स्रष्टा परिचय : महानन्द पौड्याल : नेपाली साहित्यका एक महारथी

नेपाली साहित्यमा महानन्द पौडयाल एक विशिष्ट कथाकार, अन्वेषक, निबन्धकार, चिन्तक, तार्किक र निर्भीक साहित्यकारको नाम हो। उनी 19 जनवरी, 1931 मा कालिम्पोङको  बमबस्तीमा बाबु खडानन्द र आमा विष्णुकुमारी पौड्यालको घरमा जन्मिएका हुन्। उनले औपचारिक शिक्षाका क्रममा त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेका हुन् भने प्रायःजसो दार्जीलिङ-सिक्किमतिर शिक्षण र शिक्षा विभागतिर आवद्ध थिए।

श्री पौड्यालले आफ्नो युवावस्थामा रामकृष्ण शर्मा, पारसमणि प्रधान, अगमसिंह गिरी, सिद्धिचरण श्रेष्ठ नरबहादुर दाहाल आदिसित साहित्यिक संसर्ग र सम्पर्कमा रहेका थिए। उनका मौलिक, अनूदित र अनुसन्धानात्मक गरी एघारवटा पुस्तक, तेह्रवटा जति पुस्तक र पाठ्यपुस्तकको लेखन, सम्पादन र प्रकाशन, आठवटाजति साहित्यिक पत्रिकाको सम्पादनमा सरिक छन्। सिक्किममा नेपाली साहित्यिक परिवेश सिर्जना गर्न उनी धेरै सक्रिय रहेका हुन्। पुस्तकको अध्ययन, लेखन, प्रकाशन तथा साहित्यिक पत्र-पत्रिका सम्पादन प्रकाशन एवं साहित्य पढाउँदै उनले आफ्नो सम्पूर्ण जीवन साहित्यलाई समर्पित गरेका छन्। उनका प्रकाशित पुस्तकहरूमा झुम्राको पुतली (कथासंग्रह), केही रोचक कथा (अनूदित), कथाश्री (अनूदित), श्रीकथा (सम्पादन), हाम्रा केही लोककथा, निबन्धश्री (सम्पादन), शेक्सपियरका नाट्यकथा, छन्द र अलङ्कार, विचरण आफ्नै क्षितिजभित्र, भाषा साहित्य बाह्र बखान (निबन्ध र समालोचना), अवशिष्ट साहित्य यात्रा (2015, लेखादि), चीनको महापर्खाल र अन्य कथाहरू (प्रकाशोन्मुख कथा संग्रह) आदि उनका प्रकाशित कृति हुन्।

उनले नेपाली साहित्य सम्मेलन पुरस्कार 1998 (दार्जीलिङ), भानु पुरस्कार (गान्तोक), साहित्यश्री (सांस्कृतिक एवम् धरोहर विभाग, सिक्किम सरकार), शिवकुमार राई पुरस्कार (नाम्ची), डा पारसमणि प्रधान पुरस्कार (कालिम्पोङ) जस्ता पुरस्कार तथा सिक्किम सम्मान, काठमाडौंबाट साहित्यिक पत्रकार सङ्घबाट सम्मान, बसिबियाँलो कालिम्पोङ, आदिबाट अभिनन्दित र सम्मानित भएका छन्। उनको कृतित्वमाथि मूल्याङ्कन गरिएका पुस्तकमध्ये करूणादेवी धर्मार्थ गूठी, गान्तोकबाट प्रकाशित’महानन्द पौड्याल : उनका विविध कृतिहरू’ तथा सलुवाबाट प्रकाशित ‘परदेशी’ पत्रिकाले ‘महानन्द पौड्याल अभिनन्दन अङ्क’प्रमुख हुन्।

श्री पौड्याल मूलरूपमा एक सफल कथाकार हुन् भने संस्मरण पनि प्रशस्त लेखेका छन्। उनी नवचेतनावादी धाराका एक यथार्थवादी कथाकार हुन्। उनका कथामा इतिहास चेतना, सामन्ती व्यवस्थाको विरोध, नारीको हक र समानाधिकारको सन्देश, लोकतत्वको प्रयोग, सामाजिक य़थार्थवाद, मनोविज्ञानका विभिन्न पक्षको समुचित प्रयोग पाइन्छन्। उनका केही कथाहरू जस्तै ‘पाँडे काजी’, ‘हवल्दार’, ‘अपूर्व देशभक्ति’, ‘बूढाबूढी’ आदि कथा इतिहाससित गाँसिएका छन्। इतिहासका अलिखित पानाहरूलाई कथावस्तु बनाई जीवन्त पारी पाठकहरूलाई वास्तविकता भ्रम सिर्जना गर्न उनी सिपालु छन्। यसैगरि उनी मान्छेका मनका अन्तर-कुन्तर चहारी मनोवैज्ञानिकता दिन पनि सक्षम छन् भने यौन मनोविज्ञानलाई पनि आफ्ना पात्र-पात्रामार्फत् कथालाई जीवन्तता दिने गरेका छन्।

श्री पौड्यालले लेखन भाषा सशक्त, स्पष्ट, शुद्ध र धाराप्रवाह पाइन्छ। उनी लेख्दा प्रायः जसो छोटा छोटा वाक्यमा आफ्नो भनाइलाई खुलस्त हुने गरी व्यक्त गर्छन्। प्रायः ठेट नेपाली शब्दहरू प्रयोग गर्छन्। अतः उनी विशिष्ट भाषा र शैलीबाट मानिसको आन्तरिक जीवनका अन्तर्निरीक्षण तथा निम्न ग्रामीण नेपाली समाजको पर्यवेक्षण गर्न सक्षम छन्। उनी आफ्ना कृतिहरूमा देशप्रेम, जातीय सद्भावना र साहित्यिक उत्थान गरी समाजलाई विशिष्ट बनाउन चाहने साहित्यकार हुन्। अतः एक विशिष्ट कथाकार, एक निर्भीक समालोचक, एक दक्ष निबन्धकार, एक दत्तचित्त साहित्यिक अनुसन्धाता, एक कुशल पाठ्यपुस्तक लेखक र एक प्रखर अनुवादक पौड्यालले नेपाली साहित्यलाई प्रायः पाँच दशकअघिदेखि विशिष्ट योगदान दिएका छन्।

  • डिल्लीराम दुलाल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in स्रष्टा परिचय and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.