~युवराज नयाँघरे~
निकै बसेँ म सारनाथमा !
वाराणसी पुगेपछि प्रायःजसोको बसाइ गङ्गा वरपर भए पनि म सारनाथमा बसेको थिएँ । तिब्बती मन्दिर नजिक बसेको हुनाले यहाँबाट वरपर जतै पनि पुगिन्थ्यो ।
पर्बल र सानो लामा थिए मेरा साथी । ती कहिले यता, कहिले उता गरेर मलाई डुलाइरहन्थे । सारनाथको उत्तरतिर बर्मेली गुम्बा थियो । धेरै तिब्बती शरणार्थीहरुले त्यहाँ बसेर पढेका थिए । त्यो धम्मचक्र विहारलाई बर्मिज टेम्पल भन्दा रहेछन् ।
ठिन्लेलाई सोधेँ- ‘कहाँबाट हो ?’
‘डोल्पाबाट !’
‘डोल्पाको कुन गाउँ ?’
‘पारिबाट !’
‘भनेको, तिब्बततिरबाट हो कि ?’
‘हो ।’
जाङ्छुपलाई सोधेँ- ‘तिमी कताबाट नि ?’
‘रसुवाबाट !’
‘रसुवाको कुन गाउँ ?’
‘उताबाट !’
‘भनेको, तिब्बतबाट हो ?’
‘हो !’
नाम्दोललाई पनि सोधेँ- ‘कहाँबाट आएको ?’
‘मुस्ताङबाट !’
‘मुस्ताङको कुन गाउँ नि ?’
‘उताबाट !’
‘भनेको, तिब्बतबाटै हो कि ?’
‘हो !’
डोल्पा, रसुवा, मुस्ताङको परिचयपत्र बोकेर तिब्बती लामाहरु वाराणसीमा पढिरहेका भेटिए । यो नेपालको परिचय फैलेको कि खुम्चेको ? मनमा धेरै खालका प्रश्नले पटक-पटक घोचिरहे ।
सारनाथमा भन्तेहरु खुबै देखिन्थे । बाटबाटामा हस्याङफस्याङ गर्नेहरुदेखि रुखमुनि माला जपिरहेका पनि उत्तिकै भेट्थेँ म ।
***
म दुई लामासँग सारनाथ पूर्वको म्युजियममा नि गएँ । पाषाण, प्रस्तर, स्वर्ण, काष्ठ अनेकौं बौद्ध मूर्तिहरु थिए त्यहाँ । हरेक मूर्तिले अशोका, मौर्य, गुप्ता, कुषाण लगायतका शासन अवधिको चरित्र र ललितकलाको छनक दिन्थे ।
सारनाथको एउटा केन्द्र विन्दु रहेछ- मूल गन्धकुटी ।
बुद्धले भव्य विहार बनाउन लगाएका रहेछन् यहाँ । मुगल शासन कालमा यो भग्नावशेष हुन पुगेछ । कालान्तरमा त्यो मठ घाँसपातले छोपिएछ । घनाजंगल भएछ । निकैपछि वाराणसीकै एक मन्त्रीले त्यहाँको ढुङ्गाले आˆनो भवन निर्माण गरेछन् ।
खास गरी बेलायतीहरुले भारतमा शासन गर्न थालेपछि सारनाथको यो दिव्य भूमिको अनुसन्धान र संरक्षणतिर लागेका रहेछन् । अनेकौं भग्नावशेष सहितका दरबार र विहारले मूल गन्धकुटी महिमान्वित रहेछ ।
