कविता : बसन्त

~अशोक थापा~

१
आयो दृश्‍य खुली बसन्त सुकिलो गम्के लता-कुञ्जिका
तन्के पात मुना बनेर तरुनो छैनन् सुकेका फिका
कल्की फूल बुकी गुराँस कलिलो धर्ती नयाँ देखियो
चिर्‌विर् चन्चल गीत मस्त लयमा भाका रमेको थियो

२
को हो!भन्छ बसेर मुक्त मधुरो स्वरै लिई कोकिल
लाऊँझैँ पिरती बसन्त ऋतुमा सारै रमेको दिल
पोखी सिन्दुरले प्रभात रमणी नौलाख आशा दियो
साँचो सार्थक जीवनी सरसभो बास्ना नयाँ भर्दियो

३
पल्टे मक्किएका मुढा जमिनमा उम्रे नयाँ भावरा
थोत्रा पात झरे बतास मेहरी उक्के पुराना जरा
फुल्छन् फूल खुशी भएर लहरा हास्दै छ रे पाहरा
झल्‌झल् झल्किएर अपार झरना क्या मोहनी छाहरा

४
नौलो आकशमा कतै रहरका यात्रा गरूँझैँ भयो
सुख्खा जर्जरिँदो धरा सतहमा पानी भरूँझैँ भयो
हट्दैछन् वनका विखालु लहरा फँस्दैछ सिंहै पनि
छर्दै सुन्दर ओखती वनभरी आनन्द आत्मा पनि

५
बिर्सन्छन् जनता दुखी शिशिरका पीडा र बेथाहरू
झस्कन्छन् पथमा उठेर जिउँदो लासै बनेकाहरू
आयौ धन्न जमाइ प्यार मुटुमा बसन्ती धन्य तिमी
नौलो राज समाज सुन्दरपुरी उस्तै सुसेली तिती

– भरतपोखरी

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.