समालोचना : आँधी उपन्यासको बिश्लेषण

~अज्ञात~

 1. ऑधी उपन्यासको परिचय :-

सन् 1999 मा प्रकाशित लोकनाथ चापागाईको उपन्यास “आँधी” एउटा उत्कृष्ट कृति हो ! जम्मा 121पृष्ठमा आवद्ध प्रस्तुत उपन्यासले असमेली नेपाली जनजीवनको सूक्ष्म रुपमा स्थलगत सर्वेक्षण गरी सामाजिक,आर्थिक,धार्मिक-सांस्कृतिक,शैक्षित पक्षहरुको लेखाजोखा गरेको छ ! रातको समयमा कुदेको गाड़ीको लाइटको फोकसमा देखिएको परिदृश्य झै उपन्यासमा पनि यसको मूल पात्रा नम्रता सँगसँगै विभिन्न ठाउँहरुको सूक्ष्मावलोकन गरिएको छ ! यसको औपन्यासिक क्षेत्र गौहाटीदेखि शिलाङ र असमको सुदुर पूर्वसम्म भूभाग रहेको छ भने यसको कालिक अवधि लगभग दश बर्ष जतिको रहेको देखिन्छ !

2. आँधी उपन्यासको संरचना :-

लोकनाथ चापागाईको “आँधी” उपन्यास सन् 1999 मा असमबाट प्रकाशित भएको हो ! यसमा जम्मा एक सय एक्काइस पृष्ठहरु छन् भने बीसवटा अनुच्छेदहरु रहेका छन् ! अनुच्छेदहरुमा पृष्ठ वितरण यस प्रकार छ -अनुच्छेद एक,दुइ पृष्ठ,अनुच्छेद दुइ पाँच पृष्ठ,अनुच्छेद तीनमा सात पृष्ठ,अनुच्छेद चारमा पाँच पृष्ठ,अनुच्छेद पाँचमा पाँच पृष्ठ,अनुच्छेद छ मा चार पृष्ठ,अनुच्छेद सात र आँठमा पाँच र आठ पृष्ठ,अनुच्छेद नौमा चार पृष्ठ,अनुच्छेद दश/एघार/बाह्रमा एघार/छ/तीन पृष्ठ,अनुच्छेद तेह्र/चौध/पन्ध्र/सोह्र/सत्रमा आठ/छ/सात/एघार पृष्ठ रहेको छ ! अनुच्छेद अठार/उन्नास/बीसौंमा छ/तीन/चार पृष्ठ रहेका छन् ! समग्रहमा हेर्दा चाहिँ प्राय:अनुच्छेदहरु समानुपातिक नै मान्नुपर्छ ! यसमा रहेका सबै अनुच्छदेहरुमा कथानकीय पूर्वापर सम्बन्ध कायम रही सुशृंखलित छन् ! एउटा अनुच्छेदमा एउटा वा दुइवटा मुख्य घटना र वस्तु पाइन्छ भने अर्को अनुच्छेदमा नयाँ घटना र वस्तु गाँसिदै गएका छन् ! संरचनाका आधारमा यस उपन्यासलाई सुसंगठित,सुशृंखलित र सुसंरचित नै मान्नुपर्छ !

3. आँधी उपन्यासको नामकरण / शीर्षक औचित्य :-

सामान्य अर्थमा ” आँधी ” भन्नाले हुरी – बतास,तूफान,चक्रवात,झञ्झा बुझिन्छ ! त्यस्तै गरी जीवनमा आकस्मिक रुपमा आइपर्ने आपत्-संकट ,महासमस्या,दुर्घटना इत्यादिलाई पनि आँधी भन्ने परम्परा छ ! यसै आधारमा यस उपन्यासकी मुख्य नायिका नम्रताको जीवनमा आइपरेका विभिन्न प्रतिकूल स्थिति,संघर्ष,जटिलता,आपत-विपदहरुलाई मुख्य विषय बनाई यसको शीर्षक ” आँधी ” गरिएको छ ! आँधी शीर्षकले उपन्यासको मुख्य विषयवस्तुको निष्कर्ष वा सारतत्त्वको संकेत गरेको छ ! भौगोलिक संरचनाअनुसार आँधी आई घरबार,रूखपात र बालीनालीलाई निकै ठूलो क्षति पुर्याउँछ ! नम्रताको जीवनमा पनि कतिपय आँधी चलेका छन् र आँधीको भेलमा उ कता-कता हेलिन पुग्दछे ! तीनसुकियामा आफ्नो खास आमा-बुबाको घरमा जन्मनेबित्तिकै उसको घरमा विपत्तिको आँधी आएको कारण उसलाई मूल्याही ठानेर अर्कालाई पाल्न दिएको प्रसंगदेखि लिएर उसलाई पाल्ने आमाले पनि उसको मेट्रिक परीक्षाको नतिजाको दिन छाड़ेर अर्कासित पोइल गएको घटना हुँदै एकपछि अर्को विपत्तिको सामना गर्नुपरेको छ ! उसलाई कसैले हात-पात गर्न खोज्नु ,कहिले कसैले बेच्न खोज्नु,कसैले वेश्यालयमा पुर्याउनु खोज्नु ,कसैले ज्यानै लिन खोज्नुजस्ता अनेकौ प्रतिकूल घटना र परिस्थितिको सिर्जना गरिएको छ ! अत: उपन्यासको शीर्षक संकेतात्मक ,निष्कर्षात्मक रही सार्थक नै देखिन्छ !

4. आँधी उपन्यासको कथाबस्तु :-
आँधी घटनाप्रधान उपन्यास हो ! यसमा घटनै – घटनाको जञ्जाल छ ! मूल पात्रा नम्रता सँगसँगै घटनाक्रम अघि बढ्दै जान्छ ! घटनाहरु छिटो-छिटो गरी घट्दैजान्छन् र क्रमश: सघन बन्दैगएको छ !

1. नम्रता जन्मनेबित्तिकै घरमा आगलागी हुनु र उसलाई मूल्याहा साइतमा जन्मेको ठानेर आमा-बाबाले उसलाई त्यागेर अर्को दम्पत्तिलाई दिनु !

2. हरिभक्तको घरमा उ हुर्किनु ,बाबु हरिभक्तको रेल्वेमा नोकरी भएकोले उसको बद्ली भइरहनाले आमाको संरक्षणमा उ बढ़नु र पढनु !

3. आमाचाहिँ गाँजा ,अफीम,रक्सीजस्ता कुराको व्यवसायमा संलग्न हुनु !

4. नम्रताले स्कूल पढ़ेर मेट्रिक पास गरेपछि आमा अर्कासित पोइल जानु ,उ घरमा एक्लो हुनु र अरु पुरुष आई उसलाई हातपात गर्न खोज्नु !

5. नम्रता छिमेकी रत्न दाइकहाँ शरण लिनु तर रत्न दाइकी श्रीमतीले शंकाको नजरले हेर्नु ,कड़ा निगरानी गर्नु !

6. रत्न दाजुकहाँ बस्दा त्यस घरमा निकुञ्ज नामका पाहुना युवक आउनु तथा अलिक दिनमा नम्रता र उसको बीच प्रेम अंकुरण हुनथाल्नु !

7. बाबु हरिभक्त सिकिस्त बिरामी भएको तार आउनु र उ गौहाटी गई अस्पतालमा बाबुलाई भेट्नु तर भोलिपल्टै हरिभक्त मर्नु र उ नितान्त एक्ली हुनु !

8. काका पर्ने श्रीप्रकासले उसलाई गौहाटीमा राख्नु ,बाबुला भलिष्यनिधी कोषमा संकलित रकम नम्रताको नाममा पारिदिएको थहाँ पाएर काकाचाहिँले उसलाई चिप्लो घसी त्यो रकम ब्यांकबाट झिकी होटल किन्न लगाउनु र भित्री इरादा चाहिँ नम्रताको पैसा आफ्नो हात पारी उसलाई अपहरण गराई पन्छाउने कुरा नम्रताले चाल पाउनु !

9. काका भनाउँदो र दुइ व्यक्तिबाट आफीलाई जोगाई बड़ो बिजोकले नम्रता शिलाङतिर प्रस्थान हुनु !

10. शिलाङ जाने बसमा नम्रताको एउटी आमै र एउटी केटीसित भेट हुनु र उनीहरुकै साथ लागी उ शिलाङमा आमैको घरको आश्रयमा बस्नथाल्नु !

