~कालूसिंह रनपहेंली~
यस गाउँका मण्डलको कुतिया बसेको छ दधिराम। अस्तिदेखि नै मालिकलाई ‘एउटा गाई अधिया पाल्नु पाए हुनेथियो!’ भनेर बिन्ती गरिराखेको थियो त्यसले। आज मण्डलले बोलाएर भने, “क्यानाम! दधिराम एउटा गाई अधिया पाल्छु भन्थिस् बन्दवस्त मिलाइदिएको छु। पाल्छस् होइन?”
दधिरामले खुशी भएर भन्यो, “पाल्छु नि मालिक!”
“तर सुन्! क्यानाम! माउ-बाछी छ। गाईको दूध आधा तेरो, आधा मेरो। गोबर तैं राख्, बारी मलिलो पार्। पछि क्यानाम! बाछीको पनि दूध दिने समय भएपछि त्यो पनि आधा-आधा। पारि भस्मेबाट माउको छः हजार र बाछीको एक हजार गरेर सात हजार रुपियाँ हालेर ल्याएको। राम्रो देखरेख गर्लास्।”
“हवस मालिक। अब मेरी स्वास्नी धनमायाको काम खालि गाई स्याहार्नु हुनेछ। म भने खेतालापाततिर जानुपर्यो, कतै रोजगारी पाए पनि गर्नुपर्यो।”
मण्डलले भने, “ल ल क्यानाम! गाई फुकालेर लैजा। बखते र रामधनले गाई लैजानु सहायता गर्नेछन्।”
दधिराम गोठमा पुग्यो। त्यसले गाईको थुन छाम्यो। इच्छापूरण वरदान दिइरहेका भगवानका औँलाहरू छोएजस्तो लाग्यो त्यसलाई। दूध पूरा आउने फाँचो छ। दधिरामको खुशीको सीमा रहेन। बखते र रामधनको सहायतामा त्यसले गाई मण्डलको गोठबाट फुकालेर आफ्नो घरतिर हिँड़ायो। मध्यदिनमा छाया मान्छेसितै हिँड़ेजस्तो बाछी पनि माउसित टाँस्सिएर सँगसँगै हिँड्यो।
बाटाभरि गाईबाट हुने आयस्ताबारे नै दधिरामले सोचिरहेको थियो। अब अपुगका धुवाँहरू दूधबाट हुने आयस्ताको बतासले उड़ाइ लैजानेछ। कमसेकम चार किलो दूध एक पल्टमा आउँछजस्तो छ। अन्दाज ठीक भए साँझ-बिहान दुइपल्टमा आठ किलो। महीनामा आठ गुणा तीस…. दुइ सौ चालीस किलो। त्यसमा एक सौ बीस किलो मालिकको भाग। एक सौ बीस किलो आफ्नो भाग। दूध अहिले किलोको चालीस रुपियाँको भाउ छ। त्यो भाउले जोड्दा महीनामा साढ़े चार हजार अलिक नाघ्छ होला। तर नानीहरूले पनि त दूध खानुपर्यो। दिनमा कमसेकम आधा किलो घरमा राख्दा पन्ध्र किलो महीनामा। एक सौ बीसमा पन्ध्र किलो घटाउँदा एक सौ पाँच किलो महीनामा अर्थात् लगभग चार हजार रुपियाँ त हुन्छ नै होला। त्यसले फेरि सोच्यो, ए… पीना र दानाको त हिसाबै जोड़िएनछ। आ… तर कति पो लागिहाल्ला र?
