लेख : आफन्तले नचिनेका महिला साहित्यकार

~लीला लुइटेल~

नेपाली साहित्यका विभिन्न विधामा महिलाहरूले पुर्‍याएको योगदानबारे अध्ययन–अनुसन्धान गर्ने सिलसिलामा सामग्री खोजी गर्ने क्रममा अनेक खालका रोचक तथ्यहरू पनि फेला परे । यसमध्ये कतिपय महिला साहित्यकारका कृति प्रकाशित भएको बारेमा तिनका आफन्तलाई नै जानकारी नभएको पनि भेटियो । अध्ययनका सिलसिलामा फेला परेका यस्ता आफन्तले नै नचिनेका साहित्यकारबारे सङ्क्षिप्त चर्चा :

कुसुममञ्जरी देवी

देवी शर्माले ‘शोध र समीक्षा’ नामक कृतिमा ‘उनी कवयित्री हुन् वा छद्म नामधारी अन्य कुनै व्यक्ति हुन् यसै भन्न सकिन्न’ भनेर उल्लेख गरेको देखेपछि उनका बारेमा चासो बढ्यो र खोजी गर्न थालियो । यिनका आफन्त खोजी गर्दै जाँदा यिनको नाति (छोरीको छोरो) अरुणबहादुर सिंहसँग भेट भयो तर उनलाई आफ्नी हजुरआमा लेखक भएको कुरा थाहै रहेनछ ।

‘शारदा’ पत्रिकामा देखापरेकी कवि कुसुममञ्जरी देवी तत्कालीन समयमा राणाहरूले प्रतिबन्ध लगाएको शृङ्गारिक कविताको सँगालो ‘सूक्तिसिन्धु’का सम्पादक श्यामजीप्रसाद शर्मा अज्र्यालकी कान्छी पत्नी हुन् । जन्म, शिक्षादीक्षा आदिबारे जानकारी प्राप्त नभए पनि खड्का थर भएकी क्षेत्री परिवारकी कुसुममञ्जरी देवीको श्यामजीप्रसाद शर्मा अज्र्यालसँग अन्तर्जातीय विवाह भएको देखिन्छ । पारिवारिक साहित्यिक वातावरणका कारण यिनी काव्यलेखनतर्फ प्रवृत्त भएको बुझिन्छ ।

रामायणको कथामा आधारित ‘सीताविलाप’ काव्यमा भक्तिभावको प्रस्तुति नभएर धोबीको आलोचनाका कारण गर्भावास्थामा रामद्वारा त्यागिएकी निर्दाेष सीताको पीडालाई प्रस्तुत गरिएको छ । २५२ पङ्क्तिमा संरचित यस काव्यमा रामचन्द्रबाट त्यागिएकी सीता निर्दाेष भए पनि रामद्वारा अन्याय भएको भाव अभिव्यक्त गर्दै नारीविद्रोहलाई प्रत्यक्ष रूपमा नभई परोक्ष रूपमा प्रस्तुत गरिएको छ । न्यायी एवं विवेकी भनेर प्रसिद्ध भएका रामले जनतालाई सुखसुविधा दिए पनि आफ्नी निर्दाेष पत्नीमाथि अत्याचार गरेको भाव अभिव्यञ्जित यस काव्यमा उक्त घटनाले रामको बदनामी भएको भावको प्रस्तुति पाइन्छ । रामचन्द्रको कठोर कार्यको निदा गर्दै अन्यायका विरोधमा आवाज उठाइएको यस काव्यमा परोक्ष ढङ्गले धर्म र मर्यादालाई चुनौती पनि दिइएको छ ।

धार्मिक आस्था, परम्परागत मान्यता तथा पितृसत्तात्मक मानसिकताको विरोधमा तत्कालीन समयमा महिलाद्वारा यस प्रकारका विद्रोही भाव अभिव्यञ्जित काव्य लेखिनु निकै महत्त्वपूर्ण एवं उपलब्धिमूलक देखिन्छ । मात्रा छन्दमा लेखिएको यस काव्यमा सामान्य भाषिक कसरमसरहरू पनि पाइन्छन् । ‘सीताविलाप’ बाहेक ‘शारदा’मा के. मञ्जरीदेवीका नामबाट यिनको ‘मेरो दुई’ शीर्षक कविता प्रकाशित भएको देखिन्छ । यिनको मृत्युचाहिँ २०४५ साल भदौ महिनामा ऋषिपञ्चमीका दिन भएको नाति जानकारी अरुणबहादुर सिंहबाट प्राप्त भएको हो ।