मास्तिरपट्टी ऋषिपतन थियो । त्यहाँ मृगका ताँती देखिन्थे । म प्रायः साँझपख त्यता गइरहन्थेँ । फूलैफूलको झकिझकाउले मूल गन्धकुटी आनन्दभूमि लाग्थ्यो ।
त्यसको ठीक पूर्वतिर थियो- धम्मेक स्तूपा । प्राचीन गुम्बा भत्केर त्यसलाई पछि त्यही प्राचीन स्वरुपमै संरक्षण गरिएको थियो । ठूलो चौरमा भन्ते, लामा र बौद्ध गुरुहरु प्रार्थना गरिरहेका देखिन्थे ।
त्यसलाई पनि फूलैफूलले छोपिएको थियो । बत्ती, धूप बाल्ने, खादा चढाउनेहरुको लस्कर जति बेलै देखिन्थ्यो । आँखाले नभ्याउन्जेल चौर र चौरमा बसिरहेका बौद्धमार्गीहरुको ताँती अनन्त हुन्थ्यो ।
मूल गन्धकुटीभन्दा केही दक्षिण-पूर्वतिर श्रीलंकाली बौद्ध भिक्षु धर्मपालले यो नयाँ मूल गन्धकुटीको निर्माण गराएका रहेछन् । अत्यन्तै कलात्मक, आकर्षक र नौलो शैलीको बिहारमा गौतम बुद्धको अस्तु धातु राखिएको रहेछ ।
एक बिहान लामाहरुका साथ गएँ म पनि । बिहानको चार बजेदेखि चिसो ढुङ्गामा बसेर बौद्ध प्रार्थनामा जुटेँ । भारत, नेपाल, तिब्बत, बर्मा, श्रीलंकाका बौद्धमार्गीहरुलाई त्यो अस्तु धातु दर्शन गराइने खबर सुनेको थिएँ । अनि त्यो अमूल्य अवसर छोप्न पुगेको थिएँ मै पनि ।
ढुङ्गाको चिसोमा बसेर घन्टौँ प्रार्थना गर्दा-गर्दा मेरो खुट्टा, घुँडा पटक-पटक लाटियो । भाषा नबुझे पनि मैले प्रार्थनामा आफूलाई डुबाएँ । अरुसँगै आफूलाई भक्ति मार्गमा हिँडाएँ ।
अनेक पुजा विधिपछि अस्तु धातु दर्शन गराउने तयारी भयो । सयौं मान्छेहरु लामबद्ध भएर दर्शनका लागि पाइला सार्न थाले ।
आफू त उभिनै सक्तिनँ !
चिमोट्छु, औंलाले थिच्छु, कन्याउँछु, सुम्सुम्याउँछु । केही गरे पनि हुँदैन । खुट्टा टेकिन्न भूइँमा । झनन्न गरेर पैताला जमिनमा अडिनै मान्दैन । रुँ कि हाँसुँ भएँ म त ।
‘लौ, नयाँघरे तैंले यो अवसर गुमाइस् !’
मनमा कुरा पाक्न थाले ।
मभन्दा निकै परका बौद्धमार्गी अस्तु धातु दर्शन गर्न पुगिसके । आफू चैँ यताउता चलेको चलेकै छु । निकैपछि एउटी आनीले नजिकै आएर सोधिन- ‘उठ्न नसकेको ?’
लाज, दुःख, हैरानले थल्लिएको थिएँ म । ग्लानि, खिन्नता र दिक्कले पिल्लिएको थिएँ म ।
‘हजुर, खुट्टा निदायो !’
‘ठीक छ, म उपचार गरिदिन्छु !’
