कथा : त्रासद विपना

~पद्मावती सिंह~

अक्षराले सुयशको अस्ट्रेलियास्थित अपार्टमेन्टमा लगेज बिसाउँदा रातले धर्तीलाई आफ्नो अँगालोमा बाँधिसकेको थियो । नौलो ठाउँ, नौलो परिवेश र वातावरणले अक्षराको मन मयूर प्वाँख फिजाएर नाच्न थाल्यो । उनी प्रफुल्ल भई अपार्टमेन्टको चारैतिर हेर्न थालिन् । सफा सुग्घर, सुविधायुक्त चारकोठे अपार्टमेन्टले आँखामा शीतलता प्रदान गर्यो ।

हवाइजहाजमै खानपिन सकेको हुँदा पकाउने झन्झट परेन । तातो कफी सुक्र्याएर दुवै शयनकक्षमा पसे । दुईवटा झ्याल भएको डबलबेडको शयनकक्ष चिटिक्क परेको थियो । दुवै आरामदायी डनलपको बेडमा यात्राबाट थाकेको शरीरलाई बिछ्याएर आराम गर्न थाले ।

सुयश ढल्किनासाथ निदाइहाले तर उनलाई नौलो ठाउँमा निद्रा परेन । उनले उठेर झ्यालबाट आकाशतिर दृष्टि दौडाइन् । नेपालबाट देखिने आकाश र अस्ट्रेलियाबाट देखिने आकाश त उस्तै रहेछ …. । उनी कहिल्यै परदेश नपुगेकी हुँदा परदेशमा पहिलोपल्ट खुट्टा टेक्न पाउँदा औधी रमाएकी छिन् । आकाश सफा र कञ्चन देखिन्थ्यो । आकाश भने झिलमिलाइरहेका तारापुञ्जले उनलाई नै हेरी मुस्कुराइरहेझैँ उनलाई भान भयो । मन प्रसन्न हुँदा जगत् नै सुन्दर लाग्दोरहेछ… ! उनले मनमनै सोचिन् सुयशजस्तो शिक्षित सुन्दर व्यक्तित्वको धनीलाई पतिको रूपमा पाउँदा उनले आफूलाई भाग्यमानी सम्झिन् । सुन्दर भविष्यको कल्पनामा डुबुल्की मार्दै उनी निदाइन् ।

‘ओहो ! कस्तरी निदाएँछु… ! तिमी उठिसक्यौ ।’ सुयश घडीतिर आँखा पुर्याउँदै जुरुक्क उठे । आज त अफिस जानुपर्छ । दुवै जना मिलेर ब्रेकफास्ट तयार पारे । नास्ता खाएर सुयश अफिसतिर लागे । जानुभन्दा अगाडि आफू लञ्चका लागि घर आउने जानकारी दिए ।

अक्षराले लञ्चका लागि स्वादिष्ट भोजन तयार पारे । दुवैले एउटै टेबुलमा बसी लञ्च खाए । डिनर राम्रो होटेलमा गई खाए । यसरी अस्ट्रेलियामा पहिलो दिन सुखपूर्वक बिताए । अस्ट्रेलियामा दोस्रो दिनको दोस्रो रात अक्षरालाई दिनभरि कुत्कुती लागिरहृयो । बिहे गरी लगत्तै अस्ट्रेलिया आएका दुवै ती दुईबीच मधुरमिलन भएको थिएन । अफिसमा विशेष काम भएकोले सुयश रात परिसक्दा पनि घर फर्केका थिएनन् । उनले बरण्डामा उभिएर आकाशतिर दृष्टि दौडाइरहिन् शरीरभरि बँैंसका उन्माद छताछुल्ल पोखिएको नवयौवनझैँ देखिएको छ आजको रात । प्रेमिल छ वातावरण । मौसम पनि बहकिँदो छ । अक्षराको तन, मनमा उन्माद भरिएर आयो । उनले सुयशको आगमनको अधैर्यताका साथ प्रतीक्षा गरिरहिन् । कुन बेला उनको पति आउनेछन् र उनलाई आफ्नो बाहुपासमा बाँध्ने छन् । घरिघरि यही सोचले उनको मनलाई आनन्दित तुल्याइरहेको थियो ।