गाई घर ल्याइपुर्याइयो। पत्नी धनमाया गोठमै थिई। पूजाको सर-सामान ठीक गरेर बसेकी रहिछ। मानौं आज घरमा लक्ष्मीको प्रवेश भइरहेछ अनि उसको भव्य स्वागत गर्नुपर्नेछ। अलिकति पूजापाठ दीयो कलश गरेर गाईलाई पुजिवरी तिनीहरूले गोठभित्र हुले। दुवैको अनुहारमा जून लागेजस्तो उज्यालो थियो। मनमा छाएको खुशीको प्रकाश तिनीहरूको अनुहारमा पनि झल्कियो। धनमायाले अघि नै काटेर गोठछेउमा थाक पारेर राखेको घाँसबाट दधिरामले एक अँगालो गाईलाई हालिदियो। गाईले करम-करम घाँस चपाउँदा दुवै आफैं अघाएझैं भए।
राति ओछ्यानमा ढल्केपछि दधिरामकी पत्नी धनमायाले भनी, “अब गाई आयो, दसैँ पनि आउनु आँट्यो। यसपालि नानीहरूको लुगा पनि बनाउनुपर्छ है! अस्तिदेखि छोरीले ‘जामा छोटो भयो, लाज लाग्दो भइसक्यो’ भन्दैछे। त्यो पनि याद त गरिदिनैपर्यो नी।”
दधिरामले भन्यो, “हुन्छ, यो गाई लच्छिनको छ। दन्ते कथामा सब थोक पुर्याइदिने बाख्राजस्तो यसले सब चीज पुर्याइदिन्छ, तिमी ढुक्क बसन।”
भोलिपल्टदेखि गाईको हेरचाह गर्ने काम शुरु भयो धनमायाको। बिहान-बेलुकी गाईलाई घाँस। दिउँसो एक बेला पानी र साँझमा दाना पकाएर खुवाउनुपर्ने। त्यतिमात्र होइन, गाउँमा दूध ठिकामा लैजानु पनि उसकै जिम्मा भयो। तल्लोघर बलमाने, गैरीघर सान्नानी र पुछारघर साइँला बड़ा गरेर तीन किलो आधा ठिकामा दूध जानुथाल्यो। मण्डलको घरमा अधिया दूध पुर्याउनुचाहिँ दधिराम नै जानुथाल्योे। आज दूध पुर्याउनु जाँदा धनमायाले आफैंसित भनी, “लाटाको खुट्टा पनि कहिले त बाटामा पर्दो नै रहेछ!”
राति ओछ्यानमा दधिरामलाई धनमायाले सम्झाई, “यो पालि त गाईलाई भनेर नून पनि फाल्टै ल्याउनुपर्छ है!”
“ल… सब ल्याउँला।”
“एउटा फेरफारे कमिच तिमी पनि किन अनि मलाई पनि एउटा लुङ्गी ल्याउनुपर्छ होला। पुग्यो भने नानीको जामा पनि…”
भनिनसकी दधिरामले अलिकति झर्केर उत्तर दियो, “हुन्छ हुन्छ, एउटा गाईको टालोलेे दशवटा भ्वाङ टाल्नु पुग्छ होला!”
धनमायाले भनी, “अन्त किन झर्किहाल्नुपर्यो? चाहिएको त ल्याउनैपर्यो नी त!”
दुइ हत्केला खप्टाएर गर्दनपछि राखेर त्यसमाथि टाउको राखेको दधिरामले सिलिङतिर हेरेर भन्यो, “ल ल! अब पसिना बेसी बगाउनुपर्छ। कुत तिरेर पनि घरमा अन्न त आउँछ अलिकति। के गर्नु उप्जेको अन्न आधा त मालिकलाई नै बुझाउनुपर्छ। हामी गरीबको त बोल्ने बाटै पनि छैन।”
“जे भए पनि उनीहरूको जमीन, गाई छ र त हामी पनि जिउँदो छौं। त्यो रिट्ठेले पनि ‘स्कूल जान्छु मालिकको छोराजस्तै’ भन्छ। अब त्यसलाई पढ़ाउनु हो भने खर्च पनि भिन्दै लाग्छ। यो जमानामा नपढ़ी त त्यै गोरुजस्तो जोतिनुपर्छ। हामी त भयौं भयौं, हाम्रा छोराछोरीहरूले त यस्तो जीवनबाट मुक्ति पाओस्।”
“ठीकै छ नी, अब मालिकलाई एउटा सुँगुर पनि किनिमागेर अधिया पालूँ भन्दैछु! त्यसबाट पनि दसैँको खर्च त चल्छ नी! नानीहरूको लुगाफाटा किन्न पनि सघाउ हुन्छ। यसो कुरा गरिहेरन!”
