~मधुवन पौडेल~
नयाँ प्रहरी अधिकारी पहिलो अपरेसन सकेर आफ्नो सिटमा बस्न पनि भ्याएका थिएनन् फोनको घण्टी बज्न थाल्यो, ‘हजुर’
‘ए ! तपाईँले त हाम्रो पार्टीको कार्यकर्तालाई विनासित्ति थुन्नुभएछ! छाडिदिनोस् नत्र तपाईँ नयाँ मान्छे, भोलि नै हिँड्नुपर्ला फेरी !’
‘हिँड्ने बस्ने त भइरहन्छ, तर उसले जघन्य अपराध गरेको छ, छोड्न मिल्दैन!’ उनले अरू केही नभनी फोन राखिदिए।
अर्कोतिर,
‘ए.. त्यल्ले मलाई नटेर्ने? पख्लास् !’ नेताजीलाई भाउन्न भएर आयो। उनले तुरुन्तै अर्कोतिर फोन लगाए,
‘हलो…. म बोलेको ! के राजनीति गर्नु अब ? कुनै कर्मचारीले टेर्ने होइनन् ! आज केही नगरी मेरो कार्यकर्तालाई थुनेछन् ! फोन गर्दा कुरै नसुनी राखिदिए, उल्टो हप्काए पनि ! यस्तो ठाउँमा पनि त्यस्तालाई खटाउने हो ? सरुवा गरिदिनोस् तुरुन्त ! नत्र राम्रो हुन्न ! होस गर्नोस्, भोटिँगको बेला आउँदैछ !
‘भयो के भन्नुस् न!’
अर्कोतिरबाट नेताजीले अरू केही नबोली फोन राखिसकेका थिए।
प्रहरीकहाँ फेरी घण्टी बज्यो,
‘हैन, तपाईँले त आउनासाथ हाम्रा मान्छे थुन्न थाल्नुभएछ ! तुरुन्त छोडिदिनोस्’
‘उसलाई छाड्न मिल्दैन सर्! ऊ त ठुलै अपराधी हो, यसपालि त उसले कलेजभित्र पसेर केटी विद्यार्थीलाई लछारपछार समेत गरेछ !’
‘मलाई केही थाहा छैन, छाड्नुभएन भने तपाईँले त्यो ठाउँ छाड्नुपर्ला !
‘मलाइ त्यही मन्जुर छ सर्’ !
चार घण्टा पछि प्रहरी अधिकारीलाई सरुवा पूर्जी आयो। निन्याउरो मुख लगाएर उनी नयाँ अफिसबाट बिदा भए।
धम्कीको भरमा सरुवा गराउन सकेकोमा नेताजीको खुट्टा भुइँमा थिएन । ठुलै लडाइँ जितेको मनस्थिति लिएर उनी घर फर्के ।
भित्र पस्नासाथ श्रीमतीले कुर्लेर भनिन्,
‘आजै ढिलो गर्ने हजुर पनि ? बिचरी छोरीलाई एउटा गुण्डाले कलेजभित्र पसेर लछारपछार पारेछ ! तै एक जना पुलिस अफिसर आइपुगेछ र उसलाई पक्रेर लगेछ ! तेस्तालाई त दश वर्ष सडाउनुपर्ने जेलमा !’
नेताजी स्तब्ध भए ! उनको आँखा अगाडी बिहान थानामा भेटेको प्रहरी अधिकारीको अनुहार नाचिरहेको थियो ।
भीमनिधि तिवारी मार्ग,
काठमाडौ
(स्रोत : रचनाकार स्वयंले भाईबरको माध्यमबाट पठाईएको । )