आनीले मेरो मोजा स्वात्त तानेर आफ्ना औंलाले बेस्सरी थिचिन् । प्याट्ट-प्याट्ट हिर्काइन् पनि ।
बिस्तारै म तङ्गि्रएँ । अनि उनले डोर्याएर धातु दर्शन गराउन लगिन् । मैले मुस्कान छोडी-छोडी उनलाई कृतज्ञता पोखेँ ।
एउटा झल्झलाकार, सुनौलो र भव्य बुद्ध मूर्ति थियो । त्यसलाई खादा, फूल, मालाले अझै सुशोभित पारिएको थियो । दाहिने मोडिएर म उत्तरी कुनामा पुग्दा एउटा सानो शिशामा मलाई निहुरेर हेर्न लगाइयो ।
अत्यन्तै शक्तिशाली शिशाले घेरिएको त्यो अस्तु धातु सेतो ओखतीको गोली जस्तो थियो । मैले मनैदेखि श्रद्धा चढाएर तल आइपुगेँ । मलाई अघि उठाउने, डोर्याउने आनी भीडमा कता पुगिन् कता ।
गौतम बुद्धको अस्तु धातु हेर्ने अनमोल अवसर पाएकोमा तिनलाई औधी कृतज्ञता व्यक्त गरेँ मैले ।
जाडो थियो । दिनभरि बादल डम्म लागिरहन्थ्यो । म भेटघाट र घुमघाम गरिरहेकै छु ।
***
पर्बल, लामा र म भएर थाई मन्दिर गयौं ।
रिक्सावालालाई सोधेँ ।
‘कति कमाउँछौ ?’
‘हेर्नुस् वाराणसीमा मन्दिर, गुम्बा, विश्वविद्यालय र स्कूल घरैपिच्छे बढिरहेकै छन् । तर त्यसको अनुपातमा मेरो कमाइ झन्-झन् घटेको छ ।’
‘किन नि केशरीलाल ?’
‘सबै टेम्पु, कार चढ्छन् । रिक्सा चढ्ने घटिरहेका छन् दिनदिनै ।’
उसले हामीलाई मन्दिर घुमायो ।
मानिसहरुले बनारसी साडी, आँप, मिठाई, पानको खुबै चर्चा गरेथे । तर चौमानीको हरेक ठेलामा पकाइने र माटाको भाँडोमा खुवाइने चिया अद्भूत लाग्यो मलाई । म त फुर्सद मिल्यो कि लामाहरुका साथ चिया खान पुगिहाल्थेँ । पत्थर कोइलाका भुङ्ग्रोमा पकाइने औधी मीठो लाग्यो मलाई ।
सारनाथभन्दा केही पश्चिममा रहेको चौखण्डी स्तूपा अर्को ऐतिहासिक र अद्भूत लाग्यो । बौद्ध विहारमाथि मुस्लिम राजा हुमायुले बनाएको अर्को मस्जिद कला विशिष्ट खालको थियो । त्यसलाई मैले पश्चिमतिरको अर्को सुन्दर बगैंचाबाट अनेक कोणबाट हेरी-हेरी प्रफुल्लित भएँ ।
***
लामाहरुले भने- ‘आज सारनाथ रेल्वे स्टेशन जाऊँ ।’
‘हुन्छ, जाऊ न त !’
अनि हामी पैदलै रेल स्टेशन पुगेथ्यौँ । निकै सुधार भएको लाग्यो मलाई रेलको जंक्सन ।
‘अब सारङ्गनाथमा जानु पर्छ ।’
त्यसपछि हामी पश्चिमै-पश्चिम गयौं । सानो गल्ली र चेप भएर कता-कता । यस्तै पन्ध्र-बीस मिनेट हुँइकिएपछि एउटा ठूलो शिव मन्दिर अघिल्तिर पुगियो ।
अगाडि ठूलो पोखरी थियो । पोखरीको पश्चिमतिर अलिक अग्लो ठाउँमा थियो सारङ्गनाथको मन्दिर । भगवान शिवलाई सारङ्गनाथ पनि भनिँदो रहेछ । सारङ्गनाथ शब्द नै अपभ्रंश भएर सारनाथ भएको रहेछ ।
***
शनिबारको दिन अलिक फुर्सद भयो ।
लामाहरुले मलाई सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय लगे । यो विश्वविद्यालय निकै विशाल लाग्यो ।
