मनोबैज्ञानिक कथा : भोक

~रुमानी राई~rumani-rai

बिद्यालयबाट आउनसाथ ऊ अर्थाथ सहदेव बिस्तारामा डङ्ग….लड्यो । मानौँ उसले दिनभर शारिरीक बलको काम गरेको छ र लखतरान थाकेको छ । उसले आँखा चिम्म गर्यो । चारैतिर आँध्यारोको साम्राज्य स्थापित भयो । एक लामो स्वास खिचेर छोड्यो । करिब दश/पन्ध्र मिनेट पश्चात आँखा खोल्यो । उसको क्लान्त मन र थकित थकित जस्तै शरीर केही चंगा भयो ।

बिहान कोठाबाट बाहिरिएदेखि नै उसको मनमा एउटा अमूर्त कल्पना,भावना,बिचार जुर्मुराइरहेको छ आज । आज दिनभर ऊ त्यही अनाम सागरमा डुबुल्कीरह्यो । उसले आफ्नो अमुर्त भावनालाई आकार दिने चेष्टा पनि नगरेको होइन । तर ऊ सफल हुन भने सकेन ।एक त ड्युटीको समय फुर्सत नै कहाँ मिल्छ र ! मिलिहाले पनि जागीरको सवाल छ । सबैलाई आफ्नो ईज्जत,मानप्रतिष्ठा र नैतिकताको माया अवस्य हुन्छ । यदी यो जागीरबाट अवकाश हुनु हो भने उसको जीवनभन्दा बरु सडकका भुस्याहा कुकुरको महत्व बढी होला । एक सरकारी निम्न माध्यमिक बिद्यालयको प्रधानध्यापकको जागीर….प्रतिष्ठित नै छ । त्यसो त चौध बर्ष भयो-जिविकोपार्जन चलिरहेकै छ । भन्नु नै पर्दा यही जागीर नै पाँच परिवारको भोकतिर्खा मेट्न, एकसरो आङ् ढाक्न र बिभिन्न फर्माइसहरु पुरा गर्न,ईष्टमित्र धान्न अर्थात घरघृहस्थी संचालन गर्न काफी छ । वास्तवमा

सुजाताले खाना अगाडि राखिदिइन्-ऊ कपाकप खान थाल्यो । मानौं कि उसलाई समय छैन आरामले खान । सुजाता आफ्नो लोग्नेलाई नियाली रहन्छिन् । उनलाई आफ्नो लोग्नेको क्रियाकलाप र दैनिकी देखेर ताज्जुब लाग्छ । वाक्कदिक्क……खै के भन्ने ! त्यसैले उनलाई घरिघरी लोग्नेप्रति पारो तातेर आउँछ । तर बद्लामा लोग्नेबाट कुनै नकरात्मक व्यवहार र प्रतिशोध पाउँदिनन् । यद्तो लाग्छ, आफ्नो लोग्नेको हृदयमा लेस मात्र पनि रीस छैन । मानौं ऊ एक शान्त सागर हो-जसलाई जति छचल्काए पनि र जहाँ जति ढुङ्गाहरु फ्याँके पनि केही असर पर्दैन । बरु कुतुहूलतापूर्ण तरङ्गहरु मात्र छचल्किन्छन् । अत: लोग्नेप्रति त्यसैत्यसै दया पलाएर आउँछ भित्रभित्रै र मायाले चुमिरहुँ जस्तो लाग्छ । अंगालोमा बेरिरहुँ जस्तो लाग्छ उनलाई ।

त्यसताक सोह्रवर्षे कलकलाउँदी गुडिया जस्तै थिइन् सुजाता । अरुको जस्तै उनको पनि धेरैधेरै सपनाहरु, चाहानाहरु र कल्पनाहरु थिए । कति पुरा भए-कति अधुरै रहे । जब त उनको जिन्दगीमा सहदेवको प्रवेश भयो तब उनका सम्पूर्ण सपनाहरु, लक्षहरु सहदेव मै समाहित भए । जे जस्तो भए पनि सुजाता सन्तुष्ट छिन् । तृप्त छिन् र अझै पनि समानान्तर जीवन चलिरहेकै छ । भावुक लोग्नेको भावुकतासंगै वहकिइदा वहकिइदै जीवनका कैयौं हिउँद-वसन्तहरु पार गरिसकेकी छिन् उनले । सुजाता एक असल नारी मात्र नभएर एक असल श्रीमती र आमा पनि बनिसकेकी छिन् आज । एक छोरा र दुई छोरीहरु…यी नै हुन् उनका सुन्दर सपनाहरु, कल्पनाहरु र विपनाहरु ।

