कथा : मेरी अनिच्छित छोरी

~अमृता बुढाथोकी~

असोज महिनाको अन्त्यतिर एक समूह मानिसको हुल पीपलको बोटमुनि बसेर राजनैतिक, सामाजिक तथा समाज परिवर्तनका कुरा गरिरहेका छन् । तिनै समूहमा बीर्खे ठुलो स्वरमा कराइरहेको छ । ‘मैले यो दुनियाँलाई राम्ररी चिनेको छु । अबको हाम्रो बाटो भनेको परिवर्तनका लागि नयाँ विचारको आगमन गर्ने हुनुपर्छ’ त्यतिनै बेला सानु हस्याङफस्याङ गर्दै कोटेश्वर जाने गाडीमा चड्छे ।

एक पटक मात्र होइन पटक–पटक जीउँदै मरेकी सानुलाई कसले के भन्छ सुन्ने आदत छुटिसकेको छ । उसको अधरको हासो १०औँ वर्ष अगाडिनै कसैले हरेर लगिसकेको छ । अहिले त उसलाई यो समाजले एउटा नामुद उपमा दिएको छ ‘भालु’ ।

दुनियाँसँग सरोकार राख्नुभन्दा उनी आफ्नै पीडा र यथार्थमा जीउँदै छिन् । तीनकुनेको रंगीन बाहिरी दुनियाँबाट झट्ट हेर्दा लाग्छ उनी अत्यन्त खुसी छिन् । तर भोगाइको पीडा कति दर्दनाक हुन्छ भन्ने जान्नलाई अरुको हृदयमा पनि पीडाको अनुभूति हुनु पर्दोरहेछ ।

साँझ, उनी कोटेश्वर आसपासका डान्सबारमा डान्स गर्छिन् रे ⁄ अन्य समय जसले जता बोलायो त्यतै गएर अरुको यौन खोलनौ बन्छिन् । त्यसबापत उनी दुई चार पैसा कमाउँछिन् । त्यो पैसाले उनी आफ्नी छोरीको लालनपालन गर्नुका साथै उसको भविष्यका लागि केही रकम सञ्चित गर्दै आएकी छिन् । उनलाई आफ्नी छोरीले आफ्नो बाटो नहिडोस् भन्ने लागेको छ ।

उनी पनि चाहेर यो बाटोमा कहाँ लागेकी हुन् र ? बाँच्नका लागि अरु कुनै विकल्प नभएपछि उनले बाध्य भएर यो बाटो रोज्न पुगेकी हुन् रे ।

पुरानो शैलीमा बनेको बालकोटस्थित छिडीको कोठामा बसेर उनी विगत सम्झँदै भन्छिन्,‘उसको हृदय त्यसरी नमरिदिएको भए उसको हृदयको चिसो लास आफ्नै भाग्यको चिहान बनाएर म यो गुमनाम यात्रामा निस्कने नै थिइन । उसका पनि त आमा दिदी बैनी वा अरु कोही थिए होलान् । जसलाई उसले उस्ले आफ्नो हृदयमा बेरेर राखेको होला । उनीहरुलाई मेरो हालतमा कसैले पु¥यादियो भने के गर्दो हो ?’

दुनियाँको नजरमा आदर्श र उच्च घरानियाँ कहलिएको आफ्नै दाजुको साथीबाट १७ वर्षमै बलाकृत सानु र त्यही बलात्कारको उपहार आफैँले जन्म दिएकी छोरी बाहेक यो दुनियाँमा उनीहरुका अरु कोही छैनन् ।

मानिसको जीवनमा कहिले काहीँ सपनाहरु चाहाना बोकेर आउछन् र विपनामा पीडा थपेर भाग्छन्, कता जान्छन् ? के गर्छन् कसैलाई पतै हुँदैन भने झँै त्यो घटनापछि उनको जीवनमा एक तमासको बतास आयो उनका प्रत्येक चाहानालाई उडाएर लग्यो थाहै नपाई कता पुर्‍यायो छताछुल्ल बनाएर सबै चकानाचुर बनायो ।