किशोरीदेवी

‘एउटा छोटो कथा’ (२०१५) शीर्षकमा एउटै मात्र कथा भएको पुस्तक देखेपछि यसकी लेखीका किशोरीदेवीका बारेमा खोजी गर्दै जाँदा उनी कलाकार, नाटककार एवं गायक हरिप्रसाद रिमालकी जेठी पत्नी हुन् भन्ने अपुष्ट जानकारी प्राप्त भयो । हरिप्रसाद रिमालको उमेर एवं स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखेर उनीबाट जानकारी लिने धृष्टता गर्न सकिएन । घुमघामको सिलसिलामा एक पटक भैरहवामा बास बसेका ठाउँमा कृष्णा नेपाल नाम भएकी महिलाले आफ्नी आमाका बारेमा चर्चा गर्दै आमाले रेडियोबाट गाएको गीत पनि सुनाइन् र अनि आमाको फोटो झिकेर देखाइन् । उनकी आमाको नाम ‘किशोरीदेवी’ भनेर बताइन् । मैले उत्साहित हुँदै किशोरीदेवीको एउटा पुस्तक आफूले देखेको बताएपछि उनले छक्क पर्दै आमाका कुनै पनि कृति प्रकाशित भएको जानकारी आफूलाई नभएको बताइन् । त्यसपछि मैले ‘उनी त हरिप्रसाद रिमालकी पत्नी हुन् भन्ने सुनेकी थिएँ नि’ भनेर जिज्ञासा राख्दा उनले आफूले सम्झेजति बताइन् । उनका अनुसार किशोरीदेवीका पहिलो विवाहबाट एक छोरी (उनै कृष्णा) जन्मिएपछि उक्त विवाह पारपाचुके गरी उनले हरिप्रसाद रिमालसँग दोस्रो बिहे गरेकी हुन् । कृष्णाकै भनाइमा ‘शारदा’मा कथाकारका रूपमा देखापरेकी श्रीमती पीपी शर्मा किशोरीदेवीकी जेठानी हुन् । नेपालमा पारपाचुके गर्ने उनी पहिलो महिला थिइन् । पारपाचुकेपश्चात् घर छोडेर जान लाग्दा ‘तिमीले हामीलाई रुवाएको बदला ईश्वरले दिन्छन्, त्यसैले अब तिमी धेरै बाँच्दिनौ’ भनेर उनकी सासूले रुँदै भनेकी थिइन् रे । संयोगवश उक्त घर छाडेको एक महिना पनि बित्न नपाउँदै ललितपुरको टीकाभैरवमा भएको एउटा मोटर दुर्घटनामा उनको निधन भएको जानकारी साहित्यकार श्यामदास वैष्णवबाट प्राप्त भएको हो ।

सत्यवती पौड्याल

लेखनाथ पौडयालकी श्रीमती सत्यवती पौडयालको ‘कवितासङ्ग्रह’ नामक कविताकृति प्रकाशित भएको जानकारी प्राप्त भयो । यसबारे खोजी गर्न नेपाली कविताको इतिहास केलाइयो तर कतै पनि यिनको नाम फेला परेन । यिनका बारेमा जानकारी प्राप्त गर्न अग्रज समालोचकहरूसँग जिज्ञासा राख्दा उल्टै ‘सत्यवतीको पौडेल कवितासङ्ग्रह प्रकाशित छ भन्ने कुरा तपाईंले कसरी थाहा पाउनुभयो ? तपाईंले साँच्चै उनको किताब देख्नुभएकै हो त ?’ भन्नेजस्ता प्रश्नहरू आए । मदन पुरस्कार पुस्तकालयको वेबसाइटमा उक्त पुस्तक दर्ता भएको देखेपछि उत्साहित हुन पुगेको मन ‘केही समय पुस्तक पढ्न दिन नमिल्ने भन्ने’ अनौपचारिक जानकारी पाएपछि भरङ्ग हुनपुग्यो । यो पुस्तक वासुदेव लुइटेलले प्रकाशन गरिदिएको भन्ने अपुष्ट सूचना मिलेपछि हास्यव्यङ्ग्यकार स्व. वासुदेव लुइटेलको निजी सङ्ग्रहमा निकै परिश्रम र कष्टका साथ खोजी गरियो तर हात लाग्यो शून्य ।

