~बिना तामाङ~
घरको दलानमा, पिँढीमा, आँगनमा यत्रतत्र थिए मान्छेहरू । केही विशेष थियो । विशेष यो थियो कि वर्षौं मेरा बाउले, बाजेले हजारौं दुःख गर्दा पनि उठाउन नसकेको घरको गाह्रो उठाएर धुरीपातो कसेर ठड्याएको थिएँ मैले ‘भगवान् निवास’ ।
म भगवान तामाङ । भगवान् बस्ने घर ‘भगवान् निवास’ । कंक्रिट र सिमेन्टको पिल्लरवाला बडेमाको भवन मात्रै निवास र भिल्ला हो र ?
त्यही निवासको घरपैँचो थियो । मेरो घरको धुरीमा चढाइएको थियो रंगीन जस्तापाता । ती जस्तापाता ओसार्नमात्रै बाह्र हजार रुपैयाँबराबरको खेताला लागेको थियो ।
सदरमुकामबाट गाउँ आउने बाटो वर्षामासमा भत्किएपछि हिउँद सकिदाँसम्म पनि कसैले वास्ता गरेनन्। त्यसैले मानेभन्ज्याङदेखिको लगभग डेढ घन्टाको उकालोले दैनिक तीन जना चार दिन खर्लप्पै निलेकै हो।
ढुंगा बारीमै थियो । त्यो फुटाउन छेटुप आस्याङ र सिस्नेको बलराम सुनार जिन्दावाद । माटो बोक्न र मुछ्न चिनिमाया आङी, जीवन आले र पिङ्घु सम्धिस्या आए ।
मलाई गाह्रो भएको भनेकै ढुंगाको गाह्रो छ्याप्प मिलाएर लाउन जान्ने मान्छे नपाएर भएको थियो । जान्नेहरू सबै काठमाडौं भासिएछन् । अधकल्चोहरूको भर लागेन ।
म जीवनमा एक पटक बनाउने घरमा जोखिम मोल्न चाहन्नथिएँ । त्यसैले महँगैमा भए पनि काठमाडौंबाट झिकाएँ सन्तवीर आबच्याङ्बा र सुनबहादुर मोक्तान । ती दुई नामी डकर्मी । हातमा जादु छ तिनको ।
ढुंगा सर्लक्क इँटाजस्तै मिलाएर खाप्न सक्ने । यस्ताका हातमा परेपछि पाउँदो रहेछ ढुंगा र माटोले जीवन । अनि त तीन महिनाभित्रमा तयार भएकै हो मेरो बुइँगलसहितको आठकोठे लामो दलाने ‘भगवान् निवास’ ।
स्थानीय खोलाबाट विद्युत् उत्पादन भएपछि आजभोलि काठ चिरानलाई समस्या छैन । समस्या छ पैसाको । तल्लो म्हाने टोलमा पूर्वसांसद तेजबहादुरका कान्छा भाइले राखेको छ फर्निचर । झ्याल, ढोका र खापा त्यहीँ तयार पारियो ।
सहरतिरको जस्तै झ्यालमा सिसा हालेँ । ती झ्याल, ढोकामा म आफैंले कति उन्मादले दलेको थिएँ निलो इनामेल । कतिखेर आएर मेरी तीन वर्षकी छोरी मार्साङले आफ्नो गालामा धस्न भ्याइछे त्या इनामेल मैले पत्तै पाइनँ । पछि तारपिनले माड्दा माड्दा झन्डै ताछिएन गालाका कोमल छाला । असत्ती इनामेल ।
बा भन्नुहुन्थ्यो— लौ भगवान् हाम्ले सकेनौ घरको छानो फेर्न । तँ जवान भएपछि काश्मिर गएरै भए पनि घर एउटा चै गजबकै बनाउनु रंगीन जस्ता हालेर । फराकिलो बार्दलीमा झुन्ड्याउनुपर्छ मकैका झुत्ता । बाहिर देख्ने भनेकै घर हो, भित्र सिस्नै खाए नि । तेरै भर छ हामीलाई ।
मलाई हो जस्तो लाग्यो । छोरा मान्छे भएपछि यत्ति त गर्र्नै पर्र्यो नि । १९ वर्ष टेक्दा नटेक्दै म काश्मीर त हैन साउदी अरब चै गएँ । ६ वर्ष बसेर फिनिस आएँ । बीचमा जम्मा एक पटक घर आएँ । ऋण ब्याज यी सामान्य प्रक्रियाहरू पूरा गरेर बच्यो सात लाख छ हजार चार सय रुपैयाँ । त्यसैको आडमा बनाएँ बार्दली भएको फराकिलो भगवान् निवास ।