धेरै नेपालीले पढे हिजो । आज पनि निकै पढिरहेका छन् यहाँ ।
विश्वविद्यालय प्राङ्गण औधी नै भव्य लाग्यो । विश्वविद्यालयको मूल भवन अत्यन्तै कलात्मक, लोभलाग्दो कालीगढी र आकर्षक रुपको थियो । चुच्चा ग्रीक शैलीले निर्मित यो भवनका भित्ता, कुना र झ्यालका तलमाथिका बुर्जामा कुँदिएका संस्कृतका श्लोकले भवन साह्रै मनमोहक देखिन्थ्यो ।
बेलाइतीहरुले निर्माण गरेको यो भवन हेर्दा उनीहरुको शासन शैली उदारतापूर्ण लाग्थ्यो ।
भवन उत्तर कवि रविन्द्रनाथ ठाकुर र महात्मा गान्धीका आधुनिक मूर्तिहरु ठडिएका थिए । कलाकारितामा निखारता भएका ती मूर्तिले आधुनिकता र प्राचीनताको समान आकार र दर्शनको चित्रण गरेका थिए ।
त्यसै दिन दिउँसोतिर म पुगेको थिएँ काशी हिन्दु विश्वविद्यालय । अघिल्लै दिन नेपाली विभागका प्रमुख डाक्टर दिवाकर प्रधानलाई फोन गरेको थिएँ । उनले आफू जाडो छल्न दार्जीलिङ पुगेको छु ‘तर सेवामा केटा कुदाउँछु नि’ भनेथे । मैले मन गरिनँ ।
त्यसै परिसरमा रहेको विड्ला विश्वनाथ मन्दिर हेरेर मन गरुँगो बनाएको थिएँ ।
***
‘यो हो केन्द्रीय उच्च तिब्बती संस्थान ।’
लामाले सारनाथको दक्षिणी गल्ली घुमाएर लगेपछि देखाए ।
‘भित्र पसौं न ।’
अनि हामी सरासर भित्र गयौँ ।
तिब्बती बौद्ध अनुयायीले पढ्ने गरेको संस्था विश्वविद्यालय सरह रहेछ । यहाँ पनि धेरै नै तिब्बती मूलका लामाहरु पढ्ने गर्दा रहेछन् । नेपालकै पनि निकै लामा, आनीहरु भेटिए ।
हिन्दीमा बोले पनि तिनको उच्चारण नेपाली पाराकै सुन्थेँ म । कानमा हाम्रै पहाड, हिमाल र चुरेतिर बोलिने भाषाको सुवास र शैली भेटिन्थ्यो ।
चीनले तिब्बतलाई अधिनस्त तुल्याएपछि शरण लिन भारत पुगेका दलाई लामासँग भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुको दह्रै छलफल भएछ । ‘तिब्बतका सम्पूर्ण बौद्ध धर्म ग्रन्थ हिन्दीमा लेखिदिनुस् । गुम्बा र मठ पनि तिब्बती शैलीमा यहाँ निर्माण गर्नुस् । यसको बदला सबै तिब्बतीलाई भारतले शरण दिनेछ ।’
नेहरुले भगौडा दलाईलाई यति भनेर सन्धि गरेछन् ।
अनि तिब्बतका ठूला-ठूला आचार्य, लामा, रिन्पोछे र विद्वान्हरुले हिन्दी र अङ्ग्रेजीमा तिब्बती ग्रन्थलाई अनुवाद गरेछन् । तिनको प्रचार-प्रसार र संवर्द्धनमा अहोरात्र होमेछन् आफूलाई ।
तिब्बतमा पनि भारतबाटै बौद्ध धर्म विकास-विस्तार भएको गहकिलो सन्देश फैलिएछ । अझ चीन, ताइवान, जापान, मङ्गोलिया लगायतका देशमा भारतको यही चालबाजीले गतिलै काम गरेछ ।
तिब्बती संस्थान अति नै भव्य थियो । रुखबिरुवा, भवन, कक्षाकोठा, छात्राबास सबै कुराले अद्भूत लाग्थ्यो ।
अझ बढी मेरा आँखा त्यतिखेर ट्वाल्ल परे- जब पसेथ्यौं हामी पुस्तकालयमा !