11. शिलाङमा आमैसँग एउटा गाउँतिर जाँदा एउटा बिरामी बालकलाई धामी लगाएको देख्नु तर नम्रताले त्यो बालकलाई जुगा परेको ठम्याएर त्यसको दवाई ल्याएर दिनु ! दबाई खाएपछि त्यो बालक झन बिरामी भई मरेको सम्झिनु ,नम्रतामाथि रिस पोख्नु,नम्रता भागेर प्राण बचाउनु तर बालकको पेटबाट जुका निस्केर जाति भएपछि त्यहाँका मानिसले नम्रतालाई देवी मान्नु !

12. शिलाङमा नम्रताले एघारौं श्रेणीमा कलेज भर्ना लिई अध्ययन थाल्नु !

13. उ शिलाङमा नेपाली साहित्य कार्यक्रमतिर जानु तर त्यहाँ नेपाली संघ-संस्थाहरुबिच एकार्कामा दोषादोष चलेको देखी कुण्ठित हुनु,स्वार्थी मान्छेहरुले त्यस्ता संगठन चलाएको देखिनु !

14. धनञ्जय नाम गरेका एकजना तथाकथित सज्जन र समाजसेवक पुरूषले नम्रतालाई नोकरी दिने निहुँले बलात्कार गर्न खोज्नु र उभाग्नु !

15. आत्मा रक्षाको निम्ति साथी मिराले सिकेको कराटे उपयोगी हुनु र उसले पनि सिक्न थाल्नु !

16. उसले बाह्रौको परिक्षा पास गर्नु तर पढ़ाइमा अघि बढ्ने कुरामा निर्णय नलिनु !

17. एक दिन आमैको छोरो सन्दीपले पैसाको बिषयमा आमैलाई कुट्नु र त्यसको एक महिनापछि आमैको मृत्यु हुनु ,नम्रता त्यहाँबाट निस्की गौहाटीतिर आउनु !

18. गौहाटीमा ब्यांकबाट अलिकति पैसा निकाली नम्रता एउटा होटेलमा बस्नुपुग्नु ,त्यहाँ फूलनबाई नामकी एउटी दलाल आइमाईसित भेटहुनु,त्यस आइमाईलाई नम्रताले थप्पड़ दिएर खेद्नु !

19. गौहाटी बसस्ट्याण्डमा शिङरीको एउटा विवाह परिवारसित नम्रताको भेटहुनु र आमाको बारेमा सोधपुछ गर्नु त त्यहाँबाट पनि आमाहरु अन्यत्र सरेको पत्तो लाग्नु ,उ शिङरीमै बस्नु !

20. शिङरीमा चन्द्रकान्त नामका एकजना सज्जन व्यक्तिसित नम्रताको चिनजान हुनु र पछि उनै नम्रताका लागि सहयोगी हुनु !

24. शिङरीमा बस्दा एक दिन अरुणा नामकी केटीको निम्ति बसेको पञ्चायतमा नम्रता पुग्नु ,त्यहाँ पञ्चायतको एकपक्षे भेदभावपूर्ण निर्णयको विरुद्ध नम्रता कराउनु !

25. शिङरीमा एकपल्ट बाढ़ी आउनु ,त्यहाँ राहत शिविरमा नम्रताले पनि सेवा दिनु तर राहत सामग्री हिनामिना भएको चाल पाई उसले विरोथ गर्नु ,त्यसबाट घरका अभिभावकहरु रिसाई अब यहाँ नबस्नु भन्ने आदेश दिनु !

26. नम्रता तेजपुर जानु ,त्यहाँ चन्द्रकान्तको सहयोगले एउटा स्कूलमा अस्थायी भए पनि गुरुमा हुनु ,उसले निजी तवरले बी.ए. पढ्न थाल्नु !

27. एकपल्ट चन्द्रकान्तकी बहिनीको बिहेमा जाँदा धेमाजीबाट उसकी दिदीले नम्रताको अनुहार कुनै सर्वदा नामकी आमैसँग दुरुस्तै मिल्ने कुरा गर्नु ,नम्रतालाई ती आमै को रहेछन् भन्ने जिज्ञासा हुनु !

28. भोलिपल्ट धेमाची जाँदा ती सर्वदा आमैसँग भेट हुनु र ती आमै साँच्चै नम्रताकी खास आमा भएको रहस्योद्घाटन हुनु ,उनीहरुले मूल्याही सम्झेर शिशु नम्रतालाई लत्याएको आफ्नो पूर्वकथा नम्रतासे जान्न र आमालाई लिएर नम्रता तेजपुर फर्किनु !

29. एकपल्ट नम्रता परशुराम कुण्ट पुगेर फर्किनु !

30. एक दिन बेलुकी तुनै कैलाश भन्ने बदमास छात्रले शिक्षक सहकर्मी प्रकाश मिश्रलाई कुट्दै गरेको नम्रताले देख्नु र त्यस केटालाई कुटी प्रकाशलाई बचाउनु !

31. एक पल्ट नम्रता चन्द्रकान्तसित गड़तोल्नी आमैलाई हेर्न पागल अस्पताल जाँदा त्यहाँ रत्न र निकुञ्जसित उसको भेट हुनु र भाउजुचाहिँ पागल भएको थाहा पाउनु !

32. रत्न दाजुसित आफ्नी साथी उमाको घर जाँदा आफूलाई पाल्ने आमाको बारेमा सुलक पाउनु र पासीघाट जानु ! त्यहाँ आमा र बस्नेतलाई भेटाउनु ,आमालाई टी.बि. रेगले थलिएको र बिस्याहार भएको थाहा पाई तेजपुर लिएर आउनु ! औषधि र पौष्टिक खानेकुरा दिई आमालाई बलियो बनाउनु !

33. एकपल्ट आमाको दोस्रो लोग्ने बस्नेत ,आमैको छोरो सन्दीप ,छायाहरु तेजपुर आई नम्रतालाई भेट्नु ,आमाचाहि बस्नेतसित शिलाङ फर्कनु!

34. नम्रतालाई शैक्षिक तरक्की गरी एम. ए. पनि उतीर्ण हुनु ! एकपल्ट गौहाटीजाँदा पार्वती काकी भेटी कुरा बुझ्दा काका श्रीप्रकाश जेल परेको हुनु र नम्रताले उकील लगाएर बेलमा छुटाउनु !

35. एक दिन अभिभावक लिई निकुञ्ज नम्रतालाई माग्न आउनु र बिहेको निधो हुनु !

36. नम्रताको बड़ो धूमधामले बिहे हुनु र दुलहा निकुञ्जसित हवाईमार्ग भएर डिग्बोइ जानु !

5. आँधी उपन्यासको चरित्र-चित्रण :-

आँधी उपन्यास बस्तुप्रधान हुँदाहुँदै पनि चरित्रप्रधान पनि भएको छ ! उपन्यासको प्रमुख पात्रा नम्रताकै सेरोफेरोमा कथावस्तु अघि बढ़ेको कारणले चरित्रप्रधान बनेको छ ! यसको प्रमुख पात्रा नम्रता नै नम्रता हो भने रत्न दाइ ,पाल्ने आमा ,श्रीप्रकाश ,हरिभक्त ,पार्वती ,निकुञ्ज ,चन्द्रकान्त दाइ ,आमै ,वस्नेत ,सर्वदा ,महेश भट्टाचार्य ,जयनारायण ,उमा आदि सहायक पात्र-पात्रा हुन् ! यसमा सहभागी पात्र-पात्राहरुको अत्यधिक भीड़-भाड़ रहेको छ ! नम्रता जहाँ-जहाँ जान्छ र बस्छ ,त्यहाँ-त्यहाँका मानिसहरुको नाम उल्लेख भएको पाइन्छ ! यसमा सहभागी रहेका गौण पात्र – पात्राहरुमा सुतार्नी ,दाहाल पुरेत,देवाखर,गणपति सम्साल ,गोतामे ,मीरा ,सन्दिप ,छायाँ ,शोभाखर ,गौरीशंकर भट्टराई ,गोमा भट्टराई ,धनञ्जय पौड्याल ,फूलनबाई ,छत्रबहादुर ,तर्कवीर ,शोभा ,विजया ,अरुणा ,परमानन्द ,ईश्वरीप्रसाद ,दड़तोल्नी आमै ,मेदिनी गड़तोला ,उमाकी भाउजु ,वरुण कलिता ,वैजनाथ ,शैलेश दत्ता ,नीमकला ,प्रकाश मिश्र ,मधुमिता बरुवा ,नित्यान्द पौड्याल ,श्याम ,गौहाटीको श्याम ,नाजिर सिंह ,जागिर सिंह ,चक्रवर्ती ,तुलाधर ,तुलाधरको श्रीमती ,अच्युत सेन ,हितेश्वर गोहाई ,कैलाश ,सदानन्द शर्मा ,निकुञ्जका बाबू, गुरुंगका सर आदि हुन् ! यसै गरी उपन्यासमा रहेका अन्य अतिगौण र उल्लेखित पात्र-पात्राहरुमा सन्ते ,राजाराम ,रामभजन मित्तल ,पाँड़ेकी जहान ,सुवोध गंगुली ,कँड़ेल्नी ,दाहाल पुरेतकी जहान ,निर्वेद ,भाउजुका बाबु ,मैना ,नर्स ,कामाख्या मन्दिरका पण्डाहरु ,हितेश्वर गोहाईका छोराछेरी ,चक्रवर्तीको पसलमा चिनी लिन आउने सानो केटा ,एकाउण्टेण्ट शर्मा ,डेजी ,जूली ,अगरवाला ,मोटो यात्री ,बसको नेपाली मान्छे ,मास्टर ,गणपति लम्सालकी सानी छोरी ,जुकाले पेट दुखेको गोतामेको छोरो ,दाहासलपुरेत ,मोमपाटको खँड्काको छोरो ,विष्ट धामी ,सेन कम्पाउण्डर ,कलेजका प्राध्यापक ,बेनर्जी सर ,मीराको कराटेको चोट खाने दुई बदमास युवक , जीवनाथ जोशी ,चिट्ठी दिने केटो ,सन्दीकपको जहान ,सन्दीपको साथी ,तुलाधरकी आमा ,तर्कवीरको छोरा र स्वास्नी ,अरुणा पञ्चायतमा भेलाहुने मान्छेहरु, अरुणाको घरमा देखाउने मैलो मान्छे, नम्रतालाई पिट्न आउने ईश्वरीप्रसादका हदु साथी आदि !