सुयश आए र सरासर शयनकक्षभित्र पसे । ओठभरि मुस्कान छर्दै अक्षराले उनलाई पछ्याइन् ।

“तिमीले डिनर खायौ । सुयशले लुगा फेर्दै सोधे ।

“तपाईंलाई पर्खिरहेकी ।”

“मैले त अफिसमै खाएर आएँ । जाउ डिनर खाऊ ।”

अक्षराको मन केही खल्लो भयो तापनि बेमनले एक दुई गाँस खाई उनी कोठाभित्र पसिन् ।

“साह्रै थाकेको छु । ड्रेस चेञ्ज गर र सुत ।” सुयशले उनी आउञ्जेल स्लिपिङ सुट लगाइसकेका थिए ।

अक्षरा बाथरुमभित्र पसी स्लिपिङ गाउन लगाएर आउँदा सुयश

बिछ्यौनामा ढल्किसकेका थिए ।

“बत्ती निभाउँ ? अक्षरातर्फ बोझिल आँखाले हेर्दै सुयशले अनुमति मागे ‘हुन्छ’ अक्षराले ओठभरि गुलाफ फुलाई सुयशलाई मुस्कुराउँदै भनिन् । अक्षराले सोचेकी थिइन्, बत्ती निभाउनासाथ सुयशले उनलाई आफ्नो अँगालोमा बाँध्नेछन् र हृदयमा लगाउनेछन् । उनलाई कहिल्यै नभोगेको सुख भोग्न पहल गर्नेछन् तर उनको सोचाइको विपरीत सुयश ढाड फर्काएर सुते र केहीबेरमै निदाइहाले । उनको घुराइले उनको सुखद कल्पनाको संसार तासको घरझैँ गल्र्यामगुर्लुम ढल्यो । उनले चिताएकी पनि थिइनन् कि उनको पतिले आज पनि उनलाई स्पर्शसमेत नगरी यसरी उनको बैँसको खिल्ली उडाउनेछन् भनी…. । बरु दिनभरि कल्पेकी थिइन्, ओछ्यानमा पुग्नासाथ उनको पतिले उनलाई अँगालोमा बाँध्नेछन् । उनका आतुर औँलाहरूले उनको केश तथा अङ्गप्रत्यङ्गलाई सुम्सुम्याउनेछन् । अनि उनको कुमारी बैँसमा उनले एकाधिकार जमाउनेछन् तर आज पनि उनले सोचेजस्तो केही भएन । बिहे गरेको चौथौँ दिन भइसक्दा पनि उनको बैँसको फूल अझसम्म फुल्न पाएन । उनीजस्ती रूपवती, बैँसालु पत्नीको देह स्पर्शसमेत नगरी एउटा पुरुष एकै बिछ्यौनामा त्यस्तरी कसरी निदाउन सक्छन् र … ?!

उनले बत्ती निभाएर आफ्नो निदाइरहेको पतिलाई आँखाभरि आक्रोश बोकी हेर्न थाल्छिन् । उनले आफूले नै पहल गर्ने मनमनै सोची पतिलाई स्पर्श गरिन् र स्नेहिल स्वरमा सोधिन्-
“कति छिटो निदाउनु भाको ।”

“प्लिज मलाई सुत्न देऊ । म साह्रै थाकेको छु ।” सुयशले उनको हात आफ्नो शरीरबाट पन्छाएर भने ।

अब अक्षराको संयमका बाँधहरू भत्किएर छताछुल्ल भो । मनभरि ढकमक्क फुलेका बैँसका फूलहरू ओइलिएर र्झन थाल्यो । मैनबत्ती पग्लिएझैँ उनी पलपल पग्लिन थालिन् । मनभरि भक्कानोको छाल उर्लेर आयो ।

के सुयशले उनीलाई मन पराउँदैनन् ? उनी किन यस्तरी रुखो भएका ?

