~मोहन दुवाल~
अविचल आफू निर्वस्त्र नाङ्गिएर
सधैं-सधैं आफूलाई देखाइरहने
निश्चल निश्चल भएर आफैं पोखिएर
अरूलाई जीवनरङ्ग छार्किरहने
ढाँटछल नजानेका निस्वार्थ मनसँग
माया साट्न खोजिरहने
लोभ के हो, थाहापत्तो नभएका उनी
बाँड्न रुचाउँछन् उज्याला आभाहरू
त्यसैले त सबैका लागि उनि प्रिय छन्
सबैक लागि सहारा पनि त हुन् |
युगौंयुगसम्म गर्दै आइरहेका
आफ्ना सेवा-मर्महरू भट्किन नदिन
र
जीवनको जग भत्किन नदिन
आफूजस्तै खोजिरहेछन उनी सधैंभरि
जहाँ पुगे पनि, जता लागे पनि
जसरी भए पनि फैलाइरहन खोज्छन आभाहरू
निरन्तर निरन्तर फुलाइरहन्छन्
सधैं सधैं फैलाइरहन्छन् स्पर्शहरू
जीवन मर्म-मर्ममा प्रियहरू खोज्दै
आफू दुखेर अरुलाई अमृत बाँड्ने उनी
धरतीभरि, जीवनभरि सबै-सबैलाई
मोहनी बाँड्न पाउँदा
खुशी रहन्छन् उनी |
पातहरूमा, फूलहरूमा, डाँठहरूमा
जराहरूमा, हाँगाहरूमा जहाँ पनि पुग्ने उनी
जीवहरूकै अस्तित्वमा अस्तित्वकै घाम भएर
चम्किन खोज्ने उनी
कति शालीन, कति भद्र, कसैलाई बिगार्न नजानेका
तर अरूलाई दिइरहने उनी
थाक्न नजानेर त होला
धरतीभरिभरि पोखिन सिपालु छन् |
दुस्मनी गर्दैनन् कहिल्यै उनी
कसैले इर्ष्या पनि गरेको थाहा छैन मलाई
आफू छर्किएर अरुलाई उज्यालो बाँड्न तल्लीन उनी
म त सधैं-सधैं मनमा घामजस्तै उनलाई
मनमा राख्न रुचाइरहेछु |
जसले अरूलाई दिन्छ मात्र, केही लिन जान्दैन
उससँग केको डर ?
जसले सबैलाई माया मात्र बाँड्छ, केही माग्दैन
उनीसँग के को डर ?
जो प्रकाश भएर फिंजीरहन्छ धरतीभरि
जो हाँसिरहन्छ हाँसो भएर सबैतिर भरिभरि
ऊसँग केको डर ?
घाम पनि त उनीजस्तै छन्
उनी पनि त घाम जस्तै छन्
उनीसँग के को डर ?
घामसँग के को डर ?