियो । उनले प्रसस्त धनदौलतमात्र होइन र राज्यका तर्फबाटसमेत आजन्म भत्ता पाउँने भए । उनको रथयात्रा भयो । सबै खुसी भए ।

कवि रथी रत्नप्रभाकर नगरको झुपडीबाट एकाएक दरबारिया भए । उनी देशको शैक्षिक र प्राज्ञिक क्षेत्रका प्रमुख पनि बने । उनले समग्र पाटलीपत्तनको काव्यकलाको उत्थानका लागि गर्नु पर्ने अनेक कामको जिम्मा पनि लिए । उनकै पहल र सक्रियतामा पाटलीपत्तनमा ‘मोक्षशाला’ विश्वविद्यालय स्थापना भयो ।

एकदिन अचम्म भयो ।

अचम्म के भयो भने राजा सत्यविक्रमले कविरथी रत्नप्रभाकरलाई काराबास सजाय गरे । नगरमा खासखुस हल्ला चलिहाल्यो कि अरु कोही भएको भए मारिने थियो रत्नप्रभाकर भएर मात्र काराबास सजाय पाए । राजा र रानीकी एकमात्र सुपुत्री राजकुमारी प्रियम्बदासँग लसपस गरेको आरोपमा उनी आजीवन काराबासमा परेको कुरा बाहिर आएको थियो । तर के कस्तो खालको लसपस भएको थियो भन्ने कुरा कसैलाई पनि थाहा थिएन ।

नगरको एकान्त कुनामा रहेको कालकोठरीमा उनलाई राखियो । कालकोठरी अति नै बलियो किल्ला जस्तो कारागार थियो । जहाँ कतैबाट पनि उज्यालो छिर्दैनथ्यो र रत्नप्रभाकर राखिएको कोठाको छेउछाउ तप तप गरेर चौबीसैघन्टा पानी चुहुन्थ्यो र एकान्तमा त्यो आवाज डरलाग्दो सुनिन्थ्यो ।

वर्षभरी पु¥याएर खानुपर्ने अन्न र दाउरा कारागारभित्रै दिइएको हुन्थ्यो र कोही पनि भेटघाट गर्न आउँदैनथ्यो ।

कवि रत्नप्रभाकरलाई केही समयपछि थाहा पनि भएन कुन दिन हो र कुन रात । कुन तिथि र कुन मिति हो त्यो पनि उनलाई थाहा भएन । उनका दा¥ही, जुँघा, नङ र केश लामा भएका थिए । जिउ गन्हाएको थियो । नीरव एकान्तले गर्दा उनी एकाएक झस्किन्थे । उनी छानातिरबाट केही समय बिराएर तप तप गर्दै झर्ने आवाजबाट तर्सिनमात्र थालेका थिएनन्, मानसिकरुपमा विक्षिप्त पनि बन्दै गएका थिए ।

एक दिन अचम्म भयो ।

अचम्म के भयो भने कारागारमा उनले नौलो आवाज सुने । त्यो आवाज सदा तप तप झर्ने एकोहोरो पानीका थोप्लाहरुको आवाज भन्दा नितान्त भिन्न थियो । त्यहाँ घोडाका टापहरु बज्दै थिए । फौजी जवानहरुले पैदल हिँड्दा आउने आवाज आइरहेको थियो । केही बेरपछि कवि रथी रत्नप्रभाकरले राजा सत्यविक्रमको बोली सुने

”कविरथी रत्नप्रभाकर < के छ हालखबर <”

कवि बोलेनन् । यद्यपि उनलाई कति समयपछि मान्छेको बोली उसमा पनि राजाको बोली सुन्दा आनन्द लागिरहेको थियो । कविले एकक्षण अनुमान गरे कि राजा आफूलाई मार्न आएका होलान् ।

”कवि प्रभाकर तिमीले माफी माग्छौ भने म तिमीलाई कारागार मुक्त गरिदिन्छु ।”

”महाराज, दरबारका चाटुकारहरुले मेरो सफलता र काव्यगौरवको अस्त गराउन गरेको षड्यन्त्रको घानमा म परेको हुँ । यसमा महाराजले जे गर्नुपर्ने थियो सो गरिबक्स्यो । म निरपराध छु र माफी माग्न सक्दिँनँ ।”

फेरि त्यहाँबाट घोडाका टापहरुको र पैदल फौज हिँड्दाको आवाज टाढा टाढा हुँदै गयो ।

लामो समयपछि कवि रत्नप्रभाकरको मृत्युभएको खबर पुगेपछि राजा सत्यविक्रम आफैँ कारागार पुगे । कारागारको त्यस अँध्यारो कोठामा कवि रत्नप्रभाकरको कङ्काल भित्तातिर लडेको थियो । दाहिने हातका औँलाहरुका हड्डीबीचमा एउटा अँगारको टुक्रा थियो । राजाले अनि भित्तामा हेरे ।

त्यहाँ लेखिएको थियो

”जति बादलले ढाकोस् छोपिँदैन कहीँ रवि,
‘अपवित्र हुँदै हुन्नन् नारी, गंगा तथा कवि ।।”

कारागारको भित्तामा राजाले त्यसप्रकारका अनेक कविताहरु लेखिएको देखे । अँगारले कारागारको भित्तामा सुन्दर र बान्की परेका अक्षरहरुमा लेखिएका कविताहरु देखेर र पढेर उनी आश्चर्यचकित भए । राजाले तत्कालै ती कविताहरु संकलन गर्न लगाए । राजा सत्यविक्रमले कविरथी रत्नप्रभाकरका दुईसय आठ श्लोक भएको कविताकाव्य ”‘प्रियम्बदा” शीर्षकमा ताम्रपत्रमा लेख्न लगाए र मोक्षशाला विश्वविद्यालयको पुस्तकालयमा राखे ।

कालान्तरमा पाटलीपत्तनमा मुगलहरुले आक्रमण गरे । उन्मत्त मुगल लडाकुहरुले नगरमा आगो लगाए । पुस्तकालय पनि बचेन, सबै पुस्तकहरु जलाइए । अचम्मको कुरा के थियो भने भव्य पुस्तकालयमा आगो लाग्दालाग्दै उक्त काव्य आगोको ज्वाला बीचबाट माथि माथि उड्दै जूनमा गएर बस्यो ।

भनिन्छ राजकुमारी प्रियम्बदा हरेक पूर्णिमाको रातमा सो काव्य जूनबाट लिएर धर्तीमा आउँछिन् र हिमालयमा गुन्गुनाउँदै उड्छिन् अनि बिहान उज्यालो नहुँदै शीतको थोपामा बिलाउँछिन्, त्यसबेला उक्त काव्य पुनः जूनमै गएर बस्छ ।

© प्राञ्जल प्रेम

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.