बारम्बार यी प्रश्नहरूले उनको मनलाई डसिरहृयो ।

उनी केटाकेटी रहिनन् । पूर्ण वयस्क एक तरुनी हुन् । उनले आफ्ना विवाहिता साथीहरूबाट यौन विषयक थुप्रै चर्चाहरू सुनेकी छिन् । भर्खरै विवाह भएकी उनको अभिन्न मित्रको भनाइअनुसार पुरुषहरू यौनका मामिलामा अत्यन्त कमजोर हुन्छन् । विवाहको प्रथम रातमै पत्नीलाई भोग्न आतुर हुन्छन् ।

“आफ्नो भने पतिको यस्तो चाला छ …. भोग्न त परै जाओस् छुँदासमेत हिच्किचाउँछन् … ।” आफूतिर पिठ्यूँ फर्काइ सुतिरहेका पुरुषतर्फ आक्रोषित दृष्टिले हेर्दै उनले मनमनै सोचिन् ।

“कहीँ आफ्नो पति असामान्य त छैनन् ? उनीभित्र यौन लालसा नै पो छैन कि … ? अथवा उनीप्रति आशक्ति नहुनाको कारण उनकी अर्की प्रेमिका हुनसक्छ, जसको प्रेमले गर्दा उनीप्रति आकषिर्त नभएको पो हो कि ?!

यस्तै नाना शङ्का, उपशङ्काहरू मनमा निम्त्याई अक्षराले शून्य दृष्टिले आकाशका तारा गन्दै बरण्डामा उभिएर रात बिताइन् ।

बिहानी हुनासाथ आकाशभरि आफ्नो साम्राज्य फैलाई सूर्यले आफ्नो उपस्थिति जनायो । सुयश उठेर आफ्नो ब्रेकफास्ट तयार पारी अफिसतिर कुदे ।

अस्ट्रेलियामा पाँचौँ रात । आज पनि उनको पति सुयश अफिसबाट ढिलो फर्के । खाना खाई ओछ्यानमा ढल्किदै भने- अक्षरा अबदेखि तिमी खाइवरी सुत । अफिसमा पेन्डिङ काम भएकोले केही दिन ढिलो फर्किन्छु । मेरो खाना पनि पकाउन पर्दैन । मसित साँचो छँदैछ । तिमीलाई डिस्टर्व नगरी विस्तारै घरभित्र छिरुँला है । खाना पनि बाहिर खाएर आउँछु ।

“यति छिटै मलाई बेवास्ता गर्न थाले आखिर किन ?” अक्षराले मनमनै सोची उनले भनिन्- “सुयश, आखिर किन तिमी मबाट टाढिन खोज्दैछौ ? किन तिमी मप्रति यति साह्रो रुखो भएको ? मलाई बिहे गरेर मलाई त्यत्तिकै घरमा थन्काउन अस्ट्रेलिया ल्याएको हो ?” उनको प्रश्नले सुयशलाई एकछिन अक्क न बक्क बनायो ।

“तिमीलाई के दुःख दिएको छु र … ?” सुयशले अक्मकाउँदै भने ।

“के सुख दिएका छौ र, खान लाउन बस्न दिए पुग्यो ?”

“त्यसबाहेक तिमीले मबाट कुनै आश नगर … ।” सुयशले ठाडै यसो भनी अक्षराको मनमा तीर चलायो ।

“किन पत्नीले पतिबाट यसभन्दा अरू कुराको आशा गर्दैनन् र ?”

“अक्षरा मसित बहस नगर, आजदेखि म अर्को कोठामा सुत्छु ।” यति भन्दै सुयश जुरुक्क उठ्यो र गेस्ट रूममा घुसे । अब अक्षरालाई खपी नसक्नु भयो ।

“आखिर मप्रति किन यस्तो व्यवहार गर्दैछौँ ? तिमी यस्तरी बेवास्ता गर्न सक्दैनौ मलाई ।” अक्षराले दुवै नयनबाट आँसु चुहाउँदै भनिन् ।

“प्लिज अक्षरा, लिभ मि अलोन … ।” सुयशले उदास हुँदै भने ।

“मलाई सोध्ने अधिकार छ, भन सुयश बिहे गरेको यतिका दिन भइसक्दा पनि म अझै कुमारी छु किन ? उनको कुरा सुनेर सुयशले उनीतिर एक टकले हेर्दै निधारमा हात लाउँदै भने- “किन कि …. म आइमाईप्रति आकषिर्त नै हुन्न ।

“पुरुष भएर आइमाईप्रति आकषिर्त हुँदैनौ रे … ? यो म के सुन्दैछु ?! के ममा तिमीलाई आकषिर्त गर्ने यौवन छैन । मेरो एक मात्र दृष्टिका लागि कति पुरुषहरू मरिहत्ते गर्थे । आजसम्म मैले कुनै पुरुषलाई आफ्नो देह स्पर्शसमेत गर्न दिएकी छैन । मजस्ती रूपवती, यौवनमत्त आइमाईले तिमीलाई आकषिर्त गर्न सक्दिन भने तिमी सामान्य पुरुष होइनौ ?