“सुँगुरलाई दिनैपिच्छे चारो चैं कसले खोज्छ र?” दधिरामले भन्यो।
धनमायाले भनी, “म खोज्छु नी! माने खोज्नु म जङ्गल जान्छु। बारीमा पुष्टकारी पनि लगाउनुपर्छ। त्यसले पनि चारो हुन्छ।”
“पुष्टकारी लाउने कि, धान रोप्ने कि, दालहरू उमार्ने? फिलुङ्गे, सिमी र कालो दालहरू पनि त रोप्नुपर्यो। त्यस्तो ठूलो ठाउँजस्तो! यति भएको सानो जमीनमा त्यत्रो बेसी इच्छा गर्नु चैं रुमालमा अटाउने सामानको लागि बोरा बोकेर गएजस्तै हो। तै पनि ठीकै छ, म बनाइदिउँला सुँगुरको खोर। तिमी नै गएर मालिकनीसँग कुरा गर। उसैले पारा मिलाउँछ त्यस्ता कुराहरूको।”
आधा रातसम्म धेरै सपनाहरू बुनेपछि तिनीहरू सुते।
अर्को दिन, गाईलाई समय दिएर दुइ लोग्नेस्वास्नीले बारीमा काम गरे। साँझ झमक्क पर्यो। धनमायाले भनी, “यो रात पनि किन परेको होला? गरीबमारा रात! अलिकति काम अझै गर्नुपाए त आफैंलाई हुने!”
दधिरामले भन्यो, “तिमी जाँगरी छौ र त्यसो भन्छौ नी! अल्छेले भेट्यो भने दिन काटेर फाल्थ्यो र सब समय रात पारेर सुतिबस्थ्यो होला नी!”
धनमायाले भनी, “मेरो वशमा हुँदो हो त म कैंचीले रात काटेर फाल्ने थिएँ र दिनैमात्र बनाएर काम गरिबस्थें। ल ल अब साँझ पर्यो, नानीहरू के गर्दै होलान् जाऔंघर!”
तिनीहरू घरभित्र पस्दा रिट्ठे र मङ्गली धिब्रीमा के के लेख्दैथिए। धनमायाले भनी, “अब राम्रो पढ्नुपर्छ है नानीहरू!”
एक हप्ता बित्यो। गाईले दूध राम्रै दिँदैछ। सोचेजस्तै दूधबाट कमाइ हुने देखेर दधिराम र धनमाया खुशी छन्।
गाई ल्याएको नवौं दिनमा राति गोठमा गाई कराएर घत्राक-घुत्रुक गरेको आवाज आयो। दधिराम र धनमाया उठेर गोठतिर गए। के भयो भयो, गाई मुखबाट फिँज निकालेर लड़ीबड़ी गर्दै रहेछ। बाछामात्र छेउमा उभिएर कराउँदै रहेछ। दधिराम अत्तालियो। उसले स्वास्नीलाई भन्यो, “केही बिसाउने कुरा खायो होला घाँसमा। यो पाउलाको सिजनमा कति घाँसहरूले त गाई ठहरै हुन्छ भन्छन्। त्यस्तै भयो कि? के घाँस थियो?”
धनमायाले बताई, “त्यही कुटमेरोको घाँस थियो।”
दधिरामको शङ्का शब्दहरूमा अवतरित भयो,“पक्का पनि त्यो कुटमेरोको घाँसमा अटेर्नो कीरा थियो होला। अटेर्नो कीराले गाई ठहरै हुन्छ नी!” गाईलाई मुसार्दै फेरि उसैले भन्यो, “उहिले आमाले भन्नुहुन्थ्यो, घाँसमा गायोको पाउला खायो भने पनि गाई-गोरु मर्छ अरे। जाऊ-जाऊ गएर अलिक भक्किम्लोको ढुटोे पानीमा मिसाएर ल्याऊ। त्यो खुवाइदिऊँ, त्यसले ठीक हुनसक्छ होला।”
धनमाया दगुरेर गई अनि भारमा पोका पारेर बाँधिराखेको भक्किम्लो निकालेर पानीमा फिटेर ल्याई। दुवैले मुख खोलिदिएर भक्किम्लो गाईलाई खुवाए।
केही गरेर पनि गाईलाई बचाउनै थियो, अतः दधिरामले भन्यो, “जाऊ त मेलको चुक पनि ल्याऊ। त्यसले ठीक गर्न सक्छ कि?”