उपन्यासकी प्रमुख पात्रा र नायिका नम्रताकै धुरीको वरिपरि उपन्यासको कथाव्स्तु डोहोरिएको छ ! उसको जीवन नै संघर्ष-संघर्षले भरिएको छ ! उ जन्मनेबित्तिकै धार्मिक अन्धविश्वासको भर परेर उ आफ्ना आमा-बाबुबाट परित्याग बनेकी हो ! उ पढ़ाईमा भने सानैदेखि तिक्षण र रुपमा पनि सुन्दरी छ ! उसको चिन्तन ,संस्कार,विचार आदर्शात्मक रहेकाले उ आदर्श नारीको रुपमा प्रस्तुत छे ! यद्यपि उसमा सामाजिक सुधारको भावना ,निडर ,हक्की ,हठी ,न्यायप्रेमी ,तार्किक र प्रगतिशील नारी हो ! उसमा शिक्षारुपी सचेतता भएकोले सामाजिक,धार्मिक अन्धविश्वास र कुरीतिहरुमा उसले आलोचना र खण्डन गर्छे ! उसले धेरै कुरा बुझेको छ ,देखेको छ ,भोगेको छ ! उ अनुभवले परिपक्क छ ! उसको नैतिक चरित्र पनि आदर्श छ ! आमाले गाँजा र अफीमको कारोबार गरेको ,फाल्तू लोग्नेमान्छेसँग हिँड्डुल गरेको उसले मन पराउँदिन ! उसले आफूलाई नियतिको धेरै आँधी-बेह्रीहरुबाट जोगाएर भए पनि संघर्ष गर्दै उ सामर्थवान र सुशिक्षित बनेको छ ! यतिसम्म कि आत्मरक्षाको निम्ति उनले कराटे सिक्छ र त्यो कराटे ईश्वरीले आफूलाई आक्रमान गर्न आउँदा खूबै उपयोगी सिद्ध हुन्छ ! उसले संघर्षको माझबाट भए पनि अध्ययनक्रम जारी राख्दै एम.ए सम्मको उच्च शिक्षा प्राप्त गरी एक सुशिक्षित र आदर्श शिक्षिका बनेकी छ ! उ दयावान ,कर्तव्यशील पनि छ ! आफू जन्मनेबित्तिकै आफूलाई त्याग्ने आमा र आफूलाई अलपत्र पारी अर्कासित पोइल जाने आमालाई समेत पछि आफैसित राखेर स्याहारी एउटा आदर्श छोरोसमानको कर्तव्य गरेकी छ ! यतिसम्म कि आफूलाई बेचिदिन खोज्ने काका भनाउँदो श्रीप्रकाशलाई समेत उसले जेलबाट बेलमा निकालेकी छ !

नम्रता परिस्थितिअनुसार अघि बढ्ने गतिशील र गोलो पात्र हो भने हरेक पक्षबाट उ सफल र सक्रिय छे ! यसमा अधिकांश मात्रामा उसको प्रत्यक्ष चरित्रचित्रण गरिएको छ भने कतै-कतै परोक्ष पद्धति पनि पाइन्छ ! नम्रताको जीवन नै आँधी झैं भुमरी परेको छ ! डिग्बोइमा एउटा घरमा जन्म लिएकी नम्रताले अर्काको घरमा पालिएर तीनसुकिया पुग्छे ! उ तीनसुकियाबाट गौहटी ,गौहाटीबाट अढ़ाई वर्ष जति शिलाङ,त्याहँबाट एक वर्षजति शिङरी,त्यहाँबाट छ :- सात वर्ष जति तेजपुर र अन्तमा डिब्रुगढ़सम्म जीवनयात्रा गर्छे !

यस उपन्यासमा काल्पनिक आख्यान पात्र – पात्राहरु बाहेक साहित्यिक दार्शनिक लेखकहरुको नामोल्लेख पनि पाउँछौ ! जस्तै , लेखनाथ पौड्याल ,लक्ष्मीप्रसाद देवकोटा ,बालकृष्ण सम ,माधल घिमिरे ,स्वामी दयानन्द ,रसेल ,कलरिज ,गोटे ,बाइरिन ,किट्स ,शेली ,कृष्णमूर्ति ,स्वामी विवेकानन्द आदि ! यसमा प्रमुख रुपमा नम्रता ,निकुञ्ज ,रत्न दाइ ,चन्द्रकान्त ,शिलाङकी आमै ,महेश भट्टाचार्य ,उमा आदि अनुकुल पात्र-पात्रा हुन् भने भाउजु ,काकाकाकी ,सन्दीप ,ईश्वरीप्रसाद र परमानन्द ,प्रकाश मिश्र आदि प्रतिकूल चरित्र हुन् ! मूल्याही ठानिएको नम्रताले जीवनसंघर्षका क्रममा आफूलाई मूल्यवान तुल्याउन सक्षम हुन्छे ! यद्यपि नम्रतालाई सर्वगुणसम्पन्न तुल्याउनु पनि उपन्यासकारको आदर्शोन्मुख यथार्थवादको एउटा प्रक्षेपण हो ! नम्रताको चरित्र यथार्थ हुँदाहुँदै पनि केहि बढ़ी मात्रामा आदर्श नै बनाइएको छ ! यद्यपि नम्राता हाम्रै समाजको उरज हो ,हाम्रा वरिपरि नै नम्रताजस्ता आदर्श नारीहरु यत्रतत्र नपाइने होइनन् !

6. आँधी उपन्यासको परिवेशविधान :-

यस उपन्यासको सबैभन्दा प्रबल पक्ष असमेली नेपाली समाजको सामाजिक परिवेशको चित्राङ्कन हो ! यसमा आन्तरिक र बाह्र दुवै प्रकारका परिवेशको चित्रण पाइन्छ ! आन्तरिक परिवेशमा नम्रताको मानसिक संसारमा परेको दु:ख,सुख ,हर्ष,विषाद,सन्ताप,विरक्तिभाव ,उसलाई छोड़ेर आमा पोइल जाँदा परेको विरक्ति ,पीड़ा र असुरक्षाको भाव ,काका – काकीको कुरा सुनेर उसको मनमा परेको क्षोभ ,संकष्ट ,असहाय भाव ,विषाद,आफ्नी आमा भेटेपछि परेको हर्ष र विस्माद दुवै भाव ,सामाजिक आन्धविश्वास देखेर परेको क्षोभ ,निकुञ्जप्रति उसको प्रेमभाव इत्यादि आन्तरिक परिवेश हुन् !

