कविता : तिर्खा

~सङ्गीत नेम्वाङ~

साहब!
तिम्रो शासनको चूङ्गुलमा फँसेर
रासनको आश गरिरहने मान्छे हुँ म।

सोच्थे….
म त्यो एक्लो मान्छे होला
जस्ले भाग्य कोर्ने भाभीलाई गाली दिन्छ, सरापछ
तर यहाँ छन् म जस्ता हजारहजार अरूपनि
जसले रासनलाई शासन सम्झन्छन्
शासनलाई रासन।
मानौं रासन र शासन दुवै शब्दको एकै अर्थ भेटिन्छ
जिन्दगीको शब्दकोषमा।

साहब!
जब बिहान काममा निस्कन्छु बुड्या भन्छे
‘आउँदा रासन-पानी ल्याएर आउनु।’
हजुरले दिएको सय र पचास नोट बोकेर
जब रासन किनेर पैसा दिन्छु
तब रासने भन्छ
‘भिजेको नोट चल्दैन, अर्को ले।’

साहब!
‘अर्को नोट ल्याउन त मैले अर्को जुनी लिनु पर्छ।’

सौदा लिएर जब घर पुग्छु,
कान्छा छोरा भन्छ – ‘मिठाई खोई?’
माईली छोरी भन्छे – ‘खाता खोई?’
बुड्या भन्छे – ‘रासन त ल्यायौं तर पनाी पो छैन।’

साहब!
म हजुर जस्तो बिसलेरी वाटर किनेर पिउन सक्दिन,
थाकेको छु,
भोकाको छु,
चिन्तित छु छोरा-छोरीको इच्छा पुरा गर्न नसक्दा
तर पनि अहिलेलाई यही बिन्ती गर्छु
कृपया! हाम्रो तिर्खा मेटाउने व्यवस्था गरिदिनुहोस्।

सङ्गीत नेम्वाङ
कालचिनी, डुवर्स, भारत।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.