सत्यवतीको परिवारका बारेमा सोधखोज गर्दै जाँदा उनका नाति विजयराज भट्टराई (सत्यवती पौडेलकी छोरी कुन्तीदेवी भट्टराईका छोरा) सँग भेट भयो तर उनलाई पनि आफ्नी हजुरआमाले कविता लेखेर छपाएको कुरा थाहा नै रहेनछ । आफ्नो कुलकै यस्तो गौरवमय तथ्य अहिलेसम्म आफूलाई थाहा नभएकोमा उनी खिन्न भए र ‘हामीलाई पनि थाहा नभएको कुरा तपाईंले चाहिँ कसरी थाहा पाउनु भयो नि ?’ भन्ने प्रश्न गरे । कुराकानीकै सिलसिलामा उनले अब यसबारे आफूले सोधखोज गर्ने बताउँदै केही तथ्य फेला परेमा मलाई जानकारी दिने कुरा बताए । उनका अन्य आफन्तबाट पनि सकारात्मक जवाफ आएन । अनेकौँ प्रयास गर्दा पनि कतैबाट केही जानकारी प्राप्त हुन नसके पनि सोधखोजको क्रम जारी नै थियो । यसै क्रममा सत्यवतीका जेठा नाति बद्रीविनोद ढुङ्गाना (पुण्यप्रभादेवी ढुङ्गानाका छोरा) सँग सम्पर्क हुन पुग्यो । उनीसँग सत्यवती पौड्यालको बारेमा सोधखोज गर्दा उनले किताब खोजिदिने आश्वासनका साथै अन्य केही जानकारी पनि दिए । यसको निकै पछि बाहिरी गाताको केही भाग च्यातिएको पुरानो किताब र सत्यवती पौडयालबारे केही जानकारी उनीबाट प्राप्त भयो ।

सत्यवती पौडयाल कविशिरोमणि लेखनाथ पौडयालकी कान्छी श्रीमती हुन् । यिनको जन्म १९५९ सालतिर कास्कीको तारकाङ भन्ने ठाउँमा भएको हो । जेठी श्रीमतीको मृत्युपश्चात् १९७२ सालमा लेखनाथले यिनीसँग दोस्रो विवाह गरेका हुन् । लेखनाथ पौडयालको जीवनी लेख्ने सन्दर्भमा स्रोत व्यक्तिका रूपमा पादटिप्पणी प्रस्तुत गर्दा वासुदेव त्रिपाठीले यिनको नाम ‘सत्यदेवी पौडयाल’ लेखेको पाइए पनि २०३० सालमा प्रकाशित कवितासङ्ग्रहमा यिनको नाम सत्यवती पौडयाल लेखी कोष्ठमा (कवि–शिरोमणिकी धर्मपत्नी) लेखिएको छ । २०२२ सालमा लेखनाथ पौड्यालको मृत्यु भएपछि एकल जीवन बिताउने क्रममा यिनले केही कविताको सिर्जना गरिन् र त्यो कृति २०३० सालमा प्रकाशित भयो । कृति प्रकाशन भएको एक वर्षपछि २०३१ साल कात्तिक महिनामा यिनको मृत्यु भएको हो ।

कंकुरा बोहरा ‘अस्मिता’

सुदूरपश्चिमकी कंकुरा बोहरा ‘अस्मिता’ नाम गरेकी उपन्यासकारको उपन्यास प्रकाशित भएको जानकारी प्राप्त भयो । उनको मृत्यु २०६२ सालतिरै कलिलै उमेरमा भइसकेको अपुष्ट जानकारी थियो । अनेक प्रयास गरी सम्पर्क गर्दा उनका एक आफन्तको जबाफ आयो, ‘हैन ∕ उनका पनि किताब प्रकाशित भएका थिए र ?’ धेरै प्रयास गरेपछि धनगढीका साहित्यकार रामचन्द्र नेपालको सहयोगमा उनका ‘सफल प्रेम’ (२०६१) शीर्षक कवितासङ्ग्रह तथा ‘जेल’ (२०६१) शीर्षक उपन्यास गरी दुई कृति प्राप्त भए । उनका कृतिका पछाडि दिइएको विवरणका आधारमा उनको जन्म २०२९ साल असार २० गते देहीमाडौँ, बैतडीमा भएको हो । यिनले बीए, बीएडसम्मको शिक्षा हासिल गरेकी थिइन् र अध्यापन कार्यमा संलग्न थिइन् भन्ने जानकारी पाइन्छ ।