यद्यपि यसमा पाइने असमका ठाउँ विशेषका स्थलगत परिवेशको चित्रण अझै उत्कृष्ट छ ! यो उपन्यास नै असमेली नेपाली स्थानहरुको सामाजिक,आर्थिक ,शैक्षिक ,सांस्कृतिक ,भौगोलिक परिवेशको सर्वेक्षण हो ! नम्रता असमका विभिन्न ठाउँहरु घुमी-घुमी त्यहाँका हरेक कुराको सर्वेक्षण गर्छे ! यसमा वर्णित र उल्लेखित स्थाननामको लामो सूची तयार हुन्छ ! यसमा उल्लेखित ,वर्णित तथा नम्रताले सर्वेक्षण गरेका ठाउँहरु टोप्लाबस्ती ,डिग्बोइ ,लखीपथार ,मुलियाबारी ,गोरुफाटक ,वापापुङ ,तेलखात ,बालीजान ,लेखापानी ,जागुन ,तीनसुकिया ,डिग्बोइ चाराली ,लामडिङ ,गुवाहाटी ,उल्लुबारी ,नूनमाटी ,गन्धीबस्ती ,फूटमौरी ,खानापाड़ा ,मालिगाउँ ,नेपाली मन्दिर ,पल्टन बजार ,डिसपुर ,नंपू ,शिलाङ ,झालुपाड़ा ,गाड़ीखाना ,पानीतोला ,धानखेती ,नन्थूमाइ ,लाइमोखरा , हेपीभेल्ली ,मोतीनगर ,डिब्रुगढ़ ,माकुम ,सैखुवा ,मोमपाट ,मुक्तुवार ,मछिन्द्र ,बाइहाटा ,चाराली ,मंगलदै ,ढेकियाजुली ,शिङरी ,गोरुडुबा ,नौगाउँ ,बोकाखात ,गोलाघाट ,जोरहाट ,शिवसागर ,जोनाई ,बूढ़ाछपड़ी ,शीतलमारी ,गमीरी-बिहाली ,सोठिया ,विश्वनाथ चाराली ,गोलिया ,तेजपुर ,चाँदमारी ,जामुगुड़ी ,गहपुर ,लखिमपुर ,गोगामुख ,धेमाजी ,चूनपूरा ,धौला ,हात्तीघोली , सिस्ने ,सदिया ,घुम्तीबिल चापाखुवा ,बड़गड़ा ,शान्तिपुर , इस्लामपुर ,तिनाली ,तोरीबारी ,परशुराम कुण्ड , तेजु ,डिगारु ,पाया ,आलुबाड़ी इत्यादि हुन् !

शिलाङ शहरछेउको एउटा नेपाली गाउँमा चलेको अन्धविश्वास प्रथाको उल्लेखबाट सामाजिक परिवेश पाइन्छ ! त्यस्तै गरी सुतार्नी ,दाहाल्नीहरु भाउजुलाई उचालेर आँखा लगाउन मसला थप्नु ,” एस्की आमा प्वैला गइछ ” भनेर टिप्पणी गर्ने आइमाईहरुको उल्लेखबाट पनि सामाजिक परिवेश नै झल्किन्छ ! शिङरीमा बाढ़ी आउदा राहत समानहरु हिनामिना हुनु ,अरुणालाई जबर्जस्ति अर्काको गर्भ रहेको स्वीकार गर्न लगाई साहू-समान्तले अन्याय गरेकोजस्ता कुराहरु पनि सामाजिक परिवेशका रुपमा चित्रित छन् ! कामाख्या मन्दिरको परिवेश,चूनपूरमा लगाइएको भागवत पुराण इत्यादिबाट धार्मिक परिवेश पनि सिर्जित छ ! परशुराम कुण्डतिरको परिवेश ,शिङरीको दृश्यादि ,शिलाङतिरको दृश्यादि ,गौहाटीतिरको दृष्यादि ,ब्रह्मपुत्र नदी र त्यसको बाढ़ीको वर्णनबाट भौगोलिक परिवेश पाइन्छ ! असमको नेपाली गाउँ र समाज कतिपय पक्षमा पछौटेपन मौलिएको छ ! मानिसहरुको कतिपय सामाजिक कारणले आर्थिक अवस्था पनि फस्टिएको छैन ! मानिसले पैसा बाँकी लगेर समयमा फर्काउन नसक्ने ,घरभाड़ा हत्तपत्त तिर्न नसक्ने ,भ्रष्टचार गर्न पछि नपर्ने हाम्रो समाजको आर्थिक परिवेश पनि झल्काइएको छ !

7. आँधी उपन्यासको भाषा र शैली पक्ष :-

यस उपन्यासको एउटा सशक्त र यथार्थबादी पक्ष हो यसमा प्रयुक्त भाषिक प्रयोग ! यस उपन्यासमा मूलत : दुइवटा भाषा-प्रयोग पाइन्छ लेखकीय भाषा र पात्रगत सांवादिक भाषा ! लेखकीय भाषा त मोटामोटी स्तरीय ,मानवीयकृत ,व्याकरणसम्मत नै रहेको पाइन्छ ! वर्णन ,चित्रण ,टिप्पणी प्राय : सबैमा यो लेखकीय मानक भाषा नै बढ़ी मात्रामा पाइन्छ ! यद्यपि यसमा विशेष गरी पात्रले बोलेको संवादमा रहेको भाषिकागत प्रयुक्तिमा वेभिन्यासता पाइन्छ ! विशेष गरी पात्रपात्राको शैक्षिक ,मानसिक र सामाजिक स्तरअनुसारको कथ्य प्रयोग गरिएको हुनाले स्वाभाविक रहेको छ ! पूर्वीय नेपाललगायत असमतिर बोलिने नेपाली भाषाको भाषिका वा कथ्य रुपलाई संवादमा उतारिएको पाइन्छ ! हुन पनि मान्छेले सधैंभरि शुद्ध र मानक भाषा त बोल्दैन ! बोली वा भाषाले जहिले पनि छोटा-छरितो र सजिलो रुप पहिल्याउँछ ! बोलीको हकमा शिलाङको आमैको भाषा नै टिपिकल शिलाङे भाषिका पाइन्छ !

यस उपन्यासमा प्रयुक्त कथ्य र भाषिकागत शब्द ,शब्दावली र वाक्यको लामो सूची नै बनिन्छ ! तीमध्ये केही नमूना यस्ता छन् – क्या करदैछौ कान्छी ? ,आमा कता गयो ,एस्तो : सर्खार,सँद्दै,एस्लाई,हिन्नु,बुझ्नु,हेरु,तिम्लाई,पढ़ीराकै ,एस्की प्वैला ,तेल्लाइ आदि हुन् ! यीमध्ये अधिकांश शब्द त्यसरी नै बोलिन्छ ! दाग्दैछन् ,लागोभागो,मूरिएछन् ,दुर्छा,गडा लाग्नु ,सिरीखुरी जस्ता शब्दचाहिँ असमतिर चलेका केहि मौलिक शब्द हुन् ! गडा लाग्नु भन्नाले असमतिर नदीछेउको डिल भत्किनु बुझिन्छ ! सिरीखुरी शब्दले सम्पूर्ण सम्पत्ति बुझिन्छ ! त्यस्तै गरी मूरिएछन् शब्दले पनि ठेट र झर्रा नेपाली शब्द बुझिन्छ र यस्ता शब्दहरुका प्रयोगले यस उपन्यास विशिष्ट बनेको छ !

8. आँधी उपन्यासको उपसंहार/निष्कर्ष :-

असमका उपज साहित्यकार लोकनाथ चापागाई एक प्रतिभाशाली लेखक र एक कुशल उपन्यासकार हुन् ! उनको एउटै प्रकाशित उपन्यास ” आँधी ” असमेली नेपाली समाजको सामाजिक प्रतिबिम्ब हो ! यसमा जे-जे कुराहरु दृृष्टिगोचर छन् ,ती नै असमेली नेपाली समाजको वास्तविकता हो ! यस उपन्यासलाई मूलत : सामाजिक यथार्थबादी उपन्यास माने तापनि यसमा आलोचनात्मक यथार्थबाद ,मनोवैज्ञानिक यथार्थबादी कतै नारीवादी कतै आञ्चलिक र कतै प्रगतिशील उपन्यासका रुपमा पनि मान्न सकिन्छ !