“ठीक भन्यौ, म सामान्य पुरुष होइन ।” सुयशले स्वीकारोक्ति जनायो ।

“तब तिमीले मसित बिहे गरेर मेरो जीवनसित किन खेलवाड गर्यौ ?” अक्षराले आक्रोशित भई कराइन् ।

“तिम्रा अभिभावक र मेरो अभिभावकलाई गई सोध । मैले पटकपटक बिहे गर्दिन भनेर आफ्नो अनिच्छा जाहेर गर्दागर्दै पनि तिम्रा अभिभावक मेरा पछि लागिरहे । मैले तिमीलाई आफ्नोबारे बताउने धेरै प्रयास गरेँ- तर ती सब निष्फल भए । मैले अस्वीकार गर्छु भनी मलाई तिम्रो फोन नम्बर, इमेल नं. केही पनि दिएनन् । मेरो तस्बिर हेरी, मेरो शिक्षा र जागिर अनि विदेशमा बसोबास गर्ने लोभले तिमीले मसित विवाह गर्ने मञ्जुरी दियौ । मेरा बाआमाले पनि मलाई बिहे गराउन हरसम्भव प्रयत्न गरे । आमाले त आत्महत्या गर्नेसमेत धम्की दिइन् । मैले बिहे नगरी सुखै पाइनँ । मलाई सबैले ट्रयापमा पारेर विवाह गराई छोडे ।” सुयशले एकै सासमा सबै कुरा बताए । “आफूलाई यसरी निर्दोष सावित गर्न पाउँदैनौ… । अक्षराले झम्टिउँलाझैँ गरी भनिन् ।” मेरो जीवनलाई यसरी नष्ट पार्ने अधिकार तिमीलाई कसले

दियो ? तिमीले चाहेको भए बिहे गर्नुभन्दा पहिले यो रहस्य खोल्न सक्थ्यौ, हो किन होइन ।”

“कुल डाउन, काल्भ डाउन … । शान्त, शान्त, शान्त…. अक्षरालाई शान्त पार्दै सुयशले भने- “सक्थेँ, अवश्य सक्थेँ तर तिम्रो र मेरो भेट विवाह मण्डपमा मात्र भएको थियो । त्यत्रो नाताकुटुम्बहरूको समक्ष मैले विवाहमण्डपमा यस्तो कुरा भन्ने कसरी आँट गर्न सक्थेँ र … । जन्ती गइसकेपछि जन्तीलाई त्यसै फर्काउन मिल्थ्यो र … ?! भन्न जति सजिलो छ, गर्न त्यति नै गाह्रो छ । तिम्रो र मेरो कुलको मर्यादाको प्रश्नलाई मैले त्यति सजिलोसित लत्याउन कहाँ सक्थेँ र ? सुयशले आफ्नो वकालत गर्दै भने ।

अक्षराले उनको कुरा सुनेपछि आफ्नो हत्केलाले आँसु पुछ्दै भनिन्- अब म के गरुँ ? तिमीसित मेरो दाम्पत्य जीवन त चल्दैन ।”

“मै एउटा पुरुष छु र यस संसारमा … ? तिमीले चाहेमा खुसीसाथ अर्को विवाह गर्न सक्छ्यौ । तिमी मबाट जे गर्न पनि स्वतन्त्र छ्यौ…. आफूखुसी बाँच्न सक्छ्यौ…. ।” सुयशले निस्फिक्रीका साथ आफ्नो विचार व्यक्त गरे ।

