~अमृता बुढाथोकी~
महिलालाई अर्को शब्दमा नारी, स्त्री, जननी आदि नामले सम्बोधन गरिन्छ भने सशक्तीकरण भनेको सशक्त बनाउने, सबल पार्ने, सुदृढीकरण वा स्रोत, साधन, अधिकार आदिले सशक्त, सुदृढ वा सबल पार्ने कार्यलाई नारी सशक्तीकरण भनिन्छ ।
सम्पूर्ण विश्वमा रहेका मान्छेको मानवीय अस्तित्वलाई निरन्तरता दिने स्त्री जाति नै महिला हो । भविष्यका पुस्तालाई धर्तीमा जन्म दिई सुयोग्य, सुशिक्षित मानवमा रुपान्तरण गर्ने मानवीय शक्ति महिलालाई आर्थिक, सामाजिक, राजनैतिक र शैक्षिक जस्ता क्षेत्रमा पुरुष सरह काँधमा काँध मिलाई अघि बढाउन सक्ने बनाउनु महिला सशक्तीकरण हो । महिला सम्पूर्ण मानवहरुकी जननी हुन् । नारी र पुरुषलाई एक रथको दुई पाङ्ग्रा हुन् भनी परापूर्वकाल देखि नै भनिँदै आएको छ । नारी भित्रको करुण र शालीन व्यक्तित्वले परिवार मात्र होईन कि सम्पूर्ण समाजलाई नै उज्वल दीप प्रज्वलन गरेको हुन्छ । भनिन्छ, जहाँ नारी शिक्षित र सभ्य हुन्छन् त्यहाँ सुखी र समृद्धिको ज्योति तीव्र रुपमा बल्छ । नारी आमा, दिदी, बहिनी, भाउजु, नन्द जे जस्तो रुपमा प्रस्तुत भए पनि उनी आमा हुन् । नारी पारिवारिक पाठशालाकी प्रथम गुरुआमा हुन् । मानव मात्रा की प्रथम गुरु आमालाई शिक्षित र सभ्य पार्न सके सिङ्गो मुलुक नै शिक्षित हुने गर्दछ । नारीलाई पराई घर जाने, आमाबुबाले मरेपछि पिण्डदान गर्दा स्वर्ग नपुगिने जस्ता अन्धविश्वासी धारणले गर्दा शिक्षा आर्जन गर्न विद्यालय पठाउनुभन्दा पनि घाँस, दाउरा, चुलो, चौका र गाई गोठ, भकारोमा सीमित गरिएको छ । अन्ध परम्परामा लिप्त हाम्रो समाजले सिर्जनाकी खानी नारी भित्रको क्षमतालाई त्यसै कुहिएर जान बाध्य बनाएको छ । यसको परिणाम स्वरुप समाज विकासले आशातीत फड्को मार्न सकिरहेको छैन ।
दार्श्निक अरस्तुले , ‘नारी जातिको उन्नति अवन्तिबाट नै राष्ट्रको उन्नति अवन्नति निर्धा्रित हुन्छ ।’ भनेका छन् । त्यस्तै गरी विश्व विख्यात योद्धा नेपोलियन बोनापार्टले, ‘तिमी मलाई असल आमा देऊ, म विश्वलाई असल राष्ट्र दिन्छु’ भन्ने उद्घोष गरेका थिए । यसबाट के स्पष्ट हुन्छ भने परापूर्व काल देखि र्नैै नारीलाई सभ्यताकी प्रतिक, धर्ती जस्ता अनेक उपमा दिएको पाइन्छ । परापूर्व कालमा शिक्षा आर्जन गरेका नारी ब्रह्मवादिनी र सदोद्वाहा जस्ता नारीहरुलाई उच्च सम्मान दिइएको थियो । समाज विकास हुन सर्वप्रथम परिवार विकसित हुनु पर्छ । परिवार विकसित भएमा मात्र समाज र राष्ट्र विकसित हुने गर्दछ । पुरुष शिक्षित भएमा व्यक्ति मात्र शिक्षित हुन्छ भने महिला शिक्षित भएमा सम्पूर्ण समाज नै शिक्षित हुने गर्दछ । देशको सिङ्गो जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका नारीलाई शिक्षाका माध्यमबाट सम्पूर्ण पक्षमा सबल बनाइनु पर्दछ । महिलालाई दया होइन कि पर्याप्त अवसर दिनु जरुरी रहेको छ । पर्याप्त अवसर पाएमा महिलाले पुरुषलेभन्दा पारदर्शी तरिकाले सुशासन गरेको इतिहास विश्वमा नै प्रष्ट छ । महिलाले चलाएको प्रशासनमा पूर्ण रुपमा सुशासनका आयामको पालना गरिएकोे पाइन्छ ।