प्राय : बीस अध्यायमा आवद्ध आयाम भएको प्रस्तुत उपन्यासलाई घटनाप्रधान र चरित्रप्रधान दुवै दृष्टिकोणले मान्न सकिन्छ ! यसको कथाबस्तु हेर्दा कता-कता इन्द्र सुन्दासको “मंगली” उपन्याससँग मिल्न पुग्छ ! मंगली उपन्यासमा नायिका मंगलीले जीवनमा भोगेका ,देखेका कुराहरु र उसलाई आफ्नी आमाले जन्माएर फ्याँकेको र अर्को दम्पत्तिले पालेको मूल कथा छ ! अन्तमा मंगलीले आफ्नो खास आमालाई भेटेको कथाजस्तै यो “आँधी” उपन्यासमा पनि मूल्याही ठानेर नम्रतालाई आफ्ना मुमा-बुबाले लत्याएर अर्को दम्पत्तिलाई दिएको र अन्तमा खास आमा भेटेको कुरो वर्णित छ ! यद्यपि यी दुई उपन्यासको कथावस्तु भिन्न-भिन्नै छन् ! यो उपन्यासमा कथावस्तु धेरै सघन छ ! द्रूतगतिमा बग्ने पहाड़ी खोला झैं यसको कथानक अघि बड़ेको छ ! यसको कथावस्तुको ढाँचा रैखिक प्रकारको छ भने कतैकता पूर्वद्धीप्ति वा अतीतावलोकन विधि पनि अपनाइएको छ ! नम्रताको जीवनमा आइपरेका विभिन्न संकटाव्यस्था ,आपत-विपद ,घटना-दुर्घटनालाई नै आधार गरी “आँधी” शीर्षक दिएको छ जो सार्थक पनि छ ! नम्रताको जीवन नै यस उपन्यासको मूलकथा हो ! उपन्यासको कथावस्तुको बुनोट र बनोट पक्षमा कतै-कतै प्रविधिक त्रुटी रहे तापनि समग्रतामा भने उपन्यास उत्कृष्ठ र सफल नै मान्नुपर्छ ! कथावस्तुको सहज विकास भएको छ ! कुतूहल पक्ष निकै प्रबल छ औ कथावस्तुभित्र स्वाभाविकता ,औचित्य र सहजता छँदैछ ! यसमा सहभागी पात्रपात्राहरुको निकै भीड़भाड़ रहेको छ !
प्रस्तुत “आँधी” उपन्यासमा प्रथमपुरुष परिप्रेक्ष्यको प्रयोग पाइन्छ ! नम्रता नै यसको दृष्टिबिन्दु वा परिप्रेक्ष्य पात्रा हो ! उसको जीवनको लेन्सबाट जीवन र जगतमा जे-जे देखिएका छन् ,सुनिएका छन् र भोगिएका छन् तिनै अनुभलसिक्त कच्चा पदार्थबाट उपन्यास बुनिएको छ ! एउटी शिक्षित,सुसभ्य र आदर्श नारीको रुपमा नम्रता पेश भएकी छ भने उसले समाजका केहि विकार,विकृति र असभ्यपनलाई हटाएर एउटा स्वस्थ ,सुसभ्य र सुशिक्षित समाजको चाहाना गरेकी छ ! यस उपन्यासमा असमको पूर्वीय प्रान्तको नेपाली गाउँ -बजारको लामो सूचि तयार पारिएको छ ! त्यस्तै गरी यसमा ठेट नेपाली बोलीका साथै असम शिलाङतिरको कथ्य वा भाषिकागत शब्द-शब्दावलीका प्रयोगले उपन्यास निकै रोचक बनेको छ !

9. आँधी उपन्यासको द्वन्द्व विधान :-

आँधी उपन्यास समाजिक यथार्थवादी उपन्यास साथै द्वन्द्वप्रधान उपन्यास पनि मान्न सकिन्छ ! यस उपन्यासको नायिका नम्रताले गरेको विभिन्नप्रकारको द्वन्द्व छ ! यस उपन्यासमा नम्रतालाई पुरुषहरुले बलतकार गर्न खोजेको तर नम्रताले आफ्नो अस्तित्व जोगाएर हरेक पुरुषसित गरेको द्वन्द्व ! धार्मिक भ्रष्टाचार र अन्धविश्वास जस्तो कुराहरुमाथि नम्रताले गरेको द्वन्द्व / अरुणाको निम्ति बसेको एकपक्षीय समाजप्रति प्रतिवाद गर्दे गरेको द्वन्द्व यस्ता विभिन्न प्रकारका द्वन्द्व यस उपन्यासमा प्रस्तुत छ !

10. आँधी उपन्यासमा संवेदनशिलता /अस्तित्वबाद :-

आँधी उपन्यास संवेदनाले भरिएको उपन्यास हो ! यस उपन्यासका प्रमुख पात्रा नम्रतले जुगाले ग्रसितकेटो माथि मानवता र संवेदना देखाएको छ भने एक असहाय नारी पात्रा अरुना अरुणाप्रति पनि संवदेना देखाएको छ ! नम्रतालाई रत्नदाइ लगायत विभिन्न व्यक्तिहरुले सहयोग पुर्याएको पनि छ ! यस उपन्यासको नायिकाले प्रारम्भ देखि अन्तसम्म आफ्नो अस्तित्व जोगाएर नारीहुनेबोध पनि राखेको छ ! विभिन्न समस्याहरुमा झेलिन्दे एक शिक्षित नारीको अस्तित्व यस उपन्यासमा जोगाएका छन् !

आँधी उपन्यासका सामाजिक पक्ष :-

1. आँधी उपन्यासको सामाजिकता /सामाजिक परिवेश /सामाजिक पक्ष :-

आँधी उपन्यासका उपन्यासकार लोकनाथ चापागाइले समाजका विषयवस्तुलाई टपक्क टिपेर विषयवस्तुका आधारमा यो उपन्यास रचेका छन् ! समाजका जस्ताका त्यस्तै परिवेशलाई उतार्न उपन्यासकार सक्षम बनेका छन् ! समाजमा घटेका घटनाहरु, नारीवर्गले समाजमा झेल्नुपर्ने पीड़ाहरु, निम्नवर्गमाथि उच्चवर्गले गरेका शारीरिक शोषण, आर्थिक शोषण इत्यादि ! हाम्रो जातिले उन्नति गर्न नसकेको कारण रूढिप्रथा र अन्धविश्वासमा विश्वास राख्ने मानिसहरु यहि कुरा समाजको विकास हुन नसकेको कुरा यहाँ उपन्यासकारले व्यक्त गरेका छन् ! समाजको परिवेश रूढिप्रथामा अल्झेर झुण्डिरहेको छ ! नारीहरुलाई समाजमा यौवन वासनाका निम्ति मात्र स्थान दिएको, नारीहरुप्रति कुविचार, कुदृष्टि यी सबै हाम्रो समाजमा पाउन सक्छौ वा सन्दर्भित लाग्छ ! यसैले यो उपन्यास समाजिक यथार्थवादी उपन्यास हो र लोकनाथ चापागाइ सामाजिक यथार्थवादी उपन्यासकार हुन् !

2. आँधी उपन्यासको घटनाविधान :-

” आँधी उपन्यास घटनामा आश्रित एक घटनाप्रधान उपन्यास हो ! यस उपन्यासमा विभिन्न प्रकारका घटनाहरु घटेका छन् ! यस उपन्यासमा घटका घटनाहरु जस्तै – नम्रता जन्मेको भोलि पल्टै घरमा आँगो लागेर स्वाहा हुनु / नम्रता मूलाई भनेर आमा-बुबाले हरिभक्तलाई सौपिनु / कान्छी आमाले नम्रतालाई एक्लो पारी वस्नेत नामक व्यक्तिसँग विवहा गरेर जानु / हरिभक्तको आकाशमिक मृत्यु हुनु / नाजीस सिंहले नम्रतालाई हातपात गर्नु / श्रीप्रकाश र पार्वतीले नम्रतालाई अगुवाई गर्ने योजना बनाउनु / जुघाले ग्रस्तीत केटोलाई सहयोग गर्दा केटोलाई मार्यो भन्ने लाञ्छना लाग्नु / धनञ्जयले कामको आशा देखाएर नम्रतालाई बेडरुमसम्म पुर्याएर बलतकार गर्न खोज्नु / ब्रह्मपुत्रका नदी बढ़ेर सबै खेती स्वाँहा पार्नु यस्ता विभिन्न प्रकारका घटनाहरुले श्रृंगारिएको यो उपन्यास घटनामा आश्रित छ! यसैले यो उपन्यास घटनामा आश्रित घटनाप्रधान साथै उपन्यासकार घटनाप्रधान उपन्यासकार हुन् !

