कविता : जनआक्रोश

~गिरीप्रसाद बुढामगर~

तिम्रा संघीयताको नाराले
देश फेरिन्न भन्ने कुरा थाहा पाइयो
तिम्रा खोक्रा राजनीतिक जुलुसले
लक्ष भेटिन्न भन्ने पक्का भयो
त्यसैले ठोकेरै भन्छौं हामी जनता
अब स्पाटर्कस जस्तै आफ्नो मुक्ति आफै खोजिन्छ
मुठ्ठी कसेर नेपाली किल्ला जोगाउन आफै हिडिन्छ
अब तिमीहरूले
थोत्रिएका नियम कानुन फेर्छौं भन्दैमा
उच नीच र कुरीतिहरू हटाउँछौं भन्दैमा
तिमी जस्ताको भर पनि परिदैन
तिमी जस्तालाई भोट पनि हालिंदैन

तिम्रा मिठा र घुमाउरा तर्कहरूमा
कुर्चिकै स्वार्थ लुकेको कुरा थाहा पाइयो
तिम्रा ठूला संगठन र शक्तिमा
सही विचार र दृष्टिकोण रहेनछ भन्ने पक्का भयो
त्यसैले ठोकेरै भन्छौं हामी जनता
संघीयताको मोह छाडेर अखन्ड नेपाल नै रोजिन्छ
निस्वार्थी मनहरूमा फुलेका सही सिद्धान्त नै खोजिन्छ
अब तिमीहरूले
कुतर्क भरिएका थोत्रा गाला बजाउँदैमा
हाम्रँे घरमा आएर जुम्ल्याहा हात जोड्दैमा
तिमी जस्तालाई विश्वास पनि गरिंदैन
तिमी जस्तालाई भोट पनि हालिंदैन

तिम्रा भेला र बैठकहरूले
निकास दिंदैन भन्ने थाहा पाइयो
तिम्रा अगुवाई र नेतृत्वले
विकास हुँदैन भन्ने पक्का भयो
त्यसैले ठोकेरै भन्छौं हामी जनता
निकास दिन अब आफै जुटिन्छ
विकास दिन अब आफै उठिन्छ
अब तिमीहरूले
क्रान्तिका झुठ्ठा सपना बाँड्दैमा
हाम्रो गाउँमा आएर विकासे कुरा गर्दैैमा
तिमी जस्ताको पछाडि पनि लागिदैन
तिमी जस्तालाई भोट पनि हालिंदैन

तिम्रा योजना र सपनाहरूले
जनताको संविधान आउँदैन भन्ने थाहा पाइयो
तिम्रा कोक्रे सिद्धान्तहरूले
गणतन्त्र सुदृढ नहुने पक्का भयो
त्यसैले
ठोकेरै भन्छौं हामी जनता
क्रान्ति सफल बनाउन आफै पाइला चालिन्छ
गणतन्त्र सबल बनाउन आफै राँको बालिन्छ
त्यसैले खबरदार छली र कपटीहरू हो
तिमीहरूले गुन्डा र लठैतहरू प्रयोग गर्दैमा
तिमीहरूले धाक धम्की र त्रासको भाषा बोल्दैमा
तिम्रा भाडाका टट्टुहरूसँग पनि डराइदैन
तिमी जस्तालाई भोट पनि हालिंदैन ।

– रूकुम

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ४५ – Oct. 3, 2010 – २०६९ असोज १७ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.