कथा : पोखिएको चिनी

~रजित ओझा~

कथा तर नितान्त व्यक्तिगत । उसको गुनासोको बारेमा । सधैं भन्ने गर्छे, “तिमी कथा लेख्छौ तर मलाई सुनाउन्नौ !”

म अनुरोध गरी हेर्छु, “पढ न, म देखाउँछु नि तिमीलाई मैले लेखेका कथाहरू !”

“पढ्न त मलाई मेरै कोर्सका किताब त अल्छी लाग्छ,” ऊ मेरो अनुरोध हाँसेरै उडाइदिन्छे ।

“त्यसो भए के गर्ने त ?” समाधानको जिम्मा उसैलाई दिन्छु ।

“तिमी सुनाऊ न, म नजिकै बसेर सुन्छु,” ऊ नजिकै आउँछे । नाजवाफ हुन्छु ।

“खोइ त ?” ऊ मैले बुन्दै गरेको कथा भंग गर्छे ।

“जे सुनाए नि हुन्छ ?” उसको राय बुझ्छु ।

“हुन्छ तर तिमीले रचेको !” ऊ स्वीकृति दिन्छे । अनि कथा अघि बढ्छ ।

० ० ०

“ओके, कथा एउटा कमिलाको बारेमा !” म उसका आँखामा हेर्दै कथा शुरु गर्छु ।

“तिमी हावा मान्छे ! कमिलाको पनि कथा हुन्छ ? तिमीले अहिलेसम्म कमिलाको कथा लेखेको छैनौ । पूरै नपढे पनि शुरुका दुई-चार लाइन त म पनि पढ्छु,” ऊ जुरुक्क उठ्छे ।

“किन ? कमिलाको कथा हुन्न र ?” म उसको हात समात्दै सोध्छु ।

“तर तिमी त …”

“अरु दिनभन्दा फरक कथा, तिमीलाई सुनाउने कथा ! त्यही भएर विशेष !” उसलाई फेरि बसाउँछु ।

“तिमीलाई थाहा छ, आइतबार तिमी अफिसबाट फर्किँदा मैले चिया पकाएको थिएँ नि !”

“जाबो एकदिन पकाएको चिया उसलाई महिना दिन याद हुन्छ । अरु उनन्तीस दिन त म नै पकाउँछु त !”

“फुर्ती लाएको हैन हौ !” फेरि स्पष्टीकरण दिन्छु ।

“त्यसो भए ?”

“कथा त्यही दिनको हो !”

“ए ! अनि के भयो त चिया पकाएर ?”

“चिनी पोखियो !”

“ढंग भए पो, मैले पछि सफा गरेको !” ऊ खितित्त हाँस्छे । उसको अनुहार पढ्न खोज्छु । कथाले उसलाई बाधोस्- मेरो चाहना !

“किचनको झ्यालबाट घुम्दै आएको कमिलाले त्यो पोखिएको चिनीको थुप्रो देख्यो !”

“एकछिन, एकछिन !” मलाई फेरि रोक्छे । प्रश्न भरिएको नजरले उसलाई पुलुक्क हेर्छु । केही सोध्न खोज्दैछे ।

“यो कथा कमिलाको हैन ?”

“हो !”

“त्यसो भए धेरै कमिलाहरु होलान् कथामा !”

“छन् !”

“पछि एउटा कमिलालाई अर्को कमिलासँग झुक्किएला, यसको नाम राख्देऊ !” ऊ सुझाव दिन्छे।

“ओके, हर्के !”

“छ्या कस्तो नराम्रो नाम !”

“हैन, यो कमिला हर्के नै हो ! सधैं जस्तै आफ्नो परिवारको दुईछाक टार्न टाढा-टाढा खाना खोज्न जान्छ !”

“किचनको झ्याल पनि टाढा रे !” ऊ फेरि खितित्त हाँस्छे ।

“कमिला हो नि त हर्के ! उसलाई त टाढै हो नि यो !”

“ए !”

“कहाँ पुगेको थिएँ म ?”

“हर्केले तिमीले पोखेको चिनी भेट्टायो !”

