~दिलिप पौड्याल~
एकाबिहानै घाँसको भारि पल्टाएर
भानु जयन्ति मनाउन स्कुल जाँदा
भानुभक्त को हुन् थाहा थिएन मलाई
दाँया हातले दुबो टिप्दै
गुरुको मुखारबिन्दु बाट कविता सुन्दा
कविता के हो थाहा थिएन मलाई
सबैको अगाडी थियो उनको फोटो
फूलमाला र अबिरले पुरिएको ‘आदि’
अनि सबैले भन्दै थिए ‘आदिकबि भानुभक्त ‘
गाउदै थिए ‘कान्तिपुरी नगरी ‘ र ‘बालाजी ‘
‘रामगीता’ र ‘गिरिधारी ‘
कविता आदि मात्रै बुझे मैले
चिनारी अलि अलि धेरै
उनि थिए श्रीकृष्ण बाजेका नाति
म रुक्मागत बाजेको नाति
उनि पनि खाट्टी पन्डीतका छोरा
म पनि खाट्टी पण्डितकै छोरो
उनि तनहुका बाहुन
म बाग्लुङ्गे
तर,
उनले ‘रामायण’ उल्थाए
भक्तमाला’ र बधु शिक्षा लेखे
सत्य कुरो बोल्दा जेल र नेल भोगे
आफु मोरेर गएपनि नेपालि भाषा जोगाए
सत्कर्म र संस्कार सिकाए
तर म आज,
भाषाको भ्रममा रुमलिएको छु
संकृति र संस्कार रित्तिएर भित्र भित्रै खोक्रिएको छु
मनभित्र ‘जननी जन्मभूमिस्च स्वर्गादपि गरियेसी’ बोकेर
परदेशको चक्रव्युहमा फसिरहेको छु।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )