~मधुवन पौडेल~
कपाल पट्ट फुट्ला जस्तो भएको छ । हिजो राति (आज) अबेलासम्म बस्दा थाहै नपाई खाएको कौसीको शीतले त होला नि ! छ महिना पहिले रामेश्वरले पठाएको अल्कासेत्जर पनि सकियो । अब कपाल समाएर बस्नुको बिकल्प पनि त छैन !
यस्तो बित्यो सन् १९९५ जनवरी १ को पहिलो विहान !
“मोराहरूले कति घिचेका नि ? मालिकको ताल ठीक भए पो ! कहिले चैत लाग्ला जस्तो भइसक्यो, उता गएपछि मेखै मर्छ । लौ ए ! बाउलाई समात, बाथरूममा लड्लान् फेरि ।” श्रीमतीको बेग्लै गुनासो छ ।
“मेरो मुख गह्नाउँछ ?” बाह्र बजे लन्च छ, त्यसपछि फेरि टण्टलापुर घाममा रेसकोर्स— वार्षिक नेपाल गोल्ड कपको रेस ! आफ्नो भने उभिने ताकत पनि छैन । जाऊँ, मन र ताकत दुवै छैन, नगई पनि हुँदैन । असमर्थ भएर पनि देखाउनको लागि जानैपर्ने वाध्यता र पाखण्ड पनि । यस्तै छ— जागीर, देखाउनुपर्ने नै धेरै, त्यसैले जाने तयारी गर्छु ।
रेसकोर्सको खेल यसपाली राम्रै रह्यो । सानै बजेट आफ्नो केवल औपचारिकतामा सीमित न हो ! आफूले हारे पनि छोराहरूले जिते । नयाँ वर्षको पहिलो दिन, घाटा हुनु त राम्रो होइन, तर सम्पूर्णतामा घाटा थिएन । त्यसमा पनि नाफा फरकको पनि वास्ता राख्ननै पर्ने थिएन । फर्कने बेला हामीसंग मेरो मित्र विनोद पनि थियो ।
“थप्ने होइन ? हिजोको सबै काट्छ ।” बिनोदले हिजो दिउंसो रेसमा गएर तीन हजार जितेको थियो,आज के गर्यो थाहा भएन ! नाम अनुसार ऊ बिनोदी पनि छ ।
“हैन, नाइँ ! मलाई फाइदा गर्दैन ।”
म उसलाई भगाउने ताकमा थिएँ । वास्तवमा अनिदो र थकाईले मलाई त कुनबेला सुतूँ जस्तो भइसकेको थियो । फोनको घण्टी बज्दै थियो ।
“शान्तिनिकेतन जाने होइन ?” कलकत्ताकै अर्को सरकारी कार्यालयका हाकिम शाश्वतको फोन थियो ।
“म त गइसकें ”, तीन घण्टा लामो पट्यारलाग्दो रेल चढ्ने मन थिएन मलाई ।
“फेरि जाऊँ न, के भो र ? ” ऊ जिद्दी गर्दै थियो ।
“बिदा मिले पो ! ” म नजाने वातावरण बनाउँदै थिएँ ।
“हैन, मेरो त त्यस्तै जानैपर्ने छ । रमाइलो हुन्छ, सबै जना जाऊँ ।” ऊ कर गर्दै थियो । अन्तमा शान्तिनिकेतन गइएन, तर रमाइलो भने यतै भयो । सोचेभन्दा पनि बढी । फेरी घन्टी बजिरहेको थियो ।
“… … …”
“हलो ।” उताको आवाज थियो ।
“छिटो आउनुपर्यो, मन्त्रालय खाली जस्तै छ” !, हलल्ल अरूको पनि हाँसो थियो ।
“छोराको जाँच छ एक हप्ता जति , फेरि महिना दिन समय पनि त बाँकी छ नि !” म झर्कें, “म नै नभई नहुने जस्तो ! अरूहरू निस्फिक्रीसँग मन लागुञ्जेल बसिरहन्छन् !”
तल गीतेश र नन्दिनी आएका रहेछन् । गार्डले विदाको दिन भएकोले माथि नै ल्याइदिएछ ।
“हामी तपाईंलाई बोलाउन आएका ! सानो कार्यक्रम राखेका छौं तपाईंलाई बिदा गर्न ।” नन्दिनी भन्दै थिई ।
नन्दिनी घोष, कलकत्ताका दुई दर्जन जति लेखक, कवि, कथाकार, नाटककारहरूको सङ्गठनमध्ये एउटा मध्यम खालको सङ्गठनलाई प्रतिनिधित्व गर्ने कवयित्री ! ऊ पहिले आनन्दमार्गी थिई रे ! एकजना फ्रेन्च कूटनैतिक अधिकारी लगायत ६/७ जना लोग्ने फेरिसकेकी !
अनि गीतेश गाङ्गगुली– नाटककार, अनुहार हेर्दा छुस्स दाह्री पालेको, जिङ्रिङ्ग कपाल, कोप्चे आँखा भए पनि कलकत्ता शहरका सोसलाइट अधवैंसे आइमाईहरूको प्रियपात्र रे ! नन्दिनीसँग पनि त्यस्तै उठबस छ रे ! कुनै शीप त रहेछ नि लम्फु देखिए पनि !
जिस्केर साथीभाइहरू उसलाई अर्थात् गीतेश गाङ्गगुलीलाई ‘जिग्लो’ पनि भन्ने गर्थे। तर कुरोको चुरो त मलाई पनि थाहा थिएन । उसको बढ्ता हिमचिम महिलाहरूसँग हुने गरेकोचाँही पक्कै हो !
“मेरो जाने ठेगान छैन, म खबर गर्छु नि !” श्रध्दा गरेर बोलाउन आएका थिए उनीहरू— फेरि लो प्रोफाइलको भए पनि लेखक भइ टोपलेकोले प्रोफेसनल एफिनिटी पनि त छ ! जानै पर्ला अब !
टेलिफोनको घण्टी बजिरहेकै छ । झर्को लागेर उठाउँछु ।
“हलो !”
“म विराट शर्मा, भुवनेश्वरबाट, जाने कहिले ? एकपटक यहाँ नआई जान पाइन्न है सर् ? मेरो श्रीमतीले जसरी भए पनि ल्याउनु नत्र हामी रिसाउँछौँ भन्नु भनेकी छिन् !”
विराट शर्मा, भुवनेश्वरको एउटा उद्योगपति, केन्द्रिय सरकारको सेवाबाट निवृत्त र ठूलो जमिन्दार पनि— उडिसा राज्यभरि नै चल्तापुर्जा भनेर कहलिएको मान्छे हो ! तर सार्है रक्स्याहा र मनमौजी खालको थियो उ ! उसको अनुहार र मिजास हेर्दा ऊ पीएच्.डी. गरेको मान्छे हो भनेर कोही पत्याउँदैनथ्यो । उसको पिण्ड छुटाउन अहिले नै हुन्छ भन्नुको अर्को विकल्प थिएन ।
“लौ त ! आउने पक्का भएपछि खबर पाऊँ ।”
उसले फोन राखिदियो । कलकत्ता र भुवनेश्वर, अनि त्यहाँबाट पुरी, नेपालबाट जोसुकै आए पनि पुर्याउनैपर्ने हुन्थ्यो !
“कति जाने पुरी पनि ? कतिपल्ट पुरीको नेपाली पण्डाको लालची अनुहार हेर्ने ? भुवनेश्वरमा त घुम्ने ठाउँ थुप्रै छन्, जान मन लाग्छ र तर पुरी धेरैपल्ट गइयो ।
“अब अन्तै भ्याउनुपर्ने— फर्कने बेला भइसक्यो ! “बरु मायापुर जाऊँ न !” बैठकबाट श्रीमतीको आवाज चर्किंदै थियो ।
“छोरालाई नलग्ने ?” उनलाई अर्कै पनि रन्को थियो, राउरकेला जाने, सम्बलपुरी सिल्क सारी अर्को एउटा थप्ने ।
“कहीं नपाएर त्यहाँ जाने अब ? न हेर्ने ठाउँ छ, न बस्ने ! यताबाट निस्कन पाए पुग्छ बा !” सम्बलपुर जाने कुरो सुन्दै मलाई दिक्क लाग्छ ।
राउरकेलामा पनि वास्तवमा चिम्नीको धुवाँको मुस्लो बाहेक हेर्ने ठाउँ के पो छ र ! आमाचाहिँलाई छोरो कस्तो ठाउँमा बसेको छ भत्रे देख्ने रहर मात्रै हो । तर भनेर लाग्ने भए पो !
“आज कन्सुलर कोरको लन्च छ, म भात खान्नं है ?”
“यसबेला भन्ने त ? म एक्लै भन्ने थाहा पाएको भए पकाउँदै पकाउन्नथें !” म बिर्सन्थें, श्रीमती यस्तै गरी झर्किन्थिन् ।
“भरे खाउँला नि !” ठट्टाको मूडमा थिएँ म ।
“भरे बाहिर रेस्टुराँमा लग्ने भनेको होइन र ? एयरपोर्टतिरको चाइनिज बस्तीतिर लग्ने भनेको पनि कुरै मात्र छ । के तालको मान्छे होला ? आफूलाई मात्र भए ठीक !”
“त्यस्तो दुर्गन्धी ठाउँमा ? फेरि भेजिटेरियन खाना के पो पाइन्छ र ! सबै कुरा सुँगुरको बोसोमा पकाउँछ— सूप पनि ।”
श्रीमती एयरपोर्ट नजीकको चिनीयाँ वस्ती ट्याङ्ग्राको प्रसङ्ग झिक्दै थिइन् । म भने अल्छाउंदै थिएं ।
“जे भए पनि म त जान्छु । बरु म आइसक्रिम मात्रै खाउँला । सबै जान्छन्, बर्ता कुरा ….. ” ।
मेरो केही लाग्दैन । ट्याङ्ग्रा गइयो, गँगटाको सूप अलि धेर भएछ, रातभरि असजिलो भइरह्यो । तर स्टाफ, जहान केटाकेटी सबै दङ्ग परेकाले बेशै लाग्यो ।
“सुब्रतको फोन आएको थियो— केराको पातमा तोरी र हरियो खुर्सानीसँग पकाएको हिल्सा माछा ख्वाउने रे !” मेरो मुखभरि पानी आयो— हिल्सा माछा र उसकी स्वास्नी दुवैलाई सम्झेर । तैपनि श्रीमतीको प्रतिक्रिया बुझ्नुपर्ने थियो ।
“भो, भो, नक्कल पार्नु पर्दैन ।” श्रीमतीको आँखाको भाका अर्कै थियो । मलाई रनक्क रिस उठेको थियो, तर बिना मतलब के कुरा लम्ब्याउनु भत्रे सोचेर चुप लागें ।
“जेठो छोरालाई बोलाउने होइन ? सामान लग्न पनि सजिलो हुन्थ्यो । गर्मीको छुट्टी हुने बेला भएन ?” मेरो पारा चढेको देखेर उनले प्रसङ्ग बदलेकी थिइन् ।
“होइन । उल्लाई यतै छाडेर जाने !” म साँच्चै गर्माएको थिएँ, श्रीमती रनक्क परेर भान्छातिर लागिन् । हामी दुवैलाई शायद यति नभएको दिन भातै रुच्दैन ।
०००
“यस्तो गर्मी छ, न एयर कण्डिसन, न कूलर ! एकपटक २–४ जनालाई बोलाउनुपर्ने त हो ! सरकारी हल पनि हाकिमकै एकलौटी भइसक्यो । पहिलेकाहरूले त पार्टी त्यहीं गर्थे रे !”
श्रीमतीको गुनासो थियो एकपल्ट ठूलै जमघट गर्ने दूतावासमै। लगभग यस्तो सुगा–रटाइ भने पनि हठ भने पनि महिनैपिच्छे हुन्थ्यो ।
“भैगो अब ! जाने वेला भइसक्यो,आफू–आफू बस्न यतै भैहाल्छ ! अपर्झट परेर हिँडिहाल्नुपर्ने भो भनेर अरूलाई मुखमा बुजो लगाइदिउँला अब !”
“अर्थोक के गर्ने त ? नेपाली डिप्लोम्याट्को विवशता यहाँ मात्र होइन अन्त पनि उस्तै त होला नि !” वास्तवमा आफ्नो बैठकमा बस्ने ठाउँको बिजोगले गर्दा कसैलाई घरमा बोलाउन पनि गाहारो थियो ।
०००
“बजेट त आएछ सर् ! पेश्की लिने हो कि ?” एकाउन्टेन्ट शायद मलाई जति सक्यो छिटो लखेट्ने ताकमा थिए ।
“लिउँला नि ! केको हतार ? उताबाट कोही आउने सुरसारै छैन ।” उसको मुख बुजो लगाउन मैले यही जवाफ दिनुपर्ने थियो ।
“तैपनि हाकिम साहेबले पनि हिजो सर् कहिलेतिर जाने भनेर सोध्नुभएकोले भनेको । नत्र मलाई त सर् जस्तो मान्छेसँग जति बढी बस्न पाए पनि राम्रै लाग्छ नि !”
उसको बोली र शब्द चयन दुवैमा कृत्रिमता झल्कन्थ्यो । नत्र दिनको तीन पल्ट डांट खाने गरेको कसरी बिर्सन सक्थ्यो उसले !
“हैन, ढिलो नगरौं, जाऊँ ! घर पनि खाली भइसक्यो । नेपाल छिटो गएर छोरीको बिहे गर्नुपर्छ ।” मलाईभन्दा श्रीमतीलाई नेपाल जाने हतार थियो । तर यता बस्नु र फर्केर जानुबीच कत्रो अन्तर छ धेरै कुरामा— भन्ने सोच्ने चासो थिएन उनलाई ! चार वर्ष पछि सवै कुराको श्रीगणेश गर्नुपर्ने !
फेरी टेलिफोनको घण्टीले म झसङ्ग भएँ ।
“हलो ।”
“के हालचाल छ ? मेल आइपुग्यो ?” उताबाट परिचित सहकर्मी वरिष्ठ मित्रको चर्को स्वर सुनिन्थ्यो ।
“अँ । हिजो आयो । किन र ?”
“के हुनु अरू ? यहाँ रात रहे अग्राख पलाउँछ । त्यसैले छिटो आइदिनुपर्यो भनेको नि ! मलाई साँच्चि छिटो जानुपर्ने छ क्या !” उनी कतै पनि राजदूत भएर जांदै थिए र मलाई आफ्नो टेबुल सुम्पिएर जाने ताकमा थिए । तैपनि बुझपचाएर झर्किदै सोधें, “ म आउनु र तपाईं जानुको के सम्बन्ध छ र ? तपाईं यहाँ आउने होइन क्यारे !”
“अहिले फोनमा के भन्ने ? ……ले पनि तपाईं कहिले आउने भनी सोधिराख्नुभएको छ ।” म चूप भएँ ।
यसरी फर्कने दिन आइपुग्दै थियो । कमसेकम यसपटकको कलकत्ता बसाइ सकिएको थियो ! ऐतिहासिक शहर कलकत्तालाई छोडेर जानैपर्ने थियो! फर्कने दिन, हिंड्नु अघि एकपटक मैले वरीपरी उभिएका सबैको अनुहार हेरें । जस्तै भए पनि मैले यी अनुहारहरूसँग चार वर्ष बिताएको थिएँ । कसैलाई कति गाली पनि गरें हुँला, कसैसँग झर्केंहुँला, अनि अरू कतिलाई हप्काएँ पनि हुँला मैले बितेका दिनहरूमा । तर समष्टिरूपमा सबै मसँग सन्तुष्ट नै थिए । त्यसैले मेरो पनि मन अलि भारी नै भएको थियो । सिमसिम पानी परिरहेकोले कम्पाउन्डभित्र पशुपतिको
मन्दिरको छानाबाट तपतप पानी चुहिरहेको थियो । कोटको कुममा परेका छिटाछाटी पुछ्दै म गाडीभित्र पसें— एकपटक सबै जनालाई दुई हात जोडेर, अनि हात हल्लाई बिदाईको अनुमति लिएर ।
बिदा ! अलबिदा कलकत्तालाई !
देब्रेतिर अलिपुर चिडियाखाना, दाहिने ताज बङ्गाल होटल हुँदै हाम्रो गाडी एयरपोर्टतिर दगुर्दै थियो ।
चार वर्षअघि कलकत्ता–विमानस्थलमा ओर्लंदा जुन उष्णता, चर्को र आँखा नै खोल्न गाहारो हुने प्रचण्ड घामको ताप अनुभव गर्दा म झस्केको र आत्तिएको पनि थिएँ, अहिले पसीनाले निथ्रुक्क भए पनि मलाई कलकत्ताले माया लगाइसकेको थियो र आफ्नो संस्कृति र सभ्यताप्रेमी कलकत्तानिवासीहरूलाई झैं मलाई पनि यस शहरले सम्मोहित बनाइसकेको थियो ।
यसरी छिटै मैले ट्राफिक जाम, वर्षभरि जताततै जलमग्न हुने अवस्था, ट््याङ्ग्राको दुर्गन्ध, मल्लिक बजारको कोलाहल, रेल सिनेमाघर जताततै दलालहरूको दबदबा, फुङ्ग उडेको अनुहार दुब्लो शरीर लिएर आफ्नै विवशतामा कलकत्ताका वेश्यालयहरूमा उभिइरहने नेपालका कुनाकाप्चाबाट ल्याइएर बेचिएका केटीहरू र उनीहरूलाई सञ्चालन गर्ने दलाल र नेपाली दलाल अनि बाईहरू सबैलाई बिर्सिन खोज्दै थिएँ।
एउटा अर्को सरल गन्तव्यवारे कल्पना गर्न थालिसकेको थिएँ ।
(स्रोत : फेसबुकको ‘कथा’ समूहबाट )