नयाँ वर्ष, नयाँ उमंग, नयाँ घर । लाग्यो म निकै भाग्यमानी रहेछु । बाउबाजेले नसकेको घर बनाएँ । अब भने बा माथि स्वर्गबाट तल धर्तीमा हेर्दै खुब मुस्कुराउनुहुनेछ । मलाई यस्तै लाग्यो ।
म धर्तीको भगवानले आकाशको भगवान्लाई मनमनै भाकेँ । हे भगवान् मेरो सर्वांङ्ग भनेको यही एउटा घर हो । यसको रक्षा गर्नुस् । गोसाइँकुण्डको जात्रा भर्न आउँला बरु पूर्णिमामा ।
पिँढीमा लस्करै बसेका लामा म्हेमेहरूले पढिसकाए डोमाङ । छ्योई पट्ट्याए । तीतेपाती लिएर बुम्बाबाट (जल राख्ने तामाको सानो कलश) जल झिकेर घरको चोटाकोठा सबैतिर छर्किए । भने –अब पवित्र भो यो घर । वर्षां यहाँ केही अनिष्ट हुन्न । यति भनिसक्दा आँगनको मध्यभागमा गाडियो लुङगदर । त्यसको टुप्पामा बाँधिएको दज्र्यु तनक्क तन्काएर फहराइयो घरको सेरोफेरोमा ।
मार्साङ निदाइछे । स्याङम्हेन्दोले लगेर माथ्लो कोठामा सुताइदिई । इष्टमित्रहरूलाई खाना खुवाइयो । लामाहरूलाई दानदक्षिणा गरेर बिदा गरियो । बाँकी रहे खेतालाहरू ।
सबैको हिसाबकिताब गर्दा जम्माजम्मी निस्कियो ६ लाख ८७ हजार । सबैलाई हिसाबअनुसार पैसा गनिदिएँ । ती दंग परे । उज्यालियो तिनको अनुहार । वास्तवमै श्रमको मूल्य मीठो हुन्छ । यो मैले ६ वर्ष साउदी बस्दा अनुभव गरेकै थिएँ ।
—ल भगवान् । ताङ्सी च्यु । चु नाम्सारी प्रधानपञ्चला राङ्बा दिम सेङ्खाम्जी । अझन् ज्याबा तगाई ।
(ल भगवान् खुसी हुनु । यो गाउँमा प्रधानपञ्चको जस्तै घर बनाउन सक्यौ । अझै प्रगति होस् )
जाँदाजाँदै सन्तवीर आबच्याङबाले मोलम (आशीर्वाद) दिनुभयो । मैले हात जोडेर ग्रहण गरेँ । त्यसपछि भोजन ग्रहण गरेँ ।
धन्दामन्दा लगभग लगभग सकिँदो थियो । थकाइ पनि लागेजस्तो भयो । एकैछिन टोलाउन हिँडे छेउको चौतारा ।
रामनाथ हेडसर, यादव सर र च्याङ्बा आस्याङ गफिँदै रहेछन् । केटाकेटीहरू कोही देखिएनन् । सायद मास्टरहरूले देखेर होलान् । म पनि त्यसमा सामेल भएँ ।
—आज मौसम निकै धुमिलिएको छ । केही अनिष्ट हुन्छ कि क्या हो ए भगवान् ? लौ भन् भन् । तँ त आफैं भगवान्् । रामनाथ हेडसरले व्यंग्य र ठट्टा एकैपटक कसे ।
—त आज घरपैंचो लगाइहालिस् । त हामीलाई किन डाकेन हँ भगवान् । त के तिम्रो घ्याम्पाको निङ्गार सकिएर जाला भने डराइहालेको हो त ।
यादव सर पनि कम थिएन ।
यी दुई मास्टर पिउँछन् भन्ने गाउँका सबैजसोलाई थाहा छ । त्यसैले नलुकाइकन गुनासो पोखेकै हुन् व्यंग्य गरेर ।
—त्यस्तो हैन मास्टरसाप । यसो इष्टमित्र, पाहुनापासो मात्रै डाकेको हो । आज शनिबार पनि हो । बिदा छँदैछ । हिँड्नुस् न मास्टरसाप घरै जाउँ । म कन्जुुस मान्छे हैन । फेरि हाम्रो संस्कारमा पाहुना सत्कार रक्सी र छ्याङले नै गरिन्छ । कति नै पिउनुहुन्छ र ? एक माना ? दुई माना ?