3. आँधी उपन्यासमा सामाजिक रूढिप्रथा /अन्धविश्वास :-

कुनै सामाज सभ्य बन्छ भने त्यो सामाजमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ! तर यो उपन्यासमा शिक्षित भन्दा अशिक्षित नै पात्रहरु ज्यादा देखा पर्छ यसैले गर्दा यो उपन्यासमा सामाजिक रूढिप्रथा र अन्धविश्वास देखा पर्नु स्वभाविकै हो ! नम्रता जन्मनेबित्तिकै पुरेतले यो केटि मूलाई हो भनेको प्रसंग यो अन्धविश्वासले गर्दा नम्रताले झेल्नु परेको संघर्ष / तीजको वर्णन / रोटी पोल्दा रोटी डाम्रिदा आमैले झाक्री, बोक्सी कसैको आँखा लागेछ भनेर मन्छाउनु / आठ-दश बर्षको केटो जुघाले ग्रस्त भएकोवेला डाक्टर होइन झाक्री -बिजुवाको भरोसामा बस्नु / धर्मको नाममा ठगारहरु रगरगि साथै बलिप्रथा जस्ता विभिन्न रूढिप्रथा र अन्धविश्वास जस्तो कुराहरुले समाजलाई भित्रभित्रै खोक्राएको ! शिक्षाको अभावमा मानिसहरु रूढिप्रथा र अन्धविश्वासमा पिल्छिएको वर्णनबाट यो उपन्यास सामाजिक रूढिप्रथामा आश्रित छ !

4. आँधी उपन्यासमा सामाजिक विकृति :-

विकृति भनेको बिसंगति यसको अर्थ हुन्छ कुनै कुरा नमिलेको यानि लथालिङ्गै भएको ! यस उपन्यासको शीर्षक नै विकृतिको प्रतीक हो ! समाजका विकृतिलाई उपन्यासकारले छर्लंग बनाएका छन् ! उपन्यासमा सामाजिक विकृति देखा पर्दछ जस्तै – धार्मिक विकृतिको कारणले नम्रतालाई आमा-बुबाले त्याग्नु / धार्मिक अन्धविश्वासले तीजको व्रत, बील प्रथा, डाक्टरको भन्दा झाक्रीको विश्वास गर्नु इत्यादि / पति टाड़ा हुँदा नम्रताकी आमाले यौवनको तृषणा मेटाउनु, दोस्रो विवाह गर्नु / नारीप्रतिको यौवन शोषण सामाजिक पुरुषहरुले गरेको जस्तै ड्राइभर बाजे, नाजिर सिंह, धनञ्जय, ईश्वरी आदि पुरुषहरुले बलतकार गर्न खोजेको /सुर्तार्नी साइँलीले भाउज्युको कान फुकेको कारण नम्रताप्रति शंकाको दृष्टिले हेरेको र भाउज्युमा देखा परेको विकृति ! भाउज्युले सोचे मानिसले के सोच्लान्, समाजले के ठावलान्, यो सोचेर भाउज्युको मन र मष्तिष्कमा देखा परेको विकृतिको प्रवृत्ति / पैसाको प्रलोभनमा श्रीप्रकाशले नम्रतालाई अगुवाई गर्ने योजना वनाउनु र श्रीप्रकाश र पार्वतीमा देखा परेको विकृति / नम्रता एक्ली र शारीरिक परिपक्क भएको देख्दा फूलनवाईले वैश्याल्यमा काम गर्ने बताउछन् यो एउटा नारीले नारीमाथि गरेको अत्यचार / परमानन्दको छोरोले अरुणालाई प्रेमको जालोमा पारेर दोजिया बनाई अपनाउन नमानेको खण्डमा परमानन्दले धर्मेलाई पाँच हजारको प्रलोभन देखाएर अरुणालाई अपनाउने र सामाजिक एक पक्षभएको देख्दा सामाजिक विकृति देखिएको छ ! / बाढ़ले ग्रसित निम्नवर्गलाई दिएको रासनहरु शैलेश दत्त जस्ता मानिसजस्ताले भ्रष्टाचार गर्नु ! निम्न वर्गलाई ठगेर शारीरिक शोषण र मानसिक शोषण गर्नु जस्ता सामाजिक विकृति र मानिसहरुको विकृति यस उपन्यासमा व्यक्त भएको छ !

5. आँधी उपन्यासमा आर्थिक विषमता :

आँधी उपन्यासमा आर्थिक विषमताको वर्णन गर्न पर्दा उच्चवर्गले भन्दा निम्नवर्गले भोग्नु परेको कुराहरु व्यक्त गर्न सकिन्छ ! दोकानमा निम्नवर्गलाई आर्थिकरुपले दिएको ! चावलमा मिसावट गरेर निम्नवर्गलाई आर्थिक रुपले शोषण गरेको / निम्नवर्गलाई न्यायको निम्ति कोट कचेरी गर्नका निम्ति आर्थिकरुपले पिरोलनु / अरुणा जस्ती निम्न वक्गकी स्त्रीलाई न्यायको निम्ति प्रशासनको र न्यायल्य न्यायवक्तलाई दिने पैसाको अभावमा अन्यायलाई न्याय ठानी निमुखा बस्नुपरेको वाध्यता देखिएको छ / धनवान व्यक्तिहरुले जहिले पनि निम्नवर्गलाई आर्थिक थिचोमिचो गर्नु ! यस उपन्यासमा स्पष्ट देखिन्छ !

6. आँधी उपन्यासमा नारी संघर्ष :-

नारीवर्गले कहिलै समाजमा उच्च स्थानमा बस्न पाउँदैन कारण नारीहरुप्रति सामाजिक दृष्टि कम, घृणा भएका हुनाले गर्दा नारीहरुले सदैव संघर्षको बाटो हिड़िरहनु पर्छ ! यस उपन्यासका प्रमुख पात्रा वा वायिकाको नारी संघर्ष वर्णन छ ! नम्रताको आमा पोइला गएपछि बुबापनि बित्नुभयो त्यहाँ देखि नम्रताको संघर्ष शुरू हुन्छ ! नम्रताले आफ्नो अस्तित्व र आत्मा रक्षा गर्नको निम्ति ड्राइवर बाजे, नाजीर सिंह, प्रकाश र पार्वती ,ईश्वरी ,फूलनवाई जस्ता मानिसहरुबाट बाँच्न संघर्ष गर्नु ! एक नारीले न्याय पाउनुपर्छ र नारीहरुलेपनि समाजमा सम्मान पाउनु पर्छ भन्ने कुरामा नम्रताले संघर्ष गरेको छ ! नम्रता जस्ती अर्का केटी अरुणाले संघर्षको महत्व नबुझदा मृत्युको मुखमा पुगेको छ ! यस्ता सामाजमा नारीहरुको महत्व र पहिचान गर्नको निम्ति सदैव संघर्ष गर्नु पर्छ ! नम्रताले संघर्ष गरे फल प्राप्ति भयो तर अरूणाले संघर्ष नगर्दा मृत्यु प्राप्त गर्यो !

7. आँधी उपन्यासउपन्यासमा सामाजिक शोषण :-

असभ्य समाजमा शोषणको स्थान त रहेको हुन्छ ! त्यो मानसिक शोषण होस ,व्यवहारिक शोषण वा यौवन शोषण ! यस उपन्यासमा पनि सामाजिक शोषणको वर्णन रहेको छ ! नम्रतालाई पुरुषहरुले गरेको यौवन शोषण, ईश्वरीले अरुणालाई गरेको यौवन शोषण आदि ! नम्रताकी भाउज्युलाई बित्था – बित्थाको कुरा सुनाएर मानसिक शोषण गरेको / पसलेले निम्नवर्गलाई ठगेर आर्थिक शोषण गरेको / धर्मेलाई ईश्वरीका बाबुले पैसाको प्रलोभन देखाएर गरेको शोषण इत्यादि ! समाजमा निम्नवर्गले शोषणमाथि आवाज उठाउनु नसक्नु यो सामाजिक शोषण हो !

8. आँधी उपन्यासमा मानवताबादी दृष्टिकोण :-

मानवता भनेको मानिसहरुमा हुने सदभावनाको गुण ! मानिसले मानिसमाझ सेवा पुर्याउने सेवा, सहयोगको भावना ! आँधी उपन्यास मानवताबादी उपन्यास हो ! यस उपन्यासको नायिका नम्रतालाई सहयोग पुर्याएको वर्णन छ ! बिशेषगरी उपन्यासको नायिका नम्रताले निम्नवर्गलाई ठगेर रासन लुकाउने व्यक्तिप्रति आवाज उठाउनु यो निम्न वर्गप्रति मानवता दर्शाएको हो / एउटा जुघाले ग्रस्तीत केटोलाई माया र दयाको भावना देखाएर दवाई खुवाएर निको बनाउनु नम्रताको मानवताबाद हो / जयनारायणले नम्रताप्रति मानवता देखाएर उनको घरमा आश्रय दिएको छ / नम्रताले अरुणाको विरुद्धमा एकपक्षीय समाजप्रति प्रतिवाद गरेर एक नारीले नारीमाथि देखाएको मानवता / चन्द्रकान्तले नम्रताप्रति देखाएको वर्णन, नम्रतालाई एउटा स्कूलमा काम दिलाउनु / नीमकलालाई विहान-विहान सित्थैमा ट्युशन पढ़ाउनु, हातखर्च दिनु एकप्रकारको मानवता देखाउनु हो / यस उपन्यासमा नम्रताले आमै साथै थुप्रैबाट मानवता पाएको छ साथै नम्रताले थुप्रैलाई मानवता देखाएका छन् ! यस उपन्यासमा मानवताबाद झल्कन्छ यसैले यो उपन्यास मानवताबादी उपन्यास हो र उपन्यासकार लोकनाथ चापागाइ मानवतावादी उपन्यासकार हुन् !