खानाको एक सानो चोइली र आधाडाडु दाल थपिदिइन् सुजाताले । उनका आँखाहरु लोग्नेमै केन्दृत थिए । खै के मन आयो, ” यो तपाईको जिउमा मासुचाहीं कहिल्यै नलाग्नेरहेछ !” अनायासै उनको मुखबाट फुत्किहाल्यो । अप्रासंगिक कुरामा लोग्ने रिसाउने हो कि भनेर डरले केही खुम्चिइन् सुजाता-तर सहदेव गाला चाउरी पार्दै मुस्कुरायो-ढुक्क भैइन् उनी ।

” अलिक त बढी भावुक र चिन्तनशिल भएर नै होला ! ” पुनः कुरा कोट्याइन् सुजाताले ।

” होइन…होइन…उहिले सानोमा आमाले मलाई तेल घसेर घाममा सुताइ छोड्नु भएको थियो रे, ” ठट्टाभावमा बोल्यो सहदेव, ” त्यही बेला मलाई गिद्दले केलाइ खाएको रे-त्यसैले गर्दा मेरो शरीरमा मासु पटक्कै नलागेको रे क्या ! ” यति भनेर सहदेव झनै चाउरिदै हाँस्यो । सुजाताको त हाँस्दाहाँस्दा आँसु नै आँसु भए आँखाहरु । बिचरी पच्छ्यौरीले आँसु पुछिन्जेल भइन् ।

साँच्चै, सहदेवको शारिरिक बनावटै अचम्मको छ । ठूलो टाउको, घुग्रिएको कपाल, कालाकाला गहिरा आँखाहरु, गाडिएका गालाहरु, सुगाको जस्तो नाक, छिन्नै लागेको जस्तो घाँटी, सिठ्ठा शरीर र सुकेका तिघ्राहरु । झट्ट हेर्दा खानै नपाएर जिङ्रिएको कुपोषणको सिकार जस्तो । कुनै दम नै नभएको जस्तो ।

सुजाताका तृषित आँखाहरु कहिलेकाही छक्कापन्जा गर्न पनि सिपालु छन् । मन त्यसै त्यसै बहकिने पनि गर्छ तेसो त । प्रकृति र प्रेमको जोडी देख्दा उनको मनमा अति डाह पलाउँछ । भित्रभित्रै औडाह हुन्छ । प्रकृति साँच्चै सौभाग्यवती छे । प्रेम जस्तो हट्टाकट्टा लोग्ने पाएकी छे । त्यो बलिष्ठ वाहुपासभित्र कसिइँदा कति आनन्द लुट्दिई हो प्रकृति । सप्रिएको चिल्लो, पोटिलो शरीर, चौडा छात्ती, बटारिएका तिघ्रा । अहा ! लोग्ने त यस्तो हुनु पर्छ त । प्रकृति जस्ती सुखी र खुसी आइमाई को होला र संसारमा ! उनको मुहारमा खेद र उदासिनताका भाव कहिल्यै देखेकी छैन सुजाताले । सधैं खिल्खिलाएकै हुन्छ पूर्णचन्द्र जस्तो । कति स्फूर्ती छ प्रकृतिको हावभावमा ! यो सत्य हो कि प्रकृति र प्रेम एकर्कामा तृप्त छन् । तर आफो लोग्नेको गति यस्तो छ-ओइलाएको मूला जस्तो । तैपनि उनी आफ्नो लोग्नेलाई त्यत्ती नै माया गर्छिन् जति प्रकृतिले प्रेमलाई गर्छे । तर….वास्तविकता यो छ कि जो सुजातालाई स्पष्ट थाहा छ-आफ्नो लोग्नेप्रतिको उनको लगाव र प्रेमप्रतिको प्रकृतिको लगावमा आकास-धर्तिको अन्तर छ ।

झसङ्ग ब्युँझिइन् सुजाता । मध्यरात निस्लोट अन्धकार । सिरकभित्रै उनका हातहरु सल्बलाए-मानौं उनी केही खोजिरहेकी छिन् । आलिङ्गनबद्ध आफ्नो लोग्ने कतिखेर कोल्टे फर्किसकेछ । सिरक बाहिर पो सहदेव त ! एकाएक उनको अन्तरमा कताकता नमिठो खल्लोपन उब्जियो । तैपनि गुडुल्किएको सिरक तानेर ओढाइदिइन् । लोग्ने ब्युँझिए पनि हुन्थ्यो । उनी नखोकेकी पनि होइनन् । यताउता नसल्बलाएकी पनि होइनन् । तर….सहदेवलाई के थाहा विपनाका कुराहरु ? ऊ त निंद्रामा घ्वार…घ्वार…घुरिरहेको थियो । अन्ततः सुजाता बिस्तारै लोग्नेतिर कोल्टे फर्किइन् र आलिङ्गनबद्ध भइन् । खै कस्तो भोक हो कुन्नी ? छट्पटाउँदा छट्पटाउँदै भुसुक्क निदाइन् सुजाता पनि ।

OOO

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.