मैले मिजास देखाएँ ।
आखिर ती मेरो गुरु थिए ।
दुवै मास्टर हाँसे । तर च्याङ्बा आस्याङ हाँसेनन् । ऊ बसेको ठाउँबाट एकैपटक बुत्रुक्क उफ्रियो ।
—ओई संगुल खाजी । (ए भूकम्प आयो । )
यति भनिनसक्दै मेरा दुवै खुट्टाहरू थररर काँपे । जमिन हल्लिएको कि मेरा खट्टा ?
—लौ हो त भूकम्प आयो केटाहरू ।
रमानाथ हेडसरले स्कुल भवनपट्टि नजर हुर्र्याए, मैले आफ्नो घरतिर । निङ्गारले झ्याप्प भएको मान्छे जस्तै घर थररर नाचेको देखेँ । मैले अरू केही सम्झिइनँ । मात्रै मार्साङ सम्झिएँ जो घरको माथिल्लो तलामा अघि स्याङम्हेन्दोले सुताएकी थिई ।
म बेपत्ता दौडिएँ । चौतारा नजिकको वीरसिंहको एकपाखे पसलको दक्षिण पाखो गल्र्याम्म ढल्यो । ढुंगा उछिट्टिएर मेरो दाहिने खुट्टाको कान्छी औंला च्याप्यो । म भुतुक्कै भएँ । तर फेरि जुरुक्कै उठेँ र खुट्टा खोच्याउँदै घरतिर बेग हानेँ ।
आँगनमा पुग्नु र अगाडिको बार्दली भस्रक्क खस्नु एकैपटक भयो । बार्दलीसँगै मेरो मुटु खस्यो । स्याङम्हेन्दो तल बारीबाट दौडिएर आइपुगी ।
—मार्साङको आबा मार्साङ मि तोर तलारिन् मुला । (मार्साङको बा मार्साङ माथि चोटामै छे । )
स्याङम्हेन्दोले कहालिएर मेरो पाखुरा च्याप्प समाती । कति चिसा हातहरू ?
यति भनिनसक्दै घर फेरि थररर नाच्यो । यो पटक भने बुइँगल झरेर माथ्लो तला थिच्यो । स्याङम्हेन्दो चिच्याई । मेरो भने आवाज थुनियो । हेर्दाहेर्दै दायाँपट्टिको बार्दली पनि भस्रक्कै खस्यो । घर, घर रहेन । ढुंगा र माटोको थुप्रो बन्यो ।
त्यो थुप्रो भित्र मेरी छोरी मार्साङ पुरिई । वरिपरि, वारिपारि सबैतिर एम्बुस पड्किएजस्तै घरहरू बुडुम्बुडुम् पड्किए ।
आकाश धुलाम्मे भयो । वातावरण धुमिल भयो अनि छायो आँखामा अन्धकार । अघिसम्म सुरक्षित मेरो सुन्दर संसार छिनभरमै सखाप भयो । लामाले छर्किएको जल, आबच्याङ्बाले दिएको मोलम, आँगनमा गाडिएको लुङदर सब सब फगत भए ।
एकाएक कोलाहाल सुनियो । सबै ‘हे भगवान्’ भन्दै जमिनमा टाउको जोत्दै थिए । खुसी हुदाँ एकपटक नसम्झिने, आपत्विपतमा सबैले सम्झिसम्झी बोलाउने नाउँ ‘भगवान्’ नै हो ।
फरक यत्ति हो मान्छेले बोलाउने त्यो भगवान् माथि बस्छ र कहिल्यै नबोलाउने म (भगवान) तल बस्छु । तर त्यतिखेर एउटा समानता थियो । माथि आकाशको त्यो भगवान् र तल धर्तीको यो भगवान् दुवै मौन थियो र ती दुवै निरीह थिए ।
२०७३ जेष्ठ ९
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)