यतिकैमा बाहिर खेल्न गएकी छोरी दगुर्दै आएर सोद्छे आमा मेरो बुबा खोई ? सबैले मलाई वेश्याकी छोरी भन्छन् । आमा वेश्या भनेको के हो ? अवोध छोरीको प्रश्नले उनको मुटु धुजा धुजा हुन्छ । छोरीलाई सम्झाउँदै उनी भन्छिन्, ‘नानी ⁄ यो मेरो नाम हो । तिम्रो बाबु पनि मैहुँ आमा पनि मैहुँ नानी ⁄ हामी जस्ताको आफ्न्त कोही हुँदैन हामी आफै एकअर्काका परिपूरक हैँ नानी ।

बीचैमा छोरी बोल्छे, आमा सबैका आमाबुबा हुन्छन् मेरो चाहीँ किन तपाईँ मात्रै ⁄ छोरीको अवोध प्रश्नले सानु वाक हुन्छे । उसका आँखा अनायसै रसाएर आउँछन् ।

सानु मनमनै भन्छे, ‘त्यो दिन, घरमा अरु कोही भइदिएको भए मेरो दाजुको साथीले मलाई केही गर्न सक्ने थिएन होला । यो घटनालाई समयमा नै आमा वा दिदीलाई भनेको भए समयमा नै गर्भपतन गर्न सकिन्थो होला । आखिर ⁄ मेरो के गल्ती थियो र मैले आफ्नो जीन्दगी नै नगरकीय बनाउनु प¥यो ?’

नारीलाई धरती भन्छौँ तिमी लोग्ने मान्छे, ममताकी खानी भन्छौँ, आधा आकाशको दर्जा दिन्छौँ, तर किन धरती र आकाशमा पुरुषहरु मात्रा हुन्छन् ? किन पुरुषको गल्तीको सजायाँ म जस्ता नारीले बाध्य भएर भोग्नु पर्छ । यी र यस्तै अनुत्तरित प्रश्नले उनको मनमा डेरा जमाउँछ । कहीँ कतैबाट जवाफ पाउन सक्दिनन् ।

उनी सम्झन्छिन् आफ्नो जन्म तेह्रथुमको आठराई जहाँ प्रधानमन्त्री, मन्त्रीलगायत अन्य ठु–ठुला व्यक्तिको जन्म भएको भनिन्छ । अहिले पनि धेरै शिक्षित व्यक्ति जन्माउने पूर्वकै उर्बर राजनैतिक भूमि मानिन्छ आठराईलाई । तर त्यही आठराईमा मैले संम्भोग के हो भन्ने थाहै नपाई आमा बन्न पुगे । म सँग सम्भोगपछि त्यो पुरुषले मलाई कसैलाई भनिस भने तलाई मार्छु भन्यो । कसैलाई केही भन्नै सकिन । घरमा आमाले थाहा पाउँदा धेरै ढिलो भइसकेको रहेछ । गर्भपतन गर्नै मिलेन । घरबाट निस्किएपछि भक्तपुर बालकोटको यही अध्यारो छिडी मेरा लागि बासस्थान बन्न पुग्यो ।

बुबाआमा हुन्जेलसम्म त घरबाट दुई चार पैसा आउथ्यो रे उनलाई । तर, अब त बुबाआमा परलोक गइसकेका छन् । दाजु भाउजुले घर निकाला गरिदिए रे ⁄ अब उनको यो दुनियाँमा छोरी बाहेक कोही छैनन् । बाच्न र छोरीलाई बचाउनका लागि उनले देह व्यापार गरिरहेकी छिन् उनी । वर्सैदेखि निरन्तर पुरुषको खेलौना बनी रहेकी छिन् ।

यो दुनियाँ पनि कस्तो अचम्मको हैँ, सोच्नै नसकिने । कहीँ वर्ष दिन नपुगेका अबोध शिशुलाई आफ्नो हवसको शिकार बनाउँछ लोग्ने मान्छे । कहीँ ४ वर्षका छोरीलाई आफ्नै बाबुले बलात्कार गर्छ । कतै यौन परिपक्वता नै नभएकी बालिकालाई सामुहिक बलात्कार गरेर मारिदिन्छ लोग्ने मान्छे । पटक पटक धेरै पटक सबैतिर यस्तै घटना दोहोरिरहन्छन् । तर, वेश्या चाहीँ त्यो अबोध बालिका हो रे ⁄ किनकि नारीले छोटा लुगा लगाएर बासनाको लागि निम्तो दिन्छन् भन्छन् प्राज्ञिक क्षेत्रकै लोग्ने मान्छे ।

उफ ⁄ सम्झदाँ पनि कस्तो अचम्म लाग्दो । म पनि त सानै थिएनी बलत्कृत हुँदा (सानु मनमनै भन्छे) मलाई त बलात्कारपछि मारिएको त थिएन । तर न्याय मरेको मुलुकमा न्याय नै पाइन नि । न्यायका लागि पहल पनि गरे तर के गर्नु ?

