~दिलिप पौड्याल~
संसारको पल्लो कुनामा बसेर
लाटोकोसेरो झैँ रातभर जाग्दै गर्दा
फेसबुकको भित्तामा टाँसियका
अनगिन्ती चित्रहरूको भिडमा
मेरै देश खोजिरहन्छन्
हरपल हरपल
यी निर्दोष आँखाहरू
झोक्रायको अनुहारबाट
बनावटी मुस्कान छर्दै
“हाई, हाउ आर या” भन्दै गर्दा
धौलागिरि झैँ हॉस्ने
मेरै छरछिमेक, इष्टमित्र,दाजुभाइहरूको
अनुहार खोजिरहन्छन्
निर्दोष यी आँखाहरू
घण्टा घण्टामा डलरको हिसाब गर्दै गर्दा
रूपियामा मेटामोर्फिस हुन्छ समय
भूगोलको परिधि नाघेर
अलग्गै पहिचान बनाउने यात्रामा
कैयौँ पल्ट आफैलाई बिर्सिदिन्छ समय
र भित्ता भित्तामा टासियका रङ्गिन चित्रहरू बिच
आफैलाई खोजिरहन्छन्
निर्दोष यी आँखाहरू
लेउ लागेको चट्टान जस्तै
चिप्ला सडकहरूमा बिस्तारै टेक्दै गर्दा
माकुरोको जालो भित्र फसेजस्तै लाग्छ जीवन
चिम्नीले जस्तै धुवा छोड्दै
एक एक पाइलाहरू घिसार्दै
गोब्रेकिरो झैँ छातीभित्र सपना च्यापेर
ढलपल ढलपल हिँड्दै गर्दा
ढोरपाटन र धौलागिरीका पदमार्गहरू
खोजिरहन्छन्
निर्दोष यी आँखाहरू
तार छुटेको सितार
र सुर ताल भत्कियको सारङ्गी झैँ
कामको भाषा बोल्दै गर्दा
भाव र भाषाको मेल कहिल्यै भेट्दिन म
तब पॉऊछु आफैलाई रित्तो रित्तो
मकैवारिमा ठिङ्ग उभिएको
स्केयरक्रो झैँ एक्लो एक्लो
ठिक त्यसै बेला लालहित भैदिन्छन
मेरा आँखाहरू
मुनामदन र भक्तिमालाका श्लोकहरू खुट्ट्याउन
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )