कविता : नेपाल आमा रुँदै भन्छिन्

~ज्ञानेन्द्र गदाल~

आमा हुँ तिम्रा तिमी छोरा छोरी
आपतको बेला म सम्झाऊँ कसरी ।

जो छौ तिमी सब सन्तान मेरै
देख्छौ कि देख्दैनौ बिहान सबेरै
चिन्ता यही छ दिन रात मलाई
सोच्दैनौ किन आफ्नै भलाई ?

को हौ विरानो को हौ पराई
लड्दैछौ आफ्ना दाजु र भाइ
आफु आफुमै मरि रहेछौ
होली रगतको खेलिरहेछौ ।

असह्य पीडा छ आगो बलेर
खरानी भैगो गाउ घर जलेर
जताततै चल्छ वारुद र गोला
राक्षस प्रवृत्ति भो मानिसको चोला ।

स्वच्छ वतास छैन सास फेर्नलाई
खुल्ला आकाश छैन बास हेर्नलाई
जुन घामको ज्योती खोसियो कि
हावाको मार्ग पनि रोकियो कि ।

कोही युद्ध गर्न जंगल पसेका
कोही शान्ति जप्दै घरमा बसेका
सरकारीे नोकर जागिरे छोरो
बुहारी गर्छे धारो पँधेरो ।

छैन कसैको जिउ धनको रक्षा
सपना सरि भो शान्ति सुरक्षा
कुन बेला बर्सिन्छ छातिमा गोली
थाहा छैन कस्तो हुने हो भोली ।

के पाउँछौ आखिर यो सब गरेर
शान्ति पनि हुन्न जाँदा मरेर
बेला अझै छ सद्बुद्धि लेऊ
बाँच तिमी शान्तिले बाँच्न देऊ

– ज्ञानेन्द्र गदाल कोलोराडो, अमेरिका

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.