9. आँधी उपन्यासमा मनोवैज्ञानिक पक्ष :-

आँधी उपन्यास मनोवैज्ञानिक र मनोविश्लेषणात्मक उपन्यास हो ! मनको या ह्रदयको तीन पाटा हुन्छन् चेतन-अर्धचेतन-अचेतन ! फ्रायडको सिद्धान्त अनुसार चेतन मन भौतिक जगतमा रम्छ र अर्धचेतन र अचेतन मन भौतिकदेखि टाड़ा रहन्छ यो भौतिक रुपमा हुनसकेको कुरा कल्पना र सपनाको माध्यमबाट व्यक्त हुने गर्छ ! जस्तै यस उपन्यासमा नम्रताले सपना देख्नु / रत्नको स्वास्नीले मन भित्रभित्रै नम्रताप्रति शंका गर्नु / नम्रताको बुबा र कान्छी आमाकी उमेरमा अन्तरले गर्दा यौवन तृष्णा मेटिन नसक्दा वस्नेतसँग विवहागरी यौवन तृष्णा मेटाउनु / वस्नेतसित आमा विहान निस्केको वेलुकी रात्रीसम्म घर नआइपुग्दा नम्रताको मनमा उब्जेको शंकाहरु / नम्रताले उनलाई अगुवाई गर्न आउने तीन व्यक्तिलाई एक-एकगरी गिड़छु भन्ने मनमा उब्जेको विचारजस्ता मनोवैज्ञानिक पक्षहरु यस उपन्यासमा प्रस्तुत छ !

10. आँधी उपन्यासमा अतियथार्थवाद :-

अतियथार्थवाद यथार्थवादको विपरीत हो ! शब्दार्थ केहि नहुनुको बोध ! भौतिक र वास्तविक भन्दा टाड़ाको कुरा जस्तै बिचार, कल्पना, सपना आदि ! यस उपन्यासलाई अतियथार्थवादको नाम किन भन्छौ भन्दा नम्रताले देखेको सपनाको माध्यमबाट ! नम्रताले अर्धचेतन र अचेतनको माध्यमबाट सपना देखेका छन् जस्तै – निकञ्ज व्याउलो भएर आउनु ,घोड़ाबाट ओर्लेर सरासर नम्रताको छेउमा आएर उभिनु ,नम्रताले निकुञ्जको गलामा बरमाला लगाईदिनु ,माला टुक्राटुक्रा भएर भुइमा खस्नु जस्ता सपना नम्रताले देखेका छन् ! यही सपनाको आधारमा यस उपन्यासलाई अतियथार्थवादी उपन्यास मान्न सकिन्छ !

11. आँधी उपन्यासमा व्यांग्यबिधान :-

आँधी उपन्यासमा उपन्यासकार लोकनाथ चापागाइले थुप्रै बिषयमा व्यांग्य हानेका छन् ! सामाजका अन्धविश्वासमा डुबेका मानिसहरुलाई ,सामाजिक रूढिप्रथालाई व्यांग्य हानेका छन् ! जबसम्म समाजमा अन्धविश्वास रहिरहन्छ तबसम्म सामाजिक विकृति रहिरहन्छ /धर्मप्रचारकप्रति व्यांग्य हानेका छन् ! धर्मका नाममा बलीप्रथा, पूजाको नाममा ठग र शोषणप्रति व्यांग्य हानेका छन् / समाजमा नारीहरुप्रति पुरुषको जुनप्रकारको दृष्टि छ त्यसप्रति व्यांग्य छ / सामान्य वर्ग वा धनीवर्गले निम्नवर्गप्रति आर्थिक ,शारीरिक शोषणप्रति व्यांग्य छ / स्कूलमा श्यामको अनुपस्थितिमा साथीले प्रोक्स गरेको देख्दा भविष्यको कर्णधारहरुको यस्तो व्यवस्थाप्रति व्यांग्य छ / समाजले निम्न निमुखावर्गप्रति गरेको अन्याय जस्तै अरूणाको मृत्युको कारण समाजको सठीक निर्णय दिननसकेको प्रति व्यांग्य / पाश्चत्य संस्कृति अपनाई आफ्नो संस्कृति बीर्सने युवायुवतीप्रति व्यांग्य / प्रशासनिक र कोटकचेरीको कर्मचारीहरुले निम्न वर्गलाई गरेको शोषणप्रति व्यांग्य / शिक्षाको अभावमा हाम्रो जातिले पाएको दु:ख र वेदना ,हाम्रो जातिको उन्नति नभएको प्रति व्यांग्य / आमा-बुबाले छोरा-छोरीलाई पढ़नेबेलामा गाईगोरुको गोठालो गर्न पठाएका त्यस्ता मानिसप्रति व्यांग्य / यस्ता शिक्षाको अभावमा हाम्रो सामाजिक विकृतिप्रति उपन्यासकारले हानेको व्यांग्य !

12. आँधी उपन्यासमा चिन्तनशीलता पक्ष :-

आँधी उपन्यासमा चिन्ताको अभिव्यक्ति छ ! उपन्यासकारले यस उपन्यासमा चिन्तनशील बनेको अवस्था व्यक्त छ ! यहाँ चिन्ताको विषयहरु सामाजिक रूढिप्रथा र अन्धविश्वासमा सामाजिक परिव डुब्दै गएको / सामाजिक दृष्टि नारीहरुप्रति सदैव कुदृष्टिमा रहिरहेको / शिक्षाको अभावमा समाज असभ्यताको पेण्डुलममा हल्लीरहेको / हाम्रो जातिले कहिलै बिकासगर्न नसकेको देख्दा यो विषयहरु चिन्ताको विषय बन्न पुगेको छ / धनीवर्गले निम्नवर्गलाई गरेको शोषण इत्यादि / कलेज पढ़नगएका विद्यार्थीहरुले समयको दुरुपयोग गरिरहेको देख्दा चिन्ताको विषय हो / कसैले कसैलाई प्रेम गरेर दुइजीउको बनाएपछि त्यो स्त्रीलाई अपनाउनु अस्वीकार गरेपछि त्यो स्त्रीको कसले जिम्मा लिने यो पनि चिन्ताको बिषय हो / हाम्रो जाति जाड़रक्सीमा मग्न छन् ,जाड़रक्सीको लतमा शिक्षाको ज्योति देख्न नस्कनु चिन्ताको विषय बनेको छ!

नम्रताको जीवनमा आएका/देखिएका आँखाहरुआँधीहरु :-

1. सर्वप्रथम कान्छी आमा बमबहादुर वस्नेतसित पोइला/विवहा गरेको कारणले नम्रताको जीवनमा आएका आँधी !
2. बुबाले सँगै लिएर नजानु र रत्नदाइको घरमा बस्नुपर्ने नौलो अनुभवगर्नु र त्यहाँ भाउज्युको क्रियाकलाप देख्नु !
3. आमा त भागिन – भागिन बुवाको मृत्यु हुनु !
4. नाजीर सिंहले नम्रतालाई हातपात गरेको, शारीरिक शोषण गरेको यस्तो परिस्थितिमा नम्रताको जीवनमा देखा परेका आँधी सरह जीवन भोग्नु परेको !
5. नम्रताको आएका घटना श्रीप्रकाश र पार्वतीले नम्रतालाई अगुवाई गर्न ड्रावर परशुलाई निम्ताएको कुरा नम्रताले सुन्छन् ! यो कुराले नम्राताको मनमा विकृति र बिसंगति अनि आँधी आएको वर्णन छ !
6. नम्रताको जीवनमा आएका आँधी आफू शिक्षित भएता पनि केटोलाई जुगाले ग्रस्तीतबाट बचाउँदा पनि मारेको आरोप लाग्नु र आफू त्यहाँबाट भाग्नु !
7. धनञ्जयले काम दिने आशा देखाएर बलतकार गर्न खोज्नु !
8. जब आमैको मृत्यु भयो तब नम्रताको जीवनमा आँधी चल्यो र एकै सहारा पनि नरहनु.!
9. नम्रता एक्ली रातको समय चन्द्रकान्तको घरबाट जयनारायणको घरफर्कन्दा ईश्वरी र उनका साथीहरुले नम्रतालाई बलतकार र ज्यानलिन खोज्नु !
10. ब्रह्मपुत्रको छेउछाऊ बाढ़ी आएर मानिसहरुको प्रायसबै नष्ट पारिदिकोमा उनिहरुको निम्ति आएका राहत खाद्यान्न छिनाबिना पारिदिएकोमा नम्रताले विरोध जनाउदा घरविहिन हुनुपरेको आवस्था !
11. नम्रता जन्मनेबित्तिकै घरमा आँगो लागेर स्वाहा हुनु र उसलाई आमा-बुबाले त्याग्नु तहिबाट नम्रताको जीवनमा आँधी चल्न थालेको हो !