हृदय र मस्तिष्क मरेका लोग्ने मान्छेको हुलले मेरो कुरै सुनेन । एक पटक होइन सयौँ पटक कहीँ सभामा, कतै प्रहरी तथा न्यायालयमा, कहीँ पत्रकारले हजारौँ पटक भाषिक बलात्कार गरे । अन्त्यमा मलाई नै वेश्या साबित गरिदिए । त्यो लोग्ने मान्छे पानी माथिको ओभाने बनेर उम्कियो ।

एकदिन सानु आफ्नो दैनिकी चलाउनका लागि काममा जाँदै थिइन् । उनको छिमेकी बीर्खे उनी बसेकै सीटमा आएर बस्छ । ऊ सानुसँग विभिन्न कुरा गर्दै जान्छ । सानु काम गर्ने रेष्टुराँ गएर राती अबेर उनीसँगै फर्कन्छ । बाटोमा सानुलाई भन्छ । हेर सानु जीवन बिताउन कुनै न कुनै लोग्ने मान्छेको साहारा चाहिन्छ । त्यसैले एउटा तिमी जस्तै पीडा भोगेको वा श्रीमतीले छाडेको वा बुढी मरेको कोही मान्छे हेरेर बिहे गर ।

सानु उसलाई भन्छे, किन र दाई मैले पीडा भोगेको मान्छेसँगै सम्बन्ध जोड्नु पर्ने ? मैले के गल्ती गरेको छु र ? मेरो के दोष छ र ? मेरो यो नियति हुनुमा ?

सानुको यो कुराले बीर्खेको पुरुषत्वमा ठोस पुगेछ कि के हो ? तिमीलाई म जस्ता पढे लेखेका अविवाहितले बिहे गर्दैनन् । किनकि तिमी बच्चै देखिकी वेश्या हौँ । हेर अन्तिममा वृद्धाआश्रम पु¥याउन पनि तिमीलाई कोही न कोही संरक्षकको आवश्यकता पर्छ । त्यसका लागि पनि बिहे गर मेरो अनुरोध मात्र हो भन्दै गाडीबाट बीर्खे आर्लियो ।

बीर्खेको यस्तो कुराले सानुको टुटेको हृदयमा नुनचुक छर्ने काम गरिदियो । उनलाई असह्यै पीडा भयो । उसको बच्चै देखिकी वेश्या हौँ भन्ने शब्दले पुन एक पटक उनलाई मृत्युको आभाष गराइदियो ।

अब त उनका लागि हरेक समय कहाली लाग्दो औँसीको रात जस्तै बनी सकेको छ । उनका लागि अब बिहानी नै आउन छाडिसकेको छ । उनको जीवनमा लाली किरण छरेर कहिले कुनै बिहानी आउनै सक्दैन अब । सधैँ एउटै गतिमा एउटै रफ्तारमा पृथ्वीले सूर्यलाई परिक्रमा गरे जस्तै गरी उनको जीन्दगीको अध्यारो गन्तव्यको गाडी गुडी सधै एकैनास गुडी रहन्छ, गुडी रहेकै छ । कहिलेसम्म यसरी जीउँदो लासको उनी आफै मलामी जाने हुन् उनी आफै अनविज्ञ छिन् ।

उनका हरेक दिन एउटै कहानी बोकेर बितिरहेका छन् । अब त उनकी छोरी प्राप्ति पनि सात वर्ष पुगिसकेकी छे । उनलाई आफू काममा गएको समयमा पनि छोरीको चिन्ता लागिरहन्छ । कतै आफूले आफ्नै जन्म घरमा भोगेको त्रासदिपूर्ण घटनाको शिकार त मेरी छोरी हुने होइन ? यही डरले उनले नजिकैको चायल्ड केयर सेन्टरमा आफ्नी छोरी राखेकी छिन् । उनी हरेक बिहान भगवानसँग एउटै कामना गर्छिन् हे भगवान मेरी छोरीको इज्जत बचाइ दे ।