त्यस भित्रको कालीगढी र रंगरोगन अचम्मै लाग्ने पाराको थियो । त्यहाँको कलाकारिताले म लट्ठै परेँ । अडिएका अडिएकै भए मेरा खुट्टा ।
बौद्ध सम्प्रदायका हस्तलिखित लाखौं ग्रन्थ, छापिएका पुस्तक र दुर्लभ पाण्डुलिपिले पुस्तकालय आलोकित थियो । बौद्ध ज्ञानको अथाह समुद्र थुपि्ररहेको रहेछ वाराणसीको उच्च तिब्बती संस्थानमा ।
त्यही दिनको दिउँसो म अशोक मार्गको झुलाकुञ्ज पुगेँ । त्यहीँ लामो समय बसेथे साहित्यकार विश्वेश्वर प्रसाद कोइराला ।
राजनीतिले उनलाई लखेटेर वाराणसीको यही झुलाकुञ्जमा पुर्याएथ्यो । तर मलाई उनको सुम्निमा, नरेन्द्र दाइ, तीन घुम्तीको सुवासले घचेटेर त्यहाँ पुर्याएको थियो ।
‘हो, एक जना पातला मान्छे यहाँ लामो समय बसे ।’
नजिकै रहेको चिया पसलेले भनेका थिए ।
‘नेपालका मन्त्री भए भन्ने सुनेको थिएँ । तर तिनले लेखेको देखिनँ ।’
उनले माटोको कपमा चिया थपेथे मलाई ।
एक बेलुकी म सारनाथको चौमानी हुँदै सङ्ग्रहालय पसेँ । त्यहाँ हेरेँ लिपि विकासको क्रम । विशेषतः देवनागरी लिपिको जन्म, विकास र रुपान्तरणले मलाई हुनसम्म चकित पारेको थियो ।
अशोका, कुषाण, गुप्ता, यशोधर्मा, भदेन, प्रतिहारा, गहाधवाला, परामरा, केन्डेला, मतिङ्गा, पल्लव, कल्युग्या, राष्ट्रकुटा, यादव, विजय नागरा क्रम हुँदै आजको यो अवस्थामा हामीले लेखिने देवनागरी वर्णमालाको रुप आएको रहेछ ।
मैले आफ्नो नामलाई लेख्न मिल्ने अक्षरको रुपान्तरण खोजेँ । उल्टो त्रिशुलको आकारबाट अनेकौं हण्डर खाँदै आजको ‘य’ बन्न पुगेको रहेछ । त्यो पनि हजारौं वर्ष अघिको गुप्ता कालबाट ।
सारनाथले एउटा नयाँ रुप र सुवास मेरो मनमा भरेथ्यो त्यस दिन ।
एक साँझ चौमानी पश्चिमको बजार लगेर दाल भात खुवाए लामाले । लद्दाखीको होटेलमा हप्तौँपछि दालभात र अदुवा-लसुन मिसिएको अचार खान पाउँदा म उच्चालिएको थिएँ मज्जैले ।
फर्किंदा मैले पेटीमा ६-७ जना स-साना नानीहरु खेलिरहेको देखेको थिएँ । उता भित्तामा झुन्डाइएका सुइटर मोलतोल गरी-गरी तिनका आमाहरु बेचिरहेका थिए ।
‘दाइको रुमाल भाउजुलाई मन पर्यो !’
एक्कासी सानी केटी चम्केर गाउन थाली ।
लामालाई सोद्धा थाहा भयो- ढोरपाटनतिरका धेरै बाग्लुङेहरु यहाँ ऊनको व्यापार गर्दा रहेछन् ।
हो, गीत अर्कै पारामा मभित्र बज्यो- ‘बनारस मलाई मन पर्यो !’
(स्रोत : अनलाईनखबर डट कम)