धनमाया फेरि दगुर्दै गएर मेलको चुक लिएर आई र फेरि दुवैले मेलको चुक पनि मुखमा हालिदिए। गाई चुक खाएपछि अझै जोड़ले छटपटायो अनि खुट्टाहरू तनक-तनक पारेर तानेपछि आँखा पल्टाएर त्यो शान्त भयो। दधिराम र धनमाया अरकच्च परे। धनमाया धुरुधुरु रुन लागी। उसका आँखाबाट गुड़ेका अजस्र आँसुको भेलले परिवारको सपना सोहोरेर लगेझैं लाग्दथ्यो। दधिरामले धनमायाको आँसु पुछिदिँदै भन्यो, “धनमाया, यो हामीलाई ईश्वरको परीक्षा हो। हामीलाई हराउनको निम्ति ईश्वरले किसिम-किसिमका परीक्षाहरू लिइरहेछन्। अब हाम्रो सब सपना खोलाको गीत भयो।”
गाईलाई पुराना बोराहरूले छोपेर राखेपछि गोठमा एउटा लालटीन बालेर झुण्ड्याए। त्यसपछि अँध्यारो मुख गरेर तिनीहरू घरमा गए। नानीहरू निदाइरहेकै थिए। रातको बाह्र बजिसकेको थियो त्यसबेला।
भोलिपल्ट दधिराम बिहानै मण्डलको घरमा पुगेर हिजोको घटना वृत्तान्त सुनायो। मण्डलले भनेे, “तिमीहरू अधिया पाल्ने मान्छेहरू हौ, अब गाईको दाम आधा-आधा तिर्नुपर्छ। छः हजार हालेर ल्याएको, तीन हजार खोजेर देऊ नत्र तिमीहरू बारी छोड़िदेऊ।”
दधिरामको बुद्धिमा केही आएन। त्यसले अनेक बिन्तीभाव गर्यो तर मण्डलको ढुङ्गा मुटु पग्लेन। दधिराम घरमा गयो। पति-पत्नीले उपाय खोजे। धनमतीले भनी, “आखिर जोड़ेको धन कुन दिनको लागि? मेरो कानको सुन छ, त्यै दिएर आऊ।”
दधिरामलाई कुरा ठीकै लाग्यो। त्यसले भन्यो, “जिउ रहे कमाएर फेरि त्यस्तै कानको गहना बनाइदिउँला। खै लेऊ त, म पुर्याएर आउँछु।”
धनमायाले बाकसमा लुगाहरूले बेह्रेर राखेकी कानको सुन लिएर आई। एकपल्ट मृतकको अन्तिम दर्शन गरेजस्तो मायालाग्दो अनुहार पारेर आफ्नो गहनालाई हेरी अनि दधिरामको हातमा हलिदिई। पत्नीको आँखामा टल्पलाइरहेको आँसु देखेपछि दधिरामको मन पनि अमिलो भयो। पत्नीको आँसु दाहिने हातले पुछिदिएपछि भारी पाउले दधिराम कानको सुन लिएर मण्डलको घरतिर गयो। सुन मालिकको हातमा हलिदिएर त्यसले भन्यो, “हाम्रो धन यति नै हो मालिक! अरू त के गर्नसक्थ्यौं र!”
कानको गहना हातमा लिएर सुनजस्तै चमक अनुहारमा ल्याएर मण्डलले भने, “ल ल भइगयो क्यानाम! दधिराम! अब जा!”
दधिराम घरतिर फर्कंदैछ। यही बाटो गाई लिएर घर जाँदा त्यसको मन सिमलको भुवाजस्तो खुशीको हावामा उड़िरहेको थियो, आज गाईको निम्ति पत्नीको कानको सुन बुझाएर फर्किआउँदा मन दश मनको भारीले थिचेजस्तो गह्रौं थियो। त्यसले केही तलतिर आएर पछि फर्केर मालिकको घर हेर्यो, अर्को तला पनि थपिँदै थियो। फेरि उँधोतिर फर्केर आफ्नो डेरा हेर्यो- त्यो लड्न खोजिरहेको थियो!
* * *
(आइतबार (4.8.2019) को दिन गान्तोक, सिक्किमको ‘हिमालीबेला’ समाचारपत्रमा प्रकाशित)
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)