~विनय कसजू~
एउटा मुसा सिंगै सुपारी बोकेर सकी नसकी दुलोतिर जाँदै थियो । अचानक माथिबाट उल्लुले झम्टन लागेको देख्यो । सुपारी त्यहीँ छाडेर मुसा दुलोभित्र पस्यो । उल्लुको पंजामा सुपारी पर्यो ।
उल्लुले त्यो सुपारी आफू बस्ने रुखको टोँडकामा लग्यो । उसले त्यसलाई ओल्र्टाई पल्र्टाई हेर्यो । त्यसलाई कतातिरबाट खाने भनी उसले ठम्याउन सकेन ।
पेट नै कमलो होला भनेर उसलेे सुपारीको पिँध अर्थात् सम्म परेको भागमा आफ्नो भालाजस्तो तीखो चुच्चोले थुँग्यो । सानो घाउ भयो तर रगत मासु केही पनि निस्केन । साह्रो कुरामा ठोक्किएर उसको चुच्चो झण्डै भाँच्चिएन । खाउँ कि नखाउँ दो मन गर्दै उसले फेरि अर्कोतिर थुँग्यो । सुपारीको सानो चोक्टा उछिट्टयिो । साथै उल्लुको मुखमा घाउ पनि भयो । उसको मुखबाट रगत बगेर सुपारीमा लट्पटियो । उसलाई रगतको स्वाद निक्कै मन पर्यो । उसले अझै जोडले सुपारीलाई थुँग्न थाल्यो ।
उसले जति जोडले थुँग्थ्यो उति धेरै उसको मुखबाट रगत आउँथ्यो र जति धेरै रगत आउँथ्यो उति उसलाई मज्जा आउँथ्यो । यसरी सुपारीलाई थुँग्दाथुँग्दा ऊ रगतले लुृछुप्पै भिज्यो । उसको शरीरबाट धेरै रगत निस्के पछि ऊ अचेत भएर रुखबाट खस्यो ।