“दोस्रो विवाह … ? तपाईंको मनसाय के हो श्रीमान् ? अब अर्को वर म कहाँ खोज्न जाउँ ? अक्षराले आँसु झार्दै भनिन् । ” पुछ यी आँसु, मलाई यसरी रोएर निर्बल बनेको पटक्कै मन पर्दैन । यो नेपाल होइन, अस्ट्रेलिया हो । थुप्रै मै हुँ भन्ने उच्च घरानाका कुमारी केटीहरू विवाहै नगरी सँगै पुरुष साथीहरूसित बस्छन् । कति त आफ्नो पढाइको खर्च र अन्य खर्च जुटाउन सडकमा ग्राहक खोजी हिँड्छन् । तिमीले चाहेमा खुसीसाथ कुनै पुरुषसित सम्बन्ध स्थापित गरेर दुनियाँको सामु मेरो पत्नी भएर बस्न सक्छ्यौ अथवा हाकाहाकी बिहे गरेर आफ्नो घरबार बसाउन सक्छ्यौ ।” सुयशले सजिलैसित ती दुईबीचको समस्याको निराकरणको उपाय बताए ।

“तिमी हिजडा मात्र होइन रहेछौ- एक नम्बरको पाखण्डी पनि रहेछौ ।” अब भने अक्षराले सोझैँ सुयशको पुरुषत्वमा आक्रमण गरिन् । “तिमीलाई पतिको रूपमा पाउनु मेरो दुर्भाग्य मात्र होइन, अभिशाप नै रहेछ । भोलि नै मेरो टिकट कटाइ देऊ- म नेपाल फर्किन चाहन्छु । अब एकछिन पनि तिम्रो साथमा म बस्न सक्दिन ।” अक्षरा जुरुक्क उठी आफ्ना सामानहरू प्याकिङ गर्न थालिन् ।
सामान प्याकिङ गरेर उनी डबलबेडको एक कुनामा पसारिइन् “के नेपाल फर्किनु ठीक होला र … ?” आफूसितै उनले प्रश्न गरिन् ।

“मेरो फर्काइ र यस रहस्य उद्घाटनपछि बाआमालाई धेरै चोट पर्नेछ… ! फेरि वृद्ध भइसकेका बाबुआमालाई भार बन्नका लागि माइतीको शरण पर्न उचित छ र … ! प्रश्नको गुजुल्टाभित्र उनी गुजुल्टिरहिन् ।

“आत्महत्या नै यस समस्याको निदान हो । घृणा, आक्रोश र वेदनाले गर्दा यस कुविचारले उनको मनमा फणा उठायो ।

“छिः आत्मविश्वास नभएका लाछीले मात्र जिन्दगीबाट भाग्ने यस्तो तुच्छ सोच जन्माउँछ । जिन्दगीसित भागेर होइन, डटेर सामना गर्नुपर्छ ।” उत्निखेर उनीभित्रको आत्मविश्वास जुरमुर्याएर उठ्यो ।

“अब रोएर हैन, जागेर जिन्दगीलाई पार लगाउनुपर्छ ।” उनको मनभित्र साहस अटेसमटेस भएर आयो, सोच्दै नसोचेको परिस्थितिको सामना गरी अस्ट्रेलियामै आफ्नो जीवनका नाउ खियाउने उनले मनमनै प्रण गरी उनी निदाइन् ।

भोलिपल्ट उठ्दा सुयश अफिस हिँडिसकेका थिए । दिनभरि अपार्टमेन्टको कोठा चहारेर उनले दिनलाई विश्राम दिइन् । परदेशमा विवाह गरेर वासन्ती सुख भोग्न आएको उनलाई अप्रत्याशित यस्तो मानसिक यातना भोग्नुपर्छ भन्ने उनले सपनामा समेत चिताएकी थिइनन्, आफ्ना बाआमा नजिकका आफन्त र साथीहरूको सम्झनाले उनको मन रुझिरहृयो । भावाविव्यक्तिको चरम बिन्दुमा पुगेर उनका आँखा अविरल वषिर्रहे । साँझ परेपछि अनिश्चित भविष्यको रूपरेखा मनभित्र कोर्दै बरण्डामा उभिएर आफ्नो वरिपरिको परिवेशलाई नियालिन् । सूर्यको रथ पश्चिमतिर कुद्दै थियो । साँझ बरालिँदै कोठाभित्र छिर्ने तरखरमा थियो । सडकमा चिप्लिएर दौडिरहेका सवारी साधन आ-आफ्ना गन्तव्य नापिरहेका थिए ।