नारी शिक्षा र चेतनाबाट वञ्चित गराए उनीबाट जन्मने सन्तान पनि अशिक्षित, चेतनहीन, र कुसंस्कार ग्रस्त हुने संभावना बढी रहन्छ । तसर्थ नारीलाई शिक्षित भएमा उनले आफूमा भएको अन्तर्नि्हित चेतना र ज्ञानको ज्योतिको प्रयोग गरी समस्त सन्तानहरुलाई सुशिक्षित बनाउन सक्छिन् । भोलिका राष्ट्रका कार्णधार बालबालिकालाई सही मार्गदर्शन दिने नारीलाई विभिन्न अन्धविश्वास र त्रुटिपूर्ण परम्पराका कारण सामाजिक बन्धनको सिव्रmीले बाँधेर समाजलाई कुसंस्कारको जालमा फसाउनुभन्दा सुसंस्कृत नागरिक निर्माण गर्नका लागि यिनीहरुलाई सशक्त बनाउन जरुरी देखिन्छ । महिलालाई सशक्त बनाउनुको तात्पर्य पुरुषलाई शक्तिहिन बनाउनु होइन कि दुबैलाई राष्ट्र निर्माण कार्यमा समान रुपमा सहभागी गराउनु हो ।
नारीलाई धर्म, संस्कार वा रीतिरिवाजका नाममा कमजोर सम्झनु दुखपूर्ण कुरा हो । नारी र पुरुषलाई नीति निर्माण, योजना निर्माणलगायतका कार्यमा समान सहभागिता नगराइनु समाज र राष्ट्रलाई पतनको बाटोमा धकेल्नु हो । राष्ट्र निर्माणमा नारीलाई पुरुष सरह सहभागी गराउने विश्वका देशहरु अहिले समुन्नत र विकसित देशका रुपमा स्थापित भएका छन् ।
अहिले नेपालको महत्वपूर्ण कार्यकारी निकायमा महिलाहरु रहेका छन् । राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानन्याधीश शुशीला कार्की र सभामुख ओनसरी धर्तीमगरले सफलता पूर्ण रुपमा काम गरिरहेका उदाहरणहरु हाम्रो सामु रहेका छन् । विश्वमा आधा दर्जन देशमा महिला राष्ट्रपति भएका छन् । आधा दर्जनकै संख्यामा प्रधानमन्त्री र केही उपप्रधानमन्त्री समेत भएका छन् । १९९० यता ३१ जना महिला राष्ट्रप्रमुख बनेका छन् । ५० देशको संसद्मा महिला आरक्षणको व्यवस्था गरिएको छ । सन् २००६, १६ जनवरीमा ऐलन जोनसन सर्लिफ लाइबेरियाको राष्ट्रपति, मोजाम्बिककी प्रधानमन्त्री लुइसा डाइस डिओगो, बङ्गलादेशकी प्रधानमन्त्री बेगम खालिदा जियाले सफलता पूर्ण आप्mनो काम गरिरहेका छन् । राजनीतिमा मात्र होइन वैज्ञानिक क्षेत्रमा म्याडम क्युरी, साहित्यका क्षेत्रमा झमक घिमिरे जस्ता नारीहरुले पुरुषभन्दा राम्रो काम गरिसकेका छन् । यसकारण महिलालाई विभिन्न सामाजिक परिधिमा कैद गर्नु भन्दा अवसर दिएर पुरुष सरह काम गर्न सक्ने बनाउनु जरुरी छ । लिङ्गमा आधारित श्रमविभाजन र वर्ग व्यवस्थापनको अन्त्य गरी नारी र पुरुषको कामको समान जिम्मेवारी र समान वितरण हुनु आवश्यक छ । लिङ्गकै आधारमा परिवारमा कसैले पनि स्वतन्त्रत्रता र उन्मुक्ति पाउने कार्य कदापि औचित्यपूर्ण हुन नसक्ने र यसको अन्त्य हुनु जरुरी छ । नारी प्रति सकारात्मक धारणा राख्नु आजको माग र आवश्यकता रहेको छ । त्यसैले, प्रत्येक वर्ष फागुन १५ गते (मार्च ८) महिला दिवस मनाएर मात्र नारीमा श्रद्धा जाग्ने होइन बरु हरदिन नारीप्रति सद्भाव एवम् सद्व्यवहार प्रदर्शन गरी राष्ट्र एवम् समाजलाई उत्थान गर्न सबै एक जुट भएर लाग्नु जरुरी भएको छ । समाजको उत्थान, सभ्यता र शिष्टताको प्रवर्धन नारी सशक्तीकरणबाट मात्र सम्भव रहेको छ । तसर्थ निष्कर्षमा भन्नुपर्दा राष्ट्र एवम् समाजको उज्जवल भविष्यका निम्ति नारी र पुरुष दुवैको समान सहभागिता एवम् सहकार्य हुनु वर्तमान विश्वको आवश्यकता रहेको छ ।
-अमृता बुढाथोकी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )