~नेत्र एटम~
लब्धप्रतिष्ठित कवि मनप्रसाद सुब्बा र भारतीय नेपाली कविता जगत्मा आफ्नै ठाउँ बनाइसकेकी रेमिका थापाका कविताहरूको संयुक्त सङ्कलन किनाराका आवाजहरू-को अङ्रेजी संस्करण सुनचरी प्रकाशनले प्रकाशित गर्दैछ। छापामा गइसकेको यो अंग्रेजी संस्करणमा मनप्रसाद सुब्बाका कविताहरू स्वयं कविले अनुवाद गरेका छन् भने रेमिका थापाका कविताहरूको अनुवाद डा. कुमार प्रधानले गरेका छन्। सुनचरी प्रकाशनको निकट भविष्यमै द भोइसिस फ्रम द मार्जिन-को लोकार्पण गर्नेछ। स्मरण रहोस्, किनाराका आवाजहरू-को पहिलो संस्करण श्याम ब्रदर्स, दार्जीलिङबाट नोभेम्बर,2008-मा र दोस्रो संस्करण दिसम्बर 2008-मा उपमा प्रकाशन, कालेबुङले छापेका थिए। (सुनचरी, 13 जुलाई,2009-बाट साभार)
आत्मीय आवाजको अनुभव ‘क्षर-अक्षर’
परम्परालाई उछिनेर भोटेको जीवनको गति र आधुनिक चेतना मिसाएर कवितासृजनामा सक्रिय रहेका राजेन्द्र भण्डारीको क्षर-अक्षरनामक कवितासङ्ग्रह इ. 1998 को भानुजयन्तीको अवसर पारेर प्रकाशित भएको छ। सिक्किमबाट झुल्किएका कवि भण्डारीमा नेपालबाहिरबाट लेखिने कविताहरूमध्ये सबैभन्दा राम्रो सम्बावना भएको कपरा प्रस्तुत सङ्ग्रहका केही उच्च चेजनायुक्त कविताहरूले देकाएका छन्।
नेपाली कविता अहिले पाठकीय संवेदनाबाट टाढा भाग्न थालेको जस्तो देखिन्छ र यसले जीवनका सार्वजनिक पाटाहरूलाई छाड़ेर कथित गम्भीरताको आवरण ओढिरहेको पाइन्छ। यस्तो परिस्थितिमा कवि भण्डारीले जीवनका सामान्य लाग्ने पक्षहरूलाई पनि अत्यन्तै मिठास र नवीन योजना दिएर कविताका मूच्र्छनाहरूमा बाँधेका छन्। मिथकलाई नयाँ संस्कारमा भिजाएर नौला आस्वादनका व्यञ्जनहरू पस्केका छन्। प्रस्तुत सङ्ग्रहका अठचालीसओटा कवितामध्ये उत्कृष्ट कविताहरूमा यस्तै जीवनबोध र अनौठो स्वाद पाइन्छ।
यस सङ्ग्रहको ‘बतासमा उड्दै गएको मेरो पत्कर’ कवितामा कविले भूपि शेरचनको ‘मेरो चोक’ कविताको मनोरम ‘क्यारिकेचर’ प्रस्तुत गरेका छन्। घरलाई चोकको रूप दिएर गरिएको यस ‘क्यारिकेचर’ मा कवितात्मक विनिर्माण (पोइटिक डिकन्स्ट्रक्सन) को सौम्य झाँकी आत्मीय रूपमा आएको छ। लोकगीत र संस्कृतको सूक्तिको प्रयोग गरी सामान्य जीवनको चित्रणझैं लाग्ने यस कविताले दार्शनिक गहिराइलाई पनि आफूमा समेटेको छ। गोठालो र मुरलीको प्रसङ्ग कविताको क्रूर सत्य बनेर यसको केन्द्रमा आएको छ –
पारि गाउँमा कुनै गोठालो
मुरलीका सात प्वालहरूमा
आफूलाई सात टुक्रा पारेर फुकिरहेको हुन्छ। (पृ.27)
त्यस्तै, ‘कङ्क्रिटको आकाश’ शीर्षक कविता भूपिकै ‘मेरो देश’ कविताको विनिर्माण हो। भूपिको कविताको सुन्दर लाग्ने प्राकृतिक परिवेश यसमा फुङ उडेको र विसङ्गत छ। उत्तरआधुनिकतावादी (पोस्ट मर्डिनिस्ट) चेतनासहित लेखिएको यस कवितामा ईश्वरले प्रत्येक बिहान मानिसको आरती गरेको विपर्यासमूलक संरचना पाउन सकिन्छ। बुलेटका आरुबखडा, ग्रिनेडका मुटु, सिल्कन शिष्टाचारहरू, छातीको ओदान आदि बिम्बहरूले यह अवस्थालाई प्रकट गर्दछन्। ‘विभक्ति’ शीर्षकको छोटो कविता यस सङ्ग्रहको उत्कृष्ट कविता हो। शब्दको खेलमा एउटा विभक्तिले कति ठूलो अर्थ वहन गर्दोरहेछ भन्ने कुरालाई यसले देकाएको छ। तिमी र मेराबीच विभक्तिको अभावले सम्बन्धलाई खल्लो, आत्मीयतालाई रित्तो र विश्वासलाई फिक्का बनाएको प्रसङ्ग यसमा पाइन्छ। नेपाली जातित्वलाई टुक्र्याउने राजनीतिक सीमा विभक्ति बन्न नसकेको पीडा पनि यसमा छ र एउटा बृहद् काव्यका रूपमा शक्तिपुञ्ज बन्ने आशा पनि यसले देखाउँछ।
‘इस् पढ्छु तेरो कविता’ मा कविले आधुनिक संवेदनशीलता र यान्त्रिक व्यावसायिकताको खिल्ली उडाएका छन्। पैसाको सती जाँदै गर्दा मान्छेको जीवन विधवाको सिउँदो उडाडिए झैं उजाड बन्दो छ भन्ने भाव कवि यसरी देखाउँछन् –
के-को कविता न सविता?