उनलाई कसैको प्रतीक्षा थिएन, तैपनि उनी बाटोतिर हेरी उभिइरहेकी थिइन् ।

कतिखेर सुयश कोठाभित्र छिरे उनले चालै पाइनन् ।

“कफी पिउँछौ ?” सुयशको सोधाइले अक्षरा झस्किन् । उनलाई बोल्नै मन लागेन । चुपचाप सुयशतिर हेर्दै उनी मौन बसिरहिन् ।

दुई कप कफी बनाएर एक कप उनको हातमा थम्याउँदै सुयशले भने- “अक्षरा तिम्रो अवस्थादेखि म साह्रै दुःखी छु । मैले नचाहेरै तिमीसित विवाह गरेको भए तापनि म दोषी छु । अब धेरै विस्मात् नगर, जे नहुनु भइसक्यो । बुद्धिले काम लेऊ । तिम्रोसामु पर्दा म लज्जित हुन्छु । यसरी रोएर, केही नखाएर, अब केही हुन्न । बरु एउटा सही निर्णय लेऊ । तिम्रो कुनै पनि निर्णयलाई म स्वीकार्छु । म तिम्रो असल साथी बन्न सक्छु ।”

सुयशको सुझाव अक्षरालाई ठीक लाग्यो । उनले कफीको तातो घुट्का सितै आफ्ना सारा पीर र वेदनालाई घुट्क्याउँदै उनले भनिन्,- ”सुयश तिमीले मलाई गहिरो चोट दियौ तर म नेपाल फर्किन्न । तिमीसित पनि बस्दिन । यहाँको चालामाला बुझी, केही दिन बसी, एउटा जागिर पाएपछि म अन्तै डेरा सर्छु ।

“मलाई स्वीकार छ । जागिरको चिन्ता नगर । तिमीले चाहे जागिर पाउन म तिम्रो सहयोग गर्छु ।”

“छिटोभन्दा छिटो मलाई एउटा जागिर र डेराको बन्दोबस्त गरिदेऊ । म आफ्नो जीवन आफैँ जिउँछु ।”

“तिमीलाई आफ्नो जीवन जिउने पूरा हक छ ।” सुयशले अक्षराको हात समाउँदै भने- “हिँड किचनमा जाउँ, सँगै डिनर तयार पारौँ । आजदेखि हामी पतिपत्नी हैन, असल मित्र है ।” सुयशले अक्षराको दुखेको मनमा शीतलता छर्कदै भने ।

“तिमी एउटा स्वस्थ पुरुष हौ, तिमी आइमाईप्रति किन आकषिर्त हुँदैनौ ?” अक्षराले सोझै प्रश्न गरिन् । “किनकि, म आइमाई हुँ तर पुरुषजस्तै भएर हिँड्न मलाई मन लाग्छ । मेरो हावभाव, रुचि, व्यवहार सबै पुरुषको जस्तै हुनाले मैले आफूलाई पुरुषको चरित्र र व्यक्तित्वमा ढालेँ । तसर्थ म हिँजडा होइन, तेस्रो लिङ्गी हुँ ।” सुयशले आफ्नो भेद अक्षराको सामु लज्जित हुँदै खोले ।

“अर्को कुरा म तिमीलाई लुकाउन चाहन्न ।” उनले अर्को भेद खोल्दै भने- मेरो पार्टनर छ । अहिले ऊ आफ्नो घर गइराखेको छ । केही दिनमै फर्किन्छ । हामी एक अर्कातिर अलग्गिएर बस्न सक्दैनौ ।”
अक्षरा यथार्थको कठोर धरातलमा रक्ताम्य भई पछारिइन् । उनको मन मस्तिष्क शून्य भएर आयो । उनको मनले भर्खरै सुयशले ओकलेको सत्यलाई विश्वास गर्न अप्ठेरो मान्छ । उसको आँखाले सशरीर र उभिरहेको पुरुषलाई आइमाई मान्न अस्वीकार गर्छ ।

-छाउनी, काठमाडौँ

(स्रोत :मधुपर्क २०६६ असोज)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.