“हर्केको गाउँमा सानोतिनो खानेकुरा मात्र प्रयोग गर्न पाइन्थ्यो तर त्यो चिनीको थुप्रो ठूलो ! मैले करिब एक चम्चा भनेपछि सय दाना पोखेको थिएँ ।”

साँच्चै एक चम्चामा कति दाना हुन्छन् ? यो जिम्माचाहिँ अहिले पढ्दै गर्नुभएका पाठकलाई ! मैले अहिलेसम्म गनेको छैन । कथाको लागि एक चम्चा बराबर सय दाना मानिदिनुहोला ।

“सय दाना अरे यस्तो महँगीको चिनी ! पूरै चम्चा पोख्यौ ? मैले त पाँच-दश वटा मात्रै देखेको थिएँ त ?” कथाले उसलाई समातेर होला, उत्सुकता बढेको !

“पूरा कथा त सुन !”

“हुन्छ तर हर्केले थोरै मात्र चलाउन किन पाउने ?”

“कमिलाहरुको नियम नै त्यस्तै, उठाउन नसक्ने । बोझ उठाउनको लागि गाउँको स्वीकृति लिएर खटिइनु पर्ने !”

“भन्नाले ?”

“त्यसमा काजीको स्वीकृति लिनुपर्थ्यो ! विभिन्न चरणहरु पार गर्दै ।”

“काजी ?”

“काजीकमिलो, कमिलाहरुले छान्थे !”

“कसरी ?”

“गाउँभरिका सबै मिलेर चुनाव गर्थे !”

“कमिलाहरुको चुनाव !!! हर्केले पनि उठ्न पाउँथ्यो त ?”

एकछिन घोरिन्छु । हर्केले चुनाव उठ्न सिद्धान्तत: पाउँछ । तर, ऊसँग छाक टार्ने बराबरको मात्र खाना छ । कसरी उठाओस् चुनावको भार ? चुनावमा उठ्न त प्रत्येक कमिलालाई उसले केही न केही मात्रामा चिनी पुर्‍याउनु पर्छ । विचरा हर्केसँग कहाँबाट होस् त्यत्रो चिनी ? काजीकमिलाहरु पछिल्लो पुस्तादेखि नै चुनावको लागि चिनी जम्मा गर्थे । अर्को चुनाव हुन्जेल चिनीमा ठगी गरेर आफ्नो दुलोमा थुपार्थे । अनि पो चुनावको बेला त्यही चिनीको बलमा चुनाव जित्थे ।

“अहँ !” सुस्तरी जवाफ फर्काउँछु । सम्भावनालाई मान्ने हो भने हर्के चुनाव उठ्नबाट बञ्चित छ ।

“किन ?”

“चुनाव काजीहरुले मात्र लड्न पाउँथे !”

उसलाई चित्त बुझ्दैन । पटक्कै बुझ्दैन । म उसको आँखा पढेरै भन्न सक्छु । तर के गर्ने ? कमिलाको गाउँ नै त्यस्तो !

“हर्के गाउँ फर्किएर काजीको सहयोगीलाई चिनीको कुरा सुनायो । चिनी विभागको कमिला छुट्टीमा थियो । हर्केलाई सूचना दिएबापत पाउने चिनीको बक्सिसको लोभ थियो । दुई-तीन दिन कतै खाना खोज्न जान नपर्ने । “कहिले आउँछ विभागको कमिलो ?” हर्केले सोध्यो पनि ! काजीको सहयोगीले केही जवाफ दिएन । हर्केले सुत्नुअघि छोराछोरीलाई र बूढीलाई उसले देखेको चिनीको पहाडको कथा सुनायो । सवै वाल्ल परेर सुनिरहे ! सबैले मुख मिठ्याए र सपनामा पनि त्यही चिनीको पहाड देखे ।”

“चिनी सबैलाई चाहिने हैन र त्यहाँ ?” ऊ प्रश्न राख्छे ।

“चाहिने हो तर काजीको दुलोमा, काजीको सहयोगीको दुलोमा अनि चिनी विभागको मान्छेको दुलोमा त प्रशस्त चिनी थियो उनीहरुले लुकाएर राखेको । हर्केले पो चुनावको बेला मात्रै चिनी भेट्टाउँथ्यो त !”