सो स्याड्, मेरो पप्पीले बिहानदेखि सु गरेको छैन
को-को कविता न सविता।
कविताले बिल्डिङ बनिन्छ? (पृ. 61)
‘पर्खाइको एउटा गीत’ ले जातित्व र भ्रातृत्वको मुलायम शङ्खघोष गरेको छ। अगमसिंह गिरीको ढाँचामा नेपाली जीवनशैलीप्रति अनन्य भक्ति देखाउँदै खोक्रो आडम्बरले अर्काको दास भएको कुरालाई व्यङ्ग्य गर्ने यस्तो कविता नेपालीमा आउनु साह्रै खुसीको कुरा हो। सभ्यताको यात्रामा जुटेका नेपालीहरूमा गरिएको यस आह्वानका लागि कवि भण्डारीलाई म हार्दिक अभिवादन गर्दछु।
यस सङ्ग्रहको अन्तिम कविता ‘तारमा हल्लिरहेको छ आमाको फरिया’ अत्यन्त ओजिलो र जीवनलाई अन्तरबाट छाम्नसक्ने रचना हो। आजका धर्तीमा इडिपसका नयाँ संस्करणहरू जन्मिरहेका बेलामा आमाको वेदना बुझेर मार्मिक सत्यलाई यति नजिकबाट उप्काउनसक्नु कविको क्षमता हो। अन्तर्राष्ट्रिय युद्ध र मानवतावादका भाषण छाँट्ने तथा विसङ्गतिमै नाच्ने आजका कथित ‘महान’ कवि भनिनेहरूले यस्ता कवितामाथि दृष्टि दिन सके आफ्नै छायाँको पीडा उज्यालामा ल्याउन सके हाम्रो कविता कति सुन्दर र स्वच्छ हुने थियो होला! उनको ‘बजार गरेर’ कविताले पनि अभावको गहिरो संवेदना उदघाटन गरेको छ।
यी केही महत्वपूर्ण कविताका छायाँमा परेर हो कि किन हो भण्डारीका अन्य कविताहरूमा सशक्तता भेटिन्न। केही सामान्य लाग्ने कविताहरू जस्तै – ‘गोरेटो’, ‘शब्दचित्र’,’खिडकी’, ‘साँझपख हिजो’,’मसिना खुसीहरू’ आदिमा कविले जीवनलाई दार्शनिक रङ्ग दिएका छन् तर तिनको शैलीमा प्रक्षेपणको मीठोपन थेग्रिन सकेको छैन। अन्य कविताहरूमा सामान्य भाव भेटिन्छ तर भण्डारीका केही प्रतिनिधि कविताहरूले मात्रै पनि उनलाई नेपाली कविताका क्षेत्रमा स्मरणीय बनाउने क्षमता हासिल गरेका छन्। अनेपाली वाक्यविन्यास शब्दलाई त्यागेर नेपाली पानी भरिएका कवितासृजना गर्ने कविको ,योजनशक्ति अझै प्रभावकारी बनोस् भन्ने शुभाकाङ्क्षाका साथ, अक्षरपर्वमा सामेल भएका कवि राजेन्द्र भण्डारीलाई म हृदयत: बधाई ज्ञापन गर्दछु।
कृति – क्षर/अक्षर (कवितासङ्ग्रह),
कवि – राजेन्द्र भण्डारी,
प्रकाशक – जनपक्ष प्रकाशन (सिक्किम),
संस्करण – प्रथम (इ.1998),
मूल्य – रु.55/-पृष्ठ – 86
(गरिमा असार 2056, साझा प्रकाशन, ललितपुर,नेपाल-बाट साभार)