असोज महिनाको अन्त्यतिर छोरीलाई संरक्षण गर्ने केन्द्र पनि बन्द भएको छ । रातोदिनको भागदौडबाट उनले पनि केही समयका लागि विश्राम लिएकी छिन् । उनी आफ्नी छोरीसँग समय बिताउन पाएकोमा खुसी पनि छिन् । यतिकैमा बाहिर खेल्न गएकी छोरी नियाउरो मुख लगाएर उनका छेऊमा आएर बस्छे । उनी छोरीलाई सोद्छिन्,‘नानी के भयो तिमीलाई ?

छोरी केही बोल्दिन । उनले धेरै बेर कर गरेपछि छोरी भन्छे, आमा मावली भनेको के हो ? मेरा साथीहरु यो दशैमा मावली जान्छन् रे ⁄ म पनि जाने नि है मावली आमा ?

सानु छोरीलाई सम्झाउँदै भन्छे हुन्छ, नानी हुन्छ ।

छोरी पुनः विद्रोही हुँदै भन्छे, आमा तिमी जहिले नि मसँग झुट बोल्छेऊ बुबा सोद्दा पनि भोलि आउनुहुन्छ, भन्छेउ, तर ऊ कहिल्यै आउँदैन ? मावली भनेको मलाई नी थाहा छ आमा त्यो तिमी जन्मिएको घर त हो नी । मावली जाने भन्दा पनि हुन्छ भन्छेऊ । झुटी तिमी कट्टिकट्टि बोल्दिन ।

छोरीको यस्तो कुरा सुनेर सानुको हृदय फुट्ला जस्तो हुन्छ । नानी तिमी सानै छेऊ अहिले यस्ता कुरा बुझ्दिनौँ । अलि ठुली भएपछि भन्छु नि है सबै भनी अर्कातिर फर्किएर नबोली बस्छे ।

उसलाई छोरीका कुराले मुटुमा तीर रोपे जस्तै च्वास्स घोच्न पुग्यो । अनायसै अनेक तरहका कल्पना गर्दै कालो कुहिरो भित्र हराएको काग जस्तै कल्पनाको गर्तमा हराउन पुग्छे ।

उ छोरीका हरेक प्रश्नमा अनुत्तरित छे । उस्ले त्यो अबोध छोरीलाई कहाँबाट ल्यादियोस् बाबु ? ऊ कुनै सम्मानित सम्बन्धबाट जन्मिएकी सन्तान हो र ? जाउँ छोरी ऊ त्यहीँ हो तिम्रो बाबु भन्नलाई ? ऊ त गिद्दले सिनो लुछे झैँ आफैलाई लुछेन् मानवरुपी गिद्दको अपराध बीज हो । नत सानु छोरीसँग त तेरो बाऊको अपराध बीज होस् नै भन्न सक्थी । नत छोरीले आमाको आँखामा लुकेको विशाल बेदनाको संग्रहालय नै बुझ्न सक्थी । कहाँबाट लैजाओस् उसलाई मावली दाजुभाइले सात वर्ष अगाडि नै उसलाई घरबाट निकाली सकेका छन् । बुबाआमा छैनन् ।

समय बित्दै गयो दशै आयो उपत्यका बाहिरका सबै आआफ्नो घर फर्किए । सानु र उसकी छोरीले त्यही अध्यारो छिडीमा रुँदै कराउँदै दशै मनाए । एकपछि अनेक गर्दै अरु सात–आठ दसै बितेर गए । प्राप्तिका मनमा उब्जने हरेक जिज्ञासा जस्ताका त्यस्तै थिए । अनेक तरहले ऊ आफ्नी आमासँग आफ्नो परिवारको बारेमा बुझ्ने कोशिस गर्थी । तर उसका हरेक कोशिस असफल हुने गर्दथे ।