कथाको एउटा पत्र उघारिदिन्छु । चिनी नहुँदा भोलिपल्टै फरक पर्ने हर्के मात्रै हो । अरुले त थुपारेर राखेका छन् ।

“अनि के भो ?” ऊ खिन्न हुन्छे ।

“भोलिपल्ट बिहानै हर्के चिनी अड्डा पुग्यो, चिनी विभागका कमिला ढिलो-ढिलो आए ! आएपछि बाटोको जानकारी पाउनासाथ भने, ‘त्यो बाटोमा त अरु १० परिवार कमिलाका साना-साना दुलाहरु छन् । तिनीहरुको पनि राय लिनुपर्छ । अनि मात्रै बाटोको पास पाइन्छ ।’ राय लिनलाई चिनी विभागका कर्मचारी खटाइयो । हर्केले कुरा बुझेन, सानो निधार अझ खुम्च्यायो । हर्के कहिल्यै चिनी विभागको कुरा बुझ्दैन । कहिलेकाहीँ त चिनी विभाग नै कमिलाका लागि खुलेको हो कि होइन- हर्के छुट्याउन सक्दैन ।”

“त्यो त हो नि, हर्केले चाहेको भए आफूलाई चाहिने चिनी लिएर फर्के भइहाल्थ्यो, अहिले नियममा चल्दा झन् दु:ख पायो !”

“के गर्ने कमिलाको सरकार नै यस्तै । अनि चिनी विभाग नै त्यस्तै !” जवाफ फर्काउँछु ।

“तीन घण्टापछि राय लिएर कामदारसहित चिनी लिन जाने निर्णय भो, अनि हर्के फर्कियो ! तीन घण्टापछि तिनीहरु भेला भएर हाम्रो किचनको स्ल्याबमा आउने भए । काजी र चिनी विभागका पाँचवटा भुस्तिघ्रे कमिलाहरु पठाउने कुरा भयो, हर्के पनि तिनीहरुको पछि लाग्यो ।”

“हर्केले कति चिनी पाउँछ उनीहरुले चिनी लैँजादा ?” उसलाई हर्केको चिन्ता छ ।

“नियमअनुसार पाँच दाना, हर्केलाई तीन दिन पुग्ने थियो त्यति चिनीले ! तर उनीहरु किचन स्ल्याबमा आइपुग्दा चिनी त्यहाँ थिएन ।”

“किन ?”

“चिनी त तिमीले उठाइसकेकी थियौ !” ऊ खिन्न भई । उसलाई कथा सिद्धिएको भान भयो । स्ल्याबको नजिकै गएर धेरैबेर उभिएपछि प्रश्न राखी, “तर मैले त १० दानामात्र उठाएकी थिएँ, तिमीले एक चम्चा पोखेका थियौ !”

“कहाँ गयो होला त पोखिएको चिनी ?” म प्रश्न राख्छु । ऊसँग उत्तर छैन ।

“हर्केले खबर गरेपछि राय बुझ्न भनी खटिएका चिनी विभागका कमिला किचनमै आए, हर्केबिनै आए । सक्नेजति चिनी उठाए अनि काजीको दुलोमा भाग पुर्‍याए, आ-आफ्नो दुलोमा लगे । पछि हर्केसँग आउँदा चाहिँ चिनी थिएन । चिनी विभागमा मात्र पुगेन, हर्केले मात्र पाएन । हर्केलाई चिनी विभागका मान्छेको समय खेर फालिदिएकोमा पाँच दाना चिनी जरिवाना पनि गरियो !”

ऊ झन् खिन्न भई । अनाहकमा प्रश्न राखी, “मैले अहिले गएर फेरि चिनी पोखेँ भने ?”

“फेरि काजी कमिलो अनि चिनी विभागका कमिलाले पाउनेछन् ! अनि फेरि घरिघरि चिनी पोखिँदैन पनि त जीवनमा !”

म चुप भएँ । उसले स्ल्याबमा हेरिरही । आज स्ल्याब सुख्खा थियो । कमिला थिएनन् ।

(स्रोत : बाह्रखरी दैनिक डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.