व्यङ्ग्य कविता : जङ्गबहादुरसँग पुनर्मिलन

~अर्जुन पराजुली~

पुन्टे, भुन्टे, वसन्ते र सन्ते
तिमीलाई व्यापारमै व्यस्त छ भन्थे
अनि
कोतपर्वको दोस्रो संस्करण निकाल्न
कसरी भ्यायौ ?
जङ्गबहादुर ! तिमी आयौ ?

अनुहार पनि सर्लक्कै फेरिएछ
यता हामीलाई सञ्चै छ
अनि उताको हालखवर के छ ?
किन काटेको ? जुँगा काटेछौं
अनि घडेरी कहाँ कहाँ किन्यौ ?
जङ्गबहादुर ! मलाई चिन्यौ ?
दुब्ला थियौ, मोटाएछौ
उमेर पनि सर्लक्कै घटाएछौ
जङ्गबहादुर मरे
भनेर धेरैले हल्ला पनि गरे
तिमीलाई सग्लै देखेपछि
हल्ला गर्नेहरू डल्ला परेर
घोडाबाट लड्यौ कि क्या हो
मुन्टो पनि बाङ्गो बाङ्गो लाउँछौ ?
जङ्गबहादुर !
अनि मकहाँ कहिले आउँछौ ?
कुकुर पालन व्यवसायमा
नयाँ कदम चालेछौ
नेपाली कुकुर पाल्न छाडेर
विदेशी कुकुर पालेछौ
खुसी लाग्यो
कुकुरै भए पनि चिन्न थालेछौ
त्यस रात अरुका कुकुरहरू भुकिरहे
तिम्रो कुकुरले भाषण दियो
जुन रात सहरमा
कुकुरहरूको ट्यालेन्ट शो थियो
जङ्गबहादुर !
अनि तिम्रो छोराले एसएलसी दियो ?

कुकुरलाई साङ्लोले डोर्याएर
मर्निङ वाकमा जाने शोख
तिम्रो मात्रै होइन
तिम्रा बाको पनि थियो
तिमीले डोर्याएको कुकुर पनि
काटीकुटी तिम्रा बाको जस्तै देखियो
यो कुकुर पनि उही हो कि क्या हो ?
ल्याप्चे परीक्षण गर्यौ ?
जङ्गबहादुर !
अनि तिमीले डिभी भर्यौ ?

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.