अब त प्राप्तिले यसईई पनि सकी सकेकी छे । उ दिनभर घरमा नै बस्छे सानु सधै जस्तै गरी आफ्ना नियमित कार्यहरु गरिरहेकी छिन् । आमाका बारेमा साथी संगतिले कुरा काटेको प्राप्ति सुन्न सक्दिनन् । आमालाई सोद्धा सधै एउटै जवाफ आउँछ नानी त सानी छेस् ।

अब आमाको वस्तविकता बुझ्न प्राप्ति लागि परेकी छिन् । एक दिन उनले आमा कहाँ काम गर्न जान्छिन् भनेर पत्ता लगाउने सोचले आमालाई पच्छायाइन् । उनले आमा विशाल बजारको एउटा होलसेल पसलमा सेल्स ओमनका रुपमा काम गर्दै गरेको भेट्टइन् । उनले त्यहाँ बुझ्दा विगत दुई वर्षदेखि त्यही पसलमा उनी काम गर्दै आएको पत्ता लगाइन् ।

उनको जिज्ञासा अझै शान्त हुन सकेन घरमा आएर आमाका सबै पुराना सामान खोतल्न पुगिन् । त्यहाँ एउटा पुरानो रङ्ग उडी सकेको डायरी भेट्टाइन् । डायरीको पहिलो पानामा एउटा यस्तो कविता लेखिएको थियो :

२०५६÷६÷१२

यो कहालिलाग्दो दिन,
मेरो इच्छा,आकांक्षा र भरोसा सबै मारिसकेका रहेछन्
आफ्नै भन्ने हरुको हृदय पनि मरेर चिसो लास बनि सकेको रहेछ
उनीहरुको हृदयसँगै विस्तारै विस्तारै मरिरहेको रहेछ
उनीहरुकोे मस्तिष्क ।
मलाइ थाहै नदिइ
आफ्नै दाजुबाट बेचिएकी रहेछु
उसैको साथीसँग ।
थाहा पाउँदा फैलिसकेको थियो दुर्गन्ध
त्यति बेलै हो मैले थाहा पाएको
आफ्ना भनिने घृणित पुरुषको व्यवहारबाट निस्केको दुर्गन्ध
निकै लामो–लामो दूरीसम्म पुगी सकेको रहेछ
विशाक्त आफ्नै दुर्गन्ध ।
मलाई सार्वजनिक वेश्याको चिहानमा पुरिसकेपछि
उनीहरुको मस्तिष्कको चिहान
मनाउँदै रहेछ उमंग ।

दोस्रो पानामा लेखिएको थियो :

२०६३ असोज १५

आज त मैले मेरो जन्म घर छाडेको पनि सात वर्ष पुगिसकेको छ । मेरी छोरी मलाई आफ्नो बाऊका बारेमा सोद्छे, मामाको बारेमा सोद्छे । म कसरी बताउँ ? छोरी तँ तेरो आफ्नै मामाले मलाई उसैको साथीसँग बेचर उसको बलात्कारपछि जन्मिएकी मेरी अनिच्छित छोरी होस् भनेर । म उसलाई कसरी बताउँ म के काम गर्छु भनेर ।

अर्को पानामा लेखिएको थियो

२०७३ ÷१२÷२८

अब त मलाई मेरी छोरी प्रति भरोसा लाग्न थालेको छ । ऊ पढाइमा तेज छे । मैले आजसम्म उसको स्कुलको फि तिर्नु परेको छैन, उत्कृष्ट भएर सधै निःशुल्क नै पढ्दै आएकी छे । ऊ निडर पनि छे । अब मैले पेसा परिवर्तन गर्नु छ मेरी छोरीका लागि । बाच्नको लागि मात्र ८ दस हजार कमाउँछु । मेरो भरोसा अब मेरी छोरी हुनेछे । धन्न भगवान मैले मेरी छोरीलाई गर्भमा नै मारी दिइँन ।

म मेरी छोरीलाई सच्चा, आदर्श र कर्तव्य निष्ठ नारी भएको हेर्न चाहन्छु । मेरा हरेक आशुको मूल्य चुकाउने सामाथ्र्यवान व्यक्ति भएको हेर्न चाहन्छु । यति मात्र होइन हजारौँ पीडित नारीको उद्दार गर्ने एउटा योद्धा भएको हेर्न चाहन्छु । उसको आँखामा कालीको रुप हेरी गर्भ गर्न चाहन्छु ।

-अमृता बुढाथोकी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.