सानु

महिला उपन्यासकारको खोजीका क्रममा प्रकाशन मिति उल्लेख नभएको ‘अर्धविराम’ नामक उपन्यास फेला पर्‍यो । यसका भूमिका लेखक पुरु रिसालसँग लेखकका बारेमा सोधपुछ गर्दा उनी यसका लेखकसँग अपरिचित रहेको र उनको वास्तविक नाम पनि सानु नभएर अन्य नै भएको जानकारी पाइयो । पुस्तक छापिएको प्रेसमा सम्पर्क गर्दा एउटा सम्पर्क नम्बर प्राप्त भयो । प्राप्त नम्बरमा सम्पर्क गरी यसका लेखकको बारेमा बुझ्न खोज्दा ‘लेखक अस्ट्रेलियामा रहेको र उनीसँग अनुमति नलिई केही बताउन नसक्ने’ जवाफ आयो । त्यसको केही दिनपछि अस्ट्रेलियाबाट एउटा फोन आयो, ‘तपाईंले मेरोबारेमा निकै खोजी गर्दै हुनुहुन्छ रे, मैले उपन्यास लेखेर प्रकाशन गरेको कुरा मेरा आफन्तलाई थाहा छैन अनि उनीहरू मेरा यस्ता क्रियाकलापलाई मन पनि पराउँदैनन्, त्यसैले प्लिज मेरोबारेमा कतै पनि केही पनि सोधीखोजी नगरिदिनुहोला, म दसैँमा नेपाल आउँछु र तपाईंलाई भेट्छु ।’ त्यस्ता दसैँ कति गए तर सानु शर्माले आजसम्म भेट गरेकी छैनन् ।

केही समयपछि लेखकका रूपमा सानु शर्मा नाम उल्लेख गरिएको ‘अर्थ’ शीर्षक अर्काे उपन्यास भेटियो । यसका भूमिका लेखक युवराज नयाँघरे तथा कृष्ण धरावासीसँग सम्पर्क गर्दा उनीहरूले पनि यी लेखकलाई आफूले नचिनेको र अर्कै व्यक्ति मार्फत भूमिका लेखनका लागि अनुरोध आएको बताए । यस पुस्तकका प्रकाशकले पनि लेखकलाई नचिनेको र अर्कै व्यक्ति मार्फत पुस्तक प्रकाशन गरेको जानकारी दिए । उनीहरूले साँच्चै नचिनेका हुन् कि जानकारी नदिएका हुन् त्यो उनीहरू नै जानून् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा २०१६ मार्च ४–६ मा अस्ट्रेलियाको सिड्नीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनमा कार्यपत्र प्रस्तुतिका क्रममा उपन्यासकार सानुका बारेमा चर्चा गरेँ । त्यहाँ उपस्थित सबैले विस्मित हुँदै यसबारे केही जानकारी नभएको बताए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिड्नी च्याप्टरकी उपाध्यक्ष कवि सानु घिमिरेले उपन्यासकार सानु/सानु शर्मालाई बिम्ब बनाएर सुन्दर कविता सिर्जना गरी प्रकाशनसमेत गरिन् ।

नेपाली परिवेशमा महिलाका लागि लेखन कार्य त्यति सहज छैन । शारीरिक, पारिवारिक, सामाजिक सन्दर्भका अनेकौँ चुनौती पार गर्दै कैयौँ महिलाले साहित्यमा समय लगानी गर्नुपर्ने हुन्छ । यसका साथै सीमित ज्ञानको क्षेत्र, अनावश्यक र झन्झटिला पारिवारिक तथा सांस्कारिक दायित्वहरूले महिलाको सिर्जनधर्मितालाई प्रत्यक्ष प्रभाव पार्ने टड्कारो स्थिति हुँदाहुँदै पनि नेपाली महिला सर्जकहरूबाट निरन्तर रूपले विभिन्न विधाका कृतिहरू सिर्जना हुनु स्वागतयोग्य र प्रशंसनीय कार्य हो । त्यसमा पनि समयमा प्रकाशक नपाएर अनेक कष्ट बेहोर्दै पुस्तक छाप्दा पनि कृति प्रकाशन गर्ने महिलाहरूलाई परिवारले समेत चिन्न नसक्ने स्थिति पैदा हुनुमा जिम्मेवार को हुन्छ होला ? अझ आजको विद्युतीय सञ्चारको युगमा अस्ट्रेलियाजस्तो ठाउँमा बसोबास गरी आफन्तका आँखा छलेर कृति प्रकाशन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको कारक तत्त्व के होला ? अनि यस्ता प्रश्नहरूको जवाफ कसले देला ?

प्रकाशित : मंसिर २५, २०७३

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.