उपन्यासकार लोकनाथ चापागाइको परिचय / औपन्यासिक प्रवृत्ति :-

भारतेली नेपाली साहित्यको क्षेत्रमा लोकनाथ चापागाइ एक श्रद्धेय र विशिष्ट नाम हो ! उनको जन्म 18 नोभेम्बर 1939 मा असमको डिग्बोइमा भएको हो ! आफ्नो जीवनको दीर्घकाल भारतीय सेनामा कार्यरत् रही हाल सिलगढ़ी स्थायी रूपमा बसोबासो गर्छन् ! उनी स्वतन्त्र रुपमा लेखनमा सक्रिय छन् र विभिन्न पत्र-पत्रिकामा आफ्नो कृति प्रकाशित गरिरहेकाछन् ! पुस्तक प्रकाशनको हकमा उनको जम्मा सातवटा पुस्तक प्रकाशित छन् ! तीमध्ये केहि प्रमुख पुस्तकहरु – साइत (कथासंग्रह) ,विवर्तन (खण्डकाव्य) ,आँधी (उपन्यास) ,अन्तराल (कविता संग्रह) ,लोक निबन्ध संग्रह इत्यादि !

चापागाई एक कथाकार, उपन्यासकार, कवि र निबन्धकार हुन् ! उनी मूलत : सामाजिक यथार्थवादी साहित्यकार हुन् ! आफू भारतीय सेनामा रही विभिन्न ठाउँमा स्थानान्तरित भई जादा अनेकौ दृश्य-दृश्यावली, घटनाघटनावली आफ्ना आँखाले देखी, सुनी र भोगी तिनलाई आफ्ना लेखनका सामग्रीको रूपमा प्रस्तुत गरेका छन् ! उनले विशेष गरी भारतको असमपूर्वाञ्चलका विभिन्न प्रान्तका नेपालीहरुको स्थिति र जनजीवनलाई नजिकैबाट अवलोकन गरेका छन् ! अत : उनका रचनाहरुमा तिनै सुख-दु:ख,संकट,हाँसो-रोदन इत्यादि सबै पक्षलाई स्थान दिई तिनलाई कलात्मक प्रस्तुति दिएका छन् !

लोकनाथ चापागाई नारीबादी / नारीचिन्तनशील उपन्यासकार हुन् ! यीनले नारीहरुप्रति स्नेह र संवेदना देखाउने गर्दछन् ! यिनका उपन्यासहरुमा साथै कृतिहरुमा नारीहरुले स्थान पाएका हुन्छन् ! नारीशक्ति नै समाज र देशको उन्नतिको मूल खाम्बो हो भन्ने कुरा यिनले बुझेका छन् यसैले यिनले समाजमा पुरुषहरुको जुनऔदा छ नारीहरुले पनि त्यहि औदा पाउनुपर्छ भन्नेकुरामा यिनले आवाज उठाएका छन् ! सामाजमा नारीहरुप्रति जुन प्रकारको भावना छ त्यस्तो भावना त्याग्नु पर्छ र नारीहरुको सम्मान र सुरक्षामाथि यिनले विशेष दृष्टिले हेरेका छन् ! नारीहरु यौवन वासनाको निम्ति मात्र होइन तर नारीहरु आफ्नो हरकदममा साथहुने र नारीहरुले पनि शिक्षाको लाभ उठाउने अवसर पाउनुपर्छ भन्ने धारणाक उपन्यासकार लोकनाथ चापागाईको छ ! यिनको यस प्रवृत्तिमा पर्ने उपन्यास आँधी हो !

लोकनाथ चापागाई आलोचनात्मक यथार्थवादी उपन्यासकार हुन् ! यिनले सामाजका विभिन्न प्रकारका असुविधा, रूढिप्रथा, अन्धविश्वास, दमनशोषण माथि आफ्नो कलमको माध्यमद्वारा व्यक्त वाणीको प्रहार गरेका छन् ! सामाजिक सानसानो कुराहरुलाई आलोचनात्मक शैलीमा यिनले पानी बनाएका छन् ! सामाजको कुरीति कुप्रथाहरु सुन्दर ढंगमा व्यक्त गर्ने यिनी एकसफल आलोचनात्मक यथार्थवादी उपन्यासकार हुन् ! यिनले मनोविज्ञान पक्षलाईपनि उतिकै सुन्दर ढंगमा आफ्नो उपन्यासमा सजाएका छन् ! मानिसले मानसिक चाप र मनका विभिन्न प्रकारका क्रियाकलापबाट मानिस पिड़ीत बनेका कुराहरु यिनका उपन्यासमा पाइने एक बिशेषता हो ! आँधी उपन्यसका नायिका नम्रताको मनमा पनि विभिन्न प्रकारका भावनाहरु उब्जेर उनले गरेका क्रियाकलापहरु हामी उपन्यासको मार्फत बुझ्न सक्छौ ! यसर्थ लोकनाथ चापागाई एक मनोविज्ञान उपन्यासकार हुन् !

लोकनाथ चापागाई आञ्चलिक / जातिप्रेमी / आदर्शोन्मुख उपन्यासकार हुन् ! यिनले आफ्नो उपन्यासहरु शहरीया परिवेशमा होइन आफ्नै भेक/अंचलमा देखेका त्यहाँसा वासिन्दाहरुले भोगेका कुराहरुलाई टिपेर बिषयबस्तु बनाई उपन्यास लेखेका छन् त्यो हो “अाँधी” ! उपन्यासकारले आफ्नो जातिलाई असद्धै माया गर्छन् ! जाड़रक्सीमा हाम्रो जातिले आफ्नो अस्तित्व गुमाएकोमा उपन्यासकार दु:खीपनि देखिन्छ ! ” संस्कृति बाचे जाति बाच्छ, जाति बाचे इतिहास वनिन्छ ” यस कुरामा उपन्यासकार लोकनाथले विश्वास राख्छ ! हाम्रो जाति किन पछाड़िएको छ भने शिक्षाको अभावले गर्दा हो र हाम्रो जातिपनि शिक्षित बन्नु पर्छ तब मात्र कुनै संकट आइपरिहाल्यो भनेपनि सामना गर्न सक्छौ भन्ने कुरा नम्रतालाई हामी उद्धारण पाउन सक्छौ र नम्रता हाम्रो वा विशेषगरेर नारीबर्गको नेतित्व गर्ने व्यक्ति हुन् ! आदर्शनै जीवनको वास्तविक हो र आदर्शलाई सुन्दरढंगमा नम्रताले आँधी उपन्यासमा प्रस्तुत गरेका छन् ! उपन्यासकार लोकनाथ चापागाई एक आदर्शोन्मुख यथार्थवादी उपन्यासकार हुन् !

यिवाहेक उपन्यासकार लोकनाथ चापागाई व्यांग्यवादी उपन्यासकार / बिद्रोही/क्रान्तिकारी उपन्यासकार / घटनाप्रधान उपन्यासकार / बिसंगतिबादी उपन्यासकार / संघर्षचेत उपन्यासकार / प्रगतिवादी उपन्यासकार!/ मानवताबादी उपन्यासकार र अतियथार्थवादी उपन्यासकार पनि हुन् !

के तपाईंलाई यस् लेखको लेखकका बारेमा थाहा छ ? कृपया kritisangraha@gmail.com मा सूचित गरिदिनुहुन बिनम्र अनुरोध छ ।
– साहित्य सङ्ग्रहालय

(स्रोत : फेसबुकबाट सभार)

This